बैशाख १२, २०८१, बुधबार
               

ओलीले राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड–माधव समूहको निर्णय

नेपाल फ्ल्यास
फागुन १२, २०७७

ADVERTISEMENT

नेकपा प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा नदिए संविधानअनुसार अविश्वासको प्रस्ताव अघि बढाउने निर्णय गरेको छ । पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्रीको राजीनामा नआए संविधानअनुसार नै प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । 

प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘प्रधानमन्त्रीले राजीनामा दिनुभएन भने संविधानअनुसार नै प्रक्रिया अघि बढाउने हाम्रो निर्णय छ ।’ 

स्थायी कमिटीको बैठकले सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक भनेको छ । ‘सर्वोच्चको फैसलाले प्रतिनिधिसभाको मात्रै होइन, संविधान र लोकतन्त्रको रक्षा गरेको छ । राजनीति अँध्यारो सुरुङमा जाने खतराबाट बचाउन अदालतले सहयोग गरेको छ,’ श्रेष्ठले भने ।  

बैठकले प्रधानमन्त्री ओलीको कदमविरुद्ध सङ्घर्षमा सक्रिय भएका सबै दल र आफ्ना कार्यकर्ताप्रति आभार व्यक्त गरेको छ । संविधानको प्रभावकारी कार्यान्वयन र लोकतान्त्रिक अभ्यासको उन्नत र सुदृढ भविष्यमा हातेमालो गर्ने निष्कर्ष बैठकले निकालेको श्रेष्ठले बताए ।

यस्तै, प्रचण्ड–नेपाल पक्षले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउन काङ्ग्रेससँग सहकार्य गर्ने तयारी गरेको छ । बैठकमा काङ्ग्रेससँग मिलेर जान प्रस्ताव गरिएको प्रवक्ता श्रेष्ठले बताए । राजनीतिक स्थिरताका लागि काङ्ग्रेसलगायत दलसँग मिलेर अगाडि बढ्नका लागि सो प्रस्ताव गरिएको जानकारी दिए ।

‘प्रतिगमनविरुद्ध काङ्ग्रेससँग संयुक्त आन्दोलन गर्न चाहन्थ्यौँ, त्यो सम्भव भएन । अहिले प्रतिनिधिसभा पुनस्थापना भइसकेको स्थितिमा कसरी अगाडि बढ्ने भन्नेबारे अध्यक्ष द्वयले कांग्रेस सभापतिसँग छलफल गर्नुभएको छ । राजनीतिक स्थिरताका लागि फेरि मिलेर जाऊँ भनिएको छ,’ सञ्चारकर्मीको प्रश्नको जवाफमा प्रवक्ता श्रेष्ठले भने, ‘देउवालाई प्रधानमन्त्री मान्ने या कसलाई भन्ने विषयमा हामी कुनै निर्णयमा पुगेका छैनौँ ।’ 

स्थायी कमिटी बैठकअघि प्रचण्ड र नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । सो भेटबारे प्रचण्डले बैठकमा ब्रिफिङ गरेका थिए ।  तर उनले देउवासँग आफूलाई प्रधानमन्त्रीमा समर्थन मागेको भने बताएनन् । बुधबार मात्रै प्रचण्ड–नेपाल समूहका अध्यक्ष द्वयले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए । भेटमा प्रधानमन्त्रीमा आफूलाई समर्थन गर्न आग्रह गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि