बैशाख ०८, २०८१, शनिबार
               

गलकोटमा फोहोरलाई मोहर बनाउने अभियान

नेपाल फ्ल्यास
फागुन १४, २०७७

ADVERTISEMENT

बागलुङ । फोहोर थुपारेको ठाउँ सधैँका लागि काममा नआउने । कुहिने फोहोर त माटोमा मिल्छ तर नकुहिने फोहोरको डङ्गुरले सधैँ समस्या ।फोहोरको व्यवस्थापनमा देखिएका समस्या समाधान र उर्वर माटोलाई जोगाउने भन्दै बागलुङको गलकोट नगरपालिकाले फोहोरलाई उपयोग गर्ने विधि थालेको छ ।

कुहिने फोहोरलाई मल र नकुहिने फोहोरलाई पुनः प्रयोगका लागि नगरपालिकाले काम थालेको हो । गलकोटमा फोहोर सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गरेर नगरको फोहोर व्यवस्थापन गरिने छ । नकुहिने फोहोरका लागि नगरले ‘रिसाइकल’ मेसिन खरिद गरेको छ । विशेष गरेर प्लाष्टिकजन्य फोहोरलाई पुनः प्रयोगका लागि योग्य बनाउन मेसिन राख्न थालिएको हो ।

नगरले खरिद गरेका पाँच रिसाइकल मेसिनको सफल परीक्षण भएपछि नगरले तत्काल फोहोरको प्रशोधन थाल्ने नगरप्रमुख भरत शर्मा गैरेले बताए । नगरपालिकाले गत आर्थिक वर्ष २०७६/७७ मा रु २२ लाख लगानी गरी रिसाइकल केन्द्रका लागि आवश्यक भौतिक संरचना निर्माण गरेको थियो । चालु आवमा रु १० लाख खर्चेर पाँचवटा मेसिन खरिद गरी सञ्चालनको तयारी गरेको गैरेले बताए ।

“प्लाष्टिकजन्य फोहोरले दीर्घकालीनरूपमा पार्ने असर कम गर्नु हाम्रो दायित्व हो”, गैरेले भने, “फोहोर व्यवस्थापनका लागि हुने खर्च फोहोरबाटै आम्दानी हुने गरी काम थालेका छौँ ।” नगरपालिकाले मासिक२० हजार भाडा तिर्ने गरी वडा नं ९ मसुरबारीमा जग्गा भाडामा लिएर संरचना निर्माण गरेको छ । तत्काल बजार क्षेत्रबाट बढी मात्रामा निस्कने प्लाष्टिकजन्य फोहोरलाई सङ्कलन गरी कच्चा सामग्री बनाउने गरी व्यवस्थापन गरिएको गैरेले बताए । नगरपालिकाले फोहोर व्यवस्थापन गर्न विभिन्न ऐन तथा कार्यविधिसमेत निर्माण गरिसकेको गैरेको भनाइ छ ।

वडा नं ३ का अध्यक्ष वीरजङ्ग भण्डारीका अनुसार चालू आवमा मेसिन खरिद, विद्युत् लाइन विस्तार तथा जडान गरी करिब १० लाख बराबरको काम भएको छ । उनले केही दिनमा फोहोर सङ्कलन केन्द्रको औपचारिकरूपमा उद्घाटन गरी सञ्चालनमा ल्याइने जानकारी दिए । वडाभरिको फोहोर सङ्कलनका लागि ट्रयाक्टरको व्यवस्था नगरले गरेको छ । फोहोर उत्सर्जन गर्नेलाई ग्राहक कार्ड दिएर मासिक ५० देखि ४०० सम्म सेवाशुल्क लिन पाउने कानूूनी व्यवस्था नगरले गरेको छ ।

“रिसाइकल भएको प्लाष्टिक बेच्ने ठाउँको खोजी भइरहेको छ”, गैरेले भने, “तत्काल धेरै उत्पादन हुँदैन तर हामी १५ वर्षपछिसम्म सोचेर काम गरिरहेका छौँ ।” धवलागिरिमै पहिलोपटक फोहोर रिसाइकल गर्ने प्रविधिलाई आत्मसात गर्न लागेको गलकोट नगरपालिकाले क्रमिकरूपमा प्लाष्टिकसँगै रबरलगायतका फोहोरजन्य वस्तुलाई रिसाइकल गर्ने योजना बनाएको छ ।

नगरपालिकाले सफा तथा सुन्दर नगर निर्माण तथा फोहोर सङ्कलन तथा प्रशोधन गरी फोहोरलाई मोहरमा बदल्न गलकोट फोहोर सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गरी सरकारी–निजी साझेदारीमा सञ्चालन गर्न लागेको हो । करिब ४० लाख लागतमा स्थानीयवासीलाई रोजगारी दिने तथा फोहोर सामग्री प्रशोधन गरी आम्दानीको स्रोत बनाउने योजनाअनुसार सङ्कलन तथा प्रशोधन केन्द्र व्यवस्थापनको काम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि