बैशाख १३, २०८१, बिहीबार
               

'कोरोनाविरुद्ध लड्न सरकारलाई साथ र समर्थन गर्छौँ'

नेपाल फ्ल्यास
चैत ०१, २०७६

ADVERTISEMENT

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बुधवार सर्वदलीय बैठक गरी कोरोना भाइरससँग जुध्‍न सुझाव मागे । कोरोनासँग जुध्‍ने तयारी अपर्याप्त रहेको गुनासो गर्दै सरकारले ल्याएको योजनाले कोरोनासँग जुध्‍न नसक्ने धेरै नेताहरूले आरोप लगाए । सबै दलका प्रतिनिधिसँगै त्यहाँ उपस्थित थिए । प्रमुख विपक्षी नेपाली काँग्रेसका नेता गगन थापा पनि त्यहाँ सरिक थिए । त्यसअघि प्रतिनिधिसभाको बैठकमा कोरोनाबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गरेका थापाले भने सरकारलाई कुनै आरोप लगाएनन् । बरु सङ्कटको घडीमा सरकारलाई साथ दिने भन्दै नियन्त्रणका उपाय सुझाए । उनै नेता थापासँग नेपाल फ्ल्यासले कोरोना नियन्त्रणको लागि सरकारको प्रयास र नेपालले अपनाउनुपर्ने सावधानीबारे गरेको कुराकानीको संक्षेप ।

तपाईँ त यसै पनि सरकारको कटु आलोचक । कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी भूमिका खेल्न सकेन भनेर गुनासो आइरहँदा यहाँले भने सरकारको समर्थन गर्नुको कारण के हो ? 

म यतिबेला खुलेर सरकारको वा प्रधानमन्त्रीको आलोचना गर्ने पक्षमा छैन । एक त प्रधानमन्त्री आफैँ अस्वस्थ हुनुहुन्छ । अर्को कोरोना सन्त्रासका कारण विश्व महामारीमा छ । नेपालमा पनि सङ्क्रमण सर्ने जोखिम छ । यसमा सबै मिलेर पूर्वतयारी गर्नुपर्नेमा एक-अर्कोलाई दोषारोपण गर्नु बेतुकको कुरा हो । अहिले हामी सरकारलाई पूर्ण साथ दिएर कोरोना रोकथामको लागि मद्दत गर्न चाहन्छौँ । हामीले जे जे जानेका छौँ, देखेका छौँ, त्यो भन्छौँ । कमीकमजोरी देखिए यसरी है भनेर सुधार्न दबाब पनि दिन्छौँ । 

कोरोना सङ्क्रमणबाट बच्च एकीकृत कार्य सञ्चालन गर्न र तत्काल एक्सन प्लान बनाई सार्वजनिक गर्न सरकारलाई आग्रह गर्नुभएको थियो । ईश्वर पोखरेलले बोलाएको सर्वदलीय बैठकमा के भन्नुभयो उहाँहरूले ? 

विदेशी नागरिक नआउने, सभा-सम्मेलन नगर्ने भएबाट होटेल, एयरलाइन्ससँगै बैङ्कलगायत मुलुकका विभिन्न क्षेत्र प्रभावित हुन थालेका छन् । यी पक्षमा पनि सरकारले ध्यान दिन आवश्यक छ ।हामीले यिनै विषयमा सुझाव दिएका छौँ ।

हामीलाई के कुरामा खुसी लाग्यो भने, अरू मन्त्रीजीहरूबाट सबै कुरामा ढुक्क भए हुन्छ, ढुक्क भए हुन्छ भन्दै रेडिमेट उत्तर आए । तर उपप्रधानमन्त्री ईश्वर पोखरेलजीले भने सरकारको तर्फबाट केही ल्याक र ग्यापहरु भएको स्वीकार गर्नुभयो । तपाईँहरूले यहाँ यो कुरा भएन भनेर भनेको कुरालाई हामी फिडब्याकको रूपमा सकारात्मक लिन्छौँ भन्नुभयो । तपाईँले देखाएको कुरा ठीक हो । हामीबाट भएका त्रुटिहरू सच्चाउँदै कोरोना रोकथाममा अझ कुनै कसर बाँकी नराखी राज्यका सबै संयन्त्र परिचालन गर्छौँ भन्नुभएको छ । तर यत्तिले पनि हामी ढुक्क चाहिँ छैनौ । उहाँले भनेका कुराहरू हामी एक्सनमा हेर्न चाहन्छौँ । एक्सनमा देखिएन भने हाम्रो काम प्रश्न गर्ने हो । अहिले हाम्रो काम सुधारका लागि सरकारलाई सुझाव दिने हो । सरकारको कदमलाई साथ दिने हो । सङ्कटको घडीमा हामी सरकारलाई सहयोग गर्न चाहन्छौँ । फेरि पछि पनि सरकारले आफ्ना कमजोरी सुधार गर्न सकेन भने हामी प्रश्न गर्छौँ । त्यो बेलामा काँग्रेसले आलोचना गर्‍याे भनेर भन्न पाइँदैन ।

विश्वभर स्वास्थ्य सङ्कटकाल घोषणा गर्नुपरेको कोरोना सङ्क्रमण रोक्न के गर्नुपर्ला ? के सुझाव दिनुभयो ?

