चैत १६, २०८०, शुक्रबार
               

लकडाउनमा भाटभटेनी, उपभोक्ताको घरमा आफैँ सामान पुर्‍याउँदै मीनबहादुर गुरुङ

ADVERTISEMENT

करोडौँ पर्ने मर्सिडिज गाडीमा आफूले मगाएको सामान हालेर घरसम्म ल्याइदिने ती व्यक्ति भाटभटेनीको जुनियर कर्मचारी थिएनन् । उनी थिए ग्राहकको सन्तुष्टिका लागि अर्बौँ लगानी खर्चिएका भाटभटेनीका मालिका मीनबहादुर गुरुङ । 

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण सबै जना घरभित्रै बस्न बाध्य छन् । सङ्क्रमणको डरले घरबाहिर निस्किन सकेका छैनन् । बिहान बेलुका सीमित समयमा बजार खुल्दा आफूलाई चाहिएको सामान किन्न सम्भव हुँदैन । एकातिर धेरै ठाउँ चहार्ने समय हुँदैन, अर्कोतिर समय भए पनि संंक्रमणको खतरा पनि रहन्छ । यस्तो अवस्थामा फोन वा सामाजिक सञ्जालमार्फत नै आवश्यक सामग्री अर्डर गरेर घरमै सामान आइपुग्यो भने त्यो भन्दा ठुलो सुविधा केही हुँदैन ।

कोरोना सक्रमणको इपिसेन्टर चीनको बुहानमा लकडाउन हुँदा घरघरमै अत्यावश्यक खाद्य सामग्रीलगायत पुर्‍याइएको थियो । लकडाउन गरिएका अरू देशमा पनि यस्तै भइरहेको छ । नेपालमै पनि यस्तो सुविधा छ भन्दा धेरैलाई जानकारी नहोला । तर युरोप वा अमेरिका वा विकसित मुलुकमा भइरहेको यस्तो ‘सुपर फास्ट होम डेलिभरी सेवा’ नेपालमै सुरु भइसकेको छ । जब घरमा अत्यावश्यक सामान सकियो, सामाजिक सञ्जालमा एक क्लिक गरेकै भरमा सामान पुर्‍याउदै आएको छ, ‘भाटभटेनी सुपरमार्केट’ले ।

केही दिनअघि नवील बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको घरमा अत्यावश्यक सामान सकियो । सामान किन्न जाउँ, घर बाहिर निस्कन मिल्दैन । त्यो पनि बिहान र साँझ सीमित समयमा मात्रै पसल खुल्ने गर्छ । अनिल केशरी एकछिन त रनभुल्लमा परे । एक छिनपछि एउटा जुक्ति निकाले – ‘होम डेलिभरी सर्भिस प्रयोग गरेर सामान मगाउने ।’

उनले फेसबुकमा गएर भाटभटेनी सुपरमार्केटको पेज लाइक गरे । त्यहाँ उल्लेखित नम्बरमा फोन गरे । उताबाट जवाफ आयो– ‘चाहिएको सामानको लिस्ट लेखेर घरको लोकेसन म्यासेज गर्नुहोस् ।’ अनिल केशरीले तत्कालै निर्देशन पालना गर्दै सपिङ लिस्ट पठाए । सँगै आफ्नो लोकेसन  सेन्ट गरे । त्यति गरेपछि साँझसम्म सामान आउला भन्ने उनको अनुमान थियो । 

तर आधा घण्टा नबित्दै उनको घरको गेटबाट कसैले गाडीको हर्न बजायो । ‘लकडाउनको समयमा को आयो होला र ?’ भन्दै उनले वास्ता गरेनन् । फेरि हर्न बजेपछि गेटसम्म जान बाध्य भए । गेट अगाडि खैरो रङ्गको मर्सिडिज गाडी रोकिएको थियो । उनले गेट खोले । गाडी कपाउण्डभित्र पस्यो । दुई हातमा आफूले अर्डर गरेको सामान झुन्डाउदै गाडीबाट ओर्लिएर कोही आइरहेको अनिल केशरीले देखे । सेतो सर्ट, खैरो कोट, कालो मास्क र हातमा ग्लोब्स लगाएर सामान ल्याउने ती व्यक्ति देख्ने बित्तिकै अनिल केशरी चकित परे । 

लकडाउनको बेला सबैको चिन्ता छ, कहाँबाट लिने दाल चामलदेखि दैनिक आवश्यक सबै चिजहरू ? यही अप्ठ्यारोको बेला हामीलाई भाटभटेनी सुपर मार्केटले उद्धार गरेको छ ।

करोडौँ पर्ने मर्सिडिज गाडीमा आफूले मगाएको सामान हालेर घरसम्म ल्याइदिने ती व्यक्ति भाटभटेनीको जुनीयर कर्मचारी थिएनन् । उनी थिए ग्राहकको सन्तुष्टिका लागी अर्बौँ लगानी खर्चिएका भाटभटेनीका मालिका मीनबहादुर गुरुङ । ‘ग्राहकको सेवा गर्नु हाम्रो धर्म हो । आजैबाट हामीले होम डेलिभरी सेवा सुरु गरेका छौँ, तपाईँको सामान पुर्‍याउन म आफैँ आएँ,’ अनिल केशरीको अगाडि सामान राखेर बिल हातमा थमाउँदै गुरुङले भने । भाटभटेनीका अध्यक्ष गुरुङको टिमसहित आफूले अर्डर गरेका सामान घरमै आएपछि बैंकर अलि केशरी मक्ख नपर्ने कुरै भएन । खल्तीबाट मोबाइल निकाल्दै त्यो आश्चर्यजनक क्षणलाई उनले मोबाइलको क्यामरामा कैद गर्न समेत भ्याए ।

आवश्यक सामान अर्डर गरेको र केही समयमै भाटभाटेनीले घरमै ल्याइदिएको भन्दै अलि केशरीले फेसबुकमा भिडियो पोस्ट समेत गरेका छन् । उनले भनेका छन्– ‘लकडाउनको बेला सबैको चिन्ता छ, कहाँबाट लिने दाल चामलदेखि दैनिक आवश्यक सबै चिजहरू ? यही अप्ठ्यारोको बेला हामीलाई भाटभटेनी सुपर मार्केटले उद्धार गरेको छ ।’ 

गृह मन्त्रालयले उपत्यकाभित्रका अत्यावश्यक खाद्यान्न बिक्री गर्ने स्टोरहरूलाई नागरिकहरूको घर घरमा होम डेलिभरीको व्यवस्था मिलाउन निर्देशन दिएको छ । निर्देशनसँगै  भाटभटेनी सुपर मार्केटले यो सुविधा सुरु गरेको हो । उसले यसरी सेवा दिएको दुई साता पुगिसकेको छ ।

यो सुविधाअन्तर्गत कतिपय ठाउँमा अर्डरको डेलिभरी गर्न भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ नेतृत्वको टिम नै पुगिरहेको छ । खाद्य सामग्री घरघरमै डेलिभरीको अवस्थाको विषयमा कुराकानीको लागी नेपाल फ्ल्यासले अध्यक्ष गुरुङलाई फोन सम्पर्क गर्दा उनी त्यतिबेला पनि होम डेलिभरीकै लागि खटिराखेका थिए ।

‘अहिले म आफैँ पनि होम डेलिभरीको लागि कर्मचारी साथीहरूलाई सहयोग गरिरहेको छु, उपभोक्ताहरूले अर्डर मात्र गर्नुपर्छ, हामी तुरुन्तै डेलिभरी गरिदिनेछौँ’ उनले भने ।

किन आफैँ काममा खटिन्छन् मीनबहादुर गुरुङ

भाटभटेनी सुपरमार्केटले देशका विभिन्न सहरमा १७ वटा आउटलेट खोलिसकेको छ । अरू सहरहरूमा धमाधम आउटलेट स्थापना गरिरहेको छ । भाटभटेनी उपभोक्ताको जीवनशैली बनेको छ । यसको लागि साँढे तीन दशक पसिना बगाएका अध्यक्ष गुरुङका दसौँ हजार बढी कर्मचारी छन् । तर पनि उनी आफैँ पनि फिल्डमा खटिरहेका हुन्छन् ।

कर्मचारीको मनोबल बढाउन तथा अरूलाई समेत प्रेरणा दिन उनी कामलाई ठुलो सानो मान्दैनन् । साना व्यवसायमा लागेकालाई र व्यवसाय गर्ने सोच बनाएकाहरूलाई कसरी सफल उद्यमी बन्ने भनेर टिप्स दिन समेत आफू प्रत्यक्ष काममा खटिएको अध्यक्ष गुरुङ बताउँछन् ।

‘मेरा लागि भाटभटेनी व्यवसाय होला, तर आम मानिसको लागि जीवनशैली बनेको छ,’ गुरुङ भन्छन्, ‘किनभने भाटभटेनीले मान्छेको जीवनशैली परिवर्तन गरिदिएको छ ।’

भाटभटेनीलाई अर्डर थेग्न हम्मेहम्मे

लकडाउनमा भाटभाटेनी सुपरमार्केटले उपभोक्तालाई होम डेलिभरी सेवा सुरु गरेलगतै अर्डरको ओइरो लागेको छ । लकडाउनका कारण सर्वसाधारणहरू खाद्यान्न तथा अन्य वस्तु किन्न घर बाहिर निस्कनसक्ने अवस्था छैन । यस्तो अवस्थामा भाटभटेनीले होम डेलिभरी सर्भिस सुरु गरेपछि अत्यधिक अर्डर आएका हुन् ।

अहिले उसलाई अर्डर थेग्न हम्मेहम्मे परेको छ । सरकारबाट अनुमति लिएर होम डेलिभरी सर्भिस सुरु गरेको अध्यक्ष मीनबहादुर गुरुङले बताए । उनले भने ‘अहिले अर्डरको ओइरो लागेको छ, सामान पुर्‍याउन भ्याइनभ्याइ छ ।’ दुई साताअघि होम डेलिभरी सुरु गरेको पहिलो दिननै भाटभटेनीले नसोचेको अर्डर अयो । बिहानदेखि दिउँसो ३ बजेसम्ममा ७ हजारभन्दा बढी अर्डर आएको थियो । माग पुरा गर्न भाटभटेनीलाई उत्तिकै चुनौती भयो ।

सुरुमा भोलिपल्ट सम्ममा ग्राहकको अर्डर घरमै पुर्‍याइदियो । अहिले दिनभरमा २५ सयदेखि ३ हजार अर्डरको डेलिभरी गर्ने गरी काम गरिरहेको अध्यक्ष गुरुङको भनाइ छ । ‘अहिले ५० वटा गाडीबाट सामान डेलिभरी गरिरहेका छौँ, अर्डरको चाप बढेकाले जसले पहिला अर्डर गर्छ, उसैलाई पहिलो सर्भिस दिन्छौँ,’ गुरुङले भने ।

कसरी लिने भाटभटेनीबाट घरमै सेवा ?

भाटभाटेनी सुपरमार्केटले फेसबुक पेजको म्यासेन्जरमातर्फत अर्डर गरेमा घरमै सामान पुर्‍याउँदै आएको छ । भाईबर वा ह्वाट्सएपबाट सपिङ लिस्ट पठाएमा घरमै सामान आउँछ । 

दैनिक उपभोग्य वस्तुको आवश्यकता परेमा ९८०१२४६८०६, ९८०१२४१४४९, ९८०१११८८३७ नम्बरमा भाटभटेनीले फोन, भाइबर वा ह्वाट्सएपबाट सपिङ लिस्ट म्यासेज गरिदिन आग्रह गरेको छ । यसको लागि घरको लोकेसनसमेत पठाउनुपर्ने छ ।

अहिले सबै शाखाबाट यस्तो सुविधा उपलब्ध गराइरहेको अध्यक्ष गुरुङले जानकारी दिए । सुरुमा भाटभाटेनीको मुख्य कार्यालय टंगालबाट मात्रै सेवा दिइएको थियो । लकडाउनको समयावधि लम्बिएपछि सबै शाखाबाट होम डेलिभरी थालेको छ । भाटभटेनीले  होम डेलिभरीको अतिरिक्त शुल्क लिने गरेको छैन । होम डेलिभरीका लागि करिब ५ सय कर्मचारी खटिरहेका छन् ।

 

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि