बैशाख ०६, २०८१, बिहीबार
               

राष्ट्रियतामा एकता
भारतीय मिडियामा मिनेन्द्रदेखि मनिषासम्म

ADVERTISEMENT

नेपालले लिम्पियाधुरासहितको भूभाग समेटेर नक्सा अद्यावधिक गरेपछि भारतीय मिडिया नेपालविरुद्ध खनिएका छन् । लामो समयदेखि भारतीय अतिक्रमणमा परेको ती क्षेत्र समेटेर भारतले नक्सा प्रशासन गरेपछि भारतीय मिडिया नेपाल र नेपालको समर्थन गर्नेविरुद्ध खनिएका हुन् । यता प्रतिश्पर्धात्मक राजनीतिमा विभिन्न विषयमा आरोप–प्रत्यारोपमा उत्रने राजनीतिक दलहरु भारतद्वारा गरिएको सीमा अतिक्रमणको एकजुट भएर प्रतिवाद गरिरहेका छन् ।

अहिले भारतिय मिडियाले अभिनेत्री मनिषा कोइरालाको आलोचनामा समय खर्चिरहेका छन् । विपक्षी दलका नेतालाई नेपालको विपक्षमा बोल्ने प्रयास गराइरहेका छन् । तर सरकारले नेपालको नयाँ नक्सा जारी गरेपछि आम नेपाली अहिले यही गर्ववोध एवं अनुभूतिले हर्षित र पुलकित भएको अवस्थाको कोही विपक्षमा छैनन् । जसकारण भारतीय मिडियाका प्रयास असफल भइरहेको छ । विगतमा ‘भारतले नाकाबन्दी लगाएको’ बेलामा खुलेर नाकाबन्दी भन्नसमेत नसकेका नेताहरु अहिले राष्ट्रियताको पक्षमा एकजुट भएपछि भारतीय मिडियाको मसला केही कम देखिएको छ । शायद भूकम्पपश्चात भारतीय मिडियामा नेपालबारेका सामग्रीहरू यतिधेरै प्रसारित भैरहेको यो नै पहिलोपटक हो ।

नेपालको नयाँ नक्साको बारेमा भारतीय विदेशमन्त्रालयमार्फत कर्मचारीस्तरबाट जारी विज्ञप्तिले नेपालको नयाँ नक्सा भारतलाई अस्वीकार्य रहेको सन्देश प्रवाह गरेको छ । भारतको विभिन्न राजनीतिक दलहरुले समेत प्रतिक्रिया जनाइसकेकेका छैनन् । तर भारतीय मिडिया भने यो विषयमा निकै उत्तेजित देखिएका छन् । भारतका सबैजसो टेलिभिजन च्यानलले नेपाल–भारत सीमा विवादका बारेमा ‘टक–शो’ गरेका छन् । सबैजसो कार्यक्रममा कालापानी, लिपुलेक र लिम्पियाधुराको विवादको जड पहिल्याउनुभन्दा पनि चीनको उक्साहटमा नेपालले नयाँ नक्सा जारी गरेको तर्कलाई प्रस्तुत गर्नमै अधिक समय र ऊर्जा खर्च गरेको पाइन्छ । जुन तथ्य संगत नै देखिँदैन ।

नेपालले नयाँ नक्सा  जारी गर्नासाथ चर्चित कलाकार मनिषाले नेपालको नयाँ नक्साको खुलेर समर्थन गरेकी थिइन् । उनको देशप्रेम, माटोप्रेम उनले कर्मघर बनाएको बलिउड र विशेष गरी भारतीयहरुलाई भने असैह्य भयो । नेपालले जारी गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्साको पक्ष लिदै मनिषाले सामाजिक सञ्जाल ट्वीटरमा ‘हाम्रो सानो राष्ट्रको मर्यादा राख्नका लागि धन्यवाद, हामी सबै अब तीनै महान राष्ट्रहरुबीच शान्तिपूर्ण र सम्मानजनक वार्तालापको प्रतीक्षामा छौँ' भनेर दुई दिन अगाडि ट्वीट गरेकी थिइन् ।’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले छिट्टै कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा जारी गर्ने बताएपछि मनिषाले उक्त ट्वीट गरेकी थिइन् । जुन अहिले भारतीय मिडियाले आलोचनाको विषय बनेको छ । भारतीय मिडियाले उनलाई भारतको खाना खाएर चीनको गीत गाउने सम्मको आरोप लगाएको छ । सामाजिक सञ्जालमा भाइरल बनेको एक भिडियो क्लिपमा एक महिला प्रस्तोताले  भन्दै छिन् ‘ए मनिषा कोइराला खाती हे भारत में, लेकिन गाना गाती हो चाइनाको ।’ उनी त्यतिमै रोकिएकी छैनन् । मानिषाले जे जति पायो सबै भारतले दिएको दाबी गरिएको छ । 

‘मनिषाको भारतीय जनताने प्यार दिया, नाम दिया, सुपरस्टार बनाया, पैसा दिया लेकिन मनिषाने ए क्या दिया ?’ यस प्रकारको संकीर्ण विचार व्यक्त गरेकी छिन् । त्यो भिडियोमा केही भारतका केही कट्टर राष्ट्रवादी भन्न चाहनेहरुले कमेन्ट गरेका छन् । त्यहाँ देख्न सकिन्छ, ‘मनिषाका फिल्म बहिस्कार करो, यिनको नेपाल भेजो ।’

