जेठ १२, २०७७, सोमबार
               

नीति तथा कार्यक्रम महत्त्वाकांक्षी होइन, उच्चाकांक्षी छ
विष्णु पौडेल
६ दिन अघि

सर्वप्रथम कोभिड–१९ को विश्वव्यापी महामारीका कारण जीवन गुमाउनुहुने नेपाली तथा संसारभरिका दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । उपचाररत र संक्रमितहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । जीवनको प्ररवाह नगरी अग्रभागमा रहेर यस महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि सक्रिय भूमिका निर्वाह गर्नुहुने चिकित्सक, स्वास्थ्यकर्मी, सफाइकर्मी, नेपाली सेना, प्रहरीलगायत सम्पूर्ण सुरक्षा निकाय, सबै तहका जनप्रतिनिधिहरू, सहयोगदाता महानुभावहरू, विदेशी मित्रराष्ट्रहरू, सञ्चार जगत र सरकारी निर्णय पालना गरेर कोभिड–१९ नियन्त्रणमा योगदान गर्नुहुने आमजनसमुदायमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

सम्माननीय राष्ट्रपतिज्यूको सम्बोधनमार्फत यस सम्मानित संसद्समक्ष प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को नेपाल सरकारको नीति तथा कार्यक्रमलाई म दृढतापूर्वक समर्थन गर्दछु ।

नीति तथा कार्यक्रमले आगामी आर्थिक वर्षको बजेटलाई निर्देशित गर्नुपर्दछ । वर्षभरिका लागि सरकारको काम र समग्र राज्य प्रणालीलाई मार्गदर्शन गर्नुपर्दछ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्मेवारी सम्हाल्नुभएपश्चात् चरणबद्ध रूपमा 'समृद्ध नेपाल, सुखी नेपाली'को राष्ट्रिय आकांक्षा पूरा गर्ने संकल्पका नीति तथा कार्यक्रम आउने गरेको छ । मैले यसपटक पनि त्यसैगरी आएको पाएको छु । यो नीति तथा कार्यक्रम निर्वाचनका बेलामा वर्षका लागि जनतासमक्ष गरिएको प्रतिबद्धताको चरणबद्ध कार्यान्वयनको संकल्प बोकेर आएको छ । आगामी आर्थिक वर्षमा के–के गर्ने भन्ने प्रतिबद्धतासहित आएको छ ।

नीति तथा कार्यक्रमलाई महत्त्वाकांक्षी भनेको पनि सुनियो । मेरो विचारमा यो महत्वाकांक्षी होइन, उच्चाकांक्षी छ । श्रोत, साधन र सामर्थ्यको अधिकतम परिचालन गर्दा कार्यान्वयन गर्न सकिने प्रकृतिको छ ।

सदनमा सपनाको प्रसङ्ग उठेको छ । सपना नदेखी तस्बिर बनाउन सकिन्न । सपनासम्म पनि देख्न नसक्नेले विकास, निर्माण वा समृद्धिको अभियानलाई नेतृत्व गर्न सक्तैन । तसर्थ, नेतृत्व स्वप्नदर्शी हुनैपर्छ । सपना कार्यान्वयन गर्न सकिने नै हुनुपर्दछ । सरकारको नीति तथा कार्यक्रम कोभिड– १९ले सिर्जना गरेको चुनौती सामना गर्ने र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने सपना र संकल्पका साथ आएको छ । नीति तथा कार्यक्रमले आधारहीन सपना बाँडेको छैन, बरु यो स्पष्ट उद्देश्य, लक्ष्य, कार्यान्वयनको कार्ययोजना र परिणाम प्राप्त गर्ने अठोटका साथ आएको छ ।

यदाकदा, नीति तथा कार्यक्रमलाई महत्वाकांक्षी भनेको पनि सुनियो । मेरो विचारमा यो महत्त्वाकांक्षी होइन, उच्चाकांक्षी छ । श्रोत, साधन र सामर्थ्यको अधिकतम परिचालन गर्दा कार्यान्वयन गर्न सकिने प्रकृतिको छ । मेरो विचारमा नीति तथा कार्यक्रम सम्भावनाको न्यूनतम सीमारेखाको नजिक होइन, उच्चतम सीमारेखाको नजिक भएरै आउनुपर्दछ र यसरी नै आएको पनि छ ।

नीति तथा कार्यक्रम कोभिड–१९ को महामारी र त्यसले मानव जीवनको रक्षा तथा आर्थिक–सामाजिक क्षेत्रमा सिर्जना गरेको चुनौतीको सामना कसरी गर्ने ? कोरोनाको रोकथाम, नियन्त्रण र उपचारलाई कसरी प्रभावकारी बनाउने ? प्रकृतिको सुन्दरतम् सृष्टि मानव जीवनको रक्षा कसरी गर्ने ? यसले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभावलाई कसरी सामना गर्ने ? भन्ने जस्ता विषयहरूमा तत्कालका अभिभारा निश्चित गरेको मात्र होइन, पोस्ट कोभिड योजनासहित प्रस्तुत भएको छ । आर्थिक तथा सामाजिक क्षेत्रमा थप क्षति हुन नदिन र अर्थतन्त्रलाई गतिशील तुल्याउँदै उच्चदरको आर्थिक वृद्धि हासिल गर्नमा केन्द्रित भएको छ ।

सरकार र समग्र राज्य प्रणाली प्रकृति वा मानव सिर्जित साना वा ठुला घटना, दुर्घटना वा चुनौतीबाट विचलित हुँदैन, हुन मिल्दैन । सरकारले, राज्यले जस्तोसुकै संकटको पनि सामना गर्न र राष्ट्र तथा जनताको आम वा आधारभूत आवश्यकता पूरा गर्न सकिन्छ भन्ने आत्मविश्वासका साथ अघि बढ्नुपर्दछ । प्रस्तुत नीति तथा कार्यक्रम त्यसरी नै आएको छ । नीति तथा कार्यक्रम कोभिड–१९ ले सिर्जना गरेको चुनौतीमा अल्झिएर बस्ने होइन । त्यसलाई सुझबुझ, साहस र वस्तुनिष्ठ योजनाका साथ सामना गर्ने, आर्थिक–सामाजिक जीवनलाई गतिशील बनाउने, विकास, समृद्धि र सामाजिक न्याय हासिल गर्ने र 'समृद्ध नेपाल, सुखी नेपाली'को राष्ट्रिय आकांक्षा पूरा गर्ने संकल्पका साथ प्रस्तुत भएको छ ।

यसपटकको नीति तथा कार्यक्रम समस्त मानव जाति र सिंगो विश्वले सामना गरिरहेको कोभिड–१९ को चुनौतीलाई परास्त गर्दै अगाडि बढ्न रोकथाम, नियन्त्रण र उपचारमा केन्द्रित भएर आएको छ । कोभिड–१९ को विरुद्धमा केन्द्रित भइरहँदा पनि राज्य आफ्ना आम वा आधारभूत अभिभाराबाट विमुख हुन सक्तैन भन्ने मान्यता बोकेर आएको छ ।

नीति तथा कार्यक्रम बदलिएको परिस्थिति अनुरूप कोभिड–१९ नियन्त्रण गर्ने र स्वास्थ्य, शिक्षा, कृषि, उद्योग र रोजगारीका क्षेत्रमा लगानी केन्द्रित गर्ने, थप क्षति हुन नदिने र अर्थतन्त्रलाई गतिशील तुल्याउने संकल्पका साथ आएको छ । मितव्ययिता अपनाउने, फजुल खर्च रोक्ने, सुशासन प्रवर्धन गर्ने र उत्पादन वृद्धि तथा रोजगारी सिर्जनामा केन्द्रित हुने अठोटका साथ आएको छ । अर्थतन्त्रलाई सबल, स्वावलम्बी आत्मनिर्भर तुल्याउने तथा उपलब्ध परिस्थितिमा सम्भवतः सीमासम्मको उच्च आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यका साथ आएको छ ।

नीति तथा कार्यक्रम कोभिड– १९ लाई परास्त गर्ने र ऊर्जा, सडक, सिँचाइ, रेलमार्ग, खानेपानी जस्ता पूर्वाधारहरूलाई पनि एकसाथ अगाडि बढाउने अठोटका साथ आएको छ । आगामी आर्थिक वर्षमा कृषि उत्पादनमा महत्त्वपूर्ण योगदान गर्ने र प्रदेश २ को मुहार बदल्ने सुनकोसी–मरिन–बागमती डाइभर्सन आयोजनाको निर्माण कार्य आरम्भ गर्ने तत्परता  निकै नै महत्त्वपूर्ण छ ।

त्यस्तै अन्तर्देशीय तथा अन्तर्राष्ट्रिय आबद्धताका दृष्टिले असाधारण महत्त्व राख्ने र नेपाली अर्थतन्त्रको जीवनरेखा साबित हुने हैसियतका वीरगन्ज–काठमाडौं, केरुङ–काठमाडौं तथा पूर्व–पश्चिम रेलमार्गको निर्माण कार्य आगामी वर्षभित्र प्रारम्भ गर्ने अठोट चानचुने विषय होइन । तमोर–चिसाङ, माडी–दाङ र कालिगण्डकी–तिनाउ डाइभर्सनजस्ता आयोजनाहरूलाई अघि बढाउने तत्परता साधारण विषय होइन । श्रोतको व्यवस्थापन गरेर बुढी गण्डकी, पश्चिम सेतीजस्ता जलविद्युत् आयोजनाहरूलाई अघि बढाउने संकल्प पनि त्यत्तिकै महत्त्वपूर्ण छ । भूमि बैंक स्थापना गर्ने र खाद्यान्न, दूध, माछामासु, तरकारी तथा फलफूलजस्ता उत्पादनमा आत्मनिर्भर हुन लगानी केन्द्रित गर्ने विषयको महत्त्वलाई निकट विगत र वर्तमानमा नेपालले भोगेको पीडाले दर्साएको छ ।

नीति तथा कार्यक्रमले राष्ट्रिय हितको पक्षमा दृढताका साथ उभिँदै छिमेकी मित्रराष्ट्रहरूसँग असल सम्बन्ध राख्न चाहन्छ, विगतदेखि थाती रहँदै आएका र हाल उत्पन्न भएका समस्यालाई वार्ताका माध्यमबाट समाधान गर्न चाहन्छ र तथ्यको जगमा खडा भएर कूटनीतिक वा राजनीतिक वार्ताद्वारा समस्याको समाधान चाहन्छ भन्ने स्पष्ट गरेको छ ।

कोभिड–१९ द्वारा सिर्जित कल्पनाका तितो चुनौतीका बाबजुद श्रोत व्यवस्थापनमा आन्तरिक श्रोत परिचालनलाई मुख्य आधार बनाउने अठोट नीति तथा कार्यक्रमको अर्को महत्त्वपूर्ण विशेषता हो । मेरो विचारमा नीति तथा कार्यक्रमको महत्त्व लामो वा छोटोमा होइन, त्यसमा अन्तर्निहित अन्तरवस्तुमा खोजिनु उचित हुन्छ । त्यस दृष्टिले यो नीति तथा कार्यक्रम सही, समयोचित र आत्मविश्वासयुक्त छ । यो परिस्थितिको सीमाभित्र रहेर पूरा गर्न सकिने स्पष्ट लक्ष्य तथा कार्यान्वयनको मूर्त योजना हो भन्ने कुरा स्पष्ट छ । यसले आगामी जेठ १५ गते अर्थमन्त्रीद्वारा संघीय संसद् समक्ष प्रस्तुत हुने बजेट मार्फत राजस्व र व्ययका लागि पनि स्पष्ट दिशानिर्देश गरेको छ । आगामी बजेटमा यस नीति तथा कार्यक्रमको मर्मलाई आत्मसात् गरिनेछ, राजस्व परिचालन र विनियोजन कुशलताद्वारा यसको कार्यान्वयन सुनिश्चित गरिनेछ भन्नेमा विश्वास व्यक्त गर्न चाहन्छु ।

नीति तथा कार्यक्रमले वर्तमान सरकार नेपाली भूमिको रक्षा र राष्ट्रिय स्वाधीनताको सबलीकरणका लागि अविचलित छ, त्यस निम्ति सिंगो राष्ट्रलाई एकताबद्ध गरेर र राष्ट्रिय सहमति जुटाएर अघि बढ्न चाहन्छ, राष्ट्रिय हितको पक्षमा दृढताका साथ उभिँदै छिमेकी मित्रराष्ट्रहरूसँग असल सम्बन्ध राख्न चाहन्छ, विगतदेखि थाती रहँदै आएका र हाल उत्पन्न भएका समस्यालाई वार्ताका माध्यमबाट समाधान गर्न चाहन्छ र तथ्यको जगमा खडा भएर कूटनीतिक वा राजनीतिक वार्ताद्वारा समस्याको समाधान चाहन्छ भन्ने स्पष्ट गरेको छ । सरकारका लागि मातृभूमिको रक्षा तथा सम्पूर्ण नेपालीको सम्मान र स्वाभिमान सर्वोपरि हुनुपर्दछ भन्ने मान्यतालाई आत्मसात् गरेको छ ।

कोभिड–१९ ले गर्दा नेपाल मात्र होइन, सिंगो विश्व र समस्त मानवजातिले नै कल्पनातीत संकटको सामना गर्नुपरेको वर्तमान समयमा राष्ट्रका सामु उपस्थित सबै प्रकारका चुनौतीको सामना गर्न हामीमा पनि अभूतपूर्व राष्ट्रिय एकताको खाँचो छ । आजको आवश्यकता हामीले परम्परागत ढाँचाको सत्तापक्षीय वा प्रतिपक्षीय अभ्यास गर्ने होइन, कोभिड–१९ को सामना, सीमा रक्षासहित राष्ट्रिय हितको प्रवर्धन, राष्ट्रिय हितअनुकूल सन्तुलित परराष्ट्र नीतिको अवलम्बन र संविधानले दिशानिर्देश गरेझैँ विकास, समृद्धि सामाजिक न्याय र समाजवादको आधार निर्माण जस्ता विषयहरूमा साझा दृष्टिकोण निर्माण गर्न र घनिष्ठ सहकार्य गर्न जरुरी छ । यिनै अन्तर्वस्तुहरूलाई समेटेर आएको नीति तथा कार्यक्रमलाई सहमतिका साथ पारित गर्न र देश तथा दुनियाँका सामु अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शन गर्न सबै राजनीतिक दल तथा सम्मानित सदनका सम्पूर्ण माननीय सदस्यहरूमा हार्दिक अनुरोध गर्दछु ।

(प्रतिनिधिसभाको बैठकमा सकारको नीति तथा कार्यक्रमप्रति पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले राखेको धारणाको सम्पादित अंश)

प्रतिनिधिसभा सदस्य पौडेल सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव हुन् ।
अपडेटः ५१ सेकेन्ड अघि विस्तृतमा हेर्नुहोस्   »

कस्तो लाग्यो ?

यो पनि