चैत १६, २०८०, शुक्रबार
               

कृषकलाई धानको बिउ वितरण

नेपाल फ्ल्यास
जेठ ०९, २०७७

ADVERTISEMENT

तनहुँ । तनहुँको भानु नगरपालिका–९ मा जैविक विविधता संरक्षण समितिले कृषकलाई धानको बिउ वितरण गरिएको छ । 

कृषि ज्ञान केन्द्र तनहुँ र भानु नगरपालिकाको सहयोगमा समितिले भानु नगरपालिकाका विभिन्न वडाका ६०० कृषकलाई धानको बिउ वितरण गरेको हो ।

कृषि ज्ञान केन्द्र तनहुँको पकेट कार्यक्रमअन्तर्गत ५० प्रतिशत र भानु नगरपालिकाको कृषि शाखाको ४० प्रतिशत अनुदानमा कृषकलाई धानको बिउ वितरण गरिएको समितिका अध्यक्ष विकलराज अधिकारीले जानकारी दिए । 

भानु नगरपालिका ७, ८, ९, १०, १२ र १३ का कृषकलाई उन्नत जातको सावित्री, मकवानपुर, राम, लोकतन्त्र धान वितरण गरिएको छ । सबै कृषकलाई गरेर १४ टन धानको बिउ वितरण गरिएको समितिले जानकारी दियो ।

 बन्दाबन्दीका कारण शहर बजारसम्म पुगेर धानको बिउ खरिद गर्न समस्यामा परेका कृषक गाउँमै धानको बिउ अनुदानमा पाएपछि खुसी भएका छन् ।

बन्दाबन्दीबाट प्रभावित तनहुँ जिल्लाका कृषकलाई स्थानीय तहले पनि विभिन्न बालीका बिउ उपलब्ध गराउने भएको छ ।

बन्दाबन्दीका कारण सबै क्षेत्र प्रभावित भइरहेकाले सहजरुपमा बिउ नपाउने होकि भन्ने चिन्तामा रहेका कृषकलाई स्थानीय तहले विभिन्न प्रजातिका बिउ उपलब्ध गराउन लागेको हो ।

तनहुँको आँबुखैरेनी गाउँपालिकाले कृषकलाई बिउ उपलब्ध गराउनका लागि तयारी शुरु गरिसकेको प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिए । 

गाउँपालिकाको आर्थिक वर्ष २०७६÷७७ को स्वीकृत कार्यक्रमबमोजिम कृषकलाई उन्नत धान तथा तरकारीको बिउ वितरण गर्न लागिएको उनले जानकारी दिए । 

 ‘बन्दाबन्दीका कारण कृषक आफैँले खरिद गर्न चाहे पनि सहजरुपमा खरिद गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘गाउँपालिका आफँैले खरिद गरेर कृषकलाई बिउ उपलब्ध गराउनेछ ।’

गाउँपालिकाले धानको सावित्री, रामधान, गोलभेँडा, काँक्रो, रामतोरिया, सिमी, बोडी, खुर्सानीलगायत बिउ उपलब्ध गराउनेछ ।
गाउँपालिकाले बिउ आवश्यक पर्ने कृषक र समूहलाई निवेदन दिन आह्वान गरेको छ । 

कृषक वा कृषक समूहको निवेदन, नागरिकता, दुई रोपनी जग्गा भएको प्रमाण पेश गरेपछि कृषकलाई बिउ उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।

शुक्लागण्डकी नगरपालिकाले पनि कृषकलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बिउ वितरण गर्न लागेको छ । 

प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले कृषकको मागबमोजिम सावित्री, रामधान वा मकवानपुर जातका धानका बिउ उपलब्ध गराउन लागिएको बताए । 

बन्दीपुर गाउँपालिकाले भने कृषकलाई कृषि सामग्री वितरण गर्ने भएको छ । व्यावसायिकरुपमा कृषि पेसा अपनाउँदै आएका कृषकलाई कृषि औजार वितरण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष पूर्ण्सिं थापाले जानकारी दिए । 

उनले कृषकलाई मिनी टेलर, कुटानी, पिसानी, पानी तान्ने मोटर, ठेलागाडा ६० प्रतिशत अनुदानमा प्रदान गर्ने बताए । 

कृषकलाई कृषि पेशाप्रति आकर्षित गर्न कृषि सामग्री वितरणको नीति लिइएको थापाले बताए । 

देवघाट गाउँपालिकाले फलफूलको बिरुवा ५० प्रतिशत अनुदानमा कृषकलाई वितरणको तयारी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीका अनुसार लिची, आँप, केरा, कागती, रुखकटहर, भुइँकटहर, जुनार, अलैँची, सुन्तला, किबी, जुनारलगायतका बिउ अनुदानमा वितरण गरिनेछ ।

जिल्लामा सबै स्थानीय तहले आवश्यक पर्ने उन्नत तथा स्थानीय जातका बिउ खरिद गरिसकेको हुँदा बन्दाबन्दीले कुनै असर नगर्ने कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । 

जिल्लाको ७१ हजार ९२८ हेक्टर क्षेत्रफल खेतीयोग्य छ । जिल्लाका कृषकले मुख्यरुपमा धान, मकै, कोदो, जौ, आलु, सुन्तलालगायत खेती गर्दै आएका छन् ।


कस्तो लाग्यो ?

यो पनि