बैशाख १३, २०८१, बिहीबार
               

माडीको घरबासमा लोकसंस्कृति र पञ्चेबाजा

नेपाल फ्ल्यास
फागुन १८, २०७७

ADVERTISEMENT

भरतपुर । चितवनको माडीमा ग्रामीण पर्यटनको विकास र प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ । पर्यटकीय दृष्टिकोणले निकै सम्भावना भएर पनि ओझेलमा रहेको क्षेत्रलाई नमूनास्थलका रूपमा चिनाउन घरबासको सुरुवात गरिएको हो ।

माडी नगरपालिका–६ लक्ष्मीनिवासमा माडी भ्यू सामुदायिक घरबास दुई महिनादेखि सञ्चालनमा आएको सञ्चालक समितिका अध्यक्ष खडानन्द अधिकारीले बताए । घरमै पर्यटन व्यवसाय गर्न सकिन्छ भन्ने लागेर घरबास सञ्चालन गरिएको उनले बताए ।

‘गाउँ सुनसान भयो, भएका मानिसहरु पनि शहर जान थाले, गाँउमा बस्नेले पनि झुप्रो बनाएर बस्न थाले, जग्गा बाँझो छ, यसलाई पनि सदुपयोग गरौँ भन्ने लाग्यो’, अधिकारीले भने । 

एघार घरपरिवार मिलेर घरबास सञ्चालन गर्न सुरु गरे पनि अहिलेसम्म ६ घरधुरीले मात्र घरबास निर्माण गर्न सफल भएका छन् । अरु घर निर्माण गर्ने क्रममा छन् ।

घरबास निर्माणका लागि कल्याणपुर मध्यवर्ती सामुदायिक वन र रेवा मध्यवर्ती उपभोक्ता समितिले तीन लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन् । स्थानीय सरकारबाट भने कुनै सहयोग नपाएको अधिकारीले बताए ।

घरबासमा रहेका पाँच घरमा १९ शय्या छन् । एउटा घर रु सातदेखि आठ लाखमा तयार भएको छ । दुई महिनाको अवधिमा ५०० पाहुनालाई स्वागत गरिसकिएको घरबास सञ्चालक समितिका सचिव प्रेम विष्टले जानकारी दिए ।

‘शान्त ठाउँ छ, शहरको कोलाहलबाट केही समय भए पनि शान्त हुन यहाँ आउन सकिन्छ, यहाँको संस्कृति बुझ्न र खानपानका परिकारमा रमाउन यहाँ आउन आग्रह गर्छौँ’, उनले भने ।

घरबासमा आउने पाहुनाका लागि घुमाउन पुष्पमदन स्मृति बाटिका छ । सङ्ग्रहालय र वनभोज स्थल तयारी अवस्थामा छ । बाटिकामा रहेको दृश्यावलोकन स्तम्भबाट माडीको फाँट, नवलपुरको दाउन्ने क्षेत्र र धौलागिरि, अन्नपूर्णलगायतका हिमाल देख्न सकिन्छ । मूर्ति राख्ने संरचना, फुलबारी, कम्पाउण्ड निर्माण र खानेपानीको काम भइरहेको छ ।

स्मृति बाटिका निर्माणका लागि गत वर्ष बागमती प्रदेश सरकारले ७२ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । यस वर्ष पनि प्रदेश सरकारबाट ४० लाख र संघीय सरकारबाट १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । पुष्पमदन स्मृति बाटिका जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितको अस्तु विसर्जन गरेको ठाउँ हो । 

संस्कृति र प्रकृतिलाई पर्यटनसँग जोडेर आयआर्जन गर्ने अवधारणाका साथ घरबास सञ्चालन गरिएको सल्लाहकार श्रीप्रसाद दवाडीले बताए । ‘हामीले यो काम गर्न ढिलो गरे जस्तो लाग्छ, घरबास थोरै भएको छ, थप्ने तयारीमा छौँ, विदेश गएर फर्किएकाहरु पनि घरबासमा आबद्ध भएका छन्, अन्यलाई पनि फर्कन आग्रह गरिरहेका छौँ’, उनले भने ।

राज्यका निकायबाट सहयोग प्राप्त भए अझै आठदेखि १० घरबास तत्काल थप्न सक्ने अवस्था रहेको उनले बताए । घरबासमा आवासीय तालिम हलको अभाव रहेको दवाडीको भनाइ थियो ।

भरतपुर–माडी–ठोरी हुलाकी राजमार्गको तमुचोकबाट साढे दुई किलोमिटरको दूरीमा घरबास पुग्न सकिन्छ । घरबासको एउटा कोठाको ५०० रुपैयाँ लिइन्छ । एउटा कोठामा तीनवटा शय्या छन् ।

सादा खानाको एक सय ५० रुपैयाँ लिइन्छ । सादा खानामा दूध, दही र घ्यूमध्ये एक अनिवार्य गरिएको छ । चिकन खाना एक सय ५० र मटन खानाको ३०० रुपैयाँ मूल्य तोकिएको छ ।

घरबासमा आउने पाहुनालाई स्वागत सत्कारसँगै पञ्चेबाजा बजाइन्छ । लोकसंस्कृति र भजनले मनोरञ्जन प्रदान गरिन्छ । पुराना संस्कृतिहरु लोप हुने अवस्थामा रहेका कारण त्यसको जगेर्ना गर्न र पाहुनालाई मनोरञ्जन प्रदान गर्न लोकभजन गाउने गरिएको सल्लाहकार दवाडीले बताए । क्षेत्री र बाहुन बाहुल्य गाउँमा सबै समुदायका मानिसहरुको बसोबास छ । 

यो पनि