बैशाख १२, २०८१, बुधबार
               

दुर्घटनामा पर्ला त नेकपा ?

नेपाल फ्ल्यास
फागुन १९, २०७६

ADVERTISEMENT

आउने बुधवार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउन लागेका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली सोमबार नै अस्पताल भर्ना हुँदै छन् ।

त्रिवि शिक्षण अस्पतालमा डा. प्रेम ज्ञवाली नेतृत्वको चिकित्सकीय टोलीले ओलीको १३ वर्ष अगाडि प्रत्यारोपण गरिएको मिर्गौलाको सट्टामा नाताकी भान्जी समीक्षा सङ्ग्रौलाले दान गर्ने मिर्गौला प्रत्यारोपण गर्नेछ । नेपालको प्रचलित कानुन अनुसार नजिकका नातेदारले मात्र अङ्ग प्रत्यारोपणका लागि दान दिन मिल्छ ।

यसअघि पहिलो पटक भारतमा प्रत्यारोपण गर्दा ओलीलाई बुहारी नाताकी अन्जना घिमिरेले मिर्गौला दिएकी थिइन् । त्यस बेला घिमिरे मात्र २१ वर्षकी थिइन् भने अहिले मिर्गौला दिन लागेकी सङ्ग्रौलाको विवाह भइसकेको छ ।

ओलीले लामो समयसम्म विदेशमा गएर मिर्गौला प्रत्यारोपण गर्ने प्रयास गर्दै आएका थिए । बालुवाटार स्रोतका अनुसार अमेरिका लगायत अन्य मुलुकका अस्पतालले ओलीमा पछिल्ला समय देखिन थालेका अन्य रोगको प्रभावका कारण बढेको जोखिमले गर्दा शल्यक्रिया गर्न आनाकानी गरेपछि उनी नेपाल मै प्रत्यारोपण गराउन राजी भएका हुन् । तर, भारत र चीनले प्रत्यारोपण गराउन आफ्नो मुलुकका अस्पतालमा आउन दिएको आमन्त्रणलाई भने उनले कहिल्यै स्वीकार गरेनन् । 

झन्डै दुई साता अघि उनको मुटुमा समस्या देखिएर एन्जियोग्राफी परीक्षण पनि गराउनु परेको थियो । तर, उनको मुटुमा कुनै ठुलो समस्या नरहेको अस्पतालले जनाएको थियो ।

अबको केही दिन नेकपामा यही रस्साकस्सी देखिएको खण्डमा मुलुक मध्यावधि चुनावमा नजाला भन्न पनि सकिँदैन । एमाले माओवादीको एकता राम्रोसँग जोडिनुभन्दा अगाडि नै नेकपा फेरी एक पटक फुटको सिकार नहोला पनि भन्न सकिँदैन । 

नियमित डायलायसिसमा रहेका प्रधानमन्त्री ओलीको ३ महिना अघि एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रिया पनि गर्नु परेको थियो । एपेन्डिक्स अत्यधिक सुन्निएर फुटेका कारण उनको सारा शरीरमा सङ्क्रमण फैलिएको थियो । त्यसका लागि उनको पुरै पेट चिरेर शल्यक्रिया गर्नु परेको थियो । त्यस बेला उनको स्वास्थ्यावस्था अत्यन्त गम्भीर समेत बनेको थियो ।

यस्तै मिर्गौलामा अत्यधिक सङ्क्रमण देखिन थालेपछि उनले सिंगापुरमा गराएका प्लाज्मा फेरासिस उपचार पनि असफल भएको थियो । त्यो उपचार पद्धति असफल भएसँगै उनले नियमित रूपमा नेपाल मै डायलासिस गराउँदै आएका छन् ।

लामो समयदेखि उनको मिर्गौला प्रत्यारोपण बारेमा विभिन्न अड्कलहरु मात्र सार्वजनिक हुने गरेका थिए । तर, सबै अनुमानहरूमा अचानक ब्रेक लगाउँदै सोमबार नै अस्पताल भर्ना भएर बुधवार नै मिर्गौला प्रत्यारोपण गर्ने सार्वजनिक गरे । यसले नेकपाभित्र दन्किरहेको असन्तुष्टिका लप्कामा थप घिउ थप्ने काम गरेका छन् ।

अब के हुन सक्ला ?

कुनै बेला पार्टी र सरकारमा एकलौटी राज गरेका ओली बिस्तारै दुवै कित्तामा कमजोर बन्दै गएका छन् । माधव नेपालसँग कुनै बेला बोलचाल नै बन्द गरेका ओलीको अर्का अध्यक्ष प्रचण्डसँगको हार्दिक निकटता समेत टाढिँदै गएको छ । अधिनायकवादको ज्वालाले तापिइरहेका ओलीले भविष्य आफ्नो मात्र देखे । उनले आफ्नो मर्जी बिना पार्टीको लगाम अरूको हातमा जान सक्ला भनेर कल्पना समेत गरेनन् । वरिपरि देखे त बस् चाकडी र चाप्लुसी बाजका घेरा मात्र । जसले पार्टीमा प्रभुत्व जमाउन सक्ने अन्य नेताहरू उनीसँग टाढिँदै गए । अवस्था यतिसम्म आयो कि उनको हरेक निर्णयलाई पार्टी सचिवालयले खारेज गरेर अर्को निर्णय सुनाउँदै गयो । केही समय लाचार झैँ देखिएका ओलीमा पछिल्ला दिन केही ऊर्जा देखिएको छ । शायद उनको राजनीतिक भविष्यसँग खेल्न पल्केकाहरूले नै आफूले ओढेको छातालाई कमजोर बनाउने दाउ रचे । छातारूपी ओली त्यो दाउको मोहरा बने ।

गत बुधवार नेकपाको सचिवालय राष्ट्रपतिले मनोनयन गर्ने राष्ट्रिय सभाको एक सिटमा बामदेव गौतमलाई पठाउने निर्णय गर्‍यो । आफ्ना विश्वासपात्र अर्थमन्त्री युवराज खतिवडालाई राष्ट्रिय सभा सदस्य र अर्थमन्त्रीमा निरन्तरता दिन खोजिरहेका ओलीका लागि त्यो नराम्रो झट्का थियो । त्यही पनि त्यो निर्णयमा उनले टाउको हल्लाएर मौन सहमति जनाए । त्यति बेलासम्म उनी उपाध्यक्ष बामदेव गौतमलाई चिढाउने मनस्थितिमा उनी थिएनन् । तर, चिढिएको मनलाई थाम्न सकेनन् र विरुद्ध एकमाथि अर्को गर्दै खेल भइरहेको आगो ओकल्न भने बिर्सिनन् ।
सचिवालयको निर्णयलाई नपचाएका उनी निकटका नेताहरूले उनको रिसको आगोमा घिउ थप्ने काम गरे । त्यसपछि उनले माधव नेपालसँग गौतमलाई राष्ट्रिय सभामा लैजान नसक्ने तथा खतिवडालाई निरन्तरता दिने अडान कसे । त्यसले नेकपामा भित्र भित्रै सल्किरहेको अविश्वासको बादलले कालो रूप लियो । पार्टी स्पष्ट दुई कित्तामा उभियो । ओली पक्ष र विपक्षमा ।

अस्पताल भर्ना हुन जाने निर्णय गर्दा अनि मन्त्रीपरिषद्को बैठक बस्दा पनि ओलीले गौतमका मामिलामा सचिवालयको निर्णय मान्न नसकिने अडान कसिरहे । बोलीमा नभएर पनि व्यवहारले यही पुष्टि गर्दैछ । राष्ट्रिय सभाको निर्वाचनका बेला प्रधानमन्त्री हुन नपाउने व्यवस्थाका कारण त्यो पद बहिष्कार गरेका गौतम अहिले ओलीलाई भित्तामा सुताउन जसरी पनि त्यो पदमा पुगी छाड्ने मनस्थितिमा छन् । 

त्यसको केही दिन अघि मात्र आफ्ना विश्वासपात्र मन्त्री गोकुल बास्कोटालाई सुरक्षण छापाखाना कमिसन काण्डमा पदबाट राजीनामा दिन बाध्य पारिएपछि रन्किएको उनको पारा गौतम सिफारिससम्म आउँदा थेग्न मुस्किल भइसकेको थियो । त्यही कारण पनि उनी पछिल्लो समयसम्म सचिवालयको निर्णयमा अटेरी गरेर नै बसिरहेका थिए । यद्यपि बामदेवलाई राष्ट्रिय सभामा सिफारिस गरे पनि नेकपामा दन्किएको सत्ता सङ्घर्षको राप सजिलै सेलाउने अवस्था भने छैन ।

अबको केही दिन नेकपामा यही रस्साकस्सी देखिएको खण्डमा मुलुक मध्यावधि चुनावमा नजाला भन्न पनि सकिँदैन । एमाले माओवादीको एकता राम्रोसँग जोडिनुभन्दा अगाडि नै नेकपा फेरी एक पटक फुटको सिकार नहोला पनि भन्न सकिँदैन । 

कुनै दिन ओलीले मध्यावधि चुनावको घोषणा गर्न सक्ने छनक मात्र पाएको खण्डमा प्रचण्ड–माधव गुटले काँग्रेसलाई साथमा लिएर संसद्मा उनी विरुद्ध अविश्वासको प्रस्ताव पनि दर्ता गराउन सक्ने सम्भावना पनि छ । यसका लागि ओली विरोधी खेमा निरन्तर काँग्रेसका शीर्ष नेताहरूको सम्पर्कमा पनि छन् । 

ओलीले उपचारको बहानामा अहिले ‘सेफ ल्यान्डिङ्ग’ को खोजी गरिरहेका छन् । उनलाई थाहा छ, जबसम्म उनी अस्पतालबाट फर्कदैनन्, तबसम्म उनीविरुद्ध कुनै षडयन्त्र पर्दा बाहिर ल्याइदैन भन्ने । 

‌ओलीको अहिलेको मनस्थितिलाई बुझ्दा उनी बरु राष्ट्रिय सभामा राष्ट्रपतिले मन्त्रीपरिषद्को सिफारिसमा मनोनयन गर्ने रिक्त एक सिटलाई यथास्थितिमा राख्ने तर आफू नझुक्ने अडानमा रहेको देखिन्छ । उपचारपछि अलि बलियो बनेर पार्टीभित्रका विरोधिहरुसँग लड्ने उनको योजना हुन्छ । स्वभावैले घमन्डी ओली अहिले विरोधिहरुसँग सहजै घुँडा टेक्ने मनस्थितिमा छैनन् भन्ने प्रस्ट पनि भइसकेको छ । यो दुई दिनमा आफूमाथि ठुलै दबाब सिर्जना भयो भने उनले मध्यावधिको सिफारिस नगर्लान् भन्न पनि सकिँदैन । त्यसपछि हुने चुनावमा आफ्नालाई बढी सिट टिकट दिलाएर फेरी संसदीय दल र पार्टीमा बलियो हुने दाउ उनले चल्न नसक्लान् भनेर अनुमान गर्न कठिनै छ । अहिले उनी नेकपाको केन्द्रीय समितिदेखि संसदीय दलमा समेत अल्पमत छन् भन्ने उनी र उनका विरोधीले बुझेकै कुरो हो ।

उता कुनै दिन ओलीले मध्यावधि चुनावको घोषणा गर्न सक्ने छनक मात्र पाएको खण्डमा प्रचण्ड–माधव गुटले काँग्रेसलाई साथमा लिएर संसद्मा उनी विरुद्ध अविश्वासको प्रस्ताव पनि दर्ता गराउन सक्ने सम्भावना पनि छ । यसका लागि ओली विरोधी खेमा निरन्तर काँग्रेसका शीर्ष नेताहरूको सम्पर्कमा पनि छन् । 

यस्तो अवस्थामा निकटताको आधारमा राष्ट्रपतिको साथ ओलीलाई नै रहने छ । र मुलुकमा विगतका तिता इतिहास फेरी दोहरिने छन् । नेकपा फुटको सँघारमा उभिने छ ।

यसअघि २०५२ सालमा अस्पतालको शैय्यामा सुतेको अवस्थामा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले काँग्रेसले ल्याएको अविश्वासको प्रस्तावको सामना र जवाफ दिनु परेको थियो । त्यो बेला पनि काँग्रेसले अल्पमतमा परिसकेको अधिकारी सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि अधिकारीले राजामा मध्यावधि चुनावका लागि सिफारिस गरेका थिए । घोषणा भइसकेको चुनावलाई सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्याय सहितको फुल बेन्चले उल्टाएको थियो ।

नेकपाभित्र अहिले त्यही दिन फर्कने अनुमान गर्नु गलत हुँदैन । मध्यावधि चुनावको घोषणा भए पनि विगतका नजिरका आधारमा यही संसद्ले निरन्तरता पाउन नसक्ला भन्न पनि सकिँदैन । त्यस्तो अवस्थामा नेकपाभित्र अर्को प्रधानमन्त्रीको खोजी हुनेछ भने ओली फेरी आफ्नो शक्ति बढाउन लाग्नेछन् । त्यसले झन्डै दुई तिहाइ सांसदको बलमा सरकार चलाइरहेको नेकपा भयङ्कर दुर्घटनामा नफस्ला पनि भन्न सकिँदैन । 

अब दुवै कित्ताको मन नमिलेको खण्डमा कसले पहिला अविश्वासको प्रस्ताव दर्ता गर्ने वा कसले पहिले मध्यावधिको सिफारिस गर्ने भन्ने दौड सुरु हुनै छ । तर, यो पक्का हो, ओलीले अहिले आफ्नो कमजोर स्वास्थ्यावस्थालाई भोलि पार्टीभित्र बलियो बन्ने अस्त्रका रूपमा भने प्रयोग गरेका छन् ।

यो पनि