बैशाख १३, २०८१, बिहीबार
               

यस्तो छ नेकपा स्थायी कमिटीको शक्ति संघर्ष, सूचीसहित

ADVERTISEMENT

काठमाडौँ । अध्यादेश जारी र खारेजसँगै नैतिक सङ्कट एवं सांगठनिक पकड गुमाउन पुगेका नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग निकटता बढाउने प्रयास गरेका छन् ।

ओली पक्षमा रहँदै आएका नेताहरू ईश्वर पोखरेल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ र शङ्कर पोखरेल अर्को पक्षलाई समझदारीमा ल्याउन प्रयत्नरत छन् । यसबीचमा उनीहरू कहिले कोटेश्वर त कहिले खुमलटार पुगेका थिए । ओली पक्षका दोस्रो तहका अरू नेताहरूसमेत दुरी घटाउन लागिपरेका छन् ।

नेकपाले स्थायी कमिटी बैठक वैशाख २५ गते डाकिएको छ । स्थायी कमिटीअघि आज सचिवालय बैठकमा अध्यक्षद्वय र महासचिव विष्णु पौडेललेले तयार पारेको प्रस्तावमाथि छलफल हुनेछ । स्थायी कमिटी बैठकमा सचिवालयबाट सहमतिको प्रस्ताव जाने छ । सो विषयमा सहमतिको लागि नेताहरूले लबिङ तीव्र पारेका हुन् ।

तर दाहाल र नेपालले सहमति र आक्रामक बन्ने दुवै विकल्प लिएर अघि बढ्दै छन् । ओली लचक भए सहमतिमा आउने तर उनी सङ्कट टार्न मात्र केन्द्रित भए आक्रामक भएर अघि बढ्ने उनीहरूको योजना छ ।

पछिल्लो पटक नारायणकाजी श्रेष्ठको निवासमा भएको प्रचण्ड र नेपाल पक्षको भेलाबाट ओली सशंकित बनेका छन् । मङ्गलवार पनि प्रचण्ड र नेपाल पक्षका नेताहरूको बैठक बसेर सचिवालय र स्थायी समितिमा प्रस्तुत हुने रणनीतिबारे छलफल गरेको थियो । नेपाल पक्षले पार्टी विधानमा भएको 'एक व्यक्ति, एक मुख्य जिम्मेवारी'को प्रावधान लागू गराउन जोड गरिरहेको छ । यसो भएमा प्रधानमन्त्रीदेखि ओली पक्षका धेरै नेताको एउटा पद खुस्कने निश्चित छ ।

यसअघि ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट बर्खास्त गर्ने गरी थालिएको गठबन्धन ओलीको आत्मालोचनामा पुगेर टुङ्गिएको थियो । तर आफ्नो खड्गो अझै नटरेको ठानेका ओलीले स्थायी कमिटी बैठकअघि दाहाल वा नेपाल जो कुनै गुटलाई आफ्नो पक्षमा पार्न लबिङ गरिरहेका छन् ।

सचिवालयमा बहुमत कायम गरे पनि स्थायी कमिटीको सामना सहज नभएको ओलीले बुझेका छन् । त्यसैले उनी लचक भएर अहिलेको मुद्दा समाधानको पक्षमा छन् । ओलीले यसअघि सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमलगायतसँग सहमति गरेर आफ्नो बहुमत कायम गर्न सफल भएका थिए । नेपाल-दाहाल पक्ष एकजुट भए सचिवालय बैठकमा ओली कमजोर बन्ने छन् ।

पूर्वमाओवादीलाई एक्लाउने

प्रधानमन्त्री ओली स्वयंले सिर्जना गरेको समस्याको समाधान निकाल्न कुनै न कुनै सम्झौता गर्नुपर्ने अवस्थामा पुगेका छन् । यस्तो बेलामा पूर्वमाओवादी पक्षभन्दा पूर्वएमाले पक्षसँग सम्झौता गर्ने ओलीको मनसुवा छ । नेकपामा त्रिपक्षीय ध्रुवीकरण बढ्दै गइरहेका बेला ओली समूहले सरकार छाड्नुपरे पनि पूर्वमाओवादी पक्षलाई एक्लाउने रणनीति अख्तियार गरेको बताइन्छ । नेपाल समूहलाई नजिक बनाउन प्रधानमन्त्री वा पार्टी अध्यक्ष जे दिनुपरे पनि तयार हुने उनीहरूको मनस्थिति छ । स्थायी कमिटी बैठकअघिनै यस विषयमा नेता नेपाललाई मनाउने कोसिसमा ओली समूह जुटेको छ । तर नेपाल पक्षले भने ओलीले भित्रभित्रै अर्का अध्यक्ष दाहालसँग सहमति गरिसकेको ठानेको छ ।

‘सरकारबाट बाहिरिनु परे पूर्वएमालेकै भागमा सत्ताको साँचो हस्तान्तरण होस् भन्ने ओली पक्षका नेताहरूको चाहना छ, यसरी दाहालको साटो नेपाललाई प्रधानमन्त्री वा पार्टी अध्यक्ष बनाउने प्रस्ताव गर्दा दाहाल र नेपालबीच फाटो पर्न सक्ने तथा त्यसबाट आफूलाई लाभ मिल्ने ओली समूहको आँकलन छ,’  ओली निकटका एक नेता भन्छन् ।

दाहाल र नेपाल पक्षबीचको एकता र सहकार्यले आफ्नो अध्यक्ष र प्रधानमन्त्री पदमा सङ्कट उत्पन्न भएको राम्रोसँग बुझेका ओलीले अब ती दुई नेता मिल्न नदिन रणनीति अख्तियार गरेका छन् । यसअघिको निर्णायक हुने भनिएको सचिवालय बैठकअघि दाहालसँग समेत ओलीले ४० मिनेट लामो छलफल गरेका थिए ।

तर सोमबार दाहाल र नेपाल पक्षको छुट्टै छलफल भएको छ । यद्यपि दाहाल र नेपाल पक्षबीच फाटो पारिरहन सकियो भने सङ्कटको आयु पनि लम्बिने र दुईमध्ये एक पक्ष अन्तिममा आफूसँग मिल्न आउने ओली पक्षको बुझाइ छ । यता प्रचण्ड–नेपाल पक्ष भने स्थायी कमिटी बैठकबाटै ओलीमाथि अन्तिम प्रहार गर्ने तयारीमा छन् ।

त्रिपक्षीय शक्ति सङ्घर्ष

प्रधानमन्त्री ओली अहिले पार्टी भन्दा पनि संसदीय दलमा आफ्नो बहुमत देखाउन चाहन्छन् । उनले केही दिनअघि आफ्नो पक्षमा सांसदहरूको समेत हस्ताक्षर जुटाएको दाबी गरिएको छ । तर अझै ओलीलाई करिब एक दर्जन सांसदको आवश्यकता पर्छ । उक्त सङ्ख्या पुर्‍याउन ओलीले तत्कालीन माओवादी अथवा पूर्वएमालेको नेपाल समूहबाट आफूतर्फ ल्याउनुपर्छ । यो सङ्ख्या जुटाउन ओलीलाई असम्भव  नभए पनि स्थायी कमिटी बैठक सामना गर्न भने सहज देखिँदैन । नेकपामा अहिले स्थायी कमिटीदेखि सांसदसम्म को कसको पक्षमा भन्ने हिसाब हुन थालेको छ ।

नेकपामा ओली, दाहाल र नेपालबीच त्रिपक्षीय शक्ति सङ्घर्ष छ । पूर्वएमालेतर्फ नेपालसँग ओलीभन्दा करिब १० प्रतिशत कम शक्ति छ । दाहालसँग स्थायी समिति र केन्द्रीय समितिमा ४० प्रतिशत सदस्य छन् । यसअघि ओली र दाहालबीच अविश्वास बढेका बेला नेपाल निर्णायक देखिँदै आएका छन् । अहिलेको शक्ति सङ्घर्षमा पनि नेपाल पक्षलाई साथमा लिने ओलीको अन्तिम रणनीति छ । यदि नेपाल पक्षले आफूलाई साथ नदिएको खण्डमा दाहाललाई विकल्पमा राख्ने ओलीको मनसुवा छ ।

तीनै गुट आआफ्नो तयारीमा

स्थायी कमिटी बैठकको पूर्व सन्ध्यामा नेकपाका दुवै समूह आ–आफ्नो रणनीतिमा व्यस्त छन् । प्रधानमन्त्री ओली बैठकलाई आफ्नो आलोचना भन्दा पनि, कोरोना भाइरस महामारी र आउँदो सरकारको बजेटका विषयमा केन्द्रित गराउने पक्षमा छन् । तर, पूर्वमाओवादी र वरिष्ठ नेता नेपाल समूह भने पार्टी र सरकार सञ्चालनका विषयमा देखिएका त्रुटिका विषयका मुद्दा उठाउने प्रयासमा छन् ।

यी विषयमा विस्तृत समीक्षासँगै पार्टीमा एक व्यक्ति, एक मुख्य जिम्मेवारीलगायत विषयसमेत उठाउने ओलीइतर पक्षको योजना छ । स्थायी समिति सदस्य रघुजी पन्त भन्छन् ‘यसै विषयमा छलफल गर्न २० सदस्यले लिखित हस्ताक्षर गरेर दबाब दिइएको हो, स्थायी कमिटीमा विस्तृत र गम्भीरतापूर्वक छलफल गरेर सहमति र निकास खोज्नुपर्छ भन्ने पक्षमा छौँ ।’

बैठकमा पार्टीलाई एकताबद्ध बनाएर अघि लैजाने सन्दर्भमा पार्टीभित्र छलफल हुने स्थायी कमिटी सदस्यहरू बताउँछन् । स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी भन्छन् ‘कसरी जाने, पार्टीलाई कसरी एकताबद्ध बनाउने भन्ने विषयमा छलफल हुनेछ, एकता तलमाथि हुन नदिन भन्नेमा सबैको एकमत गराउनुपर्नेछ ।’

स्थायी कमिटीमा को कता ?

नेकपाको स्थायी कमिटी अहिले ४४ सदस्यीय छ । एकता गर्दा ४५ सदस्यीय स्थायी कमिटी रहेकोमा २६ जना पूर्वएमाले र १८ जना पूर्वमाओवादीका थिए । अग्नि सापकोटा सभामुखमा निर्वाचित भएपछि पूर्वमाओवादीका १७ जना छन् ।

पूर्वएमालेका २६ मध्ये वरिष्ठ नेता नेपाल र झलनाथ खनालको पक्षमा १३ सदस्य छन् । मुख्यतया पुरानो गुटवन्दीलाई आधार मान्दा वामदेव गौतमसमेत मिल्दा १३ जना ओली समूहमा छन् ।

को कता ?

ओली समूह

१. केपी शर्मा ओली

२. ईश्वर पोखरेल

३. विष्णु पौडेल

४. शङ्कर पोखरेल

५. सुवास नेम्वाङ

६. किरण गुरुङ

७. पृथ्वी सुब्बा गुरुङ

८. सत्यनारायण मण्डल

९. छविलाल विश्वकर्मा

१०. प्रदीपकुमार ज्ञवाली

११. विष्णु रिमाल

१२. वामदेव गौतम

१३. रघुवीर महासेठ

प्रचण्ड समूह

१. पुष्पकमल दाहाल (प्रचण्ड)

२. नारायणकाजी श्रेष्ठ

३. रामबहादुर थापा

४. गणेश साह

५. गिरिराजमणि पोखरेल

६. चक्रपाणि खनाल

७. जनार्दन शर्मा

८. टोपबहादुर रायमाझी

९. देवेन्द्र पौडेल

१०. देव गुरुङ

११. पम्फा भुसाल

१२. वर्षमान पुन

१३. मणि थापा

१४. मातृका यादव

१५. शक्ति बस्नेत

१६. हरिबोल गजुरेल

१७. लिलामणि पोखरेल

१८. लेखराज भट्ट

नेपाल–खनाल समूह

१. झलनाथ खनाल

२. माधवकुमार नेपाल

३. अष्टलक्ष्मी शाक्य

४. युवराज ज्ञवाली

५. भीम रावल

६. घनश्याम भुसाल

७. रघुजी पन्त

८. वेदुराम भुसाल

९. सुरेन्द्र पाण्डे

१०. मुकुन्द न्यौपाने

११. योगेश भट्टराई

१२. गोकर्ण विष्ट

१३. भीमप्रसाद आचार्य

अहिले गृहमन्त्री रामबहादुर थापा बादललाई नजिक ल्याइसकेको बालुवाटारको दाबी छ । उद्योगमन्त्री लेखराज भट्ट पनि अहिले सरकार ढाल्न नहुने भन्दै ओलीप्रति लचिलो बनेका छन् । 'पर्ख र हेर'को अवस्थामा बसेका पर्यटनमन्त्री योगेश भट्टराई र कृषिमन्त्री घनश्याम भुसालले पनि सरकार ढल्ने अवस्था आएमा ओलीलाई साथ दिने बताइन्छ । पम्फा भुसाललाई पनि बालुवाटारले आफूतर्फ आउने दाबी गर्न थालेको छ । पहिले वामदेव निकट तर पछिल्लो समयमा ओलीसँग रहे पनि मन्त्रिबाट हटाइएपछि असन्तुष्ट बनेका रघुवीर महासेठको भूमिका निश्चित छैन ।

मुख्यतया पुरानो शक्ति सन्तुलनलाई आधारमान्दा ३१ जना दाहाल-नेपाल समूहका भने ओलीसँग १३ जनामात्र छन् । त्यसमध्ये ५ जना थपिए पनि ओलीसँग १८ जना र उनको विपक्षमा २६ जना हुने छन् ।

केही दिनअघि सचिवालय बैठकमा एकाएक समीकरण उल्टाउन सफल ओली गुट फुटाउन र आफू बलियो पार्न चतुर छन् । स्थायी समितिमा उनी कमजोर अवस्थामा भए पनि आफ्नो हात माथि पार्न कुनै कसर बाँकी राख्ने छैनन् । यसैले ओलीले जहिलेसुकै खतरा महसुस गरेर नेपाल र दाहालमध्ये एक समूहलाई सके आफूतर्फ ल्याउने नसके ती दुई समूहलाई मिल्न नदिने रणनीति लिएका छन् ।

 

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि