बैशाख १३, २०८१, बिहीबार
               

नेपालका कोरोना संक्रमितलाई दुई साताभित्रै लक्षण किन देखिएन ?
डब्लुएचओको अध्ययन अपूर्ण हो ?

ADVERTISEMENT

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) स्वयंले एकदेखि १४ दिनको बीचमा कोरोना भाइरस संक्रमणको लक्षण देखा पर्छ भनेको छ । अधिकांशको हकमा यो अवधि पाँच दिनको हुन्छ । यो मान्यतालाई विश्वभरले अपनाउँदै क्वारेन्टाइन अवधि यसै अनुसार तय गरिएको  छ । तर नेपालमा भने महिना दिनपछि पनि संक्रमित भेटिएका छन्, विना कुनै लक्षण नै । यसबारे विश्लेषण गर्नु पूर्व दुइटा विचारणीय प्रश्न उब्जिएको छ ।

पहिलो– कोरोनाको स्वरूपमा कतै परिवर्तन त आएको होइन ? 

दोस्रो – कोरोनाको विषयमा अझै अध्ययन गर्न बाँकी नै छ ?

विश्वभर मानव शरीरमा कोरोना भाइरस प्रवेश गरेको १४ दिनभित्र लक्षण देखिएको छ । चीनको वुहानबाट सुरु भएको भाइरस युरोप हुँदै अमेरिका पुग्दा संक्रमित सबैमा यही अवधिमा लक्षण देखियो । तर नेपाल अपवाद देखिएको छ । भाइरस शरीरमा प्रवेश गरेर रोगको लक्षण देखिने समय १५ दिन भनिए पनि नेपालमा भने महिना दिनपछि पनि देखिएपछि यी प्रश्न उब्जिएका हुन् । कतिपयले नेपालीहरूमा कोरोना प्रतिरोधी क्षमता अत्यधिक रहेकाले संक्रमणको जोखिम कम छ भन्दै आएका छन् । तर यो मुर्ख तर्कको भ्रममा नपर्न विज्ञहरूले सुझाएका छन् । 

घटना १ : चितवनको राप्ती ८ का आमाछोरा चैत ३ गते बेलायतबाट स्वदेश आएका थिए । बेलायतबाट कतार एयरवेज हुँदै नेपाल फर्किएका उनीहरूमा स्वदेश तथा विदशेका विमानस्थलमा थर्मल गनले तापक्रम नाप्दा कुनै सङ्केत देखिएन । डब्लुएचओले नै भनेको  छ ‘संक्रमितको लक्षण सुख्खा खोकी, ज्वरो, शरीर दुख्ने आदि हुन् ।’ विदेशबाट फर्किएको महिना दिन पुगिसक्दा ती व्यक्ति तथा परिवारका सदस्यहरू कसैलाई पनि कुनै लक्षण देखिएन । उनीहरू विदेशबाट आएको महिना दिनपछि स्थानीय तहले विदेशबाट आएकाहरूको र्‍यापिड टेस्ट गर्दा उनीहरू पनि सहभागी भए । बेलायतबाट आएका आमाछोरामा कोरोना पोजेटिभ देखियो । फेरि थप विश्वसनीय पुष्टिको लागि पीसीआर विधिबाट परीक्षण गरियो । त्यहाँ पनि पोजेटिभ नै देखियो ।

घटना २ : बेलायतबाटै  चैत  ५ मा स्वदेश फर्किएका काठमाडौँका अर्को परिवारको आमाछोरामा पनि कोरोना पोजेटिभ देखियो । त्यो पनि महिना दिनपछि । डब्लुएचओको भनाइ विपरीत चितवनको घटना जस्तै कुनै लक्षण विना नै । सनसिटी अपार्टमेन्टमा बस्दै आएका ८१ वर्षकी आमा र ५८ वर्षका छोरामा वैशाख २ गते संक्रमण पुष्टि भएको हो ।

डब्लुएचओ स्वयंले भनेको छ, ‘संक्रमणकालीन अवस्था भनेको भाइरस शरीरमा प्रवेश गरेर रोगको लक्षण देखिने समय हो । धेरैको आँकलनमा यो अवस्था १४ दिनभित्र भए पनि अधिकांशको हकमा यो अवधि पाँच दिनको हुन्छ । यो आँकलन भाइरसको अझै धेरै तथ्याङ्क प्राप्त भएपछि अद्यावधिक गरिनेछ ।’

त्यसो भए विदेशबाट आएको एक महिनापछि नेपालमा कसरी संक्रमण देखियो ? उनीहरूलाई पनि स्थानीयबाट सरेको त होइन ? परिवारका अरू सदस्य तथा छिमेकीको परीक्षणमा अरू कोही संक्रमित देखिएनन् । संक्रमितको सम्पर्कमा आएकाहरूको परीक्षण रिपोर्ट र ट्राभल हिस्ट्रीका आधारमा हेर्दा ती सबै आयातीत संक्रमण पुष्टि भएको छ । 

त्यसो भए कोरोनाको संक्रमण भएको दुई साताभित्र संक्रमितलाई किन लक्षण देखिएन ? कि कोरोना भाइरसको स्वरूप परिवर्तन भएको हो त ? 

अहिलेसम्म डब्लुएचओले निकालेको तथ्य अपूर्ण हो त ? 

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस युरोपबाट अमेरिका र नेपालसम्म आइपुग्दा के–के स्वरूपमा परिवर्तन भयो भन्ने अध्ययन गर्नुपर्ने आवश्यकता रहेको विज्ञहरूको भनाइ छ । ‘चीनको वुहान र अमेरिका, इटालीलगायतका देशमा देखिएको र नेपालमा भेटिएको कोरोनामा जिनेटिक परिवर्तन के छन् ? यसबारेमा थप अध्ययनको खाँचो छ, यो पूर्वसतर्कता अपनाउन काम लाग्छ’ स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्की भन्छन् । 

यस्तै ओम अस्पताल चाबहिलका डाक्टर विश्वनाथ कोइरालाको धारणा पनि उही छ । उनले नेपाल फ्ल्याससँग भने ‘जोग्राफीले पनि असर गर्छ । चीनबाट, युरोप, अमेरिका हुँदै नेपालसम्म भाइरस आइपुग्दा स्वरूप परिवर्तन भयो होला । जहाँ महामारी फैलियो । धेरै जनाको मृत्यु भयो । त्यो देशको जनसङ्ख्या, संक्रमण दर र भौगोलिक परिस्थिति अनुसार लक्षण देखिने र त्यही आधारमा कोरोना रोग प्रतिरोधात्मक क्षमता भएको अनुमान गर्नु पर्छ । २ सातामा लक्षण देखिने भन्नाले १३औँ दिनसम्म वा १५ दिनपछि नदेखिने भन्ने हुँदैन ।’ 

कोरोना भाइरसबाट छिमेकी भारतमा मृत्युदर कम छ । चीनको वुहान, इटाली र अमेरिका देखिएको भाइरस र दक्षिण एसियामा देखिएको भाइरसको जिनेटिक परिवर्तनबारे अध्ययन गर्नुपर्नेमा विज्ञहरू एकमत छन् ।

अब के गर्ने त ?

विदेशबाट आएकाहरू केही क्वारेन्टाइनमा राखिए पनि धेरै बाहिरै छन् । धेरै जना सेल्फ क्वारेन्टाइनमा थिए । सरकारले राखेकालाई परीक्षण गरिए पनि होम क्वारेन्टाइनमा बसेकाहरू धेरैको परीक्षण भएका छैन । परीक्षण नभएकाहरूमा कोरोना संक्रमण भएर पनि काठमाडौँ र चितवनको केस जस्तै उनीहरूमा लक्षण नदेखिएको पनि हुन सक्छ । यदि संक्रमण रहेनछ भने त केही भएन । तर संक्रमित रहेछन् भने खतरा हुने भयो । अब के गर्ने त ? त्यसको एउटै उपाय छ, समुदायमा परीक्षण ।

जनस्वास्थ्य विज्ञहरू भने अब समुदाय स्तरमा गएर परीक्षण गर्नुको विकल्प नभएको बताउँछन् । ‘विदेशबाट आएकाहरू र उनीहरूको सम्पर्कमा आएका तर लक्षण नदेखिएकाहरूको पनि अनिवार्य रूपमा टेस्ट गर्नुपर्ने हुन्छ ।’ यसरी सम्भावित क्षेत्रहरू पहिचान गर्दै परीक्षण गर्दा पनि संक्रमण भेटिएन भने मात्र ढुक्क हुन सकिने विहरूको धारणा छ ।

 

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि