चैत १६, २०८०, शुक्रबार
               

जेलमा त्यो एक रात

चेतन पाण्डे
बैशाख ३१, २०७७

ADVERTISEMENT

जीवनको दर्शन कञ्चन नदीमा मात्र होइन, दुर्गन्धित नालीमा पनि भेटिन्छ । सुगन्धै–सुगन्धयुक्त गुलाफले मात्र होइन, दुर्गन्धित लासले पनि केही भनेकै हुन्छ । भावना पोखेकै हुन्छ । चाहिन्छ त बस्, बुझ्ने र सुन्ने चाहना ।

जिन्दगीमा चाहेर–नचाहेर कमाएको अनुभव र पाठलाई सधैँ जीवनको मार्गदर्शन बनाउनै पर्छ भन्ने छैन होला । तर, हाँसेर स्विकार्न भने पर्छ । खराब र सही जे जस्तो होस् । जिन्दगीका पदयात्रामा आउने हरेक सुख–दुखलाई आफैँसँग लिएर हिँड्नै पर्छ । जीवनको गन्तव्य नभेटिँदासम्म वा नआउँदासम्म । उकाली–ओरालीलाई हाँसेरै पार गर्नै पर्छ । 

विद्यालयमा सकारात्मक शिक्षा मात्र पाइन्छन् भन्छन् । त्यो पनि गलत हो । पुस्तकभन्दा पनि शिक्षकको चरित्रमा विद्यार्थीको भविष्य जोडिएको हुन्छ जस्तो लाग्छ । मैले नकारात्मक तत्त्वले भरिएका शिक्षक पनि देखेको छु । त्यही भएर अनुभव बोल्यो होला ।

मैले देखेको छु, त्यस्ता शिक्षक जो रिसाए झैँ गर्दै आफ्नै छात्राको ब्राको हुक तान्दै मुसुक्क मुस्कुराउने । छात्रका अण्डकोषमा ज्यान जाने गरी चिमोट्ने । अनि त्यस्ता शिक्षक पनि देखेको छु, जो विद्यार्थीसँग रिस उठ्दा माझी औँला देखाउन समेत नहिचकिचाउने । यस्ता शिक्षकलाई सम्झिँदा पनि घिन लागेर आउँछ, अहिले पनि । न विद्यार्थीको मर्यादा नत शिक्षकमा हुने गुण अनि संस्कार । त्यस्ता शिक्षकले दिने ज्ञानले कसरी मानिसलाई सत् मार्गमा हिँड्न प्रेरित गर्ला र ? तर, त्यस्ता शिक्षक पनि देखेको छु, जो आफ्ना विद्यार्थीलाई सन्तानभन्दा बढी माया गर्छन् । सही मात्र सिकाउँछन् । हो, त्यस्ता शिक्षकले असल मानिस बन्ने प्रेरणा मात्र दिँदैनन्, उनीहरू विद्यार्थीको मनमा सधैँ बाँची पनि रहन्छन् । मेरो मनमा पनि त्यस्ता धेरै शिक्षक बाँचेका छन् ।

जहाँ असल संस्कार पाइन्छ, त्यसलाई सोरिहाल्नु पर्छ । ज्ञान बाँड्न महात्मा नै चाहिँदैन । ज्ञान लिन सुकिला–मुकिला कोठा नै चाहिँदैन । ज्ञान त कारागारको चौघेराले बाँडेकै हुन्छ ।

त्यसैले भनिन्छ होला, फूललाई फुल्न सुन्दर बगैँचा मात्र होइन, नाली भए पनि हुन्छ । अनि होला, असल सङ्गतबाट तिखारिएकै मानिस सधैँ उच्च कोटीको मानिस बन्न सक्छ । न त्यहाँ धनले काम गर्छ नतै बलले । त्यसैले नालीमा फुल्ने कमल नै संसारको सबैभन्दा पवित्र फूल बन्छ । भगवानको शिरमा चढ्छ । असल संस्कारमा हुर्किएका व्यक्तिले नै यो समाजमा व्याप्त सही र गलतको व्याख्या गर्न सक्छ । अनि समाज र मुलुकलाई सकारात्मक मार्गमा डोराउन सक्छ । 

