बैशाख १२, २०८१, बुधबार
               

म ! इमान नभएको बेइमान

चेतन पाण्डे
बैशाख २४, २०७७

ADVERTISEMENT

मृत्यु घण्टी बजाएर आउँदैन । समयले मर्नबाट कसलाई नै छुट दिएको छ र ? अनि मृत्यु घण्टी बजाएर आओस् । त्यसैले समयले नै आफैँसँग च्यापेर हिँडिरहेको छ, मृत्युलाई पनि । जबसम्म यो लोक रहन्छ, तबसम्म समयको अस्तित्व पनि रहन्छ, साथमा कालको पनि । कालले मार्न नसक्ने भनेकै मात्र समयलाई हो । बाँकी सबैलाई सजिलै निल्दै जान्छ, पचाउँदै जान्छ ।

हरेक पलको मृत्युसँगै काल पनि हामीसँग नजिक हुँदै जान्छ । बस्, हाम्रो मृत्युको स्वरुप कस्तो हुन्छ, त्यो थाहा त मात्र समयलाई । त्यसैले हामीले घमन्ड गरेर बाँचिरहेको समय त मात्र भ्रम हो । हामीले न समयलाई नत मृत्युलाई वशमा पार्न सकेका छौँ । बस्, सकेका छौँ त भ्रमै भ्रमको पोकोलाई । 

समयलाई न कसैले जितेको थियो, नतै मृत्युलाई । समय जति अजम्बरी छ, काल पनि त्यति नै । त्यसैले ब्रह्माण्डको उत्पत्ति र विनाशसँगै हरेक जन्म र मृत्युको साक्षी बनिरहेको छ, समय । अनि अनेकौँ पटक त साक्षी बनेको छ, यही ब्रम्ह्राण्डको जन्म र पुनर्निर्माणको । सृष्टि र विनाशको । युग–युगको । शिवको, रामको, कृष्णको र अनि तिमी–हामी जस्ता पापी बाँचेको युगको पनि ।

समय त पराइ नै हुँदो रहेछ । मुटुको धड्कनसँगै साथ छाडेर जाने । आफ्नै भन्नु त आखिर आत्मा मात्र रहेछ, शरीरले साथ छोड्दा पनि सँगै जलिजाने । धुवाँसँगै उडिजाने । हरेक जन्मदेखि मृत्यु अनि अर्को जन्मसम्म पनि साथै रहने आखिर आत्मा मात्र हुँदो रहेछ, आफ्नै । शरीर त मात्र धोका रहेछ । प्रेमिका झैँ । मन परे साथ दिने, मन नपरे साथ छाड्ने ।

समय त बेइमान पनि हुन्छ । जिउँदाहरूलाई सपना बोकाएर हिँड्ने । अनि मर्ने बित्तिकै साथ छाडेर जाने । सपना पनि चुँडेर हिँड्ने । ज्युँदा सपनाका चाङलाई मृत्युसँगै जलाएर लाने, सधैँ अपुरै–अधुरै ।

कति जल्दा आफैँलाई दुख लाग्यो त कति जल्दा अफसोससमेत भएन । कहिले आफैँ जले झैँ लाग्यो, कहिले राखसँगै बगे झैँ बगे जस्तो पनि लाग्यो । अनि कतिपय लास जल्दा त मेरो शरीरबाट कहिल्यै निको नहुने घाउको खिल निस्किए झैँ आनन्द पनि लाग्यो ।

समय त बस्, मुस्कुराइ मात्र दिन्छ । हरेक क्षण । मृत्युसँगै उजाडिएको हजारौँ सपनामा पनि । अनि साक्षी बन्छ नै, हरेक विश्वास र अविश्वासले खोप्ने चोटमा । हरेक सम्बन्धको फक्राइ र टुक्राइमा । मनको मिलन र बिछोडमा । तरपनि, हाँसी नै रहन्छ । हरेक मुस्कान अनि हरेक आँसुको थोपा भुइँमा खस्दा पनि । अनि मुस्कुराइदिन्छ, आफ्नो असम्भव अन्त्यमा उल्लास मनाउँदै । एउटा मृत्युसँगै अर्को जन्मको साक्षी बनेर ।

मानिस न हो, जिन्दगीमा जति आनन्दका क्षण आउँछन् । त्यति नै उदेकलाग्दा पनि । मेरो एउटै मन्त्र छ । न आनन्दका क्षणमा अति मात्तिन्छु, नतै उदेकका पलमा निकै आत्तिन्छु । त्यसैले मैले जलेका र गडेका निकै लास देखेको छु । ती लासहरू मध्ये कति जल्दा आफैँलाई दुख लाग्यो त कति जल्दा अफसोससमेत भएन । कहिले आफैँ जले झैँ लाग्यो, कहिले राखसँगै बगे झैँ बगे जस्तो पनि लाग्यो । अनि नढाँटी भन्ने हो भने कतिपय लास जल्दा त मेरो शरीरबाट कहिल्यै निको नहुने घाउको खिल निस्किए झैँ आनन्द पनि लाग्यो । हरेक लासको अन्त्येष्टिले छुट्टै कथा बोकेको हुन्छ नै, मेरो दर्शनमा । 

त्यस्तो बेला मनमा लाग्छ, म जति नरम छु, त्यति नै कठोर पनि । समयले यस्तै बनायो त मेरो के दोष ? लाग्छ नै, मेरो नियति पनि त्यही हो । मेरो मृत्युमा रुने मात्र होइन मनमनै मुस्कुराउने पनि होलान् नै ? म जस्तै । तर ढुक्क छु, आखिर म पनि एक दिन जल्नकै लागि जन्मिएको नै हो । तिमी जस्तै । सत्य यही हो । तिमी जल्छौँ त म पनि जल्नै पर्छ । अनि किन लोभ ? अनि किन डाह ? मेरो मनमा मात्र लागेर संसार बद्लिने पनि होइन रहेछ, आखिर । यस्तै सोचले सधैँ नै चुप रहन बाध्य तुल्याउँछ । अनि आफुपनि सहभागी भइँदो रहेछ, बाँच्ने खेलमा । पेट पाल्न गर्नु पर्ने अनेकौँ उट्पट्याँगमा । समयको खेल नै अजीबको हुने । 

जिन्दगीका अनेकौँ दाउपेचमा पनि एउटा कुरा भने पक्का छ । मलाई कसैको जन्ममा जति अफसोस हुँदैन, मृत्युमा पनि हुँदैन । आखिर समयको कठोरतालाई हामीले स्विकार्नै पर्छ । जन्मेपछि आखिर एक दिन मर्न त पर्छ नै । केही दिनअघि मैले मन पराएका दुई भारतीय कलाकार, इरफान खान र ऋषि कपुर यो लोकबाट बिदा भए । एउटा गाडिए, एउटा जलाइए । उनीहरूको भाग्यको लेखाइको अन्तिम हरफको भिन्नता बस् त्यही नै थियो । गाडिनु र जलिनु । नत्र दुवैले लाखौँ मनमा कब्जा जमाएका थिए नै । कसैको दुवा–प्रार्थनाले उनीहरूको कालको हृदयलाई नरम बनाउन सकेन । अनि कसरी बन्न सक्ला र हाम्रो काल हामीप्रति नरम ।अहिलेदेखि नै बहाना खोज्दै होला, रच्दै होला । हामीलाई कसरी लैजाने भनेर ।

समयका अनेकौँ ताण्डवका बिच पिताको मृत्यु जीवनमा सबैभन्दा कठोर क्षणका रूपमा अगाडि आयो । तर, सहनसक्नु पर्दो रहेछ । सम्झना त हराउँदै गइहाल्दो रहेछ । बाल्यावस्थामा मेरा नरम गालालाई कति सहलाए होलान् ? मेरा पिताले जानेर–नजानेर । त्यसपछि मेरा जिद्दी र घमन्डहरूलाई कति सहे होलान् ? मेरा कति गल्तीलाई देखे पनि नदेखे झैँ गरे पनि होलान् ? हुन त उनी मर्दा पनि मैले अन्तिम पटक उनको गाला सुमसुम्याए, हात सुमसुम्याए । तर, अहँ बाल्यकालमा निन्द्रा लाग्दा सुमसुम्याए झैँ नरम थिएनन्, ती गाला र हात । अति कडा हुँदा रहेछन्, मरेका छालाहरू त । दाह्रीभन्दा पनि पनि कडा । अनि पो उनको नजिक उभिँदा पनि उनको सामीप्य महसुस गर्न सकिन, जीवनमा पहिलो पटक ।

शायद उनलाई र मलाई टाढा बनाउने खेल पनि खेल्दै थियो, त्यही काल । आखिर १३ दिन ‘भेन्टिलेटर’ मा राखेर निकालियो थियो, त्यो लास । त्यो १३ दिन मेरा लागि उनको बिदाइ गर्ने वातावरण तयार पार्न पर्याप्त बन्यो । त्यसैले होला, आर्यघाटमा पनि म त्यति रोइन । उनी जल्दा पनि म रोइन । जसरी मेरी आमा पनि रोइनन् । अरूलाई बाल मतलब, त्यो मृत्युको । मलाई कठोरतम् बनाउन पर्याप्त बन्यो, त्यो १३ दिन । समय न हो, इमान नै नभएको बेइमान । म जस्तै । जे सही लाग्यो, बोली हाल्छु, लेखी हाल्छु ।

मेरा दाइ पनि मरे, केही महिना अगाडि । उसले अस्पतालमा पाएको पीडा देख्दा, उसको मृत्युले पनि पीडा दिन सकेन मलाई । (हुन त मेरा कतिपय नातेदारलाई अझै पनि लाग्दो रहेछ, त्यो मृत्युमा सबैभन्दा रमाउने म नै थिएँ भनेर । तर, समयले मेरो मनलाई त्यति कठोर पनि बनाइसकेको रहेनछ । म रमाइन त्यो मृत्युमा । मैले कहिल्यै चाहेको थिइन, त्यो मृत्यु । त्यस्तो कष्टकर मृत्यु । आखिर भन्नेले जे सुकै भनुन्, मलाई वाल मतलब !) 

सिधा भन्नु पर्दा, म कसैको पनि चाहन्न त्यस्तो कष्टकर मृत्यु । मेरा पछिल्ला आलोचकको पनि । म चाहन्न उनीहरूको पनि त्यस्तो मृत्यु, जसले मेरो दाइको मृत्युमा मेरो काँधमा काँध जोडेर शोक त मनाउन सकेनन् नै । तर, मेरै पुट्ठा पछाडि मेरो हुर्मत पनि लिन छाडेनन् । तर, जीवनमा एउटा प्रार्थना गरेका छु, त्यस्तालाई कहिल्यै मेरा आफन्त भनेर यो ओठले भन्न नपरोस् । मेरो आत्माले स्विकार्न नपरोस् । मेरो आत्माले मृत्युभन्दा पनि फटाहा आफन्तको सामीप्य कहिल्यै रोजेन र रोज्ने पनि छैन, कस्सम ।

हुन त मन केही कठोर त बनेकै रहेछ । मेरा दाइ अझ केही दिन वा महिना बाँचेको भन्दा मरेरै भाग्यमानी बन्यो कि भन्ने पनि लाग्यो । उमेरभन्दा चाँडै मर्‍यो तर समय मै मर्‍यो । हरेक दिन असङ्ख्य पीडा सहनुभन्दा मर्नु निकै बेस हुँदो रहेछ । त्यो पनि जानियो । शायद समयसँगै म पनि कठोर बन्दै छु कि ? कहिले काहीँ आफ्नै सोचले गिजोल्छ मलाई । सराप्छ, मलाई ।

समय त वास्तवमै हुने रहेछ, बेइमान । मेरा पितालाई जिन्दगीभर दुख दिने, अदालतमा पेशीको पेचमा फसाउने सहोदर काकाको लासलाई पनि बोक्नुपर्‍यो । मलाई आफैँलाई आफैँसँग त्यो पल जति घृणा कहिल्यै जागेको थिएन, त्यति बेला । मेरा पितालाई जिन्दगीभर रुवाउने काका त एउटा ज्युँदो मानिस थिए, ढुङ्गा झैँ बनिसकेको लाससँग के रिस साध्नु ? त्यसैले बोकेँ त्यो लास । तर, त्यो बेला बाध्यतामा बोकिए पनि अफसोस मनाउँदिन आजकाल । अब तयार बनेको छु, भोलि पनि त्यस्ता लास बोक्न ।

मानिस भएर जन्मिएपछि जीवनलाई अनेकौँ प्रहार र आक्रमणसँग बच्न सिक्नु पर्दो रहेछ । कहिले काहीँ अरू मन जलाएर पनि, भत्काएर पनि । आखिर त्यही यक्ष प्रश्नको सेरोफेरोमै रुमल्लिँदा रुमल्लिदैं पंचतत्वमा विलीन पनि हुनै पर्छ ।

वास्तवमा भन्ने हो भने म त्यस्ता हजारौँ लासहरू बोक्न तयार छु । तर, मन यति कठोर बनेछ कि त्यस्ता लासहरू देख्दा मन रुँदैन, आँखा रसाउँदैनन् । मन नरम मात्र हुँदो हो त हरेक मृत्युमा रुनुपर्ने त थियो नै । समयका हरेक प्रहारले मनलाई झन् झनै चट्टान झैँ कठोर बनाउँदै लैजान्छ कि ? कहिले काहीँ डर पनि लाग्छ । 

म त्यस्तो मृत्युहरू पनि हेर्न चाहन्छु । जसले कसैको आत्मालाई रुवाएको होस् । मेरा प्रियहरुको आत्मालाई । तर के गर्नु ? हरेक रातको झस्काइसँगै सम्झना पनि कमजोर बन्दो रहेछन् । समय न हो, जिन्दगी आफ्नै गतिमा हुइँकिरहन्छ, आफ्नै ताल र सुरमा बगी रहन्छ । त्यस्ता मायालु पिताको मृत्युसमेत सहज लाग्दै जाँदो रहेछ, अनि त्यस्ता काकाको मृत्यु पनि बिर्सनु पर्दो रहेछ । आफैँसँग हुर्किएको दाइको मृत्युलाई पनि ठिक भन्नु पर्दो रहेछ । अनि किन नलागोस् त अरू मृत्यु पनि सहज ! समय नै रहेछ, कोरोना झैँ मनलाई पनि कठोर बनाउने । हरेक दिन घरमा बसेर लासको गन्तीमा व्यस्त बन्ने ।

मानिस भएर जन्मिएपछि जीवनलाई अनेकौँ प्रहार र आक्रमणसँग बच्न सिक्नु पर्दो रहेछ । कहिले काहीँ अरू मन जलाएर पनि, भत्काएर पनि । आखिर त्यही यक्ष प्रश्नको सेरोफेरोमै रुमल्लिँदा रुमल्लिदैं पंचतत्वमा विलीन पनि हुनै पर्छ । तर, समय आफ्नै तालमा बगी नै रहन्छ । जसरी मेरा पिता–पुर्खाको अस्तित्व विलीन हुँदै गयो, समयसँगै । मेरो र मेरा पुस्ताको पनि हुने नै छ, एक–एक गरेर । तब पनि यो लोकमा जिन्दगी त चलिरहने नै छ । नदी झैँ समय पनि बगी नै रहने छ, अविरल–अविचलित । 

पशुपतिको बागमती पारी बसेर एक छिन गम्ने हो भने जीवनलाई हरेकले बुझेँ झैँ गर्छन्, म जस्तै, पारीतिर जलिरहेका लास हेरेर । अबुझहरू ! कसैको मलामीमा जाँदा मृत्यु नै सत्य हो भनेर अनेकौँ गफ हाँकिन्छ । लोभ र पापलाई व्यर्थ मानिन्छ । तर, लास जति जति खरानी बन्दै जान्छ । हामीलाई कतै जाने हतारो बढ्दै जान्छ । अनि फर्कनुपर्छ, उही जालझेलको संसारमा । मनमा बढ्दै जाने लोभ र पापसँगै । फेरी पलाउँदैनन् त्यस्ता सोचहरू मनमा, अर्को मलामी नगएसम्म । 

यस्तै नै हुन्छ, समयको आलाप । जहाँ एउटा चितासँगै एउटा जिन्दगीको क्रमभङ्ग हुन्छ, एउटा सपनाको महल भत्कन्छ । अनि अर्को जन्मसँगै अर्कै सपनाको क्रम सुरु हुन्छ । अनि गोड्न थालिन्छ फेरी एउटा नयाँ सपनाको जग । यसरी हुन्छ, एउटा जलेको सपनासँगै अर्को सपनाको उदय । जसरी हुन्छ, एउटा अँध्यारोको समाप्तिसँगै उज्यालोको सुरुवात । 

हुनत समुन्द्रले पनि किनारामा ठोक्किँदा आफ्नो आगमनका केही चिनो छाड्छ नै । फूलले पनि मुर्झाउनुअघि आफू फुलेको आभास दिन्छ नै । मुस्कानसहित । तर त्यसको विपरीत, आँधीले आफ्नो कठोर आगमनको डोब छाड्दा अनेकौँ मन रुवाएकै हुन्छ । भूकम्पले पनि हृदयलाई चिराचिरा पार्ने सम्झना दिएकै हुन्छ । जसरी अहिले कोरोनाले गरिरहेको छ ।

त्यही भएर होला हरेक मृत्युको आगमन र प्रस्थानको चिनो फरक रहन्छ । सम्झना फरक रहन्छ । कुनै निकै आनन्ददायक त कुनै अति पिडादायक । तर, छल गरेर आएको मृत्युले भने असङ्ख्य आँखा रसिलो बनाएर नै फर्कन्छ । सबैको सोचलाई बाँच्ने र बचाउने हड्बडाहटमा मात्र सीमित गरिदिन्छ । जसरी अहिले कोरोनाले गरिरहेको छ । सारा संसारलाई बाँच्ने र मर्ने बाहेक अरू सबै सोचबाट मुक्त राखेको छ । तर, कोरोनाको कहर थामिएसँगै रसाउने आँखाको कल्पनाले मनलाई अत्ताउँछ । समय यति कठोर र निर्दयी पनि बन्न सक्दो रहेछ भन्ने पाठ पनि पढाउँछ नै ।

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि