बैशाख १३, २०८१, बिहीबार
               

समुद्री आँधीबाट भारत र बाङ्ग्लादेशमा १५ जनाको मृत्यु

नेपाल फ्ल्यास
जेठ ०८, २०७७

ADVERTISEMENT

एजेन्सी । बङ्गालको खाडीबाट उत्पन्न भएको एउटा समुद्री आँधीका कारण पूर्वी भारत र बाङ्ग्लादेशमा गरी कम्तीमा १५ जनाको मृत्यु भएको छ । उक्त आँधीका कारण प्रभावित क्षेत्रमा तीव्र हावाहुरी र वर्षाका कारण उथलपुथल भएको जनाइएको छ ।

पूर्वी भारतीय राज्यहरू र बाङ्ग्लादेशमा अम्पन नामक उक्त आँधीको असर धेरै देखिएको छ । ती क्षेत्रहरूमा तीव्र गतिको हुरी चल्दा रुखहरू ढलेका छन् भने घरको छानाहरू उडेका छन् । बिजुली र टेलिफोनका खम्बाहरू पनि ढलेका छन् । 

३० लाखलाई सुरक्षित स्थानमा सारियो
कतिपय घरहरूमा लडेका रुखहरू र खम्बाहरू पस्दा मानिसहरू घाइते समेत बनेका छन् । कम्तीमा ३० लाख मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

सुरक्षित स्थानमा सारिएकाहरूमा बाङ्ग्लादेशीहरू धेरै छन् । कोरोनाभाइरसका महामारीका कारण उद्धारमा कठिनाइ उत्पन्न भएको छ । 


ठूलो आँधी
कोभिड– १९ का कारण सामाजिक दूरी कायम गर्नुपर्दा आम उद्धारमा समस्या भएको हो । कतिपय मानिसहरू सुरक्षित क्षेत्रमा जान तयार भइरहेका छैनन् । त्यसमध्ये केही मानिसहरू हालै मात्र कोरोनाभाइरसबाट बच्न क्वारन्टीनमा बसेर फर्केकाहरू पनि छन् ।

उक्त आँधी बङ्गालको खाडीमा सन् १९१९ यता आएको सबैभन्दा ठूलो समुद्री आँधी हो । यद्यपि यसको हावाको गति केही कम भएको छ । तर, पनि यसलाई एकदमै शक्तिशाली समुद्री आँधीका रूपमा लिइएको छ ।

नेपालमा प्रभाव
मौसमविद्हरूले नेपालमा पनि उक्त आँधीको प्रभाव देखिएको जनाएका छन् । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल उक्त आँधीको प्रभावका साथै स्थानीय वायुको पनि प्रभाव रहेको छ ।

हाल देशको पूर्वी र मध्य भू–भागमा पूर्ण बदली रही पश्चिममा आंशिक बदली रहेको उसले जनाएको छ ।

पूर्व र मध्यको थोरै स्थानमा वर्षा भईरहेको पनि महाशाखाले जनाएको छ । उसले चट्ट्याङ र केही साना खोलाहरूमा बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन आह्वान पनि गरेको छ । यो सामग्री बीबीसीले प्रकाशन गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि