चैत १५, २०८०, बिहीबार
               

लकडाउन जिन्दगी

चेतन पाण्डे
चैत १९, २०७६

ADVERTISEMENT

जिन्दगी गीत हो । जान्नेले गाउँदा मिठासपूर्ण लाग्ने, नजान्नेले गाए संसार नै उराठ लाग्ने । भ्रम जस्तै ।

मिठा गीत अजम्बरी बन्छन् । मिठा भ्रम जस्तै । भ्रम त तिता भए पनि अजम्बरी बनिदिँदा रहेछन् । बस् यति फरक हुँदो रहेछ, गीत र जिन्दगीमा ।

लाग्छ, धेरै कुरा भोगियो, अब भोग्न बाँकी नै के होला र ? तर, समयले यस्ता भ्रमहरू तोड्दै जाँदो रहेछ । जसरी आकाशको सीमा हुँदैन, त्यसरी नै भ्रमको पनि सीमा नहुँदो रहेछ ।

अलि ढिला जन्मियो र पो । नत्र हामी माझ कै बुढापाका झैँ, १९९० सालको महाभूकम्प, दोस्रो विश्व युद्ध, जहानियाँ राणा शासनको अन्त्य, प्रजातन्त्रको उदय अनि प्रजातन्त्रको हत्या र पञ्चायतको उदय पनि देखिन्थ्यो । तर, पनि जति देखियो, जति भोगियो । त्यो पनि कुनै फिल्मको कथाभन्दा कम छैनन् ।

२०३६ सालको आन्दोलन र नेपालमा भएको एक मात्र जनमत सङ्ग्रहको मधुरो साक्षी थिएँ, म पनि । उमेरले बच्चा र बुद्धिले कच्चा नै भएको कारण ।

बहुदलको रङ्ग निलो र पञ्चायतको पहेँलो थियो भन्ने थाहा छ । मत पत्रमा मात्र दुइटा रङ्ग छापिएको थियो भन्ने पनि थाहा छ । नेपाल राष्ट्र बैङ्कका जागिरे मेरा बाबा र नेपाल बैंककी जागिरे मेरी ममीले निलोमा छाप हालेको पनि थाहा छ । त्यस बेला केही समयका लागि राजनीतिको कसिलो बन्धनबाट मुक्त भएको थियो होला, नेपाल ।

भित्री खेलकुदका कथा भिन्न होलान् । तर, तत्कालीन शासकले जनताको मत बुझेर अगाडि बढौँ भन्ने आँट देखाउनु ठुलै कुरा थियो । जुन आजका शासक गर्न सक्दैन । आफूले जबरजस्ती थोपरेका कतिपय भ्रमले जनताको मन दुखाएको होला, भन्ने उनीहरूलाई थाहा छ । त्यसैले उनीहरूले जबरजस्ती लादेका पक्षको हार होला भन्ने भय पनि हुन सक्ला, आजका शासक वर्गमा । अनि पो जनमत सङ्ग्रहको नाममा नाक खुम्चाउँछन् ।

एक पटक तीन पाका पत्रकार मदनमणि दीक्षित, गोपालदास श्रेष्ठ र मणिराज उपाध्यायसँग वीरगन्जको यात्रा गर्ने मौका पाइएको थियो । राष्ट्र बैङ्कले भारतीय मुद्रा र नेपाली मुद्राबिच स्थिर रहने सटही दरमा परिवर्तन गरियो भने कस्तो प्रभाव पर्ला भनेर सीमा नाका बजारमा यथार्थ बुझ्न उनीहरूलाई वीरगन्जको राजसी भ्रमण गराएको थियो । २०४२/४३ साल तिरको कुरा थियो, त्यो । मेरा बाबा राष्ट्र बैङ्कका प्रवक्ता र जनसम्पर्क प्रमुख भएका कारण त्यो जिम्मेवारी उनले नै उठाएका थिए ।

राष्ट्र बैङ्कले भर्खर मगाएको पजेरो जिपमा गइएको थियो । बाटामा बुढाहरूको गफ सुन्नु बाहेक कुनै विकल्प थिएन । त्यो बेला राणा शासनको अन्त्यदेखि पञ्चायतको उदयसम्म अनि जनमत सङ्ग्रहका कुरा सरसर्ती सुनियो ।

जसरी अभिमन्युले आमाको गर्भमा रहेको बेला चक्रव्यूहको भेदनको ज्ञान लिए । त्यसरी नै उनीहरूका कुराले पनि नेपालको राजनीतिको मैले बुझ्न नपाएका पाटाहरू बारे केही जानकारी पाइयो ।

भन्थे, जनताको मतबाट प्रजातन्त्र ल्याउने कुरामा विपी कोइराला ढुक्क थिए । काँग्रेसका अरू नेताले जनमत सङ्ग्रहमा नजाऔँ भन्दा पनि विपीले ढिपी कसेर जनमत सङ्ग्रहमा जाने सहमति गरेका रहेछन्, राजासँग ।

ती बुढाहरूका अनुसार त्यही बेला तत्कालीन राजा वीरेन्द्र बहुदलीय व्यवस्था लागू गर्न सहमत भएका रहेछन् तर, रानी ऐश्वर्या र भाइहरूको अडानका कारण पछाडि हटेका थिए रे ।

दरबारभित्रका शातिर खेलाडीहरू कै सल्लाहमा विदेशबाट यति शातिर निर्वाचनविद्हरुलाई नेपाल झिकाइएछ । अनि उनीहरू कै सल्लाहमा बहुदलीय व्यवस्थालाई कसरी धाँधली गरेर हराउने भन्ने खाका कोरिएको रहेछ । जनमत सङ्ग्रहपछिको नतिजामा सहरी भेगमा बहुदलीय व्यवस्थाले जिते पनि ग्रामीण भेगमा हराइएको रहेछ ।

त्यो नतिजाले तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापालाई नेपालको इतिहासमा चतुर नेताका रूपमा स्थापित पनि गरायो । उता जनतालाई विश्वास गरेका विपी कोइरालाको भ्रम टुट्यो, शातिर खेलाडीको षडयन्त्रलाई बुझ्न नसक्दा ।

जनमत सङ्ग्रहमा विपीको हार भए पनि जनताको मनबाट उनी टाढिएका रहेन छन् भनेर उनको अन्तिम संस्कारमा उर्लिएको मलामीले प्रस्ट पारेको थियो । चाबहिलमा हाम्रै घर नजिक बस्थे, उनी । उनको लासमा मैले पनि नमस्कार गरेको थिएँ । त्यो नै मैले जीवनमा उनलाई गरेको पहिलो र अन्तिम नमस्कार थियो ।

त्यसपछि सत्याग्रह देखियो । २०४६ सालमा बहुदलीय व्यवस्थाको पुनर् उदय देखियो । सशस्त्र द्वन्द्व नाममा हजारौँको लास पनि भोगियो । लासको राजनीति गरेर उदाएका नेताहरू राष्ट्रिय राजनीतिमा स्थापित भएको पनि भोगियो । २०४६ पछि देशमा भएका ब्रम्हलुट पनि भोगियो । २०६२/६३ को परिवर्तनसँग इतिहास मै पहिलो पटक राजाविहीन नेपाल पनि भोगियो । त्यसपछि जनताबाट शासक बनेकाहरूले मुलुकलाई छियाछिया पारेको पनि भोगिँदै छ । अनि मातृभूमिको करण रोदन पनि भोगिँदै नै छ ।

एकाध पटक आफ्नै मृत्युलाई नजिकबाट भोगियो । शायद अहिले कोरोनाको कहरबाट बाँचिरहेका हामी सबैले यो यथार्थ भोगेका छौँ । कति उज्ज्वल भविष्यको भ्रममा त कति नचाहँदा नचाहँदै पनि ।
कहालीलाग्दो भूकम्पलाई २०७२ साल मै भोगियो । ९० सालको भन्दा कमजोर नै रहेछ, त्यो भूकम्प । ९० साल भोग्नेले झनै कति कहालीलाग्दो क्षण भोगे होलान् ? सोच्दा नै मन थर्रर्र हुन्छ । हुन त २०७२ साल मै मलाई एक दुई पटक ज्यान जान्छ कि भन्ने नलागेको कहाँ हो र । दुइटा ठुला कम्पनमा ४ तल्लामाथि बसेको म जस्ताको मुटु घरले ‘ब्रेक डान्स’ गर्दा झन्डै मुखमा आउनु ठुलो कुरा थिएन । भोगियो, त्यो दिन पनि । अनि त्रिपाल मुनिको बास पनि ।

भूकम्पको कहाली भोगियो । टुटे फुटेका सहर देखियो । लामो समयदेखि कमीना नेताको रजगज पनि भोगिँदै छ । नेपाल आमाको चीत्कार पनि सुनिँदै छ । परिवर्तनका अनेकौँ स्वाङ भोगिँदै छ । माटोको मूल्यले आकाश छोएको पनि देखिँदै छ । बस्, चाखिएन विकासको स्वाद । देखिएन, आर्थिकरुपमा सम्पन्न नेपाल ।

वास्तवमा भन्ने हो भने आफू सर्वोच्च प्राणी भएको भ्रममा मात्र बाँचिरहेका रहेछौँ, हामी मानिस । हावाको वेगलाई पाइला बनाएर उड्ने प्राणीले हामीलाई कति लाचार बनाउन सक्दो रहेछ ? पाठ पढाउँदै छ, कोरोना नामक भाइरस ।

अब लाग्दै थियो, जिन्दगीमा अब केही भोग्न बाँकी छैन । बस् मर्न मात्र बाँकी छ । तर, मिथ्या हुँदो रहेछन् यस्ता भ्रम । भोग्न बाँकी रहेछ, पृथ्वीको गतिलाई उल्टो दिशामा घुमाउने प्रकृतिको चाल । मै हुँ भनेर तिघ्रा सुमसुम्याउने मानव जातिको घमन्डलाई चुर चुर बनाउने खेल ।

त्यसैले अहिले भोगिँदै छ, प्रकृतिको चड्कन । लक डाउनले ढलेको देश । देश मात्र कहाँ हो र, अधिकांश पृथ्वी नै । अनि देखिँदै छ १३/१४ सय ग्रामको गिदी बोकेर आफूभन्दा ठुलो दिमागवाला कोही छैन भन्दै ब्रह्माण्डलाई जित्न आतुर मानिसको निरासपूर्ण हार । त्यो पनि आँखाले नदेखिने गिदी समेत नभएको जीवसँग । मानिसले हिजो पनि पृथ्वीमा राज गरेको थिएन र भोलि पनि गर्न सक्ने छैन भन्ने प्रमाण दिँदै छ, अहिले कोरोनाको कहर । अनि महसुस गदै छौ, आफ्नो छातीमा टेकेर यो ब्रह्माण्ड कै मसिहा बन्ने सपना देख्ने मानव जातिको निरीहपनमा हाँस्दै गरेकी पृथ्वी । 

वास्तवमा भन्ने हो भने आफू सर्वोच्च प्राणी भएको भ्रममा मात्र बाँचिरहेका रहेछौँ, हामी मानिस । हावाको वेगलाई पाइला बनाएर उड्ने प्राणीले हामीलाई कति लाचार बनाउन सक्दो रहेछ ? पाठ पढाउँदै छ, कोरोना नामक भाइरस । मानिस भने धैर्य गुमाउँदै हरेक दिन लासको गन्ती मै व्यस्त छ । हिजो पनि बेला बेलामा यस्ता नरसंहारसँग हारेको मानिसको बुद्धि कहिले फर्किएला ? त्यो त ७ जिब्रोवाला शेष नागले भन्न सक्दैनन् । हामी मानिसले नै अनुमान लगाउनु बेकार छ ।

सत्य यही यो, विज्ञानको चमत्कारको पनि सीमा रहेछ । हामीले भोगेका विज्ञानका चमत्कार त कुनै जादुगरको दृष्टि भ्रमभन्दा फरक रहेनछ । विनाशका लागि हतियार बनाउने हातले जीवन रक्षा गर्ने औषधी सजिलै बनाउन सक्दैन रहेछ । धर्म र आतङ्कवादको नाममा सारा संसारलाई लडाउने हातसँग त्यही युद्ध झैँ कोरोना भाइरसको विस्तारलाई रोक्ने कुनै उपाय रहेनछ ।

हामीसँग सार्स, इबोलाले सुरु गरेको रागमा सुरु भएको कोरोनाको ताण्डवलाई मूकदर्शक भएर हेर्नु सिवाय अर्को विकल्प रहेन छ । तर, अहिले पनि हाम्रो भ्रम त्यो जीवलाई जित्छौ भन्ने नै छ । होला कोरोनासँग पनि जितिएला । तर, त्यो बेलासम्म धेरै ढिला भइसक्ने छ । धेरै आमाको काख रित्तिइसक्ने छ, धेरैको सिन्दूर मेटिइसकेको हुनेछ । धेरै बाल–बालिका टुहुरा भइसक्ने छन् । बाँच्नेहरू अघोषित मसानका बासिन्दा बन्ने छन् । अनि हाम्रा आँगन कुनै सुनामीको ताण्डवपछि जर्जर बनेको सुमन्द्रि तट झैँ । 

त्यसैले त कोरोनाले एक पटक मानिसलाई आफ्नो हैसियत र क्षमतामाथि सोच्न बाध्य बनाएको छ । रङ्ग र धर्मको घमन्डलाई तोड्न आदेश दिएको छ । आफैँ सिर्जित धर्म, रङ्ग र सीमामा विभाजित मानिस कति निरीह छन् भन्ने सोच्न विवश बनाएको छ । मृत्युले धर्म, रङ्ग र सीमामा विभेद गर्दैन । अब बुझ्नै पर्छ । नत्र भोलि अर्को कोरोनाले हाम्रो गिदीसँग यसरी नै खेल्ने छ, जसरी अहिलेको कोरोनाले हामीलाई सोच शून्य बनाएको छ ।

मानव यो ब्रह्माण्डको शासक होइन रहेछ । तर पनि, किन यस्तो घमन्ड ? किन षडयन्त्र, अनियमितता, हत्या, हिंसा, बलात्कार, युद्ध जस्ता पापमा हामी रुमल्लिइरहेका छौँ । किन हतियारको होडबाजीमा लागि रहेका छौँ । किन सत्तामा टिकेर ७ पुस्ताका लागि धनको जोहो गरिरहेका छौँ ।

आकाशमा उड्ने पक्षी यस्ता विभेदबाट मुक्त छन् । जङ्गलमा विचरण गर्ने जीवहरू पनि यस्ता विभेदबाट मुक्त छन् । त्यसैले उनीहरू कोरोनाबाट पनि मुक्त छन् । अनि मृत्युको भयबाट पनि मुक्त छन् । हिजो जसरी आफ्नो संसारमा विचरण गरिरहेका थिए, आज पनि त्यसरी नै गरिरहेका छन् । हामी दिमाग भएका प्राणी मात्र हररात मृत्युको भयमा सुत्छौ । हर बिहान थप लासको गन्तीसँगै उठ्छौँ ।

कोरोनाले हामीलाई ढुङ्गे युगभन्दा केही अगाडि मात्र उभ्याएको छ । यो कहर केही समय यस्तै चल्ने हो भने हामी फेरी त्यही ढुङ्गे युगमा फर्कने छौँ । अनि बिस्तारै डाइनोसर युगमा, जहाँ हामी लोप हुनेछौँ । फेरी कुनै एउटा ब्याक्टेरियाको उदयसँग अर्को खोपडीवाला जातिको जन्म हुनेछ । अनि त्यो जीवले पनि दिनदिनै प्रकृतिलाई जित्ने लालसा बढाउँदै जानेछ । अनि फेरी कुनै दिन त्यसरी नै लोप हुनेछ, जसरी डाइनोसर भएको थियो, जसरी हामी हुँदै छौँ । त्यो अबुझ खोपडीवाला प्राणीले पनि बुझ्ने छैन, प्रकृतिलाई जित्न सकिँदैन भन्ने यथार्थ । जसरी अहिले मानव नामको प्राणीले बुझ्न सकिरहेको छैन ।

मानव यो ब्रह्माण्डको शासक होइन रहेछ । तर पनि, किन यस्तो घमन्ड ? किन षडयन्त्र, अनियमितता, हत्या, हिंसा, बलात्कार, युद्ध जस्ता पापमा हामी रुमल्लिइरहेका छौँ । किन हतियारको होडबाजीमा लागि रहेका छौँ । किन सत्तामा टिकेर ७ पुस्ताका लागि धनको जोहो गरिरहेका छौँ । किन बुझ्दैनौ, तिमीले जोहो गरेका धन भोलि कुनै अर्को कोरोनाको कहरमा कागजको खोस्टो बन्न सक्छ भन्ने । जसले मृत्युलाई कदापि किन्न सक्दैन । जसरी आज तिमी लाचार छौ ।

अबको समय भनेको यो ब्रह्माण्डको रक्षा गर्ने हो । तत्काल मानव सभ्यताको रक्षा गर्ने हो । आफैँलाई पापबाट मुक्त गराउने हो । त्यसपछि, हाम्रा पुस्तालाई गर्व गर्न लायक पृथ्वी हस्तान्तरण गर्ने हो । अनि बस्, गुनगुनाउने हो,

‘जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ, सबैभन्दा ठुलो कुरा मर्न बाँकी छ ।’
 

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि