बैशाख १२, २०८१, बुधबार
               

एक रुपैयाँ पनि कमाई नभएपछि उनी फर्किए

नेपाल फ्ल्यास
जेठ ०२, २०७७

ADVERTISEMENT

भारतको विहार भिट्टामोड घर बताउने प्रकाश राम काठमाडौंको बागबजारमा जुत्ता मर्मत र पालिस लगाउने काम गर्छन्  । ४२ वर्षीय उनी परिवारका साथ बानेश्वरमा भाडामा बस्छन् । उनको साथमा पत्नी र छोरा छन् । छोरा ३ कक्षामा पढ्छन् । घरमा बुढी आमा छिन्, उनलाई बेलाबेलामा खर्च उनैले पठाइदिनुपर्छ ।

प्रकाशले जुत्ता मर्मत तथा पालिसको गर्न थालेको २७ वर्ष भयो, त्यो पनि बागबजार क्षेत्रमै । बागबजारमा नियमित आउने जाने गर्नेहरू उनलाई नचिन्ने कमै होलान् । पुतलीसडकबाट बागबजार छिरेपछि केही पर पिपलबोट छ । त्यहाँ मुनी चार पाँच जना जुत्ता सिलाउने बस्छन् । लकडाउनले गर्दा उनीहरू अहिले आएका छैनन् । तर लकडाउनको ५३ औँ दिन बिहीबार प्रकाश राम पुरानो मैलो बोरामा केही सामाग्री सहित आफ्नो पेशाकर्म गर्न निस्किए ।

पहिला कोलाहल हुने बागबजार क्षेत्र सुनसान थियो । पिपलबोट मुनी केवल चराहरूको आवाजले मात्र वातावरण गुन्जिएको थियो । सधैँ मानिसको चिच्याहट र कोलाहल हुने बागबजार अर्कै देखिएको थियो । हामीले उनलाई दुरी कायम गर्दै सोध्यौँ– ‘लकडाउनको पालना नगरेर किन यहाँ आएको ?’  हाम्रो प्रश्न खस्न नपाउँदै उनले भने ‘खै घरमा रासन पानी सकिएर केही पैसा कमाउन सकिन्छ की भनेर आएको, तर मान्छे कोही भेटिएनन् ।’

प्रकाशको श्रीमती क्यान्सरको बिरामी हुन् । वर्ष दिनअघि उपचारको लागि उनले ऋण लिएका थिए । जुत्ता मर्मत र पालिस गरेको पैसाले जेनतेन रासन पानी, कोठा भाडा र छोराको स्कुल खर्च तिर्दै आएका थिए । पछि श्रीमती बिरामी भएपछि काढेको ऋणको बोझ उनमा थपियो । साथै नियमित औषधी सेवन गर्नुपर्ने हुनाले त्यसको जोहो त गर्नु नै छ । उनलाई अहिले बिहान बेलुका चुलो बाल्नुपर्ने चिन्ता त छदैछ त्यो भन्दा ऋणको कसरी तिर्ने तनाव हुने नै भयो ।

कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका झन्डै दुई महिनायता लकडाउन गरिएको छ । मुलुकमा लागू भएको लकडाउनका कारण प्रकाश र उनीजस्तै अरू मजदुरहरूले काम पाएका छैनन् । प्रकाशले पीडा सुनाए ‘साहुजीले विश्वास गरेर पैसा दिनुभएको थियो, एकमुष्ट तिर्न नसके, किस्ता किस्तामा तिर्नु भनेका थिए, तिर्न सकेको छैन, दुई महिना भयो काम गर्न नपाएको कसरी किस्ता तिर्ने ?’

जुत्ता मर्मत र पालिसबाट दैनिक सात–आठ सय रुपैयाँसम्म कमाई गर्दै आएका थिए । त्यहीबाट गुजारा चलाउँदै आएका उनलाई घर खर्च चलाउन धौ–धौ छ । ‘लकडाउन छ, बालबच्चा स–साना छन्, एकातिर उनीहरूलाई कसरी खुवाउने चिन्ता छ,’ प्रकाश भन्छन् ।  काम दिने कोही पनि नआएको भन्दै कोही आउला कि भन्ने आसमा बसेको उनले बताए । कोही नआएकोले सामान पोको पारेर उनी फर्कन लागेका थिए । ‘आज कति कमाउनुभयो ?’ हामीले सोध्यौ । ‘सडकमा मानिसहरू हिँडेका भए पो कमाउनु, हिजोबाट काम गर्न आएको हिजो डेढ सय भयो, आज एक रुपैयाँ पनि भएन’ यसो भन्दै उनले आफ्नो सामान पोको पारे । 

‘यो मजदुरीबाट पहिला दैनिक ५/७ सय रुपैयाँ कमाउँथेँ, मेरो घरमा सबै परिवार खानका लागि ममा निर्भर छन्,’ उनले भने ‘कोरोना रोगको जोखिम मलाई थाहा छ, तर म आफ्ना बालबच्चा भोको भएको कसरी हेर्न सक्छु ।’ एक रुपैयाँ पनि कमाई नभएपछि उनी निराश हुँदै फर्किए ।

लकडाउनका कारण जुत्ता मर्मत गर्नेहरूको मात्र होइन, व्यवसायीको पीडा पनि उस्तै छ । अधिकांश व्यवसायी अहिले लामो समयसम्म मुलुक लकडाउन हुँदा निराश छन् । कारोबार नै ठप्प भएपछि घर भाडा र बैङ्कको व्याज कसरी तिर्ने भन्ने व्यवसायीमा चिन्ता छाउँदै गएको छ ।  विपन्न समुदायका नागरिकहरू ससाना स्वरोजगारका काम गरेर गुजारा चलाउँछन् । ‘लकडाउन खुल्ने ठेगान छैन । लकडाउनले मजदुर मात्र होइन, हामी साना व्यवसायीहरू पनि ठुलो मारमा छौँ, अहिलेको यो लकडाउनले विपन्न परिवारलाई ६ महिना पिरोल्छ,’ साना स्वरोजगारमा लागेकाहरू भन्छन् । 

विपन्न परिवारका नागरिकलाई स्थानीय तहले दैनिकी चलाउन समस्या भएको भन्दै उनीहरूको पहिचान गर्दै राहत सामग्री वितरण गरे पनि कतिपयले अझै पनि राहत सामग्री पाएका छैनन् । यसतर्फ स्थानीय सरकारले ध्यान दिन जरुरी देखिएको छ । 


कस्तो लाग्यो ?

यो पनि