अहिलेसम्म नेपालको सुखद अवस्था भए पनि इरानको जस्तो एकैपटक सङ्क्रमणको अवस्था देखिए के गर्ने भन्ने सन्दर्भमा पनि समयमै सोच्न ध्यानाकर्षण गराएका छौँ । सीमामा स्वास्थ्य जाँचको क्षमतालगायत विभिन्न कारणले विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उच्च जोखिममा राखिसकेको छ । तयारीबारे सबै सरकार, सबै मन्त्रालय, संसद्, समुदायलगायत सबै एकै ठाउँमा आएर काम गर्नुपर्छ । यसमा हामीले पनि सरकारलाई पूर्ण साथ दिइरहेको अवस्था  छ । सबै देशले आवश्यक तयारी गरेको र भिसा रद्द पनि गर्न थालेको छ । हामीले पनि विदेशबाट फर्किएकाको राम्रो स्वास्थ्य जाँचको व्यवस्था गर्नुपर्छ । सबै मन्त्रालयबाट फरक फरक  कुरा बाहिर आउँदा सर्वसाधारणमा त्रास र द्विविधा बढाएको छ । एकद्वारा प्रणालीबाट सूचना र जानकारी सार्वजनिक हुनुपर्याे । विदेशी नागरिक नआउने, सभा-सम्मेलन नगर्ने भएबाट होटेल, एयरलाइन्ससँगै बैङ्कलगायत मुलुकका विभिन्न क्षेत्र प्रभावित हुन थालेका छन् । यी पक्षमा पनि सरकारले ध्यान दिन आवश्यक छ ।हामीले यिनै विषयमा सुझाव दिएका छौँ । 

कोरोना नियन्त्रण र रोकथामको लागि सरकारलाई काँग्रेसको पूर्ण साथ रहन्छ ? 

यो विषयमा सरकारले गर्नुपर्ने सम्पूर्ण विषयमा प्रतिपक्षको साथ र सहयोग छ । सरकारले जुन काम गर्नुपर्ने हो, पर्याप्त गर्न सकोस् भनेका छौँ । तर उहाँहरूले गर्नुपर्ने जति गर्नुभएन भने हाम्रो आलोचना, दबाब र विरोध हुन्छ । हामी चाहन्छौँ, हामी त्यो विन्दुसम्म जानु नपरोस् । अहिलेसम्म हाम्रो कुरा सुनिरहेकाे छ सरकारले । प्रयत्न गरिरहनुभएको छ उहाँहरूले । यो भनेको सरकारको लागि ठुलो मौका हो नि । सरकारको सबैभन्दा पहिलो ठुलो काम नागरिकको जिउ धनको सुरक्षा हो । यत्रो सुरक्षाको प्रश्न उठिरहँदा सरकारले काम गर्‍यो भने सरकारलाई भन्दा बढी लाभ कल्लाई हुन सक्छ ? यसैले कोरोना नियन्त्रण गर्न सरकारले सम्पूर्ण राज्यसंयन्त्र परिचालन गर्ने हो । सबै काम गरौँ । ‘सचेत रहने हो, तर्सने होइन । नागरिकलाई नतर्साउँ । भयभीत पनि नबनाउँ । नेपालका एउटा पनि केस नदेखिएकोले आनन्दसँग नबसौँ । हामीले समयको सुविधा पाएका छौँ । जुन चीन, कोरिया र  इरानले पाएनन् ।

कोरोना सङ्क्रमणको जोखिमको यो बेला काँग्रेसको भूमिका चाँहि के हुन्छ ?

कोरोना सन्त्रास लम्बिँदै गयो भने चुनौती झन् बढ्छ । नेपाली काँग्रेस प्रतिपक्षी भएकाले संसदमा आफ्नो कुरा राख्छ । संसद्मा प्रश्न गर्ने मात्र नभई २ सय बढी स्थानीय सरकार काँग्रेसको नेतृत्वमा छ । देभैभरि पार्टीको संरचना छ । हाम्रो पार्टीको यत्रो विशाल संरचनालाई राष्ट्रिय संघर्षसँघ जुध्‍ने विषयमा नेतृत्वले ध्यान दिनुपर्छ । 

प्रसङ्ग बदलौँ, तपाईँले त प्रधानमन्त्री ओलीको राजीनामा माग्दै आउनुभएको थियो । उहाँको सरकारको प्रभावकारिता नदेखिएर कि उमेर र स्वस्थ्य हेरेर ? 

पार्टीमा पनि अब सभापति देउवा मात्र होइन, एउटा निश्चित उमेर समूह भएका सबै नेताहरूले विश्राम लिनुपर्छ भन्दै आएको छु मैले ।

मैले व्यक्तिगत रूपमा केपी शर्मा ओलीज्यूको राजीनामा मागेको होइन । मैले अहिले आएर यो विषय उठान गरेको होइन । मैले धेरै पहिला देखि सबै राजनीतिक दलका नेताहरूलाई निश्चित उमेर पुगेपछि विश्राम लिइदिनुहोस् भन्दै आएको छु । मै आफैँ पनि निश्चित उमेर पुगेपछि राजनीतिक जीवन अगाडि बढाउँदिन भनेर सो घोषणा गरेको मान्छे हुँ । स्वास्थ्य अत्यन्तै बिग्रिएको, उमेरको हिसाबमा पनि पाको नेताहरू सबैलाई मैले विश्राम लिनुस् भन्दै आए । हिजो आफ्नै पार्टीमा गिरिजाप्रसाद कोइराला, सुशील कोइरालालाई पनि पहिला पटक–पटक विश्राम लिनुस् भनेको थिएँ । अहिले मैले उमेर र स्वस्थ्य अवस्था हेर्दै प्रधानमन्त्रीलाई पनि विश्राम लिनुस् भन्दा के पूर्वाग्रह भयो ? अहिले मैले भनेको विषयलाई आलोचना गर्दै गर्दा मेरो त्यो पृष्ठभूमि पनि बिर्सनुभएन । 

पछिल्लो समय प्रधानमन्त्री ओलीले विश्राम लिनुपर्छ भनिरहँदा यहाँको पार्टी सभापति शेरबहादुर देउवाले चाहिँ विश्राम लिनुपर्दैन ?

नेपालका यो उमेर समूहका नेताहरू सबैले आफूले गर्नुपर्ने योगदान गरिसक्नुभयो । जिम्मेवारी पनि पाइसक्नु भयो। उहाँहरूले कति दिनुभयो, दिनुभएन । आम नागरिकले विश्लेषण गरिरहेका होलान् । विश्राम लिने पनि आफ्नो समय होला । कसैले पार्टी महाधिवेशनबाट लेलान्, कसैले अरू प्रक्रियाबाट विश्राम लिन्छन् । पार्टीमा पनि अब सभापति देउवा मात्र होइन, एउटा निश्चित उमेर समूह भएका सबै नेताहरूले विश्राम लिनुपर्छ भन्दै आएको छु मैले । 

सबै शीर्ष नेताहरूलाई विश्राम लिनुस्। म सभापतिको उम्मेदवार बन्छु भन्न सक्नुहुन्छ ? 

कुन ठुलो कुरा भयो र ? परिआएको खण्डमा म सभापतिको उम्मेदवार बन्न सक्छु । म अघिल्लो पटक महामन्त्रीको उम्मेदवार बन्छु भनेर कसैलाई लागेको थियो त ? थिएन नि त । तर त्यो बेलामा आवश्यकता थियो । पार्टी सञ्चालन गर्ने कुरा, अधिवेशनमा जाँदा हारजित जेसुकै होला । त्यो आआफ्नो ठाउँमा छ ।

पार्टीको महाधिवेशन समयमै नहुने विषयमा शङ्का उपशङ्का भइरहँदा पछिल्ला घटनाक्रमले महाधिवेशन त अझै चुनौतीपूर्ण बन्ने भयो नि ?

समयमा महाधिवेशन गर्न नेपाली काँग्रेसको लागि यसै पनि चुनौतीपूर्ण छ । एक हामीभित्रको समय तालिका बनाउँदै गर्दा त्यो समयतालिकानै धकेलियो । सभापतिको पछिल्लो निर्णयबाट समस्या आएर त्यसै झन्झन् धकेलिँदै छ । अब फेरि अर्को चुनौती आएको छ । विश्वभर कोरोनाको जोखिम । पार्टीले निर्णय गरेर सबै सभा-कार्यक्रमहरू रोक भनेको छौँ । सरकारले पूर्वतयारी गरेर जस्तै पार्टीले गर्नुपर्छ कि पर्दैन ? केही दिनपछि प्रेस युनियन र इन्जिनियर सङ्घको चुनाव छ । यो बेलामा हामी यी चुनावहरू रोक्दै पछाडि सार्दै जानु पर्ने अवस्था आउन सक्छ । यसरी सबै संरचनाको अधिवेशन धकेलिँदै जाने हो भने हाम्रो पार्टीको सबै महाधिवेशनका प्रक्रियाहरू धकेलिँदै जानेछन् । त्यसैले समयमै महाधिवेशन गर्ने भन्नेमा पार्टीले आन्तरिक तयारी गर्नुपर्छ । कोरोनाको प्रभावका कारण अर्को ६– ८ महिना सभा-सम्मेलन रोक्ने अवस्था छ भन्ने होइन तर त्यसको पूर्वतयारी र सावधानीमा थियौँ भन्‍न सकियोस् ।


कस्तो लाग्यो ?

यो पनि