बैशाख ०७, २०८१, शुक्रबार
               

‘हिँड जाऊँ कतै छाडी यो सहर !’

चेतन पाण्डे
बैशाख १०, २०७७

ADVERTISEMENT

केही लेख्न त मन लागेको छ । तर, के लेख्नु, कति लेख्नु । भो, अब अति भो । लेख्दिन कोरोनाका बारेमा ! तर, पनि मन बाउँडिएकै छ । मस्तिष्कमा पहिरो पनि गइरहेकै छ । हिजोआज मेरै अङ्गहरू मेरा वशमा छैनन्, जस्तो लाग्न थालेको छ । अनि फेरी कोेरोना नै मनमा नाच्छ, गिदीसँग खेल्छ ।

पखेटा भए पनि उडी दिन्थे । बादलसँग रमाउँथे । बादलसँगै उड्थे । रूप बदल्दै, स्वरूप बदल्दै ।जमिनमा गस्ती गर्ने सबैलाई लोप्वा खुवाउँदै । के गर्नु ? अहिले त पाइलामा नेल लागेको छ । त्यसैले के गरूँ, के गरूँ भनेर सोच्यो, दिमाग खियायाे । अनि लेख्ने नै बाध्यता आइलाग्छ । 

कोरोना ! जबदेखि तिमीले यो घर्तीमा राज गर्न थाल्यौ, तबदेखि लेख्ने विषय पनि तिमी मात्रै बनेक छौँ । त्यसैले तिमीलाई एउटा पत्र लेख्ने विचार गरेको छु । तर, किन किन लेख्दिन जस्तो पनि लागि रहेको छ । खै के गरूँ, के ?  

हैन आज अवश्य लेख्छु, पत्र त । २०४६ सालअघिका ती नेतालाई । जो व्यवस्था परिवर्तनपछि देशलाई के के न बनाउँछु भन्थे । तर, उनीहरू नै आजकाल काम विहीन बास विहीन बनेर, भोकले छटपटाइ रहेका जनताको आँसुलाई ह्विस्कीमा मिलाएर पिइरहेका छन् । उनीहरूको छट्पटाहटलाई मारुनी नृत्य सम्झेर आफैँ पनि कम्मर मर्काइरहेका छन् । उनीहरुको बिलौनामा स‌ंगीत भरेर ।

त्यसैले दल विभाजन र संवैधानिक परिषद्को बैठक सम्बन्धी नियमलाई तोड मरोड गरेर यिनीहरूले लोकतन्त्रको चिहान खन्न सुरु पनि गरिसकेका छन् । चिता सजाउन थालिसकेका छन् । 

अनि २०५२ सालपछिका ती नेताहरूलाई पनि सम्बोधन गर्न मन लागेको छ । जो हजारौँ टाउकोको बलिपछि शासन पद्धति नै उल्टाएर जनतालाई आकाशको तारा टिपेर दिने फुइँ लगाउँथे । आज उनीहरू कै पीडामा चुँसम्म गर्दैनन् । नसुने जस्तो, नदेखे जस्ताे पाे गर्छन् । जसको नाममा राजनीति गरेर रंकबाट राजा बने, उनीहरूलाई बिर्सिसकेका रहेछन् । सत्ताको मातमा । कुनै आशिक मिजाजले कुनै नगर बधूको पल्लुमा बाँधिएर आफ्नै घर संसारलाई बिर्सिए झैँ । 

यति मात्र कहाँ हो र । ती सबै मिलेर यो देशलाई यसरी लुटिरहेका छन् कि जसरी कुनै पापीले कुनै महिलाको अस्मिता समेत त्यसरी लुटेको छैनन् होला, आजसम्म । सामन्तका किल्ला भत्काउने खोक्रो फुइँ झार्ने तिनै नेताहरू लोकतन्त्र मासेर आफै राजा बन्ने तरखर पो गर्न थालेका छन् । त्यसैले दल विभाजन र संवैधानिक परिषद्को बैठक सम्बन्धी नियमलाई तोड मरोड गरेर यिनीहरूले लोकतन्त्रको चिहान खन्न सुरु पनि गरिसकेका छन् । चिता सजाउन थालिसकेका छन् । जस्ताे पो छ । 

कोरोना ! तिमीलाई धन्यवाद । मेरो देशमा आजसम्म तिम्रो कारण एउटै लास जलेको छैन । तर पनि तिमीले नव सिंहासनमा आसीनहरूले झैँ हामीलाई पनि मिठो सपनाबाट झस्काइरहेका छौँ, मनलाई चस्काइरहेका छौँ । अनि छताछुल्ल पारेका छौँ । हाम्रो मनलाई, मस्तिष्कलाई ।

कोरोना तिमीलाई के लेख्नु र, पत्र । मेरो देशका नेताले यो सानो भूगोललाई जति खोक्रो पारेका छन्, तिमीले अहिलेसम्म विश्वलाई त्यति खोक्रो बनाएको छैनौँ क्यार । तिमी जति सच्चा छौँ, उनीहरू त्यति नै झुटा । तिमी त एक एक गरेर झुन्ड निल्छौँ । मेरा नेताले त जनताका भावनालाई झुन्ड झुन्डमा बाँडेर देश नै निल्न आँटिसके । तर, तिमीहरू बिच एउटा कुरा भने समान छ । तिमी पनि अघाउँदैनौ, उनीहरू अघाउँदैनन् । सागर पिउने अगस्त ऋषि झैँ ।

होला कोरोना ! तिम्रै कारण विश्व अर्थतन्त्र डावाँडोल भएको छ । तर, हाम्रा नेताहरूले हामीलाई यति गरिब बनाइसके नि अब गरिबीको कुनै रेखा छैन, जहाँभन्दा मुनि जान सकियोस् । अब हामीलाई कुनै माइकालालले योभन्दा गरिब बनाउन सक्दैन । हाम्रा नेता, कर्मचारी र उनीहरूका ढेडुँहरुले नै हामीलाई नाङ्गो बनाइसके ।

पराइमा कहाँ दम थियो र हामीलाई लुट्ने । लुट्न त हामीलाई आफ्नैले लुटे । त्यसैले आफैँ लुटिएको तमासाको मूकदर्शक हामी बनिरह्यौँ । बाँकी के नै गर्न सकिन्थ्यो र ? 

अनि थाहा छ ? तिमीले जति जिउँदा कायालाई लास बनाएका छौँ नि । जतिलाई मसानको बाटो देखाएको छौ नि । हाम्रा नेताले त्यसको सयौँ–हजारौँ गुणा बढी मन जलाएका छन् । मन मारेका छन् । त्यसैले तिमी आज मेरो प्राथमिकतामा परेनौँ । मन खोलेर गाली गर्नेको सूचीमा पनि अटाएनौ ।

हुन त जसले पनि नौनी जस्ता मन भएकालाई नै आफ्नो मान्छ । तर, हामीले फरक सोच्नु पर्छ । अरू दुनियाँ भन्दा । बाध्यता छ, पत्थर जस्ता मन भएकालाई आफ्नो भन्न । त्यसैले, तिमी जस्तो टाढाका पीडकभन्दा नजिकका पीडकलाई नै सम्बोधन गरेर केही लेख्न मन लागेको छ । तिमी त मेरो न आफ्ना पर्‍यौ नतै पराइ ।

कोरोना ! के पोख्नु तिमीसँग मनको बह । कसरी तान्नु मायाको लेघ्रो । तिम्रो ताण्डव हेर्दा । गालीको भाखा पनि बोल्न डर लाग्छ । तिमी अझै रिसाउलाउ कि भन्ने भय पनि छ । नत्र तिमीले नडामेका मेरा आफ्नाहरूलाई पनि डाम्न सक्छौँ । त्यसैले तिमी टाढै बस । तिमीसँग नजिक हुने चाहना छैन । जसरी म आफ्ना नेताहरूसँग पनि नजिकिन चाहन्न । उनीहरू पनि तिमीभन्दा कम शक्तिशाली ‘भाइरस’ होइनन् । तिमी अपरिचितलाई खान्छौ, उनीहरू त आमालाई नै खाँदै छन् ।

त्यसैले अब हाम्रा नेताहरू वास्तवमा कुन र कस्तो लिङ्गी हुन् भनेर सोधी खोजी गरिरहनु पर्दैन कि जस्तो लाग्न थालेको छ । बेला बेलामा उनीहरूले देखाउने चरित्रले उनीहरूको लिङ्गको पहिचान भई नै रहेको छ । 

सम्बोधन पनि कसरी र के गर्नु । न तिमी पुरुष नत स्त्री नै । हाम्रा नेताहरूको सुरुवाल र साडीभित्रका लिङ्गको पहिचान भइसकेको थियो । शायद आजकाल परिवर्तन भएको छ कि ? उनीहरूको बायोलोजिकल लिङ्गको खोजी गर्न कोलम्बसलाई खटाउनु पर्दैन । तर, हिजोआज तिनीहरूको बोल्ने र ताली ताली पिट्ने शैली देख्दा उनीहरूले लगाउने सुरुवाल र साडी मै खोट छ कि जस्तो पनि लाग्न थालेको छ ।

त्यसैले अब हाम्रा नेताहरू वास्तवमा कुन र कस्तो लिङ्गी हुन् भनेर सोधी खोजी गरिरहनु पर्दैन कि जस्तो लाग्न थालेको छ । बेला बेलामा उनीहरूले देखाउने चरित्रले उनीहरूको लिङ्गको पहिचान भई नै रहेको छ । 

त्यसमाथि टाउको हल्लाउँदै, कुमसम्म हात ल्याएर भनिने ‘हेल्लो’ नै मन पराउँछन्, हिजोआज उनीहरूलाई । आफुपनि त्यसरी नै अभिवादन फर्काउँछन् । सनातनदेखि चल्दै आएको ‘नमस्कार’ मन पराउँदैनन् । ‘जल’ को सट्टा ‘वाइन’ मन पराउन पो थालेका छन् । फेरी ताली पनि विचित्र शैलीमा बजाउन थालेका छन् । हिजोआज एक जनाको प्रस्तावमा सारा मन्त्रिपरिषद् त्यही शैलीमा ताली पिट्न थालेका छन् । जुन शैलीले उनीहरूको वास्तविकता बताउँछ ।

अनि हेर न कोरोना ! तिमीले जहिले ताण्डव मच्चाउन पाइला उचाल्यौँ, हाम्रा नेताहरूले पनि कमिसनका जोड–गुणा थालिसकेका थिए । बस् कुरेर बसेका थिए, देश कति बेला थला पर्छ भनेर । जब थला पर्‍यो, कमिसनको चक्कर सुरु भई नै हाल्यो । सेक्युरिटी प्रेसको गुमेको कमिसनको राम्रो भर्पाइ गर्ने उपाय बन्यौँ तिमी ।

त्यसैले लाग्न थालेको छ, कोरोना ! तिमी हाम्रा शासक जस्ता रहेनौ छौँ । जो लासमा पनि कमिसन खान्छन् । नत्र तिमीले पनि धनीमानीको डलरको कमिसनको गोल चक्करमा फसेर हामीलाई नै पहिलो निशाना बनाइ हाल्थ्यौँ नि हैन र ? तिमी त ज्ञानी रहेछौँ । कमसेकम मेरो माटोले तिम्रो कारण एउटै मृत्यु त व्यहोर्नु परेको छैन । अहिलेसम्मलाई धन्यवाद !

हुन पनि, हिजोका दिनमा हामीले तिमी र तिमी जस्ता सूक्ष्म जीवको शक्तिको खिल्ली उडायौँ  । त्यसैले तिम्रो आगमनको आहट नै सुनिएन । नत्र तिमीले विश्वमा एकैचोटी हुँडरी ल्याउनुअघि केही तयारी त गरिन्थ्यो होला नि । मैले नभए पनि हाम्रा नेतालाई वाइन खुवाइने मुलुकले त अवश्य केही गर्थे । अब उनीहरूको पनि बुद्धि फिरेको हुनुपर्छ ।

मानव जातिले तिमीलाई बेला–बेलामा जिस्काइ रहँदा तिम्रो मनमा कति वेदना गुजुल्टिएका थिए होलान् ? न हामीले कहिल्यै बुझ्यौँ नत तिमीले अर्थ्याउन नै सक्यौ । तिमीले यसरी बदला लिन्छौ भन्ने लागेको भए कसको हिम्मत तिमीलाई त्यसरी गिज्याउने । आखिर सबै डोनाल्ड ट्रम्प झैँ बन्न पनि सक्दैनन् नि । जसलाई चाह्यो, सोत्तर बनाउन सक्ने । उनी त अहिले पनि तिमीलाई सजिलै जित्छु भन्ने दम्भ पालिरहेका छन्, लाखौँको बलि दिएर । आखिर ऊ पनि नेता न ठहरियो । बुद्धिको स्तर र बोलीको मामिलामा हाम्रा र अमेरिकाका कार्यकारीमा केही फरक छैन । त्यो आधारमा हामी अमेरिकाभन्दा कम पनि छैनौँ भन्न सकिन्छ नै ।

लेख्दिन भन्दा भन्दै पनि धेरै लेखिसके छु । मानिस परियो । कहिल्यै मन–मुटुलाई नियन्त्रणमा राख्न नसक्ने । किन म तिमी जस्तो हुन सकिन । मन पनि नभएको, मस्तिष्क पनि नभएको, लिङ्ग नभएको । अनि, सारा संसारलाई झुक्याउन सक्ने । सबैको शिर निहुराउन सक्ने । 

साँच्चै, तिम्रो स्वभाव र मेरा नेताका धेरै स्वभाव मिल्दाजुल्दा रहेछन् है । तिमी जस्तै उनीहरूको पनि मन छैन, मस्तिष्क छैन । कुनै बेला थियो पनि होला ? तर, अहिले मरेको छ । तिम्रै जस्तै भावनाविहीन मासुको पिण्ड बनेका छन् । तर, गणितमा अहिले पनि माहिर छन् । तिमी मानिसलाई लास बनाएर मुसुमुसु हाँस्छौ । हाम्रो नेता जनतालाई मूर्ख बनाएर ।

खान नपाएर जनता अलपत्र परे पनि उनीहरूको मरेको मनमा टुसा पलाउँदैन । जनताको आँखा रसाउँदा उनीहरूको मस्तिष्क चलमलाउँदैन । भाव शून्य बनेका छन् । त्यसैले अब त्यस्ता नेतालाई पनि पत्र लेख्न मन लागेन । लेख्दिन अब ।  

कोरोना ! म तिमीलाई पनि पत्र लेख्दिन । पत्र लेख्नु पर्ने तिमीभन्दा महत्त्वपूर्ण पात्र धेरै रहेछन् । बरु मेरा बाबाले आफ्नी प्रेमिकालाई लेखेका कविताका केही हरफ तिम्रा लागि गुनगुनाइ दिन भने सक्छु,

‘दिन–रात प्रहर, मलाई तिम्रै रहर,
हिँड जाऊँ कतै, छाडी यो सहर ।
बरु यस्तो होस्, कतै कोही नहोस्,
छायाले पनि हाम्रो पथ नछेकोस् ।
आकाश झुकोस्, बरु समय रुकोस्,
बाचा नटुटोस्, बन्धन नछुटोस् ।
मलाई यस्तै रहर, बन्धनको रहर,
हिँड जाऊँ कतै, छाडी यो सहर ।।’

म तिमीसँग पनि प्रीति गाँस्न तयार छु । बस्, एउटै सर्त छ । तिमी र मैले मात्रै सुटुक्क यो धर्ती छाड्नु पर्छ है त । म तिमीसँगै लासका बथान बोकेर जान सक्दिन । त्यो पक्का हो ।

मेरो ज्यानको मूल्य मेरा नेताले खाने गरेका कमिसनभन्दा निकै कम छ । उनीहरूले भ्रष्टाचार गरेर कमाएका धनभन्दा निकै सस्तो पनि । उनीहरूले बगाएका रगतको भारभन्दा मेरो शरीरमा बग्ने रगत निकै कम छ । त्यसैले मलाई भय छैन । मर्ने डर छैन ।

बस्, अहिले मैले गर्न सक्ने एउटै कुरो छ । तिम्रो नाममा एक पेग चढाउने । अनि झुटै सही तिम्रै नाममा गुनगुनाउने । जुन गीत मैले आफ्नी प्रेमिकाको लागि पनि कहिल्यै गाइन । तर, एउटै सर्त छ, तिमी जानु पर्छ, टाढा । हामीभन्दा धेरै टाढा ।

‘फूलै फूलको मौसम तिमीलाई,
तारा–जुनको रमझम तिमीलाई,
मेरो माया हरदम तिमीलाई ।।’

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि