चैत १५, २०८०, बिहीबार
               

सरकारको नीति तथा कार्यक्रम आज : कृषि र रोजगारी सिर्जनामा जोड दिँइने

नेपाल फ्ल्यास
जेठ ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । कृषिलाई प्राथमिकता दिँदै केपी शर्मा ओली नेतृत्वको सरकारको तेस्रो नीति तथा कार्यक्रम आज शुक्रबार सार्वजनिक हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अपराह्न ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत हुने छ ।

सो नीति तथा कार्यक्रममा कृषि उत्पादन, बजार प्रवर्द्धन तथा सहकारीको अवधारणाबाट आधुनिक खेतीलगायतमा जोड दिइने अर्थमन्त्रालय स्रोतले जनाएको छ ।

नीति तथा कार्यक्रममा इतिहासमै पहिलो पटक कृषि क्षेत्रलाई प्राथमिकतामा राखिँदै छ । गत आर्थिक वर्ष ०७५/७६ देखि सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई समेत कृषि पेसामा जोडेर बजेट निर्माण गर्ने सरकारको तयारी रहेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले यस पटक ठुला परियोजना नरोकिने गरी बजेट तर्जुमा गरिरहेको सांसदलाई जानकारी गराएका थिए । उनले पानीजहाज, रेलजस्ता सरकारका महत्त्वाकाङ्क्षी परियोजनामा नियमित बजेट छुट्टिने र प्राथमिक उत्पादनका क्षेत्रमा लगानी बिस्तार गर्ने जनाउ दिएका छन् । कृषि र अन्य क्षेत्रमा रोजगारी सिर्जनामा पनि नीति तथा कार्यक्रमले प्राथमिकता दिने छ । कोरोना संक्रमणका कारण सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र पनि प्राथमिकतामा पर्ने छ ।

आज शुक्रबार मन्त्रिपरिषद् बैठक बसेर नीति तथा कार्यक्रम पास गरिने छ । मन्त्रिपरिषद्ले पास नगरे पनि राष्ट्रपति भण्डारीलाई भने नीति तथा कार्यक्रमको प्रति पठाइसकिएको छ । संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्न सजिलो होस् भनेर अगाडि नै राष्ट्रपतिलाई नीति तथा कार्यक्रम उपलब्ध गराइएको हो ।

सरकारले यही नीति तथा कार्यक्रमको जगमा बजेट ल्याउने छ । संविधानको किटानी व्यवस्था बमोजिम १५ जेठमा बजेट आउने छ ।

यो पनि