चैत १५, २०८०, बिहीबार
               

चैते दशैँ मनाइयो

रासस
चैत १९, २०७६

ADVERTISEMENT

काठमाडौं। प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाएका छन् ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न लकडाउन गरिएकाले घरघरमै देवीको आराधना गरी मिठामिठा परिकार बनाएर भोजन गरी परिवारका सदस्यबीच रमाइलो गरेर चैते दशैँ पर्व मनाइएको हो । विगत वर्षमा चैते दशैँ  पर्वका अवसरमा बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्थ्यो । यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले देशभर लकडाउन गरेकाले घरबाटै मानसिक रुपमा दर्शन गरियो ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले वेदमा ‘सर्वतः आत्मानम्ं गोपायेत्’ अर्थात् सबैभन्दा पहिले हाफ्नो शरीरको रक्षा गर भन्ने वचन रहेकाले महामारीको सङ्क्रमणबाट बच्न घरमै बसेर पूजा आराधना गर्न आह्वान गरेका थिए।

बडादशैँ जस्तै चैते दशैँको पूजा उपासनाको मुख्य उद्देश्य पनि यो लोकमा सुख, शान्ति र परलोकमा सद्गतिका लागि आशीर्वाद लिनु हो । बडादशैँमा जस्तै चैते दशैँमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ । यस वर्ष कोरोना भाइरसको सन्त्रासले जारी लकडाउनका कारण परिवारका सदस्यलाई एकै ठाउँमा जुटाइदिएको छ ।

लकडाउनका कारण चैते दशैँ मनाउन धेरैले आफन्तजनका घरमा जान भने पाएनन् । यसले गर्दा घरमै रमाइलो गरी चैते दशैँ मनाउने अवसर जुटेको थियो । जसका कारण सामूहिक रुपमै देवीको पूजा आराधना गरियो । उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा चैते दशैँका अवसरमा विशेष पूजा गरिएको छ ।

यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि नवरात्रका अवसरमा विशेष पूजा गरिएको जनाइएको छ । चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवम् दर्शन गरेमा शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यस वर्ष विशेष परिस्थिति भएकाले घरबाटै मानसिक पूजा गरेको सम्झी दर्शन गरियो ।

धेरैजसो मन्दिर भक्तजनका लागि सूचना टाँस गरी बन्द गरिएको छ । त्यहाँ नित्य पूजाका लागि पुजारीले मात्र प्रवेश गर्न पाउने व्यवस्था गरिएको जनाइएको छ । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैनन् । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुप देवीको आराधना गर्छन् ।

आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दशैँलाई बडादशैँ भनिन्छ । बडादशैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमासम्म चल्छ ।चैते दशैँमा भने त्यो परम्परा धेरै प रिवारमा छैन । हनुमानढोकामा दशैँघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ । चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दशैँ र नवमीलाई रामनवमी पर्वका रुपमा मनाइन्छ ।  

प्राचीनकालदेखि नै हनुमानढोका दरबारको दशैँ घरमा चैते दशैँका दिन पनि बलिसहित पूजा गरिने गरिएकाेमा यस वर्ष पूजा गरिए पनि बलि दिइएन । कोरोना भाइरसको सन्त्रासका कारण पशु चौपाया ढुवानीमा रोक लगाइएकाले बलि नदिने भनी माथिबाट प्राप्त निर्देशानुसार गरिएको दशैँघरका मूल पुजारी देवरजा अर्यालले जानकारी दिए ।

चैत्र शुक्ल प्रतिपदादेखि नै दशैँ घरमा विशेष पूजा र दुर्गा सप्तशती (चण्डी) पाठ भने भइरहेको छ । वि.सं २०६३ सम्म नारायणहिटी राजदरबारअन्तर्गत रहेको दशैँघर त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय मातहत छ । कोरोना भाइरसको महामारीका कारण चैत्र नवरात्रमा पहिलोपटक बलि पूजा रोकिएको हो ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि