बैशाख ११, २०८१, मंगलबार
               

'हिन्दु राष्ट्र र राजसंस्था नै एकताको आधार हो'

नेपाल फ्ल्यास
फागुन २६, २०७६

ADVERTISEMENT

विभाजनको अढाई वर्षपछि राप्रपा एक भएको छ । राप्रपा र राप्रपा संयुक्तबीच बुधबार औपचारिक रूपमा पार्टी एकता घोषणा हुँदै छ । सनातन धर्मसापेक्ष हिन्दुराष्ट्र र सबै पक्षलाई चित्त बुझ्ने संस्थाका रूपमा राजसंस्था रहनुपर्ने सैद्धान्तिक मान्यतामा पार्टी एकीकरण भएको हो । स्थापनादेखि नै टुटफुटको शृङ्खला चल्दै आएको राप्रपा एकीकरण अब भने स्थायी होला त ? यिनै विषयमा नेपाल फ्ल्यासका लागि श्यामसुन्दर पुडासैनीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासँग गरेको कुराकानीको अंश ।

लामो छलफलपछि एकता प्रयास सफल भयो । के आधारमा पार्टी एकता टुङ्गो लगाउनुभएको छ ?

देशलाई एउटा बलियो प्रजातान्त्रिक राष्ट्रवादी शक्तिको आवश्यकता छ भन्ने महसुस गरेर हामीले विचार मिल्ने दलहरूसँग पार्टी एकताको प्रयास गरेका थियौँ । विगतमा सँगै बसेर काम गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तसँग हामीहरूको नीतिगत र सैद्धान्तिक सहमति भएपछि एकता टुङ्गो लागेको हो । तत्कालको लागि राप्रपाको विधानलाई पार्टीको अन्तरिम विधान मानेर अघि जाने छौँ । ६ महिनापछि नयाँ विधान बनाउने सहमति छ । सहमतिअनुसार डेढ वर्षमा पार्टीको महाधिवेशन गरिनेछ  ।

राप्रपाको इतिहास हेर्दा टुटफुट हुँदै आएको छ । त्यसबाट हामीले ठुलो नोक्सानी र मूल्य चुकाउनुपरेको छ । यो वास्तविकतालाई हामी सबैले महसुस गरेका छौँ ।

राप्रपामा विगतमा गणतन्त्र स्वीकार गर्ने र नगर्ने दुइधार छ । यस्तो अवस्थामा सहमति कसरी जुट्यो ?

विगतमा कसले कुन विचार राख्यो, कुन बाटो लियो भन्ने विषयमा विवाद गर्दैनौँ । अहिले राष्ट्रियता, प्रजातन्त्र, उदार चिन्तनअन्तर्गत सम्वर्द्धनवादलाई एकीकृत पार्टीको वैचारिक रूपमा स्वीकार गरेका छौँ । र त्यस क्रममा पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र हाम्रो एजेन्डा हाे । सबै नेपालीहरूको साझा संस्थाको रूपमा राजसंस्थासहितको लोकतन्त्र हाम्रो प्राथमिकता हाे । सुदृढ स्थानीय सरकार, उदार अर्थतन्त्र हाम्रो पार्टीको अबको साझा अवधारणा हो । यसैलाई सहमतिको विन्दुको रुपमा स्वीकारेका छौँ ।

यहाँहरू पटक–पटक मिल्ने र विभाजन हुने इतिहास छ । टुटफुट र एकता राप्रपाको पर्याय भएको छ । अबको एकता दिगो हुने आधार के छ ? 

राप्रपाको इतिहास हेर्दा टुटफुट हुँदै आएको छ । त्यसबाट हामीले ठुलो नोक्सानी र मूल्य चुकाउनुपरेको छ । यो वास्तविकतालाई हामी सबैले महसुस गरेका छौँ । पटक–पटकको टुटफुटको कारण पार्टीको भविष्य अवरुद्ध भएको थियो । पार्टीले अवलम्बन गरेको एजेन्डा कमजोर भए । पार्टीका हजारौँ कार्यकर्ताको भविष्यमाथि समेत प्रश्न खडा भएको तीतो यथार्थ हामी सबैलाई थाहा छ । यो सत्यलाई आत्मसाथ गरेर सदैव एकताबद्ध रहने प्रणका साथ हामीले यस पटकको एकीकरण गरेका हौँ । व्यवहारिक रूपमा पनि पशुपति समसेर राणाजी, प्रकाशचन्द्र लोहनीजी र म आफैँमा फेरि पार्टीलाई फुटाएर त्यसबाट उत्पन्न हुने नकारात्मक परिणामलाई व्यवस्थापन गर्न सक्ने समय र क्षमता अब छैन । त्यसकारण पनि अब यो एकता अक्षुण्ण रहन्छ । सैद्धान्तिक रूपमा पनि पार्टीले अवलम्बन गरेको विचारहरूप्रति आमजनताको आकर्षक रहन्छ । अहिलेको मुलुकको स्थितिलाई हेर्दा जनताले विकल्प खोजिरहेका छन् । संविधान बनेर दुई तिहाइसहितको सरकार बन्दासमेत जनताले सुशासनको र राजनीतिक स्थिरताको अनुभव गर्न पाएका छैनन् । भ्रष्टाचार, धर्म परिवर्तन, बेरोजगारी, बाह्य शक्तिको चलखेल र प्रभाव तीव्र रूपमा बढेकोले जनताले काँग्रेस र कम्युनिस्टको विकल्पमा एउटा शक्ति देशमा आइदिए हुन्थ्यो भन्ने चाहना राखेका छन् । त्यो चाहना पुरा गर्न हामी एकताबद्ध भएका हौँ । 

शासन प्रणालीमा सुदृढ स्थानीय शासन भन्नुभएको छ । के यो सङ्घीयताभित्रकै हो ?

हामीलाई सङ्घीयताभन्दा सुदृढ स्थानीय शासन प्रणाली उपयुक्त हुन्छ भन्ने लागेको छ । हामीले अघि सारेको अवधारणा अहिलेकै अवस्थामा प्रदेश सरकार नभएको संरचना हो । हाम्रो दृष्टिकोणमा स्थानीय तहमा पर्याप्त अधिकार र स्रोत भएको स्थानीय तह भए पुग्छ । बीचको प्रदेश स्तरको सरकारको आवश्यकता छैन भन्ने हाम्रो निष्कर्ष हो ।

अहिलेको सङ्घीयताको अभ्यास असफल भएको ठान्नु भएको हो ?

सङ्घीयताको बारेमा नेपालमा पर्याप्त बहस भएन । मधेस आन्दोलनको क्रममा त्यो मान्यतालाई स्थापित गरियो । कस्तो सङ्घीय प्रणालीमा जाने ? त्यसका प्रभावहरू के–के हुन्छन्, यी विषयमा पर्याप्त बहस र छलफल नै जनस्तरमा भएन । अहिले सङ्घीयता कार्यान्वयनमा आइसकेपछि राजनीतिक तहमा द्वन्द्व बढ्दै जाने र आर्थिक दृष्टिकोणले धान्नै नसक्ने परिस्थिति भइरहेको छ । यस्तो अवस्थामा हामीले प्रस्ताव गरेको दुई तहको सरकार वा सुदृढ स्थानीय सरकार उपयुक्त हुन्छ । 

समयमै नियन्त्रण नगर्ने हो भने हाम्रो परम्परादेखि कायम रहेको सामाजिक सद्भाव र एकता खलबलिएर देश धार्मिक द्वन्द्वमा जाने खतरा छ । यो अवस्थामा धार्मिक द्वन्द्व र विवाद खडा भए आयातीत अवधारणा र त्यो मान्यता स्थापित गर्ने तथा गराउने काँग्रेस- कम्युनिस्ट नै जिम्मेवार हुनेछन् । 

राप्रपाको चुनाव चिह्न गाई र राप्रपा संयुक्तको हलो छ । चुनाव चिह्नमा सहमति नभएर विगतमा एकता अड्किएको थियो । अa कुन चिन्ह राख्ने ?

चुनाव चिन्हको विषयमा ६ महिना भित्रमा हामी उपयुक्त निकायबाट निर्णय गर्छौ । हाम्रा दुवै चिन्हहरू लोकप्रिय छन् । गाई र हलोमध्ये कुन चिन्ह राखेर जाँदा उपयुक्त हुन्छ भन्नेमा हामी छ महिनाभित्र सर्वसम्मतिले निर्णय गर्छौ । यसबारे हामीले सहमति पत्रमा तीनै अध्यक्षले हस्ताक्षर गरिसकेका छौँ ।

तपाईँ एकता महाधिवशेनबाट निर्वाचित भएर आएपछि राप्रपा तीन टुक्रा भयो । राष्ट्रिय दल पनि बन्न सकेन । अब चाँहि तपाईँहरूमा चेत पलाएको हो ?

अब कुनै पनि विवादले एकतालाई आघात पुर्‍याउँछ जस्तो लाग्दैन । राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहेका नेताहरूले पार्टी फुटाएर जान सक्ने समय पनि छैन । धरातलीय यथार्थता पनि छैन । र, क्षमता पनि छैन । यसअघि महाधिवेशनको छोटो समयमै पार्टीमा आएको विभाजन रोक्न नसक्नुमा म नैतिक रूपमा जिम्मेवार छु । त्यो विभाजनको चर्को मूल्य चुकाउनु परिरहेकै छ ।

राप्रपासँग एजेन्डा मिल्ने अरू दलहरूसँग एकताको सम्भावना के छ ?

हामी वैकल्पिक शक्ति बन्न सक्छौँ कि सक्दैनौँ भन्ने प्रश्न छ । काँग्रेस र कम्युनिस्टको विकल्पमा जनताले एउटा शक्ति खोजेका छन् । कतिपयलाई तीतो लाग्न सक्छ, अहिलेको नेपालको राष्ट्रिय राजनीतिमा यी दुई दलको विकल्प बन्न सक्ने हामीमात्रै हौँ । देशका सबै भूभागमा हाम्रो उपस्थिति छ । सांगठनिक र वैचारिक रुपमा पनि हामी प्रतिस्पर्धा गर्दै विकल्प बन्न सक्छौँ । अरू केही दलहरू पनि छन्, तर काँग्रेस-कम्युनिस्टकै जस्तो आचरण छ । वैचारिक दर्शनको रूपमा आफूहरूलाई फरक दलको रूपमा उभ्याउन सकेका छैनन् । साझा पार्टी नेपालले सङ्घीयता र धर्मनिरपेक्षताको विषयमा जनमतसंग्रह गर्नुपर्छ भनेर पछिल्लो निर्णय गरेको छ । यसलाई हामीले सकारात्मक रूपमा लिएका छौँ । काँग्रेस र कम्युनिस्ट पार्टीमा पनि यो अवधारणा प्रबल हुँदै आएको छ । यसरी विचार वा समान धारणा मिल्ने दलहरूसँग मोर्चा वा एकता गरेर जान सक्ने सम्भावना छ ।

सङ्घीयता र धर्मनिरपेक्षताको विषयमा जनमत सङ्ग्रह गर्नुपर्छ भन्ने यहाँहरूको मुद्दा छ । सेट भैसकेको मुद्दालाई फेरि पनि उचाल्दा द्वन्द्व बढ्ने खतरा छ भनिन्छ नि ?

धर्मनिरपेक्षता बाह्रय शक्तिहरूको दबाब र प्रभावमा संविधानमा लेखियो । तर यसलाई पचाउन सक्ने अवस्था थिएन । त्यसैले त्यही संविधानमा स्पष्टीकरण भन्दै लेखियो– धर्मनिरपेक्षता भन्नाले परम्परादेखि चल्दै आएको सनातन धर्मको संरक्षण र सम्वर्द्धन मानिनेछ । यो आफैँमा विरोधाभासपूर्ण छ । एकातिर धर्म निरपेक्षता पनि भन्ने अर्कोतर्फ सनातन धर्मको रक्षा गर्नु धर्मनिरपेक्षता हो भन्ने । संवैधानिक रूपमै गलत व्याख्या र अपव्याख्या राखिएको छ । यो हास्यास्पद प्रावधानलाई हटाउनुपर्ने छ । बाह्य शक्तिको दबाब र प्रभावमा यस्तो गरियो । 

धर्मको राजनीतिले भारतमा दङ्गा फैलिन थालेको छ । नेपालमा पनि यस्तो भएमा देशले ठुलो मूल्य चुकाउन पर्छ नि ?

यदि हामीले बहुसङ्ख्यक जनताको आस्था, विश्वास र मान्यतालाई संवैधानिक रूपमा सम्मान गरेनौँ र भोटको राजनीतिका लागि केबल अल्संङख्यकलाई रिझाउने काम गर्‍यौँ भने त्यसले अन्ततः सामाजिक सद्भाव र एकता खलबलिन्छ । भारतमा पनि त्यही भएको हो । एकथरि राजनीतिक शक्तिले बहुसङ्ख्यक नागरिकको भावनालाई उपेक्षा गर्दै अल्पसंङख्यकहरुलाई उचाल्ने बोक्ने र राजनीतिक हतियारको रूपमा प्रयोग गर्ने काम गर्दा दुई पक्षबीच दङ्गा भयो । यदि नेपालमा समयमै ध्यान पुर्‍याएनौँ भने दिल्लीको प्रभाव नेपालमा समेत देखिने खतरा छ । धर्मनिरपेक्षताको आडमा योजनाबद्ध र सङ्गठित रूपमा धर्म परिवर्तन गराइएको छ । डढेलोजस्तो फैलिएको छ । पहिला पहाडमा सीमित भयो । अहिले तराईमा पुगिसकेको छ । यसलाई समयमै नियन्त्रण नगर्ने हो भने हाम्रो परम्परादेखि कायम रहेको सामाजिक सद्भाव र एकता खलबलिएर देश धार्मिक द्वन्द्वमा जाने खतरा छ । यो अवस्थामा धार्मिक द्वन्द्व र विवाद खडा भए मुख्य रूपमा आयातीत अवधारणा र त्यो मान्यता स्थापित गर्ने तथा गराउने काँग्रेस कम्युनिस्ट नै जिम्मेवार हुनेछन् । 


कस्तो लाग्यो ?

यो पनि