बैशाख ०६, २०८१, बिहीबार
               

गेट वेल सुन, प्रधानमन्त्रीज्यू !

नेपाल फ्ल्यास
फागुन २१, २०७६

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओली अहिले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण गराएर आराममा छन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका साहसी प्रमको स्वास्थ्य लाभको कामना ।

अपरेसन थिएटरभित्र जाँदा जाँदै पनि उनले मुलुकको ढुकुटी चलाउने साँचो डा. युवराज खतिवडालाई दिए । मङ्गलवारदेखि राष्ट्रिय सभा सदस्य समेत नरहेका डा‍‍. खतिवडा यस्ता भाग्यमानी मन्त्री बनेका छन्, जो जन निर्वाचित प्रतिनिधिलाई पाखा लगाउँदै मन्त्री पदमा बहाल भए । सङ्घीय सदस्यमा नेकपाका सयौँ सांसदहरूलाई कुहिनाले ठोक्दै ।

गणतन्त्र नेपालको पहिलो आम निर्वाचन पछि बनेको एक मात्र सरकार (ओली सरकार) मा सांसद नरहे पनि मन्त्री बन्न पाउने पहिलो र एक मात्र भाग्यमानी पनि डा. खतिवडा नै बने । मिर्गौला प्रत्यारोपणका लागि बुधवार बिहान अपरेसन थिएटरमा छिर्नुभन्दा केही बेरअघि मात्र प्रम ओलीले भाग्यमानी डा. खतिवडालाई अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी फेरी सुम्पिने पत्रमा हस्ताक्षर गरेका थिए रे । हुन त राष्ट्रपति भवन भने मङ्गलवारदेखि नै उनको शपथको तयारीमा जुटेको थियो ।

प्रधानमन्त्रीले नियुक्तिको पत्रमा हस्ताक्षर नै नगरीकन शीतल निवास कसरी शपथ ग्रहणको तयारीमा जुट्यो ? ‘नेपालको कानुन दैवले जानुन्’ भनेको यही होला । यसले बालुवाटार र शीतल निवासको सम्बन्धमा कति हार्दिकता छ भन्ने पनि देखाउँछ नै ।

उता आजै राष्ट्रिय सभाको सदस्यको शपथ खान दौरा सुरुवाल पहिरिएर जुत्ताको तुना मात्र कस्न बाँकी रहँदा बामदेव गौतमलाई भने प्रम ओलीले चकित तुल्याइ दिए । गौतमलाई मात्र कहाँ हो र ? नेकपा सचिवालयको निर्णयलाई नै ‘धोती’ लगाइ दिए । शक्तिशाली सचिवालयलाई पङ्गु बनाइ दिए ।

उनकै रोग र शल्यक्रियाका कारण पार्टीमा विपरीत ध्रुवका नेताहरू अहिले चुप लागेका छन् । नत्र बामदेव गौतमप्रति उनले देखाएको अनुदारता अनि डा. खतिवडामाथि देखाएको उदारतालाई लिएर अहिले ठुलै आवाजहरू कड्किसकेका हुन्थे ।

वास्तवमा भन्ने हो भने ओलीको सत्तारोहणसँगै अलि बढी नै प्रयोगमा आएको ‘अधिनायकवाद’ भन्ने शब्दलाई व्यवहारमा कसरी प्रयोग गरिन्छ भनेर उनले देखाइ नै दिए । रंकबाट कसरी राजा बन्न सकिन्छ भन्ने उदाहरण पनि दिए । अनि सङ्घीय संसद्लाई कसरी भारदारी सभामा परिणत गराउन सकिन्छ भन्ने प्रयोग पनि गरे ।

शल्यक्रियाको पूर्व तयारीका लागि अस्पताल जानु अघि उनले प्रस्तुत गरेको आत्मविश्वासले उनको व्यवहार भविष्यमा पनि परिवर्तन हुन्छ भन्ने देखिँदैन । शायद सत्ताको स्वाद नै यस्तै हुन्छ होला ? त्याग र मेलमिलापका रागले राजनीतिके तबला बज्दैन भन्ने बलियो आधार उनले प्रस्तुत गरेका छन् । ‘राज गर्नु छ त, राजा बन । प्रजा होइन’ भन्ने अभिमानले भरिपूर्ण थियो उनको अस्पताल भर्ना अुनुअघिको सम्बोधन । अनि ‘बिचमा मैदान छाड्ने खेलाडी आफू नरहेको’ भन्ने आवेग मिश्रित धम्कीपूर्ण वाक्यले उनी भोलिका दिनमा पनि गौतमलाई राष्ट्रिय सभामा लैजान चाहँदैनन् भन्ने प्रस्ट पारेको छ । मैदान नछाड्नु भनेको विरोधीलाई परास्त गर्न नै हो । उनको भनाइमा पार्टीमा आफूप्रति बढ्दो षडयन्त्रसँग लड्ने शक्ति आर्जन गरेर अस्पतालबाट फर्कन्छु भन्ने आशय मिसिएको पनि हुनसक्छ ।

उनी मिर्गौला प्रत्यारोपणपछि तगडा भएर फर्कन्छन् । कसैमा द्विविधा छैन । अनि, भगवानले सकोस् ! कसैलाई रोग नलागोस्, कसैले मर्न नपरोस् । तर, चाहेको र मागेको जस्तो केही पाइँदैन । प्राणीको आवरणमा यो लोकमा अवतरण गर्ने हरेकले एक दिन परलोकको पनि उडान भर्नै पर्छ । यही एक मात्र सत्य हो । अर्को सत्य यो पनि हो, त्यही बिचमा अनेकौँ रोगव्याधीसँग पनि जुध्नै पर्छ । रोगले बालक र वृद्ध मात्र भन्दैन हरेक उमेरका मानिसलाई गाँज्न सक्छ नै । त्यसैले कसैलाई लागेको रोगलाई उसको कमजोरी मान्न हुँदैन । हामीले सबैले पाएको संस्कार पनि नै यही हो ।

ओलीको आत्मविश्वास नै आजसम्म उनका लागि अचुक औषधी बनेको छ । भोलि पनि बन्ने नै छ । प्रम ओली यसको सटिक उदाहरण हुन् । तर, यसको अर्थ उनलाई रोगी मानेर उनको हरेक नाजायज तर्क र हरकतमा आँखै छोप्नुपर्छ भन्ने पनि छैन ।

उपचारको क्रममा लामो समय विदेशमा बस्नु परेको खण्डमा उनलाई सत्ताबाट च्युत गर्ने खेलले आक्रामक गति लिन्थ्यो भन्ने पनि उनले र सबैले बुझेकै छन् ।

मान्नै पर्छ, उनकै रोग र शल्यक्रियाका कारण पार्टीमा विपरीत ध्रुवका नेताहरू अहिले चुप लागेका छन् । नत्र बामदेव गौतमप्रति उनले देखाएको अनुदारता अनि डा. खतिवडामाथि देखाएको उदारतालाई लिएर अहिले ठुलै आवाजहरू कड्किसकेका हुन्थे । उनलाई कसरी ठिक पार्ने भनेर षडयन्त्रका अनेकौँ तानाबान बुन्न थालिसकिएको हुन्थ्यो । अनि नेकपाका हरेक अङ्गमा अल्पमतमा परिसकेका प्रम ओलीलाई सत्ताच्युत गर्ने तरिकामाथि तर्क–वितर्क सामुन्ने आइसकेका हुन्थे । अझ मै हुँ भन्ने राजनीतिक पण्डितहरू आफ्नै राग अलाप्न थालिसकेका हुन्थे ।

अहिले धेरै चुप छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको रोग र सत्तामोह अनि अहँका बारेमा । किनकि उनी अहिले जटिल अवस्थामा छन् । कसैले अस्वीकार गर्नु पर्दैन । उनले पनि गर्नु पर्दैन, हामीले पनि पर्दैन । उनी होनहार नेता हुन् । उनको आवश्यकता मुलुक र उनको पार्टीलाई पनि छ । स्पष्ट वक्ता, दूरदर्शी नेता, उनका पहिचान हुन् । यस्ता नेताले दुई दिने घाम छायाको मोहमा सगरमाथाको उचाइमा पुगेको राजनीतिक जीवनलाई नष्ट गर्नु पनि हुँदैन । तर, उनलाई ‘अब त आराम गर्नुस् न ! विश्राम लिनुस् न ! अब केही समय यहाँको शरीर यो बिरामी मुलुकलाई हाँक्न सक्ने अवस्थामा हुँदैन !’ भनेर सल्लाह दिने कोही छैनन् पनि । उनले अबको केही समय देशभन्दा पनि आफ्नो स्वास्थ्यमा विशेष समय खर्चिनु पर्छ भन्ने मान्यता पनि बलियै छ । तर, किन हो किन उनलाई यस्ता शब्द मिश्रित स्वरहरूले घोच्छ जस्तो छ । 

कसैले उनीसँग उनको कुर्सी खोस्ला कि भन्ने भयले थप ग्रसित छन् कि भन्ने सोच सबैको मनमा उब्जिनु पनि असामान्य होइन । किनकि विदेशमा मिर्गौला प्रत्यारोपण गराउने अन्तिम तयारीमा जुटेका प्रम ओलीले विकसित राजनीतिक घटनाक्रम र पार्टीका विरोधी खेमाको विश्वास गर्न नसकेर मुलुक मै उपचार गराउने निर्णय लिए । उपचारको क्रममा लामो समय विदेशमा बस्नु परेको खण्डमा उनलाई सत्ताबाट च्युत गर्ने खेलले आक्रामक गति लिन्थ्यो भन्ने पनि उनले र सबैले बुझेकै छन् । 

जिन्दगी उखान–टुक्काभन्दा भिन्न छ ! अझ मुलुकको स्वास्थ्य प्रधानमन्त्रीको भन्दा पनि कमजोर छ । कोरोना भाइरसको विश्वव्यापी महामारीले नेपालको अर्थतन्त्रलाई झनै ध्वस्त बनाएको छ । मुलुक जटिल मोडमा छ । अब कहिले कहाँ यो मुलुकको अर्थतन्त्र दुर्घटना पर्छ भन्ने त्रास नै त्रास छ । चारै तिर । कमजोर अर्थतन्त्रका कारण समाज नै उल्टो गतिमा हिँड्दै थियो अब त दौडने सङ्केत देखिएको छ । 

मुलुकका लागि, केपी शर्मा ओली उपचार गरेर पूर्णरुपमा स्वस्थ्य हुनुपर्छ । अनि मात्र उनको सम्बोधनमा सम्माननीय प्रधानमन्त्री जोडिदा मुलुकले पनि सफलताको फड्को मार्न सक्छ । मुलुक र प्रधानमन्त्रीमाथि नागरिकले गर्व गर्ने वातावरण बन्ने छ । बालुवाटारको ओछ्यानमा सुतेर मुलुक हाँक्न सक्छु भन्ने दम्भबाट अब उनले आफैँलाई मुक्त राख्नु पर्छ ।  

अहोरात्र खटिएर मुलुकको हरेक समस्या समाधान गर्न सक्ने स्वस्थ्य व्यक्तिले नै प्रधानमन्त्रीको कुर्सीको शोभा बढाउन सक्छ, तितो सत्य यही हो । ओली पूर्णरुपमा निको बनुन् फेरी त्यही कुर्सीमा बसुन्, अग्रिम शुभकामना । तर, अहिले भने यो रोगी मुलुकलाई अझै रोगी बन्नबाट रोक्न उनले बाहेक कसैले सक्दैन । नत्र पार्टीभित्रका गुटहरू बिच अहँको लडाइँ बढ्दै जाने हो भने नेकपा मात्र होइन मुलुक नै दुर्घटना पर्ने छ । 

‘गेट वेल सुन, प्रधानमन्त्रीज्यू !’


कस्तो लाग्यो ?

यो पनि