बैशाख १३, २०८१, बिहीबार
               

हिजोआज सपनाले पनि तर्साउँछ

चेतन पाण्डे
चैत २६, २०७६

ADVERTISEMENT

हिजोआज मन खिन्न छ । 

अङ्ग्रेजी नयाँ वर्षको अन्त्यतिर सुरु भएको मानव जातिविरुद्ध कोरोना भाइरसको युद्ध नेपाली नयाँ वर्षको सँघारमा आउँदा झन् भयावह बन्दै छ । जताततै त्रासदीपूर्ण हारेका अनुहार बाहेक केही देखिन्न । लाग्छ, हामी युद्ध बन्दी  बनेका छौँ । नाङ्गो आँखाले नदेख्ने सूक्ष्म जीवसँगको युद्धमा हारेर ।

किन किन म त हिजोआज आकाश पनि फिक्का देख्छु । त्यसैले शायद गुलाफ पनि हाँस्दैन होला जस्तो लाग्छ । निन्याउरो अनुहार बनाएका मानिस देख्दा । जताततै त्रास मात्र छ । अनि कसरी रमाउन सक्ला र यो मन ?

कसरी हाँस्नु, मेरै माटोमा जन्मिएकाहरू मेरा आफन्तहरू अज्ञात मृत्युको भयले छट्पटि रहेको देख्दा । अनि कसरी मुस्कुराउन सकिन्छ र ? पुल मुनि लामखुट्टेको सिकार बनेर खानाका लागि कुकुरसँग छिनाझपटी गरी रहेका दाजुभाइको आँखाबाट आँसु बहेको सुन्दा ।

एक पटक मनोहरा पुल मुनि गएर राज्यले सोध्नु पर्छ ती नागरिकसँग, उनीहरूको आत्मा कति भक्कानिइरहेको छ भनेर । नत्र राज्यको मुटु चट्टानमा कुँदिएको हुन्छ भनेर जनताले भन्न थाल्ने छन् ।

मानिसले यस्तो सङ्कटमा आफ्नै आँगन पुग्दा भयमुक्त भएको भ्रम पाल्छ नै । बाबु–आमाको न्यानो काखलाई संसारको सबैभन्दा सङ्कटमुक्त ठाउँ मान्छ नै । अनि सोच्छ, ‘म त्यहाँभन्दा सुरक्षित कतै हुन सक्दिन ।’ आखिर भ्रम पनि बाँच्ने एउटा आधार नै हो । हुन पनि, एक्लो मानिसले त कालको मात्र प्रतीक्षा गर्छ । आफ्नो आँगन, आफ्नै माटो अनि बाबु–आमाको स्नेहलाई यस्तो सङ्कटमा समेत महसुस गर्न नपाउँदा कति मन रुन्छ होला ? सन्तानलाई काखीमा च्याप्न नपाउँदा मन कति भक्कानिन्छ होला, बाबु–आमाको ? राज्यको बेरहमीका कारण ।

जन्मिएको माटोको सुगन्ध अनि जन्मदाताको स्नेहको लालसा बोकेर सयौँ किलोमिटर हिँडेरै भए पनि घर पुग्छु भनेर आँट गर्नेलाई बिच बाटोमा रोकेर पुल मुनिको बासिन्दा बनाउनु जस्तो महापाप के नै होला र ? भनिन्छ, राज्य क्रूर पनि हुन्छ । सत्य रहेछ । 

सयौँ किलोमिटर टाढा रहेका सन्तानको आँसुको भेलले आमा–बाबुको मनलाई कति बगाएको होला ? मनभित्र संवेदनाले वेदनारूपी चट्टानमा कति ठक्कर खानु परिरहेको होला ? अनि आँखामा नाचिरहेका मायालु पत्नी र बालबच्चाको दुई हातले अङ्कमालका लागि बोलाइरहेका कल्पनाले नै अशान्त बनाइरहेको मनलाई झन् कति रुवाउँछ होला ? जनतालाई बचाउने उद्देश्यमा जनता कै मन दुखाउनु सही पनि होइन । एक पटक मनोहरा पुल मुनि गएर राज्यले सोध्नु पर्छ ती नागरिकसँग, उनीहरूको आत्मा कति भक्कानिइरहेको छ भनेर । नत्र राज्यको मुटु चट्टानमा कुँदिएको हुन्छ भनेर जनताले भन्न थाल्ने छन् । पत्याउन पनि थाल्ने छन् ।

मेरी छोरी पनि कोरोना भाइरसले सबैभन्दा बढी प्रभावित मुलुकमा छे । पढ्नुपर्ने बेला होस्टेलको क्वारेन्टाइनमा बन्दी बनेकी छे । हुन त अनलाइन क्लास हुन्छ रे । आफू सुरक्षित छु पनि भन्छे । तर, बाउको मन न पर्‍यो कहाँ सजिलै चित्त बुझाउन सक्छु र ।

सन्तानको चिन्ता कसलाई नहोला र ? मलाई पनि भएकै छ । मन वर्षन नसकेको कालो बादल जस्तो बनेको छ । म रोए त वरिपरि आँसु पुछ्ने छन् तर, मेरी छोरीको आँखाबाट आँसु झर्दा कसले पुछी देला ? मन भक्कानिएको छ । थाहा छ, उसले पनि धेरै पटक आँखा रसिलो बनाइसकेकी छे भन्ने पनि । 

कोरोनाबाट बच्ने आसमा मनोहराको पुल मुनि जिन्दगीलाई तन्काइरहेका ती युवाहरूको बाबु–आमाको मन पनि यसरी नै पोलिरहेको होला ? जसरी मेरो पोलिरहेको छ । ती युवाहरू जति तनावमा छन्, मेरी छोरी पनि त्यति नै तनाव मै होली । तर, उसले दिन कटाइ रहेको देश र ती युवाहरूले दिन कटाउन सङ्घर्ष गरिरहेको देशको सोचमा आकाश–जमिनको फरक छ । मलाई विश्वास छ, मेरी छोरीले कुनै दिन पुल मुनि रात बिताउनु पर्ने छैन ।  

समाचार पढ्छु, ‘अमेरिकामा ५ सय नेपालीमा कोरोना भाइरसको सङ्क्रमण’ भनेर । अनि मनमा जाने पहिरोलाई कसरी रोकूँ म । मनमा आउने विचित्रका कल्पनाले भरिएका अमूर्त भयका क्यानभासको कसरी चित्रण गरूँ म ।

अमूर्त भय लगातार मुटुमा विस्फोट भइरहेका छन् । आँखा रसाइ रहेका छन् । अनि लाग्छ, म रुँदा छोरी कमजोर बन्छे कि भन्ने डर । तर, ऊ नै मलाई सम्झाउँछे । यसो गर, त्यसो नगर भनेर । बस्, एउटै कुराले राहत दिन्छ । भन्छे, म पूर्णरुपमा सुरक्षित छु । कलेजले हामीलाई सुरक्षित राख्ने सबै उपाय गरेको छ । 

अहिले रहर जागेको छ । यो बिचल्लीको क्षणमा हाँसेर बसेकी मेरी छोरीलाई एक पटक अङ्कमाल गर्ने अनि बाबु छोरी दुवै जना भक्कानिएर रुने । त्रासदीका दिनमा पलाएको रहर पुरा नगरी कोरोनाले मलाई सङ्क्रमित बनाउन सक्दैन भन्ने विश्वास पनि बढेको छ ।

थुइक्क थुक्न मन लाग्छ, यस्ता दरिद्र संस्कार पाल्ने मेरा नेताहरूको सामुन्ने । अनि एक पटक सोध्न मन लागेको छ उनीहरूलाई, ‘तिमीहरूले पायौ भने आमाको भित्री वस्त्र बेचेर पनि कमिसन खान्छौ र ?’ भनेर । 

अनि कल्पनामा रमाउँछु, लामो सुस्केरा पछि ओठ केही मुस्कुराउँछ । मनमनै भन्छु, विदेशीले मेरी छोरीको सुरक्षा गरिरहेको छ । तर, मेरो देश आफ्नै नागरिकको सुरक्षा गर्न सक्दैन । सकुशल घर फर्काउन सक्दैन, सीमामा अनागरिक बनेका मेरा आफन्तहरूलाई । त्यो पनि राष्ट्रवादीको खोल ओढेको सरकारले । जनताको माया नगर्ने सरकार कसरी राष्ट्रवादी हुन्छ ? मातृभूमिको माया नगर्ने सरकार कसरी राष्ट्रवादी हुन्छ ? बिरामी जनताको नाममा अनियमितता गर्ने नेता कसरी राष्ट्रवादी हुन्छन् ? यस्ता सोचाइले पनि मनमा उथल पुथल ल्याइरहन्छ ।

कति निर्दयी छ, मेरो राज्य । ज्यानको जोखिम मोलेर महाकाली पौडेर घरको सिरानीमा शिर अडाएर मिठो सपना हेर्ने लालसामा फर्किएकाको ढाडमा राज्यले लट्ठी बजार्दा कति रुन्छ होला मातृभूमिको मन ? अनि त्यो हुलमा एक जना पनि कोरोना भाइरसबाट सङ्क्रमित भएको खण्डमा सबै नागरिक लास बन्न सक्छन् भन्ने सामान्य ज्ञान समेत नभएको सरकारले लगाएको लकडाउन कस्का लागि ? कतै मेरो सरकार नै सोच शून्य नै भएको त छैन ? मन रन्थनिन्छ नै । अनि, लकडाउनका भरमा नै सारा संसारलाई हराइरहेको कोरोना भाइरससँगको युद्ध जित्छौँ भन्ने मूर्ख सोच पालिरहेको छ, मेरो राज्य । आफ्नै नागरिकलाई अनागरिक बनाएर ।

अनि कति पापी रहेछन्, मेरो देशका शासक । रोगलाई जित्न किनिएका सामानमा समेत कमिसन खान नछाड्ने । आचीको किरालाई आफ्नो आहारा जति मिठो लाग्छ, मेरा नेताहरूलाई कमिसनको स्वाद त्योभन्दा पनि मिठो लाग्छ कि जस्तो पो लाग्न थालेको छ । थुइक्क थुक्न मन लाग्छ, यस्ता दरिद्र संस्कार पाल्ने मेरा नेताहरूको सामुन्ने । अनि एक पटक सोध्न मन लागेको छ उनीहरूलाई, ‘तिमीहरूले पायौ भने आमाको भित्री वस्त्र बेचेर पनि कमिसन खान्छौ र ?’ भनेर । 

अनि भन्न मन लाग्छ, ‘प्लिज ! आमाको छातीलाई नङ्ग्याएर चोलीको व्यापार नगर,’ महान् शब्द जालमा जनता अल्झाउन माहिर, मेरा नेताहरू ! आमाको चुसेका लाम्टाहरूको मोलतोल नगर, मेरा नेताहरू । नत्र मातृभूमिको चीत्कारले तिम्रा कानका पर्दा च्यातिने छन् । तिम्रा मुटु छियाछिया हुनेछन् । अनि पिडादायक तिम्रो कालले नत तिमीलाई स्वर्ग जान दिनेछ नतै नर्कमा सहज बास दिनेछ ।’ 

त्यसैले पनि मन अशान्त छ, हिजोआज । अनि सपनीले पनि झस्काउँछ । तिमीले चोली बेचेपछिको आमाको नाङ्गो छाती आँखा अगाडि नै आउँछ, उनको चीत्कारले भरिएको आँसु पुछ्नु कि उसको आङ ढाक्ने वस्त्रको जोहो गर्नु ? दोधारमा पर्छु म । अनि मनको ढुकढुकीलाई नियन्त्रित गर्ने प्रयास गर्छु । अनि कामना गर्छु, हे पशुपतिनाथ मेरा नेताहरूलाई सद्बुद्धि देऊ ! 

अनि भन्छु, ‘कोरोनाले तिमी नेताहरूलाई पनि त्यसरी नै पछार्न सक्छ, जसरी हामीलाई सक्छ । तिमीले कमिसन खाएर ल्याएका स्वास्थ्य सामग्री भोलि काम नलाग्ने निस्कियो भने तिम्रो ज्यान पनि त्यसरी नै लिन सक्छ, जसरी हाम्रो लिन सक्छ ! कालले कसैलाई भेदवाद गर्दैन ।’

यस्तै कुरा सोच्दा मनलाई थुमथुम्याउने कोसिस पनि गर्छु । अनि कतै एकान्तमा दुई थोपा आँसु चुहाएर छोरीलाई सम्झन्छु पनि । अनि चिच्याएर भन्छु, बरु छोरी तिमी त्यतै सुरक्षित छौँ, घर नआऊ अहिले । बाटामा आउँदा कुनै विमानमा रहेका कोरोना सङ्क्रमितबाट तिमी पनि सङ्क्रमित भयौ भने यहाँ सरकारी अस्पतालमा मात्र उपचार हुनसक्छ । त्यो पनि राष्ट्रवादीको नारा लगाएर सत्तामा पुगेकाहरूले कमिसनको आहालमा चुर्लुम्म डुबेर किनेका स्वास्थ्य सामग्रीबाट । निजी अस्पतालले भने तिम्रो उपचार गर्न मान्दैन, हिजोआज । 

‘छोरी ! कमसेकम तिमी यस्तो देशमा छौँ, जहाँ जतिसुकै नीच व्यक्तिको शासन भए पनि उसले यस्ता वस्तुमा कमिसन खाँदैन । कमिसन बापत आउने रकमले थप केही सङ्क्रमितको उपचार गर्न सकिने सामग्री खरिद गर्न सकिन्छ कि भन्ने सोच्छ पाल्छ नै । हाम्रा भगवान् बनेर हामीमाथि राज गरिरहेकाहरू झैँ निर्घृणी सोच भएका छैनन्, त्यहाँका शासकहरू । पक्का पनि ।’

आफ्नै नागरिकप्रति अमानवीय व्यवहार देखाउने सरकारले कसरी मेरो पनि सुरक्षा गर्छ भनेर विश्वास गर्ने । त्यसैले म र म जस्ता अभिभावकले अहिले सन्तानलाई न्यानो काख दिन्छु भनेर अर्थहीन कल्पना गर्नुभन्दा उनीहरूको सुरक्षाका लागि भगवानसँग प्रार्थना गर्नुको राम्रो विकल्प अर्को छैन । किनकि हामी त्यो देशका बासिन्दा हौँ, जहाँका नेताहरू कमिसनको लोभ अनि धन र सत्ताको उन्मादले उम्लिएका छन्, मात्तिएका छन् । त्यसैले उनीहरूसँग सीमा पारी भँडा–बाख्रा झैँ क्वारेन्टाइनमा कोचिएका जनताको चीत्कार सुन्ने फुर्सद छैन । 

बस्, यति कामना छ, भोलि त्यस्ता क्वारेन्टाइनमा जिन्दगीका लागि कालसँग सङ्घर्ष गरिरहेका जनताको कात्रोमा कमिसन नखाउन्, यी निर्लजहरूले । लास बेचेर थप एक पुस्ताका लागि धन नजोडुन्, यी कलियुगका रावणहरूले । अनि बस्, यति कामना छ । कोरोनाबाट जब हामी भयमुक्त हुन्छौ, त्यो दिन यिनीहरूका बुद्धिमा पनि केही घाम लागोस् । कोरोनासँगै कमिसनको महामारीले यो देशबाट बिदा लियोस् । फेरि एक पटक आमाको छाती नङ्ग्याएर चोलीको व्यापार गर्ने सोच कसैको मनमा नपलाओस् ।

नत्र यस्ता शासकहरूको छायाले भोलिका पुस्ताहरूमा पनि कलङ्कित संस्कार हस्तान्तरण होला कि भन्ने अर्को भय छ । अनि लाग्छ, कोरोनाले नमारे पनि यस्ता नेताहरूको कुकर्मले हाम्रा मनलाई अवश्य मार्छ नै । त्यसैले भन्छु, ‘प्लिज ! जनताको कात्रोमा भने कमिसन नखाऊ । बरु सक्छौ भने देश भित्र र बाहिर अलपत्र परेका जनतालाई घरसम्म पुग्ने उचित प्रबन्ध मिलाइ देऊ । अनि त्यसपछि लडौँला तिमी–हामी सँगै मिलेर कोरोनासँग जीवन र मृत्युको युद्ध । अनि त कोरोनासँग हारे पनि व्यर्थ जाने छैन, हाम्रो जन्म ।’

त्यसैले हिजोआज मन अशान्त छ । सपना पनि श्याम श्वेत देख्न थालेको छु, विचित्रको ।  त्यही सपनामा, नाङ्गो आँखाले नदेखिने कोरोना भाइरसले बिस्तारै डाइनोसरको रूप लिएको देख्छु । त्यही डाइनोसर मानिसहरूलाई सोत्तर पार्दै उन्मुक्त भएर हाँस्दै उफ्रिरहेको देख्छु । अनि हाम्रा नेताहरूसँग मुख मिल्ने केही दानवहरू लासलाई ओढाउने कात्रोका लागि कमिसनको चक्कर चलाइरहेको देख्छु । म भने लासहरूको चाङमा मेरा आफन्तहरूको लास खोजिरहेको हुन्छु, पागल झैँ रुँदै, चिच्याउँदै ।

अनि अनायास मेरा निन्द्राका त्यान्द्रा चुँडिन्छन् । शरीर पसिनाले निथ्रुक्क भिजेको पाउँछु । अनियन्त्रित छाल झैँ एकोहोरो ढढ्किरहेको मुटुको चाललाई रोक्ने असफल प्रयास गर्छु । अनि लाग्छ, म पनि छिट्टै त्यही डाइनोसरको आहार बन्दै छु । अनि एक दिन अवश्य लास पनि बन्ने छु । अनि मेरा नेतासँग मुख मिल्ने कुनै दानव मेरो कात्रोमा पनि व्यापार गर्नेछ ।

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि