बैशाख ०७, २०८१, शुक्रबार
               

कोरोना विरुद्धको युद्धमा होमिएकी एउटी नर्सको कथा
‘रिपोर्टमा कोरोना नेगेटिभ आइदियोस् भनेर प्रार्थना गरिरहेका हुन्छौँ’

ADVERTISEMENT

काठमाडौं । समाजमा नर्सिङ पेसाप्रतिको सम्मान उच्च छ । संवेदनशील पेसा भएका कारण नर्सको जिम्मेवारी धेरै ठूलो छ । ठूलो जिम्मेवारी बहन गर्ने नर्सहरू स्वयम् कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा छन्। ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) मा दिन–रात बिरामीको सेवामा लागिपरेकी छिन् नर्स अभिरुचि बुढाथोकी ।

अस्पतालमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका र शङ्कास्पद बिरामी दैनिक आइसोलेसनमा भर्ना भइरहेका छन् । बिरामीको रेखदेखदेखि औषधि उपचारको जिम्मेवारी बहन गरिरहेकी छिन् अभिरुचिले । ‘हामी पल–पल भगवानसँग प्रार्थना गरिरहेका हुन्छौँ, शङ्कास्पद व्यक्तिको रिर्पाेट नेगेटिभ आइदियोस् भनेर, रिर्पाेट नआएसम्म ढुकढुकी बढिरहन्छ, टेस्ट नेगेटिभ आएपछि आनन्दको श्वास फेछौं’ उनी भन्छिन् । 

सबैतिर भाइरसको सङ्क्रमण बढ्दै गएपछि आफू पनि चनाखो भएर काम गर्न थालेको उनी बताउँछिन् । ‘हामी पनि मानिस नै हौ, सङ्क्रमण दर उच्च भएका धेरै मुलुकमा स्वास्थकर्मीलाई समेत कोरोनाले छाडेको छैन, कतिपयको मृत्यु समेत भएको छ,’ अभिरुचि भन्छिन् ‘उसो त नर्सको मनमा पनि डर पैदा नहुने होइन । कर्तव्य पनि बहन गर्नुपर्छ । हामीले नगरे कसले गर्छ ।’ 

पछिल्ला दिनमा दैनिक सङ्क्रमितहरू ह्वात्तै बढिरहेका छन् । नेपालमै पनि कपिलवस्तुमा एक नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत नर्समा कोरोनाभाइरस पोजेटिभ रहेको पुष्टि भएपछि यहाँ पनि स्वाथकर्मीहरु थप जोखिममा रहेका पुष्ट हुन्छ । ती खबर सुन्दा झस्कने उनी हत्तपत्त  मेटल क्लिपले एन ९५ मास्कलाई नाकको डाँडीमा कसिलो बनाउँछिन् । बिहान ७ बजेदेखि रातिसम्म वा राति ७ देखि बिहान ७ सम्मको १२ घण्टाको सिफ्टमा यो खेल खेलिरहन्छिन् ।  उनलार्ई आफू एउटा भीषण युद्धको मैदानमा जान निस्किएको सिपाही जस्तै लाग्छ । कहिलेकाहीँ भने विश्वव्यापी संक्रणको यस घडीमा यो मौका पाउनु उनी गर्व लाग्छ ।

अदृश्य शत्रुविरुद्ध लड्दा
अभिरुचि नर्सिङ सेवामा लागेको ६ वर्ष भयो । पिसिएल नर्सिङ सकेपछि सेवामा लागेकी उनले  व्याचलर सकेको २ वर्ष बढी भइसक्यो । उनी आफू नर्सिङ क्षेत्रमा लागेदेखि जीवनमा अहिलेसम्म यस्तो भयावह अवस्था नदेखेको बताउँछिन् । उनी भन्छिन् ‘हामी एउटा अज्ञात, अदृश्य र अप्रत्याशित शत्रुविरुद्ध लडिरहेका छौँ । सबै जना युद्धको मोडमा छौँ । चिकित्सक, नर्स र सबै जना युद्धमा छौँ, यसमा सचेत हुने हो डराउने होइन ।’ 

काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम उच्च छ। तर बाहिर जिल्लामा जस्तो सङ्क्रमित धेरै भेटिएका छैनन् । यदि सङ्क्रमित भेटिए र बढे भने उनीहरूलाई टेकु अस्पताल तथा अभिरुचि कार्यरत पाटन अस्पतालमै लगिनेछ । काठमाडौँमा केही दिनअघि सङ्क्रमित भेटिदा पनि त्यही अस्पतालमै लगिएको थियो ।

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका सङ्क्रमित अहिले पनि पाटन अस्पतालमै उपचाररत छन् । बिरामी भेन्टिलेटरको सहयोगमा जीवनसँग सङ्घर्ष गरिरहेका छन् । काठमाडौंमा थप सङ्क्रमित बढे भने धेरै बिरामी त्यहाँ लगिनेछ । 

घरमै बसेर पनि टाढा
अभिरुचि काठमाडौंको वानेश्वरमा परिवारसँग बस्छिन् । यदि आफूमा सङ्क्रमण भएको रहेछ भने घर–परिवारलाई पनि सङ्क्रमण होला कि भन्ने डर हुन्छ । यसैले घरमै उनी छुट्टै बस्ने बस्छिन् । आफ्नो कामसँगको तनावले उनलाई भन्दा परिवारलाई चिन्ता हुन्छ । अस्पतालबाट घर आउँदा उनमा पनि भाइरस सरेको त छैन भन्ने शङ्काले परिवार डर मान्छन् । सपरिवारको दिमागलाई यही त्रासले घोचिरहन्छ । तर अभिरुचि भने आफू सङ्क्रमित भए पनि घरका अरू सदस्यहरूलाई केही नहोस् भन्ने कामना गर्छिन् ।

अभिरुचि सकभर ज्येष्ठ सदस्य र बालबालिकासँग नजिक पर्दिनन् । ‘म घर भित्र छिर्ने बित्तिकै शिरदेखि पैतालासम्म नुहाउँछु । नयाँ लुगा र मास्क लगाएर परिवारका सदस्यसँग टाढै बसेर बोल्छु’ उनले आफ्नो भोगाई सुनाइन् । घरमा रहेका साना केटाकेटीहरूलाई काखमा राख्न र अङ्कमाल गर्न नपाउँदा उनलाई खल्लो लाग्छ । पेसाकै कारण साना बाबुनानीहरुसँग माया साट्न नपाउँदा उनी दुखी हुन्छिन् । उनी भन्छिन् ,‘कहिले परिवारसँग घुलमिल भएर बस्ने दिन आउला ।’

एकातिर त्रास अर्कोतिर दायित्व
पाटन अस्पतालमा कोरोनाको शङ्कास्पद बिरामी आएमा उपचारको लागि ८० भन्दा बढी बेड छुट्टाइएको छ । यदि कोरोनाको प्रकोप बढ्यो भने अस्पतालमा रहेको प्रसूति ब्लकलाई समेत प्रयोग गर्ने गरी तयारी छ । यसो त प्रसूति व्यथा लागेकालाई समेत कोरोना संक्रमणकोे खतरा हुन्छ । सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न लकडाउन जारी गरेपछि अधिकांश निजी तथा सरकारी अस्पतालले ओपिडी सेवा हटाएका छन् ।

तर पाटन अस्पतालमा भने पहिले झैँ निरन्तर यो सेवा जारी छ । टाढाबाट हिँडेर वा एम्बुलेन्समा आएका बिरामीले सेवा पाइरहेका छन् । यसअघि ओपिडीमा २ हजार हाराहारीसम्म बिरामी आउने गरेकोमा अहिले ५ सयसम्म बिरामी उपचारका लागि आइरहेका छन् ।करोनाभाइरसको त्रासपछि राजधानीका निजी अस्पतालले हत्तपत्त बिरामीको उपचार गर्न मानिरहेका छैनन् । कोरोनाको डरले अझ ज्वरो आएको बिरामीलाई त उनीहरूले अस्पतालको गेटभित्रै छिर्न नदिने र सरकारी अस्पताल पठाउने गरेका छन् ।

कतिपय सरकारी अस्पतालले पनि ज्वरोका बिरामीलाई उपचार गर्न नचाहेको कुराहरू पनि सार्वजनिक भएका छन् । पाटन अस्पतालले भने ज्वरो आएका बिरामीका उपचार गरिएको छ । अभिरुचि भन्छिन्, ‘बिरामी जति धेरै आए, उति धेरै कोरोनाको जोखिम हुन्छ, तर त्रास र भय एकातिर छँदाछदै कर्तव्य पुरा गर्नुपर्ने दायित्व छ ।’

मृत्युसँग डर छैन, सेवा गर्दा खुशी लाग्छ
कतिपय मान्छे अरू कामले पनि अस्पताल छिर्न पनि डराइरहेको नर्स अभिरुचिले देखेकी छिन् । ‘कसैले उपचारबाहेक अरू कामका लागि पनि अस्पताल नछिरौँ कि भन्ने पाएका छौँ । मान्छे यसरी समेत त्रसित भइरहेका बेला हाम्रा स्वास्थ्यकर्मी साथीहरूले भने दिनरात बिरामीसँगै बसेर उपचार गर्नुपर्ने हुन्छ,’ उनी भन्छिन् ‘सबै रोगीलाई कोरोना नै हो कि भनेर त्रसित हुनु पनि हुँदैन ।’ आवश्यकभन्दा बढी त्रसित भएका कारण केही स्वास्थकर्मीको मनोविज्ञानमा समेत त्रास पर्न सक्ने उनको भनाइ छ ।

दिनरात बिरामीसँग नजिक रहेर काम गरिरहेकी अभिरुचि मृत्युसँग डराएकी छैनन् । उनले हरेक दिन संसारमा लाखौँ मानिसहरू विभिन्न रोगबाट मरिरहने बताउँदै हिजोका दिनमा पनि अरू रोगबाट यसरी नै मान्छेहरू मरिरहेका हुन्थे भन्ने कुरालाई ध्यानमा राखिरहेकी छिन् । अहिले कोरोनाको प्रकोप फैलियो भन्दैमा त्यो कुरा चाहिँ बिर्सनु नहुने उनको भनाइ छ ।

कतिपय अस्पतालमा कोरोनाका कारणले अरू बिरामीहरूले उपचार नपाएको भन्ने कुरा पनि उनले सुनेकी छिन् । यस्तो सुन्दा उनलाई दुख लाग्छ । ‘सामान्य अवस्थामा त जसले पनि काम गर्छ, तर स्वास्थकर्मीमा त अरुलेभन्दा जोखिम मोल्न सक्ने क्षमता हुनुपर्छ,’ उनी भन्छिन् । अभिरुचि भन्छिन् –‘कोरोनाको सङ्क्रमण फैलियो भन्दैमा फेरि अरू रोगका बिरामीले पनि दुःख पाउनु हुँदैन । अरू रोग त हिजो पनि थियो, आज पनि छ र भोलि पनि हुनेछ । ती रोग लागेका मानिसहरुले पनि उपचार पाउनुपर्छ ।’

आफू बचौँ, अरूलाई पनि बचाऔँ
अहिले ज्वरो आउँदा पनि कोरोना हो कि भनेर मान्छे डराइरहेका छन् । उनीहरूलाई अभिरुचिको सुझाव छ, ‘ज्वरो आएको छ, डराएर घरमा बस्नुभएको छ भने उपचार गर्न आउनुस् । कोरोना भएको छ भने पनि नडराउनुस्, कोरोना सङ्क्रमण हुँदैमा कोही मर्दैन ।’ रुघाखोकीदेखि ज्वरोलगायत श्वासप्रश्वासको समस्या देखिएमा नजिकैको स्वास्थ्य संस्थामा गएर देखाउन उनको सुझाव छ ।

‘ज्वरो आफैँमा रोग होइन । शरीरमा केही ठिक छैन भनेर आउने सन्देश हो, ज्वरो । सरसफाइ र खानपिनमा ध्यान दिनुहोस् । भिडभाडमा नजानुहोस् । आफू बचौँ, अरूलाई पनि बचाऔँ,’ अभिरुचि भन्छिन् । कोरोना सङ्क्रमणको शङ्का लागेमा बेलैमा जचाँउदा आफ्नो, परिवार, समाज, राष्ट्र र सिङ्गै विश्वका लागि हितकर हुने उनी बताउँछिन् ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि