बैशाख ०८, २०८१, शनिबार
               

लकडाउनमा बन्दै छ पुतलीसडक
लकडाउनपछि भन्नुहुनेछ– ‘वाह पुतलीसडक !’

ADVERTISEMENT

काठमाडौं । लकडाउनका बेला काठमाडौँका सडक चिटिक्क बनाइँदै छन् । धर्तीले बोझ बिसाएको समय, खुला सडक, घमाइलो मौसम छ । यो समयको फाइदा उठाउँदै धेरै ठाउँका सडक सडक रंगरोगन गरिएको छ । धेरै ठाउँमा काम सकिएको छ । कतै जारी छ । कतै सुरु गरिएको छ । 

रंगरोगन मात्र होइन, धेरै ठाउँमा कालोपत्रे गरिएको छ । चाबहिल गौशाला सडक पिच र चक्रपथको चाबहिल–कलङ्की भागको काम तीव्र रूपमा भइरहेको छ । लकडाउनका कारण कालोपत्रे गर्न आवश्यक अलकत्रा आयातमा समस्या भएकाले काममा बाधा पनि भएको छ । तर पनि मौजात रहेका सामग्रीलाई सदुपयोग गर्दै विकासका काम अघि बढाइएको छ ।

लकडाउनको समयलाई सदुपयोग गर्दै काठमाडौँको पुतलीसडकमा ढल मर्मतको कामलाई तीव्र पारिएको छ । ठुलो वर्षा हुना साथ डुबान हुने राजधानीको मुख्य क्षेत्र पुतली सडकमा सडक विभागले ढल मर्मत गरिरहेको छ । अघिपछि अत्यन्तै व्यस्त हुने सो सडक क्षेत्र लकडाउनका बेला मर्मत गर्न लागिएको विभागले जनाएको छ । सरकारले लकडाउनको अवधि थप्दै गएपछि पुतली सडकको ढल व्यवस्थापन गर्न सहज भएको विभागले जनाएको छ । 

पुतली सडकमा ठुला ह्युम पाइप राख्ने, फुटपाथ मर्मत गर्ने र कालोपत्रे गरिने जनाइएको छ । ढल मर्मतका लागि पुरै सडक बन्द गरिएको छ । विभागका अनुसार पीआर कन्स्ट्रक्सनले ढल मर्मत, फुटपाथ तथा कालोपत्रे ठेक्का पाएको थियो ।

सडकमा सवारी गुडेको समयमा हतारहतार रातारात पिच र मर्मतको काम हुन्थ्यो । त्यस्तो समयमा गुणस्तर खस्किन्थ्यो । लकडाउनमा भने मजदुरहरू ढुक्कले काम गर्दैछन् । अहिले भताभुङ्ग बनाएर बनाइँदै गरिएको पुतलीसडकको सडक लकडाउन खुल्दा निकै चिल्ला र चम्किलो बन्नेछ । अनि त्यहाँ पुग्नेहरुले भन्लान् ‘वाह पुलतीसडक ।’

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि