बैशाख १३, २०८१, बिहीबार
               

उदाउँदो सूर्यलाई अर्घ्य दिएर नववर्ष मनाउन आह्वान

नेपाल फ्ल्यास
चैत ३०, २०७६

ADVERTISEMENT

काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालले वैशाख १ गते बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेर नववर्षको स्वागत गर्न सबैलाई आह्वान गरेको छ ।

चौघडी अनुसार वैशाख १ गते बिहान ५ः४३ देखि ७ बजेर १७ मिनेटसम्म अमृत समय परेको छ । 

यस समयमा उदाउँदो सूर्यनारायणलाई अर्घ्य अर्पण गर्ने र त्यस लगत्तै घरको दैलो अगाडि  'ॐ' स्वस्तिक र 'श्री' चिह्न लेखेर सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गर्न संघले सबैलाई आह्वान गरेको छ ।

'विगतका वर्षहरूमा हामीले सामूहिक रूपमा दीप प्रज्ज्वलन गरेर नववर्षको स्वागत गर्थ्यौं । सहज परिस्थितिमा देशभरि नै संस्कृति रक्षा दौड़, विविध सांस्कृतिक कार्यक्रम आदि गर्ने हाम्रो पद्धति थियो ।' संघका राष्ट्रिय कार्यवाह मुरली निरौलाले भने, 'तर यस वर्ष विश्वभरि फैलिएको महामारीका कारण हामीले सामूहिक कार्यक्रम नराखेका हौं ।' 

निरौलाले वैशाख १ गते बिहान सूर्यलाई अर्घ्य दिएर आत्मकल्याण, परिवार, समाज र विश्वकै शान्ति, सुख र सुस्वास्थ्यको कामना गर्न आग्रह गरेका छन् ।

वास्तु एवं ज्योतिर्विद विज्ञ डा. वासुदेव कृष्ण शास्त्रीका अनुसार, अग्नी, सूर्य, चन्द्र आदिलाई प्रकाश, तेज र ऊर्जा प्रदायक ईश्वरकै विभूतिका रूपमा पूज्ने गरिन्छ ।

सूर्यलाई वेदले पनि जगतको आत्मा भनी उल्लेख गरेको छ । विज्ञानले पनि सूर्यलाई ऊर्जाको प्राथमिक स्रोत मानेको छ । सूर्य उपासनाको हाम्रो परम्परा अति प्राचीन रहेको उनले बताए। उनले भने, 'यसमा कृतज्ञताको भावका साथै आरोग्यको सूत्र पनि छ । यसलाई हामीले निरन्तरता दिन सक्नुपर्छ ।'

नववर्षको आरम्भसँगै हामीले आफ्नो दैनिक कृत्यभित्र पर्ने सुर्य उपासना, शौच र आचार जस्ता परम्परालाई जीवनमा स्थापित गर्दै लैजाने सङ्कल्प लिनु पर्ने डा. शास्त्री बताउँछन् । 


कस्तो लाग्यो ?

यो पनि