त्यसैले लाग्छ, हामीले जीवनका दर्शन जहाँ पनि सिक्न पाउँछौँ । जो सँग पनि असल कुरा सिक्न सकिन्छ । जहाँ असल संस्कार पाइन्छ, त्यसलाई सोरिहाल्नु पर्छ । ज्ञान बाँड्न महात्मा नै चाहिँदैन । ज्ञान लिन सुकिला–मुकिला कोठा नै चाहिँदैन । ज्ञान त कारागारको चौघेराले बाँडेकै हुन्छ । जिन्दगी सही र खराब परिभाषा जान्न सकिन्छ । बस्, जान्न चाहने तडप हुनुपर्छ । 

जिन्दगीका उत्कृष्ट र निकृष्ट परिभाषा न धनले सिकाउन सक्छ नतै शक्तिले । यो सबै अनुभवले मात्र सिकाउँछ । सिकाउन त धनीले पनि सक्छन्, गरिबले पनि । बलवानले पनि कमजोरले पनि । पुरुषले पनि, स्त्रीले पनि । अहिले त तेस्रो लिङ्गीले पनि जीवनका लुकेका वा लुकाइएका परिभाषा पनि सिकाउँदै छन् । त्यसैले सबैभन्दा महत्त्वपूर्ण भनेको मानिसले पाउने संस्कार हो । तर, कहिल्यै काहीँ मानिसभित्रको राम्रो संस्कारमाथि पनि खराब संस्कार हाबी हुनसक्छ । मानिसलाई बहकाउन सक्छ, गलत कार्यमा फसाउन सक्छ । त्यो पनि जिन्दगीको निरन्तरताका लागि आवश्यक नै हुन्छ जस्तो लाग्छ ।

फूलले कहाँ सुभाष छर्दा सबैलाई निम्तो पठाउँछ र आफू नजिक आउने । हावाले कहाँ सन्देश पठाउँछ र आफ्नो सिरेटोको मजा लिने । त्यो त उनीहरूको सत्कार्यको निरन्तरता मात्र हो । जीवन र जगत्लाई हँसाउने माध्यम मात्र हो । अरूको ओठमा मुस्कान ल्याउने बहाना मात्र हो ।

जन्मँदा त आखिर हरेक मानिसको ‘हार्ड डिस्क’ रित्तै हुन्छ नै, शतप्रतिशत खोक्रो । ‘प्रोगामिङ’ त उमेर–सङ्गत, संस्कारबाट हासिल हुँदै जाने अनुभवको सँगालो नै हो । जन्मँदा खाली रहेको मस्तिष्कमा यो समाजले जे भर्छ, व्यक्ति त्यस्तै चरित्रको धनी भएर निस्कन्छ । चाहे बुद्धिमान बनोस्, चाहे दुष्ट–फटाहा । त्यो सबै यही समाजले ‘इन्स्टल’ गरेको ‘प्रोग्राम’ मा भर पर्छ । यो समाजले निर्धारण गरेका आचरणको परिभाषा पनि आखिर यही समाजमै रोपिएका बीज नै त हो । जस्तो रोप्यो, त्यस्तै फल्छ । काँडा रोपेर फूलको कामना गर्नु बेकार हो । अनि फूल रोप्यो भने फूल नै फुल्छ, काँडा फुल्दैन । राम्रो रोप्यो, राम्रै फल्छ । खराब रोप्यो, खराबै । 

०००

गएको वर्ष यही समाजको असल र खराब ‘प्रोगामिङ’ बाट उत्पादित केही व्यक्तिहरू भेट्न पाइयो । यसमा को कुन लिङ्गका थिए भन्ने ठुलो मान्यता राख्दैन । तर, मैले नराखे पनि समाजले राख्दो रहेछ, कानुनले राख्दो रहेछ ।

एक साँझ फुपूको घरमा निम्तो मान्न गइयो, परिवार सहित । साउन महिना तिर । राति केही रमझम अनि खानपिनपछि फर्कनु त आफ्नै घर थियो । गल्ती सबैबाट हुन्छन्, मबाट पनि भएछ । काठमाडौँ नै हो, गाडी सबैलाई चाहिने तर, पार्किङ बारे कोही नसोच्ने । म पनि कहाँ फरक छु र अरू भन्दा । जहाँ पायो त्यही रोकिदिन्छु ।

फुपू कहाँ जाँदा मैले जहाँ गाडी पार्क गरेको थिएँ । त्यो कसैको निजी सम्पत्ति रहेछ । अघि–पछि जाँदा पनि त्यहीँ पार्क गर्ने गरेको थिएँ । त्यो दिन मेरो भाग्य बिग्रिएको ! जग्गा मालिकको निर्माण सामग्री त्यही खसाल्नु पर्ने रहेछ । कसको गाडी भन्ने पत्ता नलागे पछि रिसको झोँकमा मेरो ‘ब्याक मिरर’ फुटाइ दिएछन् । अथाह रिसको झोँकमा । बिचरो मेरो पर्स केही हलुको बनाउनु पर्‍यो, भोलिपल्टै ।

जब म गाडी नजिक पुगेँ, एक जना भद्र महिला रिसले मुरमुरिँदै म निरै आइन् । गर्नु गाली गरिन् । संसारमा भए–नभएका सबै गाली उनको मुखबाट निस्किए । उनको साथमा लागेर एक जना अल्लारे झैँ देखिने केटा पनि मलाई कुटुँला झैँ गर्दै आयो । जिउ डालका आधारमा भन्ने हो भन्ने तराजुमा राख्दा म जति तौलको बन्न उसले आफैँ जत्रो अर्को एक जना वा डेढ जना जति थप्नु पर्थ्यो । शायद सुराको मातले ती युवक मलाई कुटुँला झैँ गर्दै थिए । ओठलाई सुसेली बजाउन तयार पारेको झैँ गर्दै । बुरुक्क–बुरुक्क उफ्रँदै । हाँसो पनि उठ्यो तर, रोकेँ । त्यो सिरियस माहौलको मजाक बनाउन चाहिन । एक त आफ्नो गल्ती, त्यसमाथि अरूको टोल । चुपचाप घर जाने निर्णय गरेँ । गाडीको फुटेको सिसा देखेर श्रीमतीजीको पो पारा अचानक तातेछ । यो किन फुटाएको ? भनेर सोधी हालिन् । 

मेरो भाग्य नि ! त्योपछि त के थियो र ? ती महिलाले आफ्नै पति झैँ ठानेर मेरो कठालो तान्न थालिन् । लछार पछार गर्ने शैलीमा । मेरी पत्नीलाई केही गर्न सकिँदैन भन्ने यकिन भएर होला ममाथि जाइ लागेकी । तर, के सक्थिन् र म जस्तो अजङको मानिसलाई हल्लाउन पनि । तर पनि, भर्खरै केही दिनअघि मन पराएर किनेको नयाँ टि सर्ट अल्पायु मै बित्यो । तर पनि, चुप नै लागेँ । एकाध बुद्धिमानी जस्ता देखिने महानुभावले हामीलाई जान आग्रह गरे । खुरुक्क हिँडियो । दर्दनाक तितो काँडाले घोचेको त्यो दिनको अन्त्य त्यसरी भयो । मैले धेरै गर्न सकेको भनेको आफ्नो दाँतलाई किटेर आफैँलाई दुख मात्र दिएँ । रिस चपाउनु बाध्यता थियो । चपाएँ । आफूलाई नामर्दको ट्याग भिडाउनु थियो, भिडाएँ । एउटी महिलालाई पिट्नु बहादुरी पनि हुँदैन भनेर आफ्नै मनलाई सम्झाएँ पनि ।

समयले कहाँ दिमाग सधैँ एउटै मात्र सोचको बास गराउँछ र ? त्यसको केही दिन मात्र के बितेको थियो । विदेशबाट आएर उतै फर्कन थालेका आफन्तसँग बसियो, पिइयो । मापसेका कारण त्यस्तो अवस्थामा मेरी पत्नी नै मेरी ड्राइभर बनिदिन्छिन् । त्यस्तो कुरामा ज्ञानी छिन् । चाहे घर पुगेर जति नै सराप्न किन नपरोस्, अरूको अगाडि इज्जत नै गरेर बोल्छिन् । 

घर पुग्दा झन्डै ११ बजेको थियो होला । चाबहिलको मुख्य सडकमा घर भएको कारण एउटा तल्ला रेस्टुरेन्टलाई भाडामा दिइएको थियो । त्यो दिनसम्म राम्रै चाल चलन भएका व्यक्तिले चलाउने संस्कारी रेस्टुरेन्ट होला जस्तो लागेको थियो । आफैँ बस्ने घरको एउटा तल्लामा रात परेपछि समाजले नपचाउने कार्य हुँदो रहेछ भन्ने पनि त्यो रातसम्म पत्तो पाइएको थिएन । जब त्यो रात घर पुगियो, पहिलो पटक त्यो कुरा पनि थाहा पाइयो । रेस्टुरेन्ट चलाउनेको चाल–चलन कस्तो रहेछ भन्ने पनि पत्तो पाइयो । मुख हेरेर मानिसको आचरण पत्तो लाग्दैन भन्ने सही हो रहेछ । नत्र यो बिम्ब सकिँदासम्म यो समाजले मेरा बारे बनाएको धारणामा पनि अवश्य परिवर्तन आउँछ, मलाई पक्का थाहा छ । तर, जे भोगियो त्यो त लेख्नै पर्छ । राम्रो देखिने आडम्बरमा आफ्नो खराब पक्ष लुकाउनु पनि पाप हो जस्तो लाग्छ ।

जसले रेस्टुरेन्ट चलाउँथे, त्यही केटाहरूले दुई महिलालाई टिल्ल र पारेर पिलाएका रहेछन्, त्यो रात । होस–हवास उड्ने गरेर । रेस्टुरेन्टभित्र के–के हरकत गरे मलाई थाहा भएन । तर, जब हामी घर पुग्यौँ, उनीहरू ती महिलाहरूलाई ट्याक्सीमा चढाएर फेरी कतै जाँदै रहेछन् । शायद ठमेलका कुनै लज तिर । मेरी पत्नीले गाडी घर भित्र राख्न नसक्ने हुँदा मैले त्यो काम गर्नु पर्छ । गाडी राख्दै गर्दा ट्याक्सी ड्राइभरले मोबाइलको टर्च मेरी पत्नीतिर देखाउन थाले । अनि त मेरो कन्चटमा रिसको पारो चढी हाल्यो ।

मानिसले आफ्नो अपमान सहजै पचाउन सक्दो रहेछ, तर पत्नी र सन्तानको सक्दैनन् कि ? भन्ने लाग्छ । मैले ट्याक्सीका ड्राइभरलाई किन लाइट देखाएको ? भनेर कड्किएरै सोधेको मात्र के थिएँ, त्यही ट्याक्सी भित्रबाट एउटा स्त्रीको आवाज आयो । ‘तपाईँ पनि लेडिज नै लिएर आएको त हो नि ! हैन र ? अनि के कराएको ?’ अनि के चाहियो र मैले पनि ‘चुप लाग् !’ भन्दै तत्काल एक थप्पड जमाइदिएँ । मेरो आवेग थियो त्यो । रोकेर रोक्न नसक्ने । फेरी एक पटक नामर्द नबन्ने । शायद केही दिन अगाडि कठालो समात्ने महिलाले लगाएको ऋण पनि त्यही महिलालाई तिरिदिएँ । ट्याक्सी नै फुटाउँछु भनेर एक–दुई लात पनि हानेँ । धन्य फुटेन । नत्र सबै मैले नै तिर्नु पर्थ्यो पछि । आवेगले धनको क्षति गराउन सक्थ्यो तर, बचियो ।

आफ्नी पत्नीलाई कसैले घुमाउरो पारामा चरित्रहीनको संज्ञा दिँदा कसैले सहन सक्दैन होला ? मैले पनि सकिन । गल्ती नै त्यही थियो मेरो । दुख छैन, बरु अहिले पनि गर्व नै छ । म आफ्नी पत्नीको सम्मान गर्दो रहेछु र उसलाई अपमान गर्नेलाई जे पनि गर्न सक्दो रहेछु ।

मेरो रिस देखेर ड्राइभरले ट्याक्सी र ती महिला लिएर सुइँकुच्चा ठोक्यो । अनि म पनि सुत्न गएँ, आफ्नै कोठामा । तर, मेरो दुर्भाग्य ! के गर्नु मध्यरातमा नै कथाले नयाँ ‘ट्विस्ट’ लियो । केही बर्दीधारी घरको ढोका ढकढकाउन आइपुगे । मलाई समातेर लिएर गए । उनीहरूको उजुरीका कारण । गौशाला प्रहरी परिसरमा । 

अनि स्वास्थ्य जाँच गर्न सिनामंगलमा रहेको काठमाडौँ मेडिकल कलेज अनि फेरी गौशालामा प्रहरी परिसर । अस्थायी पक्राउ पुर्जी थमाउँदै कस्टडीमा बस्नुपर्ने बताए । खुसीसाथ बसेँ । मेरो मनले मैले पाप गरेको स्विकारेको थिएन । अहिले पनि छैन नै ।

प्रहरीको तर्क थियो, महिलाले जतिसुकै तल्लो स्तरको व्यवहार गरे पनि मैले हात उठाउन नहुने । कुरो सही त थियो, तर मेरो ठाउँमा ती प्रहरी भएको भए पनि त्यस्तै गर्थे होला ? एउटा प्रहरीले त मेरो कुरा स्विकारे पनि । तर, कसैको नभए झैँ शिर ठाडो पारेर कानुनभन्दा ठुलो कोही नहुने फुइँ दियो । त्यो बेला त उसकै पत्नीलाई बोलाएर अपशब्द बोलिदिऊँ अनि के गर्दो रहेछ हेरौँ न जस्तो पनि लाग्यो । तर, म त्यति दुष्ट पनि रहेनछु । 

नर्कमा सुँगुरले इज्जत पाए झैँ प्रहरीले मलाई पनि निकै इज्जत दिए । गइयो, कस्टडीभित्र । ढोकाबाट छिर्न पाएको छैन, सेन्ट्रि बस्नेले सोधिहाल्यो, ‘पहिलो पटक हो ?’ कत्ति न म ‘प्रोफेसनल क्रिमिनल’ जस्तो ? दोहराइ–तेहराइ आइरहने । । रिस पनि उठ्यो । उल्टै सोधेँ, अलि झर्के झैँ गरेर ‘के लाग्छ ?’ फिसिक्क हाँस्यो मात्र ।

कस्टडीभित्र छिर्न पाएको छैन, नाकमा कडा दुर्गन्ध पसिहाल्यो । वर्षौँदेखि एकपछि अर्को गर्दै आउने जाने गरेका हजारौँ बन्दीका शरीरबाट टप्किएका पसिनाका अद्भुत दुर्गन्ध । कहिल्यै सफा नगरिएको त्यो कस्टडीबाट आइरहेको त्यो दुर्गन्ध सिधै नाकबाट छिरेर घाँटी मै अड्कियो । न निल्न सकेँ नतै बान्ता गर्न । शायद, नर्कको गन्ध पनि त्यस्तै हुन्छ होला ?

प्रहरीले शायद मलाई माया गरे । कस्टडीमा रहेको भित्री कोठामा छिराएन । बाहिरै कोरिडोरमा सुत्ने व्यवस्था गरिदियो । एउटा म्याट ओछ्याएर बसेँ । बल्ल एक पटक आफैँले आफैँलाई धिक्कारेँ । सानो गल्तीले जिन्दगीमा कहिल्यै आउन नपरोस् भनेको ठाउँमा पनि पुगियो, टाउकोमा हात राखेर टुक्रुक्क बसियो । त्यो रात आफैँले आफैँलाई एउटा अपराधी झैँ महसुस गरियो ।

धरोधर्म ! कस्सम ! भित्र सुत्नु परेको भए, त्यही पसिनाका दुर्गन्ध नै मेरो मृत्युको कारण बन्थ्यो । अनि कोरोनाको कहर पनि हेर्न पाउँदिन थिएँ । मध्यरात त्यो कोठाभित्रबाट एक जना केटा बाहिर निस्कियो । हिँड्दा दुइटै काँध पालै–पालो हल्लाउँदै । भन्यो, ‘दादा हजुर, पिर नगरिस्योस् । के चाहिन्छ मलाई भनिसिएला । अहिले यी पानी ल्याइदिएको छु ।’ 

म लामै समयका लागि बस्न आए झैँ । अनि उसले ठुलै मानिसको सेवा गर्न पाउने मौका पाउने भए झैँ । पछि थाहा पाएँ, भित्र आएका सबैलाई थर्काउँदो रहेछ, प्रहरी कै सहयोगमा । शायद त्यहाँभित्र धेरै नै ओहोर दोहोर गर्दो रहेछ । कहिले लागू औषध सेवन गरेको आरोपमा, कहिले बेचेको आरोप अनि कहिले पकेट मारेको आरोप । घर–ससुराली झैँ । मसँग भने निकै सम्मान साथ बोल्यो । शायद मलाई भिआइपी अपराधी ठानेको हुनुपर्छ । राष्ट्र कै ढुकुटीमा ठुलै हिनामिना वा ३३ किलो सुन कै तस्करी नै गरेर आए झैँ । उता सेन्ट्रिले भने हाफ पाइन्टमा भएको तुनासमेत फुकाल्न लगायो । शायद त्यही तुनामा झुन्डिएर मर्छ कि क्या हो ? भनेर होला । त्यसलाई के थाहा म कति जब्बर छु भन्ने ।

पर्स र अन्य समान पनि निकाल्न भन्यो । मेरै रुमालमा पोको पार्‍यो । ‘बाहिर म्याडम हुनुहुन्छ, दिऊँ ?’ भनेर आदरसाथ सोध्यो । मैले ठाडै नाइँ भने । अनि त्यही भएको दराजमा राखिदियो । कपिमा समान र पैसाको सूची लेख्यो । मलाई थाहा थियो, म्याडमलाई दिएको भए भोलिसम्म पर्स मात्र बाँकी हुन्थ्यो । अनि भित्रका द्रव्य जति सबै, ‘ट्याँ–ट्याँ फिस’ । 

आखिर विश्वास भनेको गोधुलीको छाया नै हुँदो रहेछ । कति बेला आकार बदल्छ र हराउँछ थाहै नहुने । आखिर मसँग भएका द्रव्यमा मेरी पत्नीले जमाउने अधिकार अलि दिलदार भएर पनि हुन सक्ला ? मैले ठाडै नाइँ भनेँ । फेरी सानैदेखि सुन्दै आएको छु, ‘आफ्नो समानको सुरक्षा, आफैँ गर्नु’ भनेर । त्यसैले अहिले पनि गर्छु, आफै सुरक्षा ।

शौचालयको नाममा एउटा दुर्गन्धित कुनो रहेछ । दुई फिटे गारोले घेरेको, अनि बिच भागमा प्वाल पारेको । त्यही प्वालको दुईतिर दुइटा इँटा बिछाइएको । अनि आची धुने पानी ! छ्या, पेटबाट निस्कने आचीभन्दा पनि फोहर ।

ऊ जसरी मायामा कहिल्यै कुनै सम्झौता गर्दिनन् । प्रशस्त गर्छिन् । त्यसरी नै मसँग भएका नोटलाई पनि मभन्दा बढी आफ्नो ठान्छिन् । खर्च गर्न कहिल्यै हिचकिचाउँदिनन् । तर, मनको माया भने अति गर्छिन् । त्यो रात पनि गौशाला प्रहरी मै झन्डै पुरै रात बिताइछन् । चिने जानेका सबैलाई फोन गरिछन् । अत्तालिएर । बिहान त मलाई भेट्न आउनेहरू यति धेरै भएछन् कि प्रहरी पनि आजित नै भए । म भने बचे खुचेको इज्जत पनि लुटिए झैँ गरेर बसेँ । कसैले मेरो बलात्कार गरे झैँ ।

त्यो कस्टडीभित्रको दुइटा कोठामा भेँडा–बाख्रा झैँ बन्दीहरू कोचिएको थियो । कसको काखीबाट कसको नाकमा दुर्गन्ध छिर्‍यो भन्ने पनि थाहा नहुने । कसको छातीलाई कसले, अनि कसको पाइलालाई कसले सिरानी बनाएको छ भन्ने पनि पत्तो नहुने रहेछ । शौचालयको नाममा एउटा दुर्गन्धित कुनो रहेछ । दुई फिटे गारोले घेरेको, अनि बिच भागमा प्वाल पारेको । त्यही प्वालको दुईतिर दुइटा इँटा बिछाइएको । अनि आची धुने पानी ! छ्या, पेटबाट निस्कने आचीभन्दा पनि फोहर । मलाई एउटै ‘टेन्सन’ भयो । कतै आची आयो भने के गर्ने ? उपाय निकाले । पखाला रोक्ने औषधी मगाएँ, खाइदिएँ ।

बिहान हुने बित्तिकै चिया र नास्ताको दौर सुरु हुँदो रहेछ । पुराना बन्दीका अर्डर क्यान्टिनवालालाई पहिल्यै थाहा हुने । नयाँ आएकासँग सोधनी हुने । खाएको पैसा आफैँले तिर्नु पर्ने । मलाई पनि सोधियो, नखाने जवाफ दिएँ । खाए आची आउला भन्ने डर पनि त थियो ।

थरी थरीका बन्दी थिए । कोही त्यही राति तेस्रो लिङ्गीसँग उठबस गर्दा समातिएका । कोही पत्नी कुटेर आएका । कोही रक्सी खाएर झगडा गर्दा समातिएका । महिला सेलमा ४ जना रहेछन् । ३ जना कुनै नर्सिङ होममा काम गर्ने रहेछन् । हिनामिना गरेको कारण नर्सिङ होम कै उजुरीमा थुनिएका । उनीहरूको अपराध बुझ्ने प्रयास गरेँ । फसाइएका हुन् भने सहयोग गर्ने उद्देश्यबाट । मोरे बोलेनन् । एक जना भने नियमित आउँदै–जाँदै गर्दिरहिछन् । घर–माइती झैँ । पकेटमारी, लागूऔषध दुर्व्यसन अनि शरीर बेचबिखनको आरोपमा ।

जे अपराधमा समातिएका हुन्, त्यही नाम जोडेर बोलाउँदा रहेछन्, प्रहरीले प्राय सबैलाई । कसैलाई ‘छक्का ...’, कसैलाई ट्यापे, कसैलाई ‘पकेटमार’ आदि–इत्यादि । म भने भाग्यमानी ठहरिएँ, बाउ–आमाले दिएको नाममाथि प्रहरीले अर्को नाम जोडिदिएन । धन्य म । भाग्यमानी म । प्रहरीले फेरी न्वारान गर्नु परेन ।

कानुनको पाठ पढाउने पाठशालामा कानुन पनि मिचिँदो रहेछ । पहिलो पटक थाहा पाएँ । जसरी मेरा विद्यालयमा शिक्षकले आफ्ना हद मिचेका थिए, त्यसरी नै । दुर्व्यसनीलाई प्रहरी कै मिलेमतोमा उनीहरूको आवश्यकता पनि पुरा गरिँदो रहेछ । त्यही नाइके झैँ देखिने केटोले मुठ्ठीमा कसेर पैसा थमाउँथ्यो, सेन्ट्रीलाई । सेन्ट्री बस्नेले पनि त्यही शैलीमा पैसा लिन्थे अनि माल दिन्थे । कस्टडीभित्र चुरोट पिउन निषेध थियो । तर, चुरोटको गन्धले बसी नसक्नु थियो । शौचालयभरि छरपस्ट थिए, चुरोटका ठुटा । कसरी छिर्‍यो होला ? धेरै गम्न पर्दैन । मोबाइल निषेधित हुँदो रहेछ तर, रिचार्ज कार्डहरू पनि आइ नै रहँदो रहेछ । किन ?

शायद, परिसर प्रमुखको कार्यकक्षसम्म पनि पुग्थ्यो होला, त्यो नर्कको झैँ कडा दुर्गन्ध । चुहिएका पसिनाका, तानिएका चुरोटको ठुटाका । अनि आफैँ मातहतका प्रहरीको अनियमितताका पनि । लाग्यो, ती सबै दुई नम्बरी कार्य सेन्ट्री बस्ने र नबस्ने केही प्रहरीको मिलेमतोमा मात्र भइरहेका होलान् कि हाकिमसम्मै साँठगाँठ भएको होला ? जवाफ त्यही कानुनको पालना गराउने चौघेराभित्रै लुकेको छ । मलाई एक रातभरि कानुनको पाठ पढाएको पाठशालाभित्र । 

राति १ बजेतिर पक्राउ परेको म । ती उजुरीकर्ता महिलाहरूलाई फेरी दिउँसो प्रहरीले बोलाउँदा उनीहरू दोहराएर आएनन् । उनीहरूको आरोप अनुसार मैले उनीहरूलाई घाइते नै हुनेर गरेर पिटेको पनि थिइन नै । सामान्य एक झापड, त्यो पनि हलुको पारामा हानेको थिएँ । हान्दा महिला हो कि पुरुष खुट्ट्याएको पनि थिइन । आवेग मिश्रित रिसको झोँकमा हानेको थिएँ । लगाए जति आरोप पुष्टि नहुने भएर नै होला उनीहरू आएनन् । उनीहरू नआएकै कारण म दिउँसो तिर छुटे । मेरा केही हितैषीले मेरा लागि सक्ने जति सहयोग पनि गरे । उनीहरू चाहँदैन थिए, म अर्को रात त्यही जेलमा बिताऊँ भनेर । ती सबैलाई धन्यवाद पनि दिएँ ।

आज लाग्छ, वास्तवमा कानुनी आधारमा म पूर्णरुपमा निरपराध पनि थिइन । जुनसुकै अवस्था र मानसिकतामा भए पनि मैले महिलामाथि हात उठाउनु हुन्न थियो । जसरी ती अघिल्लो महिलाले लछार–पछार गर्न खोज्दा पनि चुप लागेँ । त्यो रात पनि म चुप लाग्न सक्नु पर्थ्यो । एक पटक फेरी आफैँले आफैँलाई नामर्द मानेर सिरकले मुख छोपेर सुत्नु पर्थ्यो । तर, अहँ महिलामाथि अभद्र व्यवहार गर्नु हुँदैन थियो । 

त्यसैले कानुनी आधारमा मैले आफ्नो अपराधलाई कहिल्यै अस्वीकार गरिन । तर, एउटा पतिको नाताले अपराधी बनेँ भन्ने पनि लागेन । जे भए पनि, अपराधीको ट्याग नलागेर नै एक रातको जेल जीवन पुरा गरियो । नयाँ कुरा थाहा पाइयो । तर, कस्सम ! त्यो शौचालय कहिल्यै बिर्सन सक्दिन । छ्या !

बरु, नेपालभरिका प्रहरी चौकी प्रमुखहरूसँग एउटा आग्रह गर्न मन लागेको छ । अहिले कोरोना भाइरसका कारण प्राय सबै जेल खाली झैँ छन् रे । यही मौकामा ती शौचालयहरू सफा गर्न लगाऔँ । अँ साँच्चै, ती आचीभन्दा फोहर पानी फालेर ती ड्रमहरू पनि सफा गराऔँ । अनि त्यो पसिनाका अद्भुत दुर्गन्धलाई हटाउन पनि केही कार्य गरौँ । जतिसुकै खराब वा दुष्टलाई थुन्नु परे पनि उनीहरूको स्वस्थ्य भएर बाँच्न पाउने अधिकारलाई नमारौँ ! जेललाई नर्क झैँ नबनाऔँ !

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि