बैशाख १४, २०८१, शुक्रबार
               

लकडाउन तोड्दै सीमा अतिक्रमणको विरोध तीव्र
विरोधका आवाज दबाउन बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी

नेपाल फ्ल्यास
बैशाख २७, २०७७

ADVERTISEMENT

भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गर्दै मानसरोवर जाने बाटो बनाएको विरोधमा हुनसक्ने सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै उपत्यकामा सुरक्षा व्यवस्था कडा बनाएको छ । लकडाउनको बेवास्ता गर्दै स्वतःस्फूर्त प्रदर्शन हुन थालेपछि लकडाउनमा भन्दा पनि विरोध प्रदर्शन रोक्न बाक्लो सख्ंयामा सुरक्षाकर्मी परिचालन गरिएको हो । काठमाडौँको माइतीघर मण्डला, बानेश्वर चोक, लैनचौर, सिंहदरबार परिसर, वालुवाटारलगायत क्षेत्रमा बाक्लो सख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

यसरी नेपाली भूमि फिर्ताको माग गर्दै भारत विरोधी प्रदर्शन बढेपछि लकडाउनमा विगतको भन्दा आवागमनलाई अझ कडाइ गरिएको नेपाल प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए । सम्भावित प्रदर्शन रोक्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । भारतीय दूतावास अगाडि समेत प्रदर्शन हुने आशङ्कामा प्रहरीले त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ ।

काठमाडौँ उपत्यकामा मात्र भारतविरुद्ध प्रदर्शनमा उत्रिएका तथा प्रदर्शनको तयारीमा रहेका एक सयभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा  लिएको छ। उनीहरूलाई काठमाडौँको तीनकुने, माइतिघार, लैनचौर, कालिमाटी, डिल्लीबजारलगायत क्षेत्रबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँ स्रोतले जनाएको छ । स्रोतले भन्यो, ‘सकेसम्म प्रदर्शन गर्नुपूर्व नै नियन्त्रणमा लिन आदेश आएको छ ।’

यसै अनुरूप शनिबार विभिन्न ठाउँमा भएका प्रदर्शन र प्रदर्शन हुनुअगाबै एक सय जनाभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । माइतिघरमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षप गरेको छ । युवाको एउटा समूहले प्रदर्शन गर्ने क्रममा प्रहरीले धरपकड गरेको हो । ‘ओली सरकार राजीनामा दे, हाम्रो भूमि प्राणभन्दा प्यारो छ । भारतीय विस्तारवाद मुर्दावाद, लिपुलेक हाम्रै हो’ जस्ता नाराबाजी गर्दै माइतिघर पुगेका ३६ बढी युवालाई प्रहरीले पक्राउ गरेको हो ।

उता भारतीय दूतावासअगाडि प्रदर्शन गर्न खोज्नेहरूलाई प्रहरीले पक्राउ परेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध अनेरास्ववियुले प्रदर्शन गर्न खोजेको थियो । तर, उत्तर ढोकामा जम्मा हुनासाथ ३० भन्दा बढी विद्यार्थीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस्तै डिल्लीबजारबाट ३ र कालीमाटीबाट ५ जनालाई नियन्त्रणमा लिइएको छ ।

भारतले  नेपाली भू–भाग हुँदै लिपुलेकसम्म बनाएको सडक मार्ग उद्घाटन गरेसँगै नेपालमा तीव्र विरोध भएको हो । भारतीय जिल्ला धार्चुलाको पिथौरागढबाट लिपुलेक नाका जोड्ने ८० किलोमिटर सडक शुक्रवार मात्रै भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फ्रेन्समार्फत् उद्घाटन गरेका हुन् । 

पूर्वप्रधानमन्त्रीदेखी सत्तारुढ दलका नेतासम्म विरोधमा 

भारतले सडक उद्घाटन गरेको खबर सार्वजनिक भएलगत्तै नेपालमा विरोध प्रदर्शन सुरु भएको हो । भारतीय कदमको विरोध गर्नेमा सर्वसाधारणदेखि विभिन्न दलका नेता तथा पूर्वप्रधानमन्त्रीसमेत छन् । उनीहरूले तत्काल कूटनीतिक कदम चाल्न नेपाल सरकारलाई सुझाव समेत  दिएका छन् ।

सामाजिक सञ्जालमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले तुरुन्त कूटनीतिक तहमा समस्याको हल गर्न भनेका छन् । त्यस्तै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अतिक्रमणविरुद्ध तुरुन्त कदम चाल्न आग्रह गरेका छन् ।

त्यस्तै नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि सरकारको धारणा माग गरेका छन् । उनले भनेका छन् ‘लिपुलेक नेपालको भूमि हो, हामी प्रस्ट छौँ । चीनको मानसरोवर जोड्न भारत सरकारले लिपुलेक हुँदै सडक उद्घाटन गरेको समाचारबारे नेपाल सरकारको धारणा चाहन्छौँ ।’

यस्तै काँग्रेसका नेता तथा सांसद गगन थापाले अहिलेको भारतीय कदम नक्सा प्रकरणमा सही र सशक्त प्रतिवाद गर्न चुक्दाको परिणाम भएको बताएका छन् । सत्तारुढ दल नेकपा सांसद रामकुमारी झाँक्रीले यसबारे सत्यतथ्य जानकारी सरकारले सार्वजनिक गर्नुपर्ने बताएकी छन् । पूर्वपरराष्ट्रमन्त्री कमल थापाले पनि यसबारे सरकारले अविलम्ब कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि