बैशाख १२, २०८१, बुधबार
               

सुख्खा चाउचाउको भरमा कोरोनाविरुद्धको लडाइमा सुरक्षाकर्मीहरू
के युद्ध जितिएला त ?

काठमाडौँको कोटेश्वर चोकमा चाउचाउ र पानी खाने तयारीमा प्रहरीहरू
ADVERTISEMENT

काठमाडौं । कोरोनाविरुद्धको लडाइमा अग्रपंतिमा होमिएका छन् सुरक्षाकर्मीहरू । जो हरेक चोक गल्ली–गल्लीमा खटिएका भेटिन्छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत खटिएका छन्, लकडाउन पूर्णरूपमा कार्यान्वयन गराउनको लागि । कतिपय ठाउँमा लकडाउनलाई बेवास्ता गर्दै हिँड्ने पैदलयात्री तथा चालकहरूलाई सम्हाल्न हम्मे हम्मे परिरहेको छ उनीहरूलाई ।

बिहानको झिसमिसेदेखि राती अबेरसम्म नसुतेसम्म उनीहरूको कर्तव्य हो – अत्यावश्यक कामबाहेक सडकमा मानिसहरूलाई  हिँडडुल गर्न नदिनू । सडकमा हिँडेका पैदलयात्री तथा सवारी चालकलाई उनीहरू रोकेर सोधपुछ गर्छन् र यसरी हिँडडुल नगर्न आग्रह गर्छन् ।
कोरोना सङ्क्रमणले विश्वलाई नै हल्लाइरहेको छ । नेपालमा समेत सङ्क्रमित भेटिएका छन्, यसलाई नियन्त्रण गर्ने भनेकै नागरिकको चेतना र सावधानीले हो । अधिकांश मानिस सचेत रहँदै  घर भित्रै बसेका छन् । तर उस्तै गरी धेरै मान्छेहरू अटेर गरेर सडकमा हिँडिरहेका हुन्छन् । उनीहरूलाई सम्झाउने, बुझाउने, सम्हाल्ने तथा सर्वसाधारण नागरिकलाई समस्या पर्दा सहयोग गर्न खटिएका उनै सुरक्षाकर्मीहरूको हालत भने निक्कै दयनीय देखिन्छ । आफ्नो कर्तव्य निभाइरहँदा सुरक्षाकर्मी भने असुरक्षित छन् ।

दिनभरमा धेरैजना नजिकैबाट संसर्गमा पुग्नुपर्ने बाध्यता छ, राज्यका सुरक्षाकर्मीहरूलाई । सबैखाले व्यवस्थापनका लागि सडकमा सुरक्षाकर्मी खटिएका उनीहरूलाई न खानपानको प्रबन्ध गतिलो र न छ स्वास्थ्य सुरक्षा सावधानी नै ।  ‘कोरोना भाइरसबाट बच्न, मास्क अनिवार्य लगाउने, साबुन पानीले हात धुने, सेनेटाईजर प्रयोग गर्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउन स्वास्थ्यकर खानपान खाने,’ भन्दै सुरक्षाकर्मीहरू सडकमा मानिसहरूलाई सम्झाई रहेका भेटिन्छन् । सडक, चोक, गल्ली, गल्लीमा चर्का स्वरले माइकिङ गर्दै हिँडिरहेका हुन्छन् ।

तर विडम्बना यी कुनै पनि प्रावधानहरू सुरक्षाकर्मीहरू आफैले अपनाउन पाएका छैनन् । दैनिक सयौँ नागरिकसँग सोधपुछ गर्दै नजिकै जानुपर्ने बाध्यता भएका उनीहरूको मुखमा न गतिलो मास्क देखिन्छ, नत्र खल्तीमा सेनेटाईजर नै । न त हात धुनको लागि सडकमा सबै ठाउँमा साबुन पानी नै राखिएको छ । कोरोना सङ्क्रमणबाट बच्नको लागि अपनाउने सावधानी मात्रै होइन, उनीहरूको खानपान समेत उत्तिकै कमजोर देखिन्छ ।
सुरक्षाकर्मी सुख्खा चाउचाउ खाँदै सडकमा खटिएका देखिन्छन् । त्यसबाट उनीहरूलाई तत्काल भोक मेटिएको राहत त महसुस होला, उनीहरूले सर्वसाधारणलाई सम्झाएको जस्तो रोग प्रतिरोधात्मक क्षमता भने मिल्ने छैन । अस्वास्थ्यकर खानाले उनीहरूलाई झनै रोगी बनाउने देखिन्छ ।

व्यावहारिक रूपमा हेर्दा ड्युटीमा बसिरहेका सुरक्षाकर्मीले अन्य व्यक्तिले भन्दा अझ बढी सावधानी अपनाउन जरुरी हुन्छ । तर सुरक्षाकर्मी असुरक्षित रूपमै काममा खटिन बाध्य छन् । यसरी सुरक्षाकर्मीहरू कोरोना भाइरसको सङ्क्रमणबाट सकेसम्म बच्न नसक्ने चिकित्सकहरूले चेतावनी दिएका छन् । विश्व स्वास्थ्य सगठनले पनि स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मी र सर्वसाधारणको सुरक्षामा खटिएका सुरक्षाकर्मी सङ्क्रमणको उच्च जोखिममा हुने भएका कारण उनीहरूले उच्च सावधानी अपनाउन जरुरी रहेको भनेको  छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार ट्विट गर्दै सबैलाई घरमै बस्न आग्रह गरेका थिए । ‘म पनि घरमै बसेर सरकार चलाइरहेको छु,’ उनले आम मानिसलाई आस्वस्थ पार्न खोजेका थिए ।  प्रधानमन्त्री ओलीको आशय देशवासी सुरक्षित हुन् भन्ने हो । तर आम जनतालाई घरभित्रै बसाउन ‘लकडाउन’ कार्यान्वयन गर्न खटिएका प्रहरीको हालत देख्दा  प्रधानमन्त्रीले सामाजिक सञ्जालबाट दिएको सन्देश र सडकमा देखिएका दृश्यबीच ठुलो अन्तर भेटिन्छ ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि