बैशाख ०८, २०८१, शनिबार
               

प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर करेन्टकाे यातना
प्रहरी भन्छ –‘गैरकानुनी होइन, भीड नियन्त्रणका लागि गरिएको हो’

नेपाल फ्ल्यास
बैशाख ३१, २०७७

ADVERTISEMENT

भारतले नेपाली भूमि अतिक्रमण गरेर धार्मिक स्थल मानसरोवर जोड्ने सडक निर्माण गरेको विरोध गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएपछि यातना दिने गरेको पाइएको छ । 

अहिले लिपुलेकमा भारतले सडक निर्माण गरेपछि काठमाडौंमा विभिन्न विद्यार्थी संगठनले त्यसको विरोध गरेका छन् । दैनिकजसो विरोध सभा भइरहेका छन् । 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघको आह्वानमा गत सोमबार नेपाली भूमि अतिक्रमणको विरोधमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएपछि पनि यातना दिएको पाइएको छ ।

कोटेश्वर बहुमुखी क्याम्पस इकाईले जडिबुटी क्षेत्रमा गरेको प्रदर्शनका क्रममा पक्राउ परेका प्रदर्शनकारीमध्ये १७ जनालाई प्रहरीले नेपाल पुलिस क्लब ल्याउने क्रममा भ्यानभित्र ‘इलेक्ट्रिक ट्रन्चन’ ले यातना दिएको पीडितहरुले बताएका छन् । 

“केन्द्रीय कार्यसमितिको आह्वानमा हामीले जडिबुटी पुलपारीबाट विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेका थियौँ । प्रहरीसँग पनि शान्तिपूर्ण रुपमा सामाजिक दूरी कायम गरेर कार्यक्रम गर्छौँ भनेका थियौँ,” क्याम्पस इकाईका पूर्वअध्यक्ष बुद्ध पन्थीले भने, “रोडमा निस्केको २–३ मिनेटमै हामीलाई समातेर भ्यानमा हाल्यो । भ्यानबाटै हामीले नाराबाजी गर्न थालेपछि हामीहरुलाई प्रहरीले ‘करेन्ट’ लगायो ।” 

प्रहरीले क्याम्पस इकाईका उपाध्यक्ष सञ्जय बुढाथोकीले लगाएको टि–शर्ट उचालेर पेटमै ‘इलेक्ट्रिक ट्रन्चन’ लगाएको थियो ।

यस्तै, पुलिस क्लब पुगेका कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पत्रकारसँगको संक्षिप्त कुराकानीका क्रममा प्रहरीले नेविसंघका कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएपछि यातना दिएको भन्दै आपत्ति जनाएका थिए । 

“देश, देशको अखण्डताको बारेमा यो सरकारले बेवास्ता गरेको छ । उदासिन भएको छ । त्यस विषयमा विद्यार्थीहरुले बोल्दा, विरोध गर्दा उल्टो विद्यार्थीहरुलाई पक्रेर पुलिसको भ्यानमा राखिसकेपछि पनि कुटपिटमात्रै होइन करेन्ट लगाइएको छ,” उनले भने .

तर प्रहरीले नियन्त्रणमा लिइसकेपछि ‘इलेक्ट्रिक ट्रञ्चन’ नदिइएको दाबी गरेको छ ।

काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले ‘इलेक्ट्रिक ट्रञ्चन’ गैरकानुनी नभएको दाबी गर्दै भीड नियन्त्रणका लागि प्रयोग गरिएको बताए । उनले गाडीमा राखिसकेपछि पनि पक्राउ परेका व्यक्तिले उदण्डता देखाएमा यसको प्रयोग गर्न सकिने बताए ।

“प्रहरीले भीड नियन्त्रण गर्नका लागि गरेको हो,” उनले भने, “यसमा प्रहरीलाई कारवाही गर्ने कुरा हुँदैन ।”


कस्तो लाग्यो ?

यो पनि