बैशाख ०८, २०८१, शनिबार
               

निगमको वाइडबडी जहाज आज अष्टेलिया उड्दै

रासस
चैत १९, २०७६

ADVERTISEMENT

काठमाडौं। चन्द्र र सूर्य अङ्कित राष्ट्रिय झण्डा फहराउदैँ नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज अष्ट्रेलिया उड्दैछ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको वाइडबडी एयरबस ३३० आज साँझ ५ः३० बजे मलेसियाको क्वालालम्पुर हुँदै अष्ट्रेलियाको सहर ब्रिश्वेन पुग्ने निगमले जनाएको छ । निगमको उड्डयन इतिहासमै पहिलो पटक वाइडबडी जहाजले लामो गन्तव्यको उडान भर्न लागेको हो । मलेसिया ट्रान्जिट हुँदै अष्ट्रेलियासम्मको यो उडान करिब १३ घण्टाको हुनेछ ।

वाइडबडी जहाजले अष्ट्रेलिया र न्यूजिल्याण्डका नागरिकको उद्धारका लागि उडान भर्न लागेको निगमका अपरेशन विभाग प्रमुख दिपु जहार्चनले बताए । उनले  ६ जना चालक दलसहित २४ जनाको सञ्चालन टोली र २५० यात्रुसहितको यस अद्वितीय उडान फेरि क्वालालम्पुर हुँदै  बिहीबार राति नेपालमा अवतरण गर्ने तालिका रहेको जानकारी दिए ।

वाइडबडी जहाज बिहीबार राति १०ः५० बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । निगमले बिहीबार चीनको ग्वाङ्जाओ गन्तव्यमा कार्गो उडान गर्दैछ । चीनबाट कोभिड–१९ का लागि आवश्यक औषधि र उपकरण ल्याउन व्यवसायीले निगमको वाइड बडी जहाज चार्टर्ड गरेको बताइएको छ । यसअघि निगमको वाइड बडी ए ३३० जहाजले चैत १६ गते चीनको ग्वाङ्जाओबाट लगभग १३ हजार केजी स्वास्थ्य सामग्री एयरलिफ्ट गरी काठमाडौं ल्याएको थियो । हाल दुई वाइडबडी ए–३३० र दुई थान न्यारोबडी ए—३२० सिरिजको जहाजबाट निगमले अन्तरराष्ट्रिय उडान गरिरहेको छ ।

 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि