चैत १६, २०८०, शुक्रबार
               

लिपुलेक मिचिएकोबारे ओली-प्रचण्डको एकै स्वर–‘सीमा विवाद जटिल बनाउने काम रोक्नुस् ’

नेपाल फ्ल्यास
बैशाख २८, २०७७

ADVERTISEMENT

भारतले नेपाली भूमि लिपुलेक हुँदै सडक निर्माण गरेकोमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विरोध जनाउँदै सीमा विवाद जटिल बनाउने काम नगर्न भारतलाई सचेत गराएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालले शनिवार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल भारतको सीमा विवाद जटिल बनाउने कुनै पनि कदम नचाल्न भारतलाई सचेत गराएका हुन् । 

‘भारत सरकारलाई सडक निर्माण कार्य तुरुन्त बन्द गर्न नेकपा आग्रह गर्दछ । साथै भारत सरकारलाई दुई देशबीचको सीमा विवादलाई झन् जटिल बनाउने कुनै पनि कदम नचाल्न सचेत गराउँदछ ’ ओली–दाहालको विज्ञप्तिमा उल्लेख छ । नेकपाका अध्यक्षद्वयले नेपाल र भारत सरकारलाई सीमा विवाद कूटनीतिक तवरबाट समाधान गर्न पनि आग्रह गरेका छन् ।

वक्तव्यमा दुवै सरकारलाई वार्ता र कूटनीतिक माध्यमले यो समस्याको समाधान गर्न आग्रह गरिएको छ ।  दुवै सरकारका संयन्त्रहरूले सीमा विवाद सल्ट्याउने तर्फ काम गरिरहेको अवस्थामा भारतले नेपाली भूमिमा सडक निर्माण गरेर उद्घाटन गरेकोप्रति उनीहरूले विरोध जनाएका छन् । सम्पूर्ण मानवजाति कोरोना भाइरस (कोभिड ( १९)को महामारीविरुद्ध लडिरहेका बेला भारतले नेपालको सार्वभौमिकतालाई अवमूल्यन गर्ने कदम चालेकोप्रति पनि नेकपाका अध्यक्षद्वयले रोष प्रकट गरेका छन् ।

भारतले लिपुलेक भएर मानसरोबर जाने सडक शुक्रबार मात्रै उद्घाटन गरेको थियो । रक्षामन्त्री राजनाथ सिंहले उक्त सडक उद्घाटन गरेको सार्वजनिक भएसँगै नेपालमा त्यसको व्यापक विरोध भइरहेको छ । नेपालको परराष्ट्र मन्त्रालयले पनि उक्त कदमको विरोध गरिसकेको छ । उता भारतीय विदेश मन्त्रालयले भने आफ्नो भूमिमा सडक निर्माण गरेको दाबी गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि