बैशाख ०७, २०८१, शुक्रबार
               

पाँच खेलाडी परिवर्तन गरिने, भीएआर प्रविधि हटाइने

नेपाल फ्ल्यास
बैशाख ३०, २०७७

ADVERTISEMENT

कोरोना भाइरसको महामारीका कारण हाल चर्चित युरोपियन लिग फुटबलहरू स्थगित छन् । करिब दुई महिनादेखि लिगहरू स्थगित हुँदा युरोपका अधिकांश क्लब आर्थिक संकटमा पर्न थालेका छन् । त्यसैले, युरोपका धेरैजसो राष्ट्र महामारीका बीच पनि स्थगित लिग सुचारु गर्ने तयारीमा जुटेका छन् ।

यसैक्रममा जर्मनीले बुन्डेस लिगा फुटबल अर्को सातादेखि सुचारु हुने घोषणा गरिसकिएको छ। इङ्लिस प्रिमियर लिग पनि अर्को महिना सुरु हुने बताइएको छ। इटालियन सिरिए फुटबल पनि छिट्टै सुचारु हुने तयारीमा छ। यसका लागि अधिकांश क्लबले आफ्ना खेलाडीलाई नियमित अभ्यासका लागि तयार रहन सूचना जारी गरिसकेका छन् ।

तर, कोरोना भाइरसको महामारीलाई झेल्दै विश्व फुटबल पुनः लयमा फर्किनुअघि केही नियममा अस्थायी परिवर्तन गरिने भएको छ। यसका लागि विश्व फुटबल महासंघ फिफा पनि सहमत भएको छ।

खासगरी खेलाडी परिवर्तनसम्बन्धी नियममा परिवर्तन गरिनुपर्ने माग अधिकांश लिग सञ्चालकहरूले उठाएका छन् । पुनः लिग सुचारु हुँदा सम्भवतः प्रत्येक टोलीले पाँचजना खेलाडी परिवर्तन गर्न पाउनेछन्। यसअघि एउटा टोलीले नियमित समयमा तीनजना मात्र खेलाडी परिवर्तन गर्न पाउने प्रावधान रहेको थियो।

कोरोना भाइरसको महामारीका कारण खेलाडी त्रासमा रहेको र सामाजिक दूरीको नियमसमेत पालना गर्नुपर्ने भएकाले खेलाडी परिवर्तनसम्बन्धी नियममा लचकता अपनाउन लागिएको बताइएको छ।

यदि कुनै लिग सञ्चालकले यो नियम लागू गर्न नचाहेमा त्यो छुट पनि पाउनेछन्। यसैगरी, फिफाले भिडियो असिस्टेन्ड रेफ्री (भीएआर) को प्रयोग पनि केही समयका लागि स्थगित गर्ने भएको छ। भीएआर प्रविधिका लागि एउटै कोठामा धेरैजना प्राविधिक टेलिभिजन अगाडि बस्नुपर्ने भएकाले यो नियम तत्कालका लागि स्थगित गरिएको समाचारमा जनाइएको छ।

‘महामारीको यो अवस्थामा सामाजिक दूरी कायम राख्नुपर्ने भएकाले भीएआर प्रविधि तत्कालका लागि प्रयोगमा नल्याउने सहमति भएको छ’, ती अधिकारीले भनेका छन् । दी इन्टरनेसनल फुटबल एसोसिएसन बोर्ड (आईएफएबी) को नियम बनाउने निकायले पनि यो प्रस्तावमा सहमति जनाइसकेको छ। यो दुवै नियम लिग सुचारु हुनासाथ लागू हुने बताइएको छ।
 


कस्तो लाग्यो ?

यो पनि