बैशाख ०७, २०८१, शुक्रबार
               

भारतीय भुपू सैनिकलाई पेन्सन बुझ्न सास्ती

नेपाल फ्ल्यास
जेठ ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतका विभिन्न सुरक्षा फौजबाट अवकाश प्राप्त भुपूहरुले नेपाल–भारत सीमानाका बन्द हुँदा आफूहरुले पेन्सन बुझ्न समस्या भइरहेको दुखेसो पोख्दै आएका छन् ।

कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण सीमावर्ती भारतीय बजारमा गएर पेन्सन रकम लिन नपाउँदा घर खर्च चलाउन गाह्रो भइरहेको उनीहरुले बताएका छन् । 

बैतडीको दशरथ चन्द नगरपालिका–६ सिमायलका भीमबहादुर चन्दले दुई महिनादेखि नाका बन्द हुँदा सिमावर्ती भारतीय बजार झुलाघाट जान नसकेको बताए ।

‘पेन्सनबाटै घरको नुन, तेल खर्च चल्थ्यो,’ भारतीय सेनाबाट अवकाश प्राप्त चन्दले भने, ‘अधिकांश भुपू पेन्सन भारतमै बुझ्ने गर्छन् ।’ 

पेन्सन बुझ्न जाने भुपूको सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालयसित गुहार माग्दा कुनै सुनुवाइ नभएको चन्दको गुनसो छ । 

‘प्रशासनले माथि लेखेर पठाएको छौँ, निर्देशन आएपछि मात्रै पहल गर्छौं भन्छ,’ उनले भने, ‘नेपालबाटै पेन्सन बुझ्ने व्यवस्था भइदिए पनि हुन्थ्यो ।’

बैतडीमा भारतीय फौजबाट अवकाश प्राप्तहरुको हकहित र आश्रित परिवारलाई विभिन्न क्षेत्रमा सहयोग पु्र्‍याउन स्थापना भएको जिल्ला भुपू सैनिक बोर्डले पनि भुपू सैनिक पेन्सन बुझ्न जान नसक्ने अवस्था रहेको जनाएको छ ।

‘सीमा सिल छ, माथिबाट पहल नभएसम्म खुल्ने सम्भावना छैन,’ भुपू सैनिक बोर्ड बैतडीका प्रमुख टीकाबहादुर पुनले भने, ‘हाल बैतडीमा दुई सयभन्दा बढी भुपू छन् ।’

त्यसैरी, बोर्डले कन्चनपुरमा समेत भारतीय सुरक्षा निकायबाट अवकाश प्राप्तको तथ्यांक संकलन गरिरहेको छ । यहाँको बैतडी, दार्चुला, कैलाली र डडेल्धुरालगायतका जिल्लामा भारतीय सुरक्षा निकायबाट अवकाश पाउनेको संख्या ठूलो छ । 

केहीले यताकै एसबिआई र एभरेष्ट बैंकबाट पनि पेन्सन बुझ्ने गरेका छन् । भुपू सैनिक बोर्ड भीमदत्तनगरका प्रमुख दयाकृष्ण भट्टले भने, ‘धेरैले सीमावर्ती बजारमै पुगेर पेन्सन बुझ्ने गरेको भए पनि लकडाउनले त्यो सम्भव हुन सकेको छैन ।’ 

अङ्ग्रेजी महिनाको शुरुवातमा सीमावर्ती बजार खटिमा, वनबसा र टनकपुरका विभिन्न बैंकमा पेन्सन बुझ्ने नेपालीको भीड नै लाग्छ ।

बैंकसँगै किनमेलका लागि आर्मी क्यान्टिनमा समेत घुइँचो लाग्छ । भारतीय सेनाको हवल्दारबाट अवकाश प्राप्त कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालका गजेन्द्रबहादुर चन्दले दुई महिनादेखि पेन्सन लिन भारतीय बजार टनकपुर जान नपाएको बताए । 

‘मार्चमा गए त्यसपछि जान पाइएन,’उनले भने, ‘पेन्सनकै भरमा परिवारको खर्च चलाउनेलाई निकै समस्या भएको छ ।’ उनले कन्चनपुरमा मात्रै भारतीय सुरक्षा निकायबाट अवकाश पाएका एक हजार दुई सयभन्दा बढी भुपू रहेको बताए ।

यो पनि