जस्तो कि मनिषाले आफ्नो कार्यका दौरान जहाँ भए पनि उनको रगतमा नेपालीपन छ भन्ने आज प्रमाणित गरेकी छिन् । त्यतिमात्र होइन उनले राष्ट्रियताको मुद्दामा विश्वभरिका नेपालीहरू एकजुट हुन आवश्यक छ भन्ने सन्देशसमेत दिएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएको कोरोना भाइरस अरु ठाउँबाट आएको भन्दा कडा बताएको बारे पनि भारतीय मिडिया प्रसंग उठाएर कोकोहोलो मच्चाउन थालेको छ । यस विषयमा र नेपालको नयाँ नक्साबारे नेपालका दलहरुको धारणा विभाजन गर्ने प्रयास असफलसमेत गरेको छ । बुधबार साँझ नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालसँगको अन्तर्वार्ताको क्रममा भारतीय एक टेलिभिजन च्यानल रिपब्लिक असफल भयो । 

नेता रिजाल, रिपब्लिकाका सम्पादक सुवास घिमिरे र दी हिमालयन टाइम्सका सम्पादक प्रकाश रिमाल अतिथि थिए । केही भारतीय अतिथि पनि थिए । कार्यक्रमको सञ्चालक ‘सत्तापक्षीय पत्रकार’ अर्णव गोस्वामी थिए । कार्यक्रमको शीर्षक थियो ‘चाइना युजेज नेपाल’, अर्थात् चीनले नेपाललाई प्रयोग गर्छ । अर्णवले सुरूमै भने, ‘चीन कसैको साथी हैन ।’ 

उनि यत्तिमा किन रोकिन्थे । ‘नेपालले चीनको इशारामा नयाँ नक्सा सार्वजनिक गर्‍यो’ भन्ने भनाइ राख्दै थिए । जवाफमा नेता रिजालले भने, ‘अर्णव, तपाईंले प्रश्न गरेका हो कि मन्तव्य दिनुभएको हो ? कि मलाई कुनै सन्देश दिन खोज्नुभएको हो ? नेपालमा यसरी अन्तर्वार्ता लिइँदैन ।’

जवाफमा अर्णवले भने, ‘नेपालमा कसरी अन्तर्वार्ता गरिन्छ मलाई थाहा छैन । भारतमा यसरी नै गरिन्छ ।’ कार्यक्रम हेर्दा लाग्थ्यो प्रस्तोतालाई कालापानी, लिपुलेक र लिम्पियाधुराको विवादको जडबारे समेत राम्रो ज्ञान छैन । त्यसपछि अर्णवले बहसलाई मोड्न खोजे । उनले नेपालको पछिल्लो कदममा चीनको हात रहेको पुष्टि गर्न खोज्दै अर्काे प्रतिकात्मक प्रश्न राखे । प्रधानमन्त्री ओलीको वक्तव्य स्मरण गराउदै भने ‘चीनको कोरोना भाइरसभन्दा भारतबाट आएको भाइरस कडा ? तपाईंको प्रधानमन्त्रीको कस्तो तर्क ? यसले के संकेत गर्छ ?’ नेता रिजालको जवाफ थियो, ‘म कोरोनाको विज्ञ होइन । म सीमा सम्बन्धमा सरकारले लिएको अडानको समर्थन गर्छु । कोरोनाको बारेमा प्रधानमन्त्रीले के भने के भनेनन्, मेरो सरोकारको विषय होइन ।’

कालापानी विवादमा चीनको भूमिका अधिकांश भारतीय टेलिभिजनले कालापानी विवादबारे ‘टक शो’ चलाइरहेका छन् । ‘चीनले नेपाललाई प्रयोग गर्‍याे । चीनको बलमा नेपालले भारतलाई आँखा तरेको ?’ जस्ता उत्तेजक र अतिरञ्जित प्रश्नका साथ उनीहरुले आफ्नो ‘टक शो’को भूमिका बाँधेको पाइन्छ ।

भारतीय मिडिया हेर्दा कालापानी, लिपुलेक र लिम्पियाधुराको विवादको जडबारे समेत राम्रो ज्ञान देखिँदैन । भारतले ती नेपाली भूभागमा सन् १९६२ मा चीनसँगको युद्धकै समयदेखि कब्जा जमाएको तथ्यलाई भारतीय मिडियाले कहिल्यै उजागर गर्न सकेनन् । त्यो तथ्यलाई उजागर गर्न चाहेका पनि छैनन् । नेपालले नक्सा अध्यावधिक गरेको विषयमा भारतीय टेलिभिजन च्यानलहरु एबीपी, आजतक, जीन्यूज, रिपप्लिकालगायतका टिभीका कार्यक्रम, टक शो र समाचारको प्रस्तुति र भाषा हेर्दा लाग्छ अब नेपाल र भारतकाबीचको सम्बन्ध असामान्य अवस्थामा जाँदै छ ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि