चैत १६, २०८०, शुक्रबार
               

मेरो चिता कै सामुन्ने तिम्रो पनि चिता नठडियोस् !

चेतन पाण्डे
बैशाख ०३, २०७७

ADVERTISEMENT

अस्ति भर्खर पाइला टेकेको नयाँ वर्षको न कसैलाई शुभकामना दिइयो, न त कसैको शुभकामना स्वीकार गरियो । घमन्डले होइन, मन नरमाइलो भएकाले ।

मन खुसी भए पो दिइएको शुभकामनाको केही अर्थ रहन्छ । रुन्चे मनले दिइएको शुभकामना त रुन्चे नै हुन्छ जस्तो पनि लाग्यो । त्यसैले कसैको एक वर्षलाई नै रुन्चे बनाउने काम गरिएन ।

हुन पनि अहिले न भावनाका भेलमा बग्न, नतै संवेदनाका सागर झैँ गहिराइमा डुब्नबाट आफैँलाई बचाउन सकिएको छ । अनि के र कसका लागि रोइरहेको मनलाई सान्त्वना दिनु, नयाँ वर्षको शुभकामनाको देखौटीपनमा ।

कामना त थियो, महामारीमुक्त नयाँ वर्ष मनाउने । उन्मुक्त हुने । तर, नयाँ वर्षको एउटै सूर्य नअस्ताउँदै कोरोना भाइरसका सङ्क्रमितहरूको गणना बढ्न थालेको छ । अनि मन किन नअत्तालियोस् त ? अनि हरेक दिन त्यो सङ्ख्या पनि बढ्दो नै छ । देशभरि कोरोना सङ्क्रमित फुत्त फुत्त देखा पर्न थालेका छन् । कोरोना कुनै ‘कोब्रा’ झैँ जमिन मुनिबाट निस्केर मलाई नै डस्ला कि भन्ने भय पनि छाउन थालेको छ । जसरी अहिले एकपछि अर्को गर्दै पुराना सङ्क्रमितहरू सार्वजनिक हुन थालेका छन्, त्यसरी नै ।

हुन त विद्धानको अगाडि हात जोड्नु मूर्खता हो । त्यसमाथि विदेशमा काम गरेर फर्किएका अनि पढेर फर्किएकाहरूले संसारलाई हामीभन्दा बढी बुझेका हुन्छन् । तर पनि, एक पटक हात जोडेर नमस्कार गर्छु र भन्छु, ‘प्लिज शङ्का लागे पनि नलागे पनि विदेशबाट फर्कनु भएको छ भने एक पटक कोरोना भाइरसको परीक्षण गराउनु होस् ! प्लिज !’

किनकि एउटा लुकेको सङ्क्रमितले सयौँ घर उजाड बनाउन सक्छन् । सयौँ आमाको कोख रित्तो बनाउन सक्छ । कतिका सन्तानलाई टुहुरो बनाउन सक्छ । अनि कतिका सिउँदोलाई सिन्दूरबाट आजीवन टाढा राख्न सक्छ । अनि कालको ताण्डव त्यही घरबाट सुरु हुन्छ, जहाँ सङ्क्रमणलाई लुकाइन्छ । एक पटक सोचौँ ! जीवन अमूल्य हुन्छ । कालले ल्याउने हुँडरीबाट आजसम्म कोही बच्न सकेको छैन । अनि एउटाको गल्तीलाई अर्कोले कालका रूपमा स्विकार्नु पर्छ भन्ने कुनै सिद्धान्तले भन्दैन र मान्दैन पनि ।

त्यसैले अब लाग्न थालेको छ, कोरोनाले मलाई नभए पनि मेरा भावनालाई लास बनाउँदै छ । त्यो लासलाई हरेक दिन कुहाउँदै छ, कोरोनाको भयसँगै । अनि विश्वमा हरेक दिन बढ्ने तीनै लासको सदगतसँगै । हरेक दिन बढ्ने सङ्क्रमितको सङ्ख्यासँगै । अनि लाग्दो रहेछ, म र मेरा परिवार कोरोना भाइरसको सङ्क्रमणबाट सधैँ मुक्त रहुन् ।

हुन त नयाँ वर्षमा समस्त मानवको दीर्घायुको कामना गर्नुपर्ने थियो । रोगको महामारीले मानिसको सोचमा पनि महामारी ल्याउँदो रहेछ जस्तो पनि लाग्यो । मानिसको सोचलाई पनि लास झैँ दिन दिनै गलाउँदै जाँदो रहेछ । आफ्नै कल्याणको मात्र कामना गर्ने । छ्या ! म र म जस्ता ।

अहिले त घर बाहिरको एकतमासको मुर्दा शान्तिले मनलाई पनि गह्रुङ्गो बनाउँदै छ । अझ काठमाडौँमा बढ्न थालेका कोरोना सङ्क्रमितका सङ्ख्याले बस्ती झन् अशान्त बनेको छ । यो अशान्तिले कुनै सुखद समाचार बोकेर ल्याउला भन्ने आस गर्न सकिँदैन । 

त्यसैले हिजोआज त कान आफैँलाई फटाउने चर्को आवाज सुन्न तड्पिए जस्तो लाग्न थालेको छ । हर्नको चीत्कार पनि कुनै वाद्य वादनका धुन झैँ लाग्न थालेको छ । आँखा मानिसको चहल पहल हेर्न आतुर छ । भुताहा जस्तो देखिने सडकमा भुस्याहा कुकुरको एकसरो मसाने भुकाइको सट्टा । कमसेकम कोलाहलले जीवन निर्धक्क चलेको आभास त दिँदो रहेछ । मानिस बाँचिरहेका छन् भन्ने सन्देश त दिँदो रहेछ ।

धर्म, शक्ति, धन–दौलत सबै मिथ्या रहेछन् । बिस्तारै–बिस्तारै मरिरहेको मनलाई सान्त्वना दिन न राम आउँदा रहेछन्, नतै रहिम, नत जिजस नै । ती सबै भ्रम रहेछन् ।

यस्तो शून्यतामा त कुनै एक कोरोना भाइरस क्षेप्यास्त्र बनेर मेरो शरीरमा कब्जा जमाउन आउला कि भन्ने भय जाग्दो रहेछ । त्यसैले किन किन सम्भव जस्तो पनि देखिने, असम्भव जस्तो पनि देखिने दोधारे मृत्युको भयले सताइ रहँदो रहेछ । यस्ता भयले भरिएको नयाँ वर्ष म त के ? कसैले पनि मनाएका थिएनन् होला ? पृथ्वीको आयु रहेसम्म कसैले मनाउन पनि नपरोस् । कामना यही छ ।

हामीले भ्रममा बाँचेको संसार र यथार्थमा भोग्नु पर्ने संसारको चरित्र निकै फरक हुँदो रहेछ । धर्म, शक्ति, धन–दौलत सबै मिथ्या रहेछन् । बिस्तारै–बिस्तारै मरिरहेको मनलाई सान्त्वना दिन न राम आउँदा रहेछन्, नतै रहिम, नत जिजस नै । ती सबै भ्रम रहेछन् । हामीले मनलाई राहत दिन पालेका अनेकौँ भ्रम मध्ये कै एउटा भ्रम ।

होला, मृत्युले पनि कहिले काहीँ सकारात्मक सन्देश भने दिँदो रहेछ भन्ने लाग्न थालेको छ । सिरियामा मर्नेको सङ्ख्यामा कमी आएको छ । काठमाडौँ र राजमार्गका सडकमा दुर्घटनाबाट मर्नेको सङ्ख्या पनि कमी आएको छ । अचम्मको कुरा आर्यघाटमा जल्ने लासको सङ्ख्यामा पनि कमी आएको छ ।

हामीभन्दा सबल मुलुकहरूले अहिले लासलाई सद्गत गर्ने ठाउँ पाइरहेका छैनन् । तर, हाम्रो मसानको व्यस्ततामा भने कमी आएको छ । किन हो कुन्नि ? कोरोनाको डरले काल पनि ‘लकडाउन’ मा बसेछ कि ? पशुपतिनाथले नदेखिने गरेर कुनै कृपा गरेछन् कि ? बुझ्न मन लागेको छ । तर, कामना यति छ, भोलि कुनै दिन आर्यघाटमा पनि हाउसफुलको साइनबोर्ड झुन्डाउन नपरोस्, कोरोना कै कारण । लासको कल्पना मात्रले मनलाई बेचैन बनाउँछ । आफन्तको होस् कि दुस्मन कै किन नहोस् ।

यो लकडाउनले मलाई भने केही मात्रामा सामाजिक प्राणी बनाएको छ । हुन त त जसको घरमा प्रवेश निषेध छ, त्यहाँ छिरेको छैन । तर, जसको घरमा कोरोनाको सङ्क्रमण छैन भन्ने विश्वास छ, त्यो घरमा छिरिएको छ । मिठा मिठा गफ गरिएको छ । लकडाउनले जान मिल्ने परिधिभित्र गइएको छ । धेरै वर्ष बितेका रहेछन्, आफन्तसँग खुलेर कुरा नगरेको । मेरै स्वभावका कारण । अहिले खुलेको छु, भिजेको छु । छिमेकीको रङ्गमा पनि । भिजाएको छु, आफ्नै रङ्गमा पनि । तर, सबैको आँखामा मडारिएको भयका कालो बादललाई महसुस गरेको छु । मनमा चलेको आँधीको बेगलाई पनि महसुस गरेकै छु । अनि विश्वास लाग्न थालेको छ, मेरो मात्र होइन सबैको मन अशान्त छ भनेर ।

तर जे भने पनि, चित्त दुख्न थालेको छ । मेरै सरकारसँग । लकडाउनले बिचल्लीमा परेका नागरिकलाई अनागरिक बनाएको देख्दा । भोकै मर्नुभन्दा घर कै रूखो–सुखो खाएर बस्छु भन्नेले गन्तव्यसम्म पुग्ने सहजता पाउनु पर्थ्यो । कोरोना भाइरसबाट बच्ने सुरक्षाका सबै उपाय अपनाएर भए पनि । 

बरु सलाम गर्न मन लागेको छ, ती दाजुभाइ–दिदी बहिनीलाई जसले सयौँ किलोमिटर हिँडेर घर जाने आँट गर्नेका लागि केही भए पनि मार्ग सहज बनाइ दिएका छन् । उनीहरूका पाइला नछिलोस् भनेर नयाँ–पुराना जुत्ताको व्यवस्था गरिदिएका छन् । बाटो मै भोकै नमरुन् भनेर रुखासुखा भए पनि ख्वाइदिएका छन् । निस्स्वार्थ भावले सङ्कटमा गरिने हरेक साना–ठुला सहयोगले स्वर्गको मार्गलाई सजिलो बनाउँछ भन्छन् । तर, मैले अहिलेसम्म त्यो सौभाग्य पाउन सकेको छैन । अनि धिक्कार लाग्छ, आफ्नै जिन्दगीप्रति । आफ्नै जन्मप्रति ।

अब त सरकारलाई कति चिमोट्ने, कति झकझकाउने ? दिक्क पो लाग्न थालेको छ । लाग्न थालेको छ, मेरो सरकारलाई कोरोनाभन्दा कडा भाइरसले सङ्क्रमित बनाएको छ । कमिसन भाइरसले ।

नजानिँदो पारामा कोरोना भाइरस हाम्रो नजिक आइरहेको छ । यसले कसलाई निल्छ, भविष्यवाणी असम्भव छ । तर, कोरोनाले जसले ढालेपनि मेरो देश ढल्नु हुँदैन । कोरोनाको सङ्क्रमण लकडाउनले पनि नछेक्ने चरणमा पुगेको खण्डमा कसले बचाउँला हामीहरूलाई ।

धेरै पटक, धेरै अस्पतालमा पुगियो आफ्नै र आफन्तहरूको उपचारका लागि । हाम्रा अस्पतालमा उपकरणको कति अभाव छ भन्ने धेरैलाई थाहै छ । कोरोना सङ्क्रमितको उपचारका लागि भेन्टिलेटरको निकै आवश्यकता पर्दो रहेछ । तर, जुन दिन नेपालमा पनि कोरोनाले महामारीको रूप लिन्छ । त्यो दिन हाम्रो जीवन भगवानको भरोसामा पुग्नेछ । अनि डाक्टरले भन्ने छन्, ‘हामी प्रयास गर्दै छौँ, यहाँहरू पनि भगवानसँग प्रार्थना गर्नुस्’ ।

अब त सरकारलाई कति चिमोट्ने, कति झकझकाउने ? दिक्क पो लाग्न थालेको छ । लाग्न थालेको छ, मेरो सरकारलाई कोरोनाभन्दा कडा भाइरसले सङ्क्रमित बनाएको छ । कमिसन भाइरसले । बरु कोरोनाबाट बच्न सकिन्छ, कमिसनबाट त असम्भव नै छ । सत्ताको कुर्सीबाट सुरु हुने यो भाइरसले देशलाई नै नमारेसम्म शान्तिको श्वास फेर्दैन । त्यसैले सिधा औँलाले नपाए, औँला टेठो बनाएर पनि खाने बानी छ, मेरो शासकको । नत्र अहिलेसम्म स्वास्थ्य सामग्रीमा भएको कमिसनको खेलका खेलाडीहरू कारागार चलान भइसक्नु पर्ने होइन र ?

अनि कमिसनको आहालमा नडुबिईकन सरकारले जीवन रक्षाका लागि अति आवश्यक उपकरणहरू सकेसम्म बढी मात्रामा भित्राइ सक्नुपर्ने थिएन र ?

जनताका नाममा जनतालाई सेक्ने सरकारको चाला देख्दा विरहका गीत गाउनु सिवाय अब के नै गर्न सकिँदो रहेछ र ? त्यसमाथि पनि हरेक दिन आफैँ मरेको सपना देख्दा । जल्नका लागि पनि आर्यघाटमा लाम बस्नु पर्दा, कसको मुटु नकाम्ला र ? कामना छ, मेरो सपना कहिल्यै बिपना नबनोस् ।

जनता नमरुन्, जनताको लासमा पनि कमिसन खान खोज्ने नेताहरू पनि कहिल्यै नमरुन् । बरु, कोरोनाले सक्छ भने हाम्रा नेताहरूको बुद्धि फर्कियोस्, देशका लागि सोच्ने बन्न सकुन् । नत्र एक दिन मेरो चिता कै सामुन्ने मेरा प्यारा नेता तिम्रो पनि चिता ठडिने छ । याद गर ! 

अनि कवि शिरोमणि लेखनाथ पौड्यालका शब्दहरू मात्रै बाँच्ने छन्,

‘जोजो मिल्छ सुलुक्क निल्छ मुखमा हाली चपाउन्न त्यो
थाल्यो च्वाम्म सबै चपाउन भने आहार पाउन्न त्यो,
जत्ति मिल्छ उति उकेल्दछ पनि केही पचाउन्न त्यो,
यै चालासित कल्प कल्प कहिल्यै खाई अघाउन्न त्यो ।।’

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि