चैत १६, २०८०, शुक्रबार
               

गाईभैँसीलाई सुत्केरी भत्ता

रासस
जेठ ०९, २०७७

ADVERTISEMENT

कैलाली । कैलालीको टीकापुर नगरपालिकाले गाईभैँसीलाई सुत्केरी भत्ता दिने भएको छ । 

चालू आर्थिक वर्षमा ६० भन्दा बढी गाईभैँसीलाई सुत्केरी भत्ता वितरण गर्ने नगरपालिका पशु शाखाले जनाएको छ । 

शाखा प्रमुख श्यामराज पाण्डेका अनुसार उन्नत जातका बाच्छी उत्पादन गर्ने कार्यक्रमअन्तर्गत किसानलाई गाईभैँसीपालनमा प्रोत्साहनका लागि सुत्केरी भत्ता दिन थालेको छ । 

‘किसानले दूध उत्पादनमा मात्र ध्यान नदिएर बाच्छीको स्याहारमा पनि ध्यान दिऊन् भनेर भत्ता उपलब्ध गराउन थालेका हौँ,’ उनले भने, ‘किसानलाई पशुपालनका लागि प्रोत्सहान र पशुको सम्मानका लागि भत्ता वितरण गर्ने नीति लिएका छौ ।’ 

सुत्केरी पशुलाई पौष्टिक आहार खुवाउनका लागि पनि यो कार्यक्रम प्रभावकारी हुने विश्वास उनको छ । 

सुत्केरी भत्ता पाउन किसानले गाई र बाच्छीको फोटो कार्यालयमा पेस गर्नुपर्छ । भत्ता निजी अस्पतालमा कृत्रिम गर्भाधान गरेको भए पनि पाउने व्यवस्था गरिएको छ । सेवा लिनका लागि कृत्रिम गर्भाधान गरेको प्रमाणचाहि पेश गर्नुपर्छ । 

टीकापुर–४ बाघमाराका गाईपालक किसान रत्नप्रसाद पोखरेलको गाईले यस वर्ष रु एक हजार सुत्केरी भत्ता पायो । 

‘उन्नत जातको बाच्छी होस् भनी कृत्रिम गर्भाधान गरेका थियौँ,’ पोखरेलले भभने, ‘गाई सुत्केरी हुनेबित्तिकै एक हजार पाए । यसले गाईलाई आवश्यक पोषण खुवाउन सहयोग भयो ।’

कृषि शाखाले यसबाहेक पशुपालक किसानलाई अवलोकन भ्रमण, घाँसको बिउमा अनुदान, प्राविधिक सहयोग, पशु स्वास्थ्य शिविरजस्ता कार्य गर्ने गरेको छ ।

शाखाले यस वर्ष डालेघाँस, बहुवर्षीय घाँस, पौष्टिक आहारा वितरण कार्य गर्दैछ । 

‘यो समय घाँस खेती गर्ने समय हो,’ शाखा प्रमुख पाण्डे भने, ‘लकडाउनमा वितरणमा समस्या भएको छ । त्यसैले किसानलाई भेला गर्न कठिन छ । अब विकल्पको खोजी गर्दै वितरण गर्ने तयारी गर्दैछौँ ।’

पशुपालक किसान शिव थापा टीकापुर दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको बताए ।

‘यहाँ व्यावसायिकरूपमा पशुपालनमा लाग्ने युवाहरुको सङ्ख्या बढ्दै गएको छ,’ उनले भने, ‘किसानलाई प्रोत्साहन गर्ने कार्य भइरहेको छ तर यति मात्र पर्याप्त होइन ।’ 

खेतीयोग्य जमिन प्लटिङ भएर किसानलाई घाँस उत्पादनमा समस्या हुने अवस्था आउन थालेको छ । स्थानीय सरकारले यस सम्बन्धी दीर्घकालीन नीति तथा योजना बनाउनुपर्ने उनको भनइ छ । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि