बैशाख १३, २०८१, बिहीबार
               

उनीहरू हाँस्दा, भुल्छु आफैँलाई

चेतन पाण्डे
चैत ०५, २०७६

ADVERTISEMENT

समयले मानिसलाई कहाँ, किन र कसरी डोर्‍याउँछ । कसरी हिँडाउँछ, कसरी दौडाउँछ, कहाँ सुस्ताउने मौका दिन्छ । थाहै नहुने । न रोक्दा रोकिन्छ नत दौडाउँदा दौडिन्छ । आफ्नै गति, आफ्नै चाल, कहिल्यै कसैको वशमा नबस्ने । न भगवान् नतै मनुष्य । जिन्दगीमा कसैले जित्न सक्दैन भने त्यही समय मात्र रहेछ । चालमा चाल र तालमा ताल मिलाएर हिँड्न नजाने सधैँ हार्नु पर्छ ।

के थाहा, वैशाख १२ गते पविताजीसँग बिहे गर्दा, त्यसको १७ वर्षपछि अकल्पनीय र असोचीय महाभूकम्प जाला भन्ने । भूकम्पले संहार मात्र गर्‍यो, अन्धकार मात्र दियो । सुन्दर सहर र गाउँलाई कुरूप बनाइ दियो । मेरो जिन्दगीमा भूकम्प ल्याउनेले भने झट्कासँगै बहार पनि दिइन् ।

पविताजीले पनि कहिलेकाहीँ मेरो मन र जिन्दगीमा कहाँ भूकम्प नल्याएकी छन् र ? कहिले मुटुमा, कहिले मस्तिष्कमा । लाग्छ, कहिलेकाहीँ जमिनमा जाने भूकम्पको कम्पनभन्दा जीवनमा आउने कम्पन फरक हुन्छन् । मनलाई ‘इपिसेन्टर’ बनाएर जाने भूकम्पका कम्पन कहिले तिता हुन्छन् त कहिले साह्रै मिठा पनि । लाग्छ, पति–पत्नीका जोक्स त्यसै बनेका होइनन् । मेरो जस्तै हरेक पतिको मन पत्नीका झट्काको सिकार बनेरै त होला र त यस्ता जोक्स बन्न थालेका । 

मेरा दुई सन्तानले आमाको पेटदेखि नै हाम्रा मनमा भूकम्पको झट्का दिइरहे । अहिले पनि त्यो जारी नै छ । कहिले काहीँ झट्का दिन्छन् । ठुस्किएर, रिसाएर । आमा झैँ । त्यसैले वैशाख १२ गतेको भूकम्पका पराकम्प मात्र होइन प्रारम्भिक तंरगको पनि राम्रै जानकार हुँ म ।

बिजुलीकाभन्दा कडा झट्का व्यहोर्ने यो संसारमा म मात्र एक्लो पति होइन भनेर सधैँ चित्त बुझाउँछु । कोही कसैले मैले त्यता झट्का व्यहोर्नु परेको छैन भन्छ भने ऊ पत्नीको झट्काबाट सधैँ भयभीत हुने प्राणी होला जस्तो पो लाग्छ । नत्र यो पृथ्वीका एक्ला भाग्यमानी प्राणी ।

जसले जे भने पनि त्यस्ता झट्का बिनाको जीवन नुन नहालेको अचारभन्दा कुरुप हुन्छ । आखिर बग्ने नदी मै बाढी आउने न हो, जमेको पोखरीमा कसरी आउँला र बाढी ? त्यसैले हलचल बिनाको जिन्दगी, के जिन्दगी ! खट्पट् बिनाको गहस्थी के गृहस्थी ! अन भन्छु, जीवन चलायमान हुनु पर्छ । नदि झैँ, कहिले कपास जस्तो बालुवाको नरम स्पर्श त कहिले चट्टानसँगको कठोर ठक्कर । तर पनि, बहिरहने अविचलित, अविरल ।

त्यसैले मेरो मनलाई ‘इपिसेन्टर’ बनाएर पविताजीले दिने भूकम्पको झट्कालाई पनि ठट्टैमा लिइदिन्छु । किनकि उनले मलाई जीवनमा दुइटा अमूल्य उपहार पनि दिएकी छन् । आँखामा राखे पनि नबिझाउने । शिरमा राखे पनि गह्रुँगा नलाग्ने । स्वाति र स्वस्तिक ।

सन्तानप्राप्तिको पहिलो चाहना पत्नीले गरिन् । पहिलो सन्तानका रूपमा स्वातिको जन्म भयो । कतिले बिहे गरेको एक वर्ष पनि नबित्दै ? चाँडो भएन र ? पनि भने । सन्तान सुखको चाहना कसको हुँदैन र ? हाम्रो पनि थियो । छिटो पाइयो भन्ने कहिल्यै लागेन । स्वातिसँग बस्दा । बरु अलि ढिलो जन्माइएछ स्वस्तिकलाई भन्ने चाहिँ लाग्छ । १० वर्षको फरकमा आएका दुई सन्तान हेर्दा ।

मेरा दुई सन्तानले आमाको पेटदेखि नै हाम्रा मनमा भूकम्पको झट्का दिइरहे । अहिले पनि त्यो जारी नै छ । कहिले काहीँ झट्का दिन्छन् । ठुस्किएर, रिसाएर । आमा झैँ । त्यसैले वैशाख १२ गतेको भूकम्पका पराकम्प मात्र होइन प्रारम्भिक तंरगको पनि राम्रै जानकार हुँ म ।  

मेरा दुवै सन्तान पुरा ९ महिना आमाको कोखमा बस्न पाएनन् । दुवैको जन्म ८ महिना मै भयो । छोरी पेटमा हुँदा ८ महिनामा गरिएको भिडियो एक्सरेमा नाल घाँटीमा बेरिएको देखियो । डाक्टरको राय थियो । बच्चा एकातिर घुमे नालबाट मुक्त हुन सक्छ तर, अर्कोतिर पल्टेको खण्डमा ज्यानै जान्छ । बाबु–आमाको मन न थियो, तत्काल शल्यक्रिया गराइयो । 

डाक्टरले उपचार अगाडि बिरामीलाई ठाँट्छन् भन्ने सुनिएको थियो । त्यो बेला सत्य साबित भयो । शल्यक्रिया गर्ने डाक्टरले बच्चा जन्मिएपछि भनिन् । हामीलाई जिउँदो बच्चा जन्मिन्छ जस्तो लागेको थिएन । तपाईँहरू भाग्यमानी हुनुहुँदो रहेछ । धत्, शल्यक्रिया अगाडि त्यस्तो भनेको भए, म कहिल्यै ‘सिजरिङ’ गराउने पक्षमा उभिने थिइन । तर, धन्य डाक्टरहरूको सानो आशाले मेरो छोरीले यो धर्तीमा आँखा खोल्न पाइन् । 

मैले डाक्टरले बोलेका झुटलाई मनैदेखि धन्यवाद भनेँ पनि । नत्र के थाहा, कुन क्षणमा जीवनले कस्तो धोका दिन्थ्यो भन्ने । जिन्दगी साह्रै निर्दयी पनि बन्छ, कहिले काहीँ । त्यसैले जे भयो, अति राम्रो भयो । खुसी छु ।

छोरा र छोरीको जन्ममा १० वर्षको भिन्नता रह्यो । भन्दा सबैले पत्याउँदैनन् तर, मलाई दोस्रो पटक पनि छोरी कै चाहना थियो । शायद एउटी छोरीलाई मनभरी पुलपुलाउँन नपाएका केही धोकोहरू अझै बाँकी रहेर होला ? कतिपय पुल्पुलाहटका तस्बिर आँखामा भर्न नपाएर पनि हुन सक्ला ? उसले हाँसेका, ठुस्केका अनि चकलेट खाएर बिगारेका दाँतका पङ्क्तिहरूलाई मनभरी सँगाल्न नपाएर होला, आँखाभरी उतार्न नपाएर पनि होला ? उसका जायज नाजायज कति माग पुरा गर्न नपाएर वा नसकेर पनि हुन सक्ला ? स्वातिबाट थाँति रहेका कति अधुरा चाहना अर्को छोरीबाट पुरा गर्ने मन थियो । हृदयले सुमसुम्याउन नपाएका कतिपय क्षण दोहराएर बाँच्ने रहर थियो । समय र विज्ञानले मेरी छोरीको बाल्यावस्थामा कल्पनामा सीमित कतिपय वस्तु आज मेरा छोराका लागि सहज बनाएका छन् । यथार्थ बनेका छन् । तर, छोराको निश्चल आँखाले ती सबै चाहना पुरा गरिदिएका छन् ।

हुन त समयको चक्र नै यस्तै हो । मेरा बाबाले नपाएका कति कुरा हामीले पाएका थियौ । हामीले नपाएका मेरा सन्तानले पाए । अनि हामीले पाएका कति कुराबाट अहिलेका बच्चा टाढा पनि छन् नै । 

आजकाल दसैँताका चङ्गा कमै देखिन्छ । गुच्चा खेल्दा स्कुलका मास्टरबाट पिटाइ खाने बच्चा पनि कमै छन् । मोबाइल, ट्याब त धेरै परका कुरा टिभीको वास्तविक काम के हो भन्ने पनि धेरै पछि थाहा पाइयो । न घ्वाइँकाःसा खेले, आजकालका सन्तानले नत लुकामारी नै । 

मेरा बाबाले सुत्ने बेला ‘जादुगर मेन्ड्रेक’ का कथा सुनाउँथे । नसुनेसम्म निन्द्रा नै लाग्थेन । खै कसरी बुन्थे कथा, साह्रै रमाइलोसँग प्रस्तुत गर्थे । हाउभाउ मिलाएर । बाबा घर बाहिर जाँदा चरेस खान नपाएर बहुलाएको चरेसी झैँ बन्थे, म । बाबाको आवाज र शैलीमा त्यो कथा सुन्न नपाउँदा । आजकालका सन्तान टिभीमा आउने कार्टुन हेरेर आनन्द लिन्छन् । सानैमा आँखा बिगार्छन्, चस्मा लगाउँछन् । हामीले रहर गर्दा पनि चस्मा लगाउन पाएनौ, आजकाल बाध्यताले लगाउँछन् । मेरी छोरीले पनि १–२ कक्षामा नै लगाएकी थिइन् । 

मैले पनि छोरा–छोरीसँग बसेर निकै पटक कार्टुन हेरेको छु । तर, बाबाले सुनाउने मेन्ड्रेकका कथा भन्दा रमाइला कहिल्यै लागेनन्, मलाई ती सिरिज । बरु सानोमा किन्न वा भाडामा पनि पाइने कमिक्स पढ्दा र हेर्दा निकै रमाइलो लाग्थ्यो ।

दुख लाग्छ, अबका सन्तानको संसार एउटा कोठामा सीमित भएको देख्दा । न साथीभाइसँग हिँड्ने–डुल्ने लालसा नत पिपलबोटका बुढाको पसलमा चियाको चुस्की लगाउँदै अरूको कुरा काटेर हाँस्ने रहर । हैट, साह्रै आधुनिक बनेका छन्, अहिलेका सन्तान । आधुनिकताले संस्कार र संस्कृतिको हत्या गर्दै छ कि ? भन्ने पनि लाग्छ । सम्बन्धका आयामहरू भत्कँदै छ कि जस्तो पनि लाग्छ ।

०००

छोरीको मात्र होइन, आमाको कोखमा पुरा दिन बिताउने छोराको अधिकारको पनि रक्षा गर्न सकिन, मैले । अस्पतालमा भर्ना भएकी मेरी पत्नीको पेटमा विज्ञानको चमत्कारबाट बनेको मेसिनले सुनेपछि डाक्टरले भनिन्, ‘बच्चाको मुटुको धड्कन नै सुनिँदैन त । अब चाँडै अपरेसन गरेर बच्चा निकाल्नु पर्छ । नत्र दुवै जनालाई गाह्रो हुन सक्छ ।’ त्यस पटक साइत नै जुराएर पेटमा भर्खर आठौँ महिनामा प्रवेश गरेको मेरो छोरासँग खोसियो, भगवानले दिएको ९ महिना गर्भमा बस्ने अधिकार ।

उसलाई शल्यक्रिया गरेरै निकालियो । जनवरी १ मा जन्मिएको मेरो छोरालाई हेर्दा लाग्छ, हेराइएको साइत अलि उद्दण्ड पो परेछ कि ? बाउभन्दा मनमौजी बन्ला जस्तो । बदमास छैन, पुलपुलिएको छ, छोरी जस्तै । 

हिजोआज त फेसन नै बनेको रहेछ, ‘सिजरिङ’ । डाक्टरका लागि फाइदा अनि महिलाका लागि शरीर सुन्दर बनाइराख्ने उपायका रूपमा । बढी त, डाक्टर कै चाहनामा हुँदो रहेछ, सिजरिङ गराउने । झुटो नबोली भन्दा आफ्नो र अस्पतालको आम्दानी बढाउन । विशेष गरी निजी अस्पताल र त्यसका चिकित्सक, कर्मचारीको विशेष चाहना हुँदो रहेछ, मानिसलाई भगवानले दिएको वरदानभन्दा भिन्न तरिकाले जन्माउने । पेटमा रहेको बच्चाको अवस्था गम्भीर रहेको बनावटी कुराले बाबु–आमालाई त्रसित बनाउने । अनि निर्धारित समय अगावै सिजरिङ गराइ हाल्ने । अनि मुख्य बाटोको सट्टा बाइपासबाट थप एक जिन्दगी अवतरण गराउने । मैले नजिकबाट धेरै देखेको छु, निजी अस्पताल र डाक्टरको यस्ता चाला ।

लाग्छ, आधुनिकतासँगै विनाशका अनेकौँ कारणका उत्पादक पनि हामी नै बन्दैछौँ । यस्तै हो भने, भोलि बच्चा जन्मिने प्राकृतिक शैली हामीले बिर्सने छौँ । अनि ‘कोर्स बुक’ मा पढाइने छ, उनीहरूका पुर्खा कसरी जन्मिएका थिए भनेर । किनकि त्यस बेला हरेक बच्चा पेट चिरेर निकालिएका हुनेछन् । यस्ता कुराले घिन लाग्छ, आफ्नो पेसासँग इमानदार हुन नसक्ने पेशाकर्मीसँग । अनि डाक्टरले जे भन्यो, त्यो पत्याउने हामी जस्ता आमा–बाबुसँग । अहिले लाग्छ, कम से कम मैले दोस्रो डाक्टरको सल्लाह त लिनुपर्थ्यो । अब कल्पेर केही हुँदैन । जिन्दगीमा रिबाइन्डको सिस्टम हुँदो रहेनछ ।

०००

थिइनन्, मेरी छोरी ज्ञानी, बाल्यावस्थामा । छोरा बरु त्यति बदमास नहोला, दिदी झैँ । अरू भन्थे, साह्रै पुलपुलाएको छस्, भविष्यमा दुख दिन्छन् । हुन त अहिले पनि कहाँ पुलपुलिएका छैनन् र । मेरा छोरी अनि छोरा । छोरी त उच्च शिक्षाका लागि विदेश गइसकी । तर, स्वभावमा रत्तीभर फरक आएको छैन । त्यसरी नै माया खोज्छे, जसरी माया गर्छे । जसरी हिजो खोज्थी, हिजो गर्थी । हिजोका दिनमा काँधमा बोकेर हिँडाउँदाभन्दा फरक छैन । ठुस्स रिसाउँछे, तुरुन्त मुसुक्क हाँस्छे । मेसेन्जर मै भए पनि । अनि मनाउँछे, अड्डी कसेर आफ्ना कुरा । नत्र ठुस्किएर भए पनि । त्यसरी नै जसरी भाइले पनि मनाउँछ । शरीर बढेका होलान्, उमेरमा उस्तै छन् । त्यस्तै जसरी तोते बोली बोल्दा थिए । 

हुन त, उनीहरूको ठुस्काइमा पनि एउटा आनन्द छ । जसरी ताराहरुको चुलबुलाहटलाई नियालेर चन्द्रमा हाँस्छ । जसरी बादलले घुम्टो ओढाउँदा सूर्य चम्कि नै रहन्छ । जसरी मौरीले बिझाउने गरेर म्वाइँ खाँदा पनि फुल मदमस्त बनिरहन्छ । हो, त्यस्तै हुँदो रहेछ । सन्तानसँग बाबु–आमाको माया । त्यसैले बाबु–आमाले सन्तानको उमेरको गन्ती पनि बिर्सँदा रहेछन् । बस्, सधैँ उस्तै देख्ने । चुलबुले चञ्चले । चाहे बामे सर्दा होस् वा चाहे आफू लौरो टेक्ने अवस्थासम्म पुग्दा । सधैँ उस्तै, ताते–ताते गरेर हिँडेका बेला झैँ, पहिलो पटक कोल्टे फेर्दा झैँ ।

उनीहरूका जिन्दगीका आफ्नै सपना छन् । सधैँ कामना गर्छु, मेरा सन्तानले देखेका सपनाहरू एक इन्च पनि तलमाथि नहोस् । अरू बाबु–आमाले झैँ ।

कहाँ थिइ र ? मेरी छोरी, अहिले झैँ मेहनती अनि जेहेन्दार । पढ्न कमै रहर गर्थी, तर पनि राम्रै अङ्क ल्याउँथी । कहिल्यै पहिलो भइनन्, ५ कक्षासम्म । घुम्न भने सधैँ अगाडि । ६ कक्षादेखि कहिल्यै दोस्रो भइनन्, सधैँ पहिलो । गर्व लाग्छ, अहिले उसको प्रगति देख्दा । कहिले काहीँ आँसु पनि बहेका छन्, उसका सपनाका भर्‍याङले खुड्किलो थप्दा । भन्छे, ‘पख न, संसारका सारा सुख दिउँला, म पुलपुलाउँला नि तिमीलाई  ।’

उ सानी छँदा हामी हरेक वर्ष भारततिर गइरहन्थ्यौँ । मेरी पत्नी साइभक्त, बिशेषगरी दक्षिण भारत धेरै गइन्थ्यो । अनि कहिले अन्यत्र पनि । छोरा जन्मिएपछि भने धेरै कम भए घुमफिर ।

अहँ, एक पाइलो सार्दिन थिई, मेरी छोरी । बाउको काँध बाहेक अर्को सवारीमा कहिल्यै रुचि नदेखाउने । त्यसैले आमाका लागि साह्रै ज्ञानी । जे देख्यो, मनले चाह्यो, किनिहाल्नु पर्ने । नत्र डाँको छाडेर रोइदिने । छोरो अहिले ठ्याक्कै दिदीको फोटोकपी बनेको छ । बाठो छ तर, पढाइमा कमै मन लगाउँछ । भन्छ, ‘पास भए भइहाल्यो नि !’ अनि मेरो हाँस्ने बाहेक अर्को विकल्प के नै रहला र ?

कुनै एक दिन नयाँ दिल्लीमा । त्यहीँ किनेको लुगा लगाएर दिनभरि घुमाइयो, छोरीलाई । बेलुका त लुगा नै बिगारिसकेकी । म र उसकी आमा गयौँ सरोजनी नगरको पसलमा, जहाँबाट लुगा किनिएको थियो । साट्यौँ अर्को लुगासँग । नयाँ झैँ प्याक पारेर लगेका थियौँ । पत्नीजी भन्दै थिइन्, पसलेसँग, ‘भाइ साहब खोलकर देखिए, बिगडा तो नही ?’ पसले भन्दै थियो, ‘नही, नही । आप पर भरोसा हे ।’ फेरी फर्किएर गएनौ, त्यो पसलमा । कसरी टुट्यो होला त्यो पसलेको विश्वास ? सिसाको गिलास झैँ । 

त्यो बेला बैंगलोरमा ममको चलन चलिसकेको थिएन । मेरै काखमा बसेर खाइ कोक । अनि मम नपाएको झोँकमा फुटाइ कोक खाएर रित्तिएको गिलास । राम्रै चुना लगायो, होटेलवालाले ।

एक पटक बैंगलोर जाँदा पनि निकै सानी थिई, छोरी । पत्नीलाई लिएर बजार घुम्न जानु संसारको सबैभन्दा कष्टप्रद सजाएँ लाग्थ्यो र लाग्छ । पसल–पसल डुल्दा–डुल्दा थकित भए पनि माया नगरीकन घुमाइरहन्छ । दोहराएर–तेहराएर, त्यही पसल । त्यसमाथि १२ वैशाखमा भित्राएकी मेरी पत्नी । नाइँ भन्यो, कि भूकम्पको झट्का दिइहाल्ने । चट्याङ झैँ कड्किहाल्ने ।

एक दिन, म अलि बाठो बनेँ । छोरीलाई काँधमा बोकेर साडी र कुर्ता सुरुवालका पसल–पसल चाहरि रहनुभन्दा कुनै रेस्टुरेन्टमा बसिरहने बिचार गरेँ । छोरी रुँगेर । मेरी छोरी, तोते बोल्दा नै रेस्टुरेन्टका वेटरलाई बोलाइहाल्थी । अनि भन्थी, आमा कै शैलीमा । ‘ए भाइ, मम अनि कोक !’

त्यो बेला बैंगलोरमा ममको चलन चलिसकेको थिएन । मेरै काखमा बसेर खाइ कोक । अनि मम नपाएको झोँकमा फुटाइ कोक खाएर रित्तिएको गिलास । राम्रै चुना लगायो, होटेलवालाले ।

छोरीलाई झैँ छोरालाई काँधमा बोकेर हिँड्ने रहर कमै पुरा गरियो । छोरा २ वर्ष पनि नपुग्दै मुटुमा समस्या देखेपछि डाक्टरले कै निर्देशनमा छोराले मलाई घोडा बनाएर काँधको सवारी गर्न पाएन । मुटुको बाइपास नै गर्नु परेपछि छोरालाई बोक्ने, हिँड्ने मेरै चाहनामा पनि पूर्णविराम लाग्यो । जब अब सक्छु भन्ने लाग्यो, छोरा नै ठुलो भइसकेको थियो । अब त मलाई बोक्ला जस्तो छ । तर, रहर त रहर नै हुन्छ । बन्धन रहित, सीमा रहित । कति पुरा हुने, कति सधैँ अधुरा रहने । सपना झैँ ।

एक पटक बोकेको थिएँ, तिरुपति दर्शनमा जाँदा । मेरो पत्नीको रहर थियो, पहिलो पटक छोराको कपाल तिरुपतिमा काट्ने । ममी र पत्नी अनि छोरी–छोरासँगै गइयो । तिरुपति पुगे लगत्तै प्राकृतिक कारणले पविताजीले मन्दिरभित्र पस्न नहुने भयो । ममी तिरुपतिको लाइन देखेरै अत्तालिइन् । महँगो मूल्यको टिकट काट्दा पनि ४–५ घण्टा लाइनमा नबसी नहुने । ममीले मन्दिरलाई बाहिरबाटै ढोग्दै नजाने निर्णय गरिन् । छोरो १३ महिना मात्र पुगेको थियो । १ वर्षभन्दा साना बच्चा भएकाले टिकट पनि किन्न नपर्ने र छोटो मार्गबाट भित्र जाने व्यवस्था रहेछ, त्यहाँ । छोरी र छोरालाई लिएर गएँ । त्यतै तिर ।

गेटमा बस्नेले छोरालाई हेर्दै उसको उमेर सोध्यो । ११ महिना भनेर ठाँटे । अनि छोरीलाई लिएर जान नपाउने बतायो । मैले हुन्छ भने अनि एक्लै आएको हुनाले मेरी छोरीलाई गेट मै राखिदेऊ भनेर झुट बोलेँ, भगवान कै घरमा । बच्चा हेर्ने जस्तो महत्त्वपूर्ण जिम्मा लिन चाहेन उसले । अनि छोरीलाई पनि सँगै लैजान अनुमति पाइयो । म हिँडे छोरीलाई हातमा समातेर अनि छोरालाई काँधमा बोकेर । 

डाइपरले छोराको मल मूत्रलाई निषेधित गरिएको थियो । तर, जे डर थियो, त्यही भयो । छोराले डाइपर मै आची गरेछ । त्यो पनि साह्रै गन्हाउने । छोरी र मैले थाहा पायौँ । हामी नाक थुनेर इसारामा हाँस्दै छोरालाई त्यही अवस्थामा बोक्दै मन्दिर पुग्यौँ, दर्शन गर्‍यौँ । हट्, आज पनि छोरी र म त्यो क्षण सम्झिएर मरिमरी हाँस्छौँ ।

स्वभावका आधारमा दिदी–भाइ १९–२० मात्र फरक छन् । जे चाहियो, चाहियो । नत्र बाउ कै खैरियत छैन । आमा त उनीरुहका लागि वैशाख १२ नै हुन् । पहिले पनि, अहिले पनि । पढाइको मामिलामा भने छोरा अलि भिन्न छ तर, कमजोर छैन । भन्छ, ‘यो स्कुलको सुरुवात कसले गर्‍यो होला ? यो होमवर्क दिने चलन कसले सुरु गर्‍या होला ?’ म मुसुक्क हाँस्छु मात्र, निरुत्तर बन्छु । अनि गाली गरे झैँ गर्छु । अनि उ मुसुक्क हाँस्दा संसारका सबै दुख भुल्छु । उसको गल्ती पनि ।

एकाध पटक रोग र दुर्घटनाबाट ज्यान जोगियो । त्यस्ता बेला सधैँ धन्यवाद भनेँ भगवानलाई । जसले मेरा सन्तानबाट मलाई टाढा जान दिएनन् । उनीहरूसँग लाडिने र हाँस्ने थप उमेर आशीर्वादमा पाउँदा । आखिर सन्तानको माया यस्तै हुँदो रहेछ । साह्रै कञ्चन साह्रै निश्चल । जसरी मेरा माता–पिताको माया ममाथि खनिएका थिए । सन्तानमाथि त्यही माया खन्याउन पाउँदा कसलाई गर्व लाग्दैन र ? त्यसमाथि सन्तानका सफलताले दिने खुसी मिश्रित आँसुको मूल्य संसारको कुनै वस्तुसँग तुलना गर्न मिल्दैन पनि । 

सन्तानको माया अनौठै हुँदो रहेछ । सबैलाई त्यस्तै हुँदो हो । उनीहरू रुँदा आँसु आफ्नो पनि झर्ने । उनीहरू हाँस्दा ओठ आफ्नो पनि मुस्कुराउने । अनि लाग्छ, कृष्ण र यशोदाका लीला त्यसै बनेका होइनन् । रामलाई बनवास पठाउँदा दशरथको प्राण त्यसै गएको होइन ।  
 

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि