चैत १६, २०८०, शुक्रबार
               

नेपालबाहिर ७८ नेपालीको मृत्यु, पाँच हजारभन्दा बढी संक्रमित

नेपाल फ्ल्यास
बैशाख २८, २०७७

ADVERTISEMENT

लण्डन । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण विश्वभर ७८ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । एनआरएनएका अनुसार विश्वभर कोरोना संक्रमित नेपालीहरुको संख्या पाँच हजार ५ सय ८१ छ ।

एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ५१ जना नेपालीको मृत्यु भएको छ ।

यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको नेपालीको संख्या १५ पुगेको छ । समितिका अनुसार न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जना नेपालीको मृत्यु भएको हो ।

यस्तै, संयुक्त अरब इमिरेट्स (युएई) मा ६ जना र आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, बहराइन र स्वीडेनमा एक–एक जनाको कोरोना भाइरसका कारण ज्यान गएको एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाले जानकारी दिए ।

कोरोना भाइरसका यो हप्ता थप ५ जना नेपालीले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेहरुको संख्या बेलायतमा २ तथा स्वीडेन, बहराइन र युएईमा एक–एकजना थपिएका छन् ।

यस्तै, नेपालबाहेक विश्वभर ५ हजार ४ सय ७२ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये २ हजारभन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएका छन् ।

विदेशमा रहेका नेपाल समुदायमा कोरोना भाइरस संक्रमणको गति गत साताभन्दा कम हुँदै गएको छ । तर यो साता फिनल्याण्ड, र स्वीडेनमा नेपालीहरुमा नयाँ संक्रमण देखिएको छ ।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडाअनुसार ९ देशमा गैरआवासीय नेपालीहरुको ज्यान गएको छ भने बाँकी २० देशमा रहेका नेपालीहरु कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित छन् ।

स्वास्थ्य समितिका अनुसार कतारमा २ हजार ३ सय, अमेरिकामा १ हजार ५ सय, युके १ हजार, बहराइनमा २ सय ४५, युएईमा १ सय ४९, कुवेतमा ७८, नेपालमा १०९, मलेसियामा ४९, साउदी अरबमा ३०, पोर्चुगलमा २६, आयरल्याण्डमा २२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी स्पेन र अष्ट्रेलियामा १२–१२ जना तथा जापान र क्यानडामा १०–१० जना नेपाली संक्रमित छन् ।

बेल्जियममा ६, स्वीटजरल्याण्डमा ५ तथा जर्मनी र फिनल्याण्डमा ४–४ जना नेपालीलाई कोरोना पुष्टि भएको छ ।

यसैगरी साइप्रस र न्युजिल्याण्डमा ३–३ जना, माल्दिभ्स, माल्टा र हङ्गकङ्गमा २–२ जना तथा म्यानमार र फ्रान्समा १–१ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको एनआरएनएले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि