असार २६, २०७७, शुक्रबार
               

राहत भेटियो, राज्य भेटिएन

‘मनकारी हातबाट राहत भेटियो । तर, राज्य भेटिएन’ १२ दिने सुत्केरी लक्ष्मी साहले राहत स्वरूप केही सामान पाएपछि भावुक हुँदै भनिन् । नामले धनधान्यकी देवी लक्ष्मी भए पनि गरिबीको मारले थिचिएकी उनी सुत्केरी अवस्थामा बिजोग थियो। सुत्केरी अवस्थामै भोकै बस्नुपरेको उनको पीडा र नाबालक शिशुको जीवन रक्षामा समस्या भएको खबर नेपाल फ्ल्यासमा बिहीबार प्रकाशित भएको थियो । 

सोही समाचार पढेका मनकारीहरूले शुक्रबार राहतस्वरूप लक्ष्मीलाई दाल, चामल, घ्यू, तेल, तथा सुत्केरी स्याहारका सामग्री प्रदान गरे । यतिन्जसम्म सरकार नपुगेको आफ्नो दैलामा केही मनकारी व्यक्तिहरू पुगेर सहयोग गरेपछि सुत्केरी लक्ष्मी भावुक बनिन् । जसका कारण सुत्केरी परिवारमा छाक टार्न हम्मेहम्मे भएकाे समस्या दूर भएकाे छ । 

कैलाली घर भएकी लक्ष्मी नरेफाँटमा डेरामा बस्दै आएकी हुन् । लकडाउन घोषणा भएलगतै दाल चामल सकियो । सँगसँगै उनी सुत्केरी  पनि भइन । भरपुर पोषक तत्त्व खानुपर्ने बेलामा उनको घरको चुलो निभ्यो । सहारा दिने उनका पति २५ वर्षीय राकेश साह रामेछापमा छन् ।

निर्माण क्षेत्रमा मजदुरी गर्न गएका उनी लकडाउनले उतै बस्न बाध्य छन् । कमाउन गएका श्रीमान् लकडाउनले उतै पसे । यता सुत्केरी लक्ष्मीलाई शिशुको स्याहारमा समस्या भयो ।

यस्तो सङ्कटमा उनका लागि जीवनदान दिन आई पुगे सामाजिक अभियन्ता सुनील केसी । सुनीलको नेतृत्वमा जुटेको राहत सुत्केरी लक्ष्मी र उनको टोल काठमाडौ‌ं महानगरपालिका ३२ मा पर्ने नरेफाँटकाका १८ घरपरिवारले पाएका छन् । समाजसेवी सुनील केसीसँगै, उत्तरा श्रेष्ठ, हरिकृष्ण कस्पालले १८ घरपरिवारका लागि खाद्यान्न वितरण गरेका हुन् । 


लकडाउनमा भोकै रहेका मजदुरलाई सुनीलले आफ्नै खर्चमा खाना खुवाउँदै आएका छन् । लामो समयदेखि समाजसेवामा रहेका उनी धेरै सामाजिक संघ संस्थामा आबद्ध छन् । १८ परिवारक लागि राहतमा सहयोग गर्ने उत्तरा कोटेश्वर चोकमा फिटनेससम्बन्धी पसल गर्छिन् । 

त्यस्तै, भक्तपुर कटुन्जेका हरिकृष्ण ग्यास डिलरमा काम गर्छन् । उनीहरूले कहीँकतैबाट पनि सहयोग नलिई व्यक्तिगत रूपमा सहयोग गर्दै १८ परिवारको निभेको चुलो बालेका हुन् । उनीहरूलाई शुक्रबार बिहान स्थानीय नवीन श्रेष्ठ, मंगल घिसिङ, लालकाजी साङबो र रामकुमार श्रेष्ठले पनि सहयोग गरेका थिए । विपन्न वर्गका ती टोलवासीहरू समस्यासँग जुध्न ती उपकारी हातहरू फेला परे ।

लकडाउन घोषणा भए लगतै विपन्न परिवार बस्ने टोल बासी सबैका डेरामा  दाल चामल सकिएको थियो । त्यसयता केहीले मागेरै गुजारा चलाए । सबैको घरमा सकिएपछि माग्नेलाई दिने पनि कोही भएन । सबैतिर काम बन्द भएकाले दैनिक ज्याला मजदुरी गरेर खाने उनीहरू सबैलाई खानाको पिरलो भयो । सरकारले दिने राहत उनीहरूको घरमा पुगेन । कमाइ हुँदा आफूहरू पालिएको भए पनि अहिले आम्दानी नहुँदा भोक भोकै रहेको उनीहरूको गुनासो थियो । शुक्रबर राहत पाएपछि सो टोलका सबै खुसी देखिन्थे, उनीहरूले भने ‘कोरोना भाइरसभन्दा भोकमरीले नै हामी गरिब मर्छौँ भन्ने लागेको थियो, उपकारी मान्छेहरू अहिलेको जमानामा पनि भेटिँदा रहेछन् ।’

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि