असार २६, २०७७, शुक्रबार
               

भूकम्पको कम्पनमा पनि सूचना प्रवाहको आँट

२०७२ सालको विनाशकारी भूकम्पको बेला हामी सबैजना घरबाहिर खुला ठाउँमा थियौँ, तर सँगै। ५ वर्षपछि अहिले कोरोना भाइरसको विश्वव्यापी महामारी छ । यो बेलामा हामी सबै घरभित्रै छौँ, तर टाढा टाढा । दुई वटा ठुला विपत्तिमा मानवीय सङ्कट भने एकै प्रकृतिको छ । सबैलाई ज्यान र धेरैलाई खानाको समस्या ।

मैलै यहाँ चर्चा गर्न लागेको भने त्यो विपद्को समयमा सूचना प्रवाहमा गरिएको आँटको । अहिलेको कोरोना भाइरसको सन्त्रासबीच सञ्चारकर्मीहरू सकेको सावधानी अपनाउँदै समाचार सङ्कलन, प्रकाशन र प्रसारणको मैदानमा छन् । भूकम्पको समयमा पनि उत्तिकै जोखिम थियो । 

म काठमाडौँको ‘क्यापिटल एफएम’ मा मध्यान्न १२ बजेको समाचार तयार गर्दै थिए । हेडलाइनसमेत फाइलन गरी समाचार प्रिन्ट हुँदै थियो । १२ बजेअघिको कार्यक्रम सकिएको थियो । गीत बजिरहेको थियो । समाचार कक्षका हामी व्यस्त थियौँ, म समाचार वाचन गर्न स्टुडियो छिर्ने तयारीमा थिए ।

११ बजेर ५६ मिनेटमा अचानक काम गर्दै गरेको कम्प्युटर ढल्यो । समाचार प्रिन्ट हुँदै गरेको प्रिन्टर टेबुलबाट तल झर्यो । अहो भुईँचालो पो गएको रहेछ । सबै जना चिच्याएका सुनियो । नयाँवानेश्वर थापागाँउस्थित एक घरको पाचौँ तलामा समाचार कक्ष थियो । भवन हल्लिरहेको थियो । के गर्ने, कसो गर्ने अलमल र अन्योलमा थिए । हल्लिरहेको घरको झ्यालबाट तल हेरेँ । सबै तल सडकमा पुगिसकेका रहेछन् । मलाई भने ‘विपद्को बेला आम नागरिकलाई सूचना प्रवाह गर्नु सञ्चारकर्मीको दायित्व हो । सहज अवस्थामा त जसले पनि काम गर्छ । विपतमा सूचना दिनु पो ठुलो हो भन्ने लाग्यो ।’

 जे त होला होला, अब रेडियोमा भूकम्पको जानकारी दिनुपर्छ भनेर हल्लिरहेको भवनको छैटौँ तलामाथि चढे । भवन अग्लो थियो, भूकम्प प्रतिरोधी हो वा होइन थाहा थिएन । तर पनि आँट गरेर कम्पनमा लरबरिँदै पुगे । भित्ता समाउँदै रेडियोको मास्टर कन्ट्रोल रुमभित्र पसेँ । 

भूकम्पको कम्पनसँगै स्टुडियो छिर्दा

भूकम्पको कम्पन जारी थियो । छैटौँ तल्लामा पुग्दा तल भन्दा बेसरी हल्लिरहेको थियो । अफिसको अग्लो भवन बाँस हल्लिएझैँ हल्लिँदै थियो । भूकम्पले अरू कम्प्युटर ढलाए पनि, स्टुडियोमा कुनै क्षति भएको रहेनछ । गीत बजेर सकिएर १२ बजेको जानकारी (टाइम चेक) बजिरहेको थियो । प्राविधिक मित्र पवन फुयाँल भागिसकेका रहेछन् ।

सबैजना डराएर लाखापाखा लागिरहेका बेला उनी मात्र किन बस्थे र ! म मिक्चरमा गएर फेडर अन गरे । पारदर्शी सिसा पारी स्टुडियो छिरे । र बोल्न थाले । ‘अहिले भर्खरै निकै शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । कति रेक्टरस्केलको हो ? कहाँ कहाँ कति क्षति भयो त्यो आउन बाँकी छ । तपाईँको तीर महसुस भयो वा भएन ? के कस्ता क्षति भए जानकारी गराउनुहोस्’ यसरी मैले स्टुडियो टेलिफोन नम्बर दिएँ । 

भूकम्पको धक्का केही रोकिएको जस्तो भान भयो । मैले नम्बर दिनासाथ स्टुडियाकोे फोन बज्न थाल्यो । तर प्राविधिक तल भागिसको थिए । फोन उठाउने मान्छे भएन । मेरो साथमा मोबाइल थियो । मैले स्रोताहरुको लागि फोन गर्न मेरै मोबाइल नम्बर दिए । लगतै मेरो मोबाइलमा घण्टी बज्न थाल्यो । मैले हयाण्ड्स फ्री गरेर श्रोतासँग कुरा गर्न थाले । धेरै ठाउँमा ठुलाठुला घर भत्किएका, पहाड खसेको तथा धेरै जना सम्पर्कविहीन भएका र मानिसहरू पुरिएका जानकारी पाएँ । 

त्यसपछि मात्र मलाई लाग्यो यो भूकम्प चानचुने होइन रहेछ । भूकम्पले निक्कै ठुलो क्षति पुर्‍याएको रहेछ भन्ने थाहा पाए । बोल्दै स्टुडियोको कम्प्युटरमा हेरेँ । भूकम्प ७.९ रेक्टर स्केलको रहेछ । मैले त्यहाँ आएका जानकारी श्रोतालाई दिएँ । भूकम्प धक्का पटकपटक आइरहेको थियो । एक दुई मिनेटको अन्तरमा स–साना कम्पन भइरहेका थियो । म विभिन्न ठाउँमा भएको क्षतिको विवरण श्रोतामार्फत नै लिँदै थिए । ‘कम्पन गैरहेको हुनाले तपाईँ खुला ठाउँमा गएर सुरक्षित बस्नुहोला पनि’ भन्दै थिए । तर म स्वयं छैटौँ तलामा असुरक्षित थिए । भूकम्पपछि अलमलिएका र आत्तिएका सर्वसाधारणलाई रेडियोबाटै सजग र आश्वस्त पार्ने प्रयास गरेँ ।

मैले केही कुरा भन्नै लाग्दा हल्लाउँथ्यो । स्रोतालाई जानकारी गराउन छाडेर ज्यान नै ठुलो भन्दै भाग्न मन लाग्थ्यो । ल अब चाहिँ मरिने भइयो भन्ने मनमा डर लाग्थ्यो । एक–दुई पटक त कानमा लगाएको हेडसेट फुत्त झिकेर उठेर एक दुई पाइला भाग्नै लागेको थिए । कम्पन रोकिन्थ्यो । म फेरि उही कुर्सीमा बसेर श्रोतासँग कुरा गर्न थाल्थेँ ।

रेडियोलाई टेक ओभर गर्दा

अफिसमा रहेका सबै आत्तिएका थिए । सबैजना सडकमा बसेर रेडियो सुनिरहेका रहेछन् । प्राय रेडियो बन्द भएका रहेछन् । तर हामीले रेडियोको प्रसारण रोकेनौँ । अरू भन्दा फरक हुने मेरो हठले हो या आत्मविश्वासले आँट दियो । म लगातार थप सूचना र जानकारी बटुल्दै, प्रसारण गर्दै थिए । पछि प्राविधिक साथी पवन फुयाँल, उज्ज्वल प्याकुरेल समाचार कक्षका साथी विष्णु विवेकलगायत आएर मलाई साथ दिए । उनीहरूले सूचना बटुल्थे । मलाई दिन्थे । सङ्कटको त्यो क्षणमा म श्रोतालाई जानकारी गराउँथे । बिस्तारै प्राविधिक र अरू सहकर्मीहरू जम्मा हुँदै गएपछि कार्यक्रम चलाउन सहज भयो । 

धेरै सञ्चारमाध्यममा प्रसारण रोकिएको समयमा मैले हाम्रो रेडियोको प्रसारणलाई निरन्तरता दिए । त्योभन्दा पनि उच्च जोखिम मोलेर सूचना र जानकारी दिए । रेडियो प्रसारण सञ्चालक समितिका अध्यक्ष प्रकाश पौडेल तथा सदस्यहरू व्याकुल पाठक, सुशील राउत र स्टेसन म्यानेजर विमलकुमार थापा मप्रति धेरै खुसी हुनुभयो । मलाई उहाँहरूले धेरै धन्यवाद दिनुभयो । ‘थ्याङक्यू श्यामजी रेडियोलाई टेकओभर गरेकोमा’ सञ्चालक समितिका सदस्य पाठकले आभार प्रकट गर्दै भने । स्वविवेकले रेडियोलाई नियन्त्रण लिएकोलाई ‘टेकओभर’ भनिँदोरहेछ । सबैले धन्यवाद दिएपछि मात्र मलाई थाहा भयो कत्रो साहस जुटाएर कसरी हिम्मत गरेछु भन्ने ।

परिवारभन्दा कर्तव्य प्यारो

भूकम्पले हजारौँको ज्यान भएको थियो । हजारौँ घाइते थिए । धेरै संरचना ध्वस्त थिए । ठुलो मानवीय सङ्कटको अवस्था थियो । भूकम्पको कम्पन पटकपटक गइरहेको थियो । दुई तीन दिनसम्म त अग्लो भवनबाटै भूकम्प सम्बन्धी जानकारी दियौँ । त्यो समय रेडियो नेपाल, रेडियो अन्नपूर्ण नेपाललगायत दुई तीन वटामात्र रेडियो सञ्चालन थिए । अधिकांश टेलिभिजन बन्द थिए । 

कान्तिपुरलगायत केही दैनिक पत्रिका ८ पेजमा खुम्चिएका थिए । अनलाइन न्युज पोर्टलहरू अहिलेका जस्ता छ्यापछ्याप्ती थिएनन् । एकाधबाहेक अरू बन्द जस्तै थिए । आम नागरिकको लागि बिपद्को समयमा रेडियो नै सबैभन्दा सहज समाचार माध्यम रहेछ भन्ने त्यो क्षणबाट थाहा पाएँ । आम नागरिकको लागि रेडियोमात्र भूकम्पको सूचना थाहा पाउने भरपर्दो र एकमात्र माध्यम बनेको थियो । रेडियोभन्दा छिटो समाचार दिनसक्ने अनलाइनले निकैपछि मात्र समाचार प्रकाशित गरे । 

नुवाकोटमा रहेको मेरो घर पनि भूकम्पले भत्किएको थिए । मेरा परिवार पनि त्रिपालमा बस्न विवश थियो । केही बिरामी भएका थिए । तर मैले आफ्नो आम जनतालाई सूचना दिने मूल दायित्वलाई प्राथमिकता दिएर सुरक्षाकर्मीझैँ कार्यक्षेत्रमै निरन्तर खटिएँ । कहाँ कति क्षति भयो ? घरपरिवारमा के भयोजस्ता जिज्ञासा मेट्न हाम्रो प्रसारणले धेरैलाई मानसिक राहत दियो । पेसाप्रतिको दायित्वबोधकै कारण होला, आफ्नै घर भत्किएको खबर आए पनि, घर नगई सूचना प्रवाह गर्न हामी व्यस्त भयौँ । विपदमा अपनाइएको त्यो संयमय, साहक र होसियारीपूर्ण प्रस्तुति तथा अथक र निरन्तर मेहनतको दर्शक श्रोताले प्रशंसा गर्दा गर्वले छाती फुल्यो । 

सरकार र जनताबीच पुल 

उच्च जोखिमबीच दुई–चार दिन हामीले छैटौँ तलाबाटै सूचनाहरू दियौँ । त्यसपछि हामीले नजिक एक पार्टी प्यालेसमा मिक्चर्स, माइक, हाइव्रिटलागायत रेडियो प्रसारणका आधारभूत सामग्री लग्यौँ । त्यही खुला ठाउँबाट आम स्रोताका लागि सूचना, सन्देश र जानकारी दिन थाल्यौँ । भूकम्पपछि उद्धार र राहतलगायत विपद सुरक्षा सम्बन्धी जानकारी दिइरहेका थियौँ । उद्धारका लागि समस्या भएका सूचना दिन्थ्यौँ । राहत नपुगेका ठाउँबाट फोन आउँथे । हामी त्यहाँ गएर राहत वितरण गर्न आग्रह गर्थ्यौँ । 

राज्यका अत्यावश्यक सेवा क्षेत्रले लिएको अग्रसरता र विभिन्न ठाउँका सर्वसाधारणबाट स्थानीय वस्तुस्थितिको अपडेट लिएर हामी राज्य र जनताबीच पुल बन्ने प्रयास गर्‍यौँ । भूकम्पपछिको क्षतिको विवरण, उद्धार, पीडितहरूको अवस्था र राज्यका निकायलाई उत्तरदायी बनाउन हामीले रातभर नसुती कार्यक्रम चलायौँ । ‘अहिलेको जमानामा रेडियो कसले सुन्छ र’ भन्ने हल्का प्रतिक्रिया दिने सहरवासीको माझ गुमेको साख हामीले पुनर्स्थापना प्रयास गर्‍यौँ ।

खुला ठाउँबाट भूकम्प सम्बन्धी जानकारी प्रसारण गरिरहँदा एक जना पाका उमेरका मानिस आइपुगे । हामीलाई हेर्दै उनले दुई हात जोडेर भने, ‘तपाईंहरुलाई धेरै धेरै धन्यवाद, तपाईँहरूले धेरैको ज्यान बचाउनुभयो । भूकम्प गएदेखिनै तपाईँको रेडियो सुनेर बसिरहेका छौँ ।’ त्यो समयमा म निक्कै खुसी भए । प्रतिक्रियाहरू त पहिल्यै फोनबाट आइरहेका थिए । प्रत्यक्ष भेटेर कसैले प्रशंसा गर्दा गर्वले छाती फुल्यो ।

पत्रकारितामा दुःख जति बिकाऊ अरू हुँदैन । साहित्यमा पनि आँसु बढी बिक्छ । पत्रकारितालाई हतारको साहित्य पनि भनिन्छ । विपदको समयमा नकारात्मकताले बढी स्पेस पाइरहेकोजस्तो भान भएको थियो । तर हामीले रेडियो तरङ्गमार्फत सकारात्मक ऊर्जा प्रवाहका लागि प्रेरणादायी प्रसङ्ग, सन्दर्भ र व्यक्तिलाई प्रस्तुत गरेर भूकम्प पीडितहरूलाई ऊर्जा दिने प्रयास गरेका थियौँ । तीन/चार दिनसम्म त खाने-सुत्ने समय र ठाउँको पनि ठेगान थिएन । तापनि हामी आम जनतामाझ सूचना पुर्‍याइरहेका थियौँ ।

अनि पास भएको ठानेँ

भूकम्प प्रभावित जिल्लाका रेडियो स्टेसनका भवन भत्किएका थिए । कम्प्युटर लगायतका सरसामग्री पुरिएका थिए । यस्तो अवस्थामा पनि ती रेडियो स्टेसन प्रसारण हुने अवस्था थिएन । कतिपयले पालमुनी र खेतबारीबाट समेत आफ्नो प्रसारण सुरु गरेका थिए । गाउँका रेडियो बन्द भएका कारण अरू समयमा नसुनिने ठाउँमा समेत हाम्रो प्रसारण सुनिएको थियो । त्यतिबेलामा निक्कै टाढा टाढाबाट समेत श्रोताको फोन र एसएमएस आएका थिए । अहिलेसम्म पनि ती फोन र एसएमएसका रेकर्ड मैले सुरक्षित राखेको छु । मेरो रेडियो पत्रकारितामा सबैभन्दा ठुलो परीक्षा सायद त्यही थियो । जसमा म आफ्नो हेराइमा र अरूको मूल्याङ्कनमा पनि पास भएको ठान्छु ।

केही दिनपछि केही टेलिभिजनहरूले सडकबाट र कतिले खुला चौरबाटै रोकिएको आफ्नो प्रसारण सुरु गरे । कतिपयले अस्थायी स्टुडियो बनाएर वा कतिपयले खुला ठाँउमै विपद्को बेला टेलिभिजन चलाए । तर सबै टहरा र पालमुनि बसेको बेला टेलिभिजन हेर्न मुस्किल थियो । भूकम्पको त्यो बेला रेडियो मात्र सूचनाको भरपर्दो माध्यम बन्यो । मोबाइल चार्ज गर्न त समस्या परेको बेला अनलाइन र सामाजिक सञ्जाल हेर्न सकिँदैन थियो । यस्तो बेला भूकम्पपछि उद्धार र राहतलगायत विपद् सुरक्षा सम्बन्धी जानकारी पाउने प्रमुख माध्यम रेडियो नै थियो । 

लेखपढ गर्न नसक्ने र नजान्ने, टेलिभिजन र मोबाइलको पहुँच नहुने अनि कामबाट फुर्सद निकाल्न नसक्नेलाई सूचना र मनोरञ्जन दिने काममा रेडियो अब्बल सञ्चारमाध्यम हो । तर त्यो विपद्को समयमा सबैका लागि एक मात्र भरपर्दो समाचार माध्यम रेडियो बनेको थियो । आपदविपद र अरू महत्त्वपूर्ण घटनाको बेला सही सूचना र जानकारी सही बेला दिने काममा अरू आमसञ्चार माध्यमभन्दा रेडियो अगाडि देखिएको छ । रेडियोको लोकप्रियता तथा प्रभावकारिता घटेको भन्नेलाई आपदविपद्को समयमा आम जनताप्रति रेडियोले निवार्ह गरेको दायित्वले गतिलो जवाफ दिने गरेको छ ।

 

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि