चैत १६, २०८०, शुक्रबार
               

उपत्यकाका ४५ प्रतिशत स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको खुलासा

नेपाल फ्ल्यास
फागुन ११, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा कार्यरत ४५ प्रतिशत स्वास्थ्यकर्मी कोरोना संक्रमित भइसकेको खुलेको छ । 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले मंसिरमा गरेको एक अध्ययनका अनुसार काठमाडौं उपत्यकाका ४५ दशमलव तीन प्रतिशत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको खुलेको हो । 

परिषद्ले स्वास्थ्यकर्मीहरुमा भएको कोरोना संक्रमणको अवस्था अध्ययन गर्न काठमाडौं उपत्यकामा कोभिड-१९ को सेरो-इपिडिमियोलोजी शीर्षकमा अध्ययन गरेको थियो ।

काठमाडौं उपत्यकाका २० अस्पतालका ८ सय स्वास्थ्यकर्मीमा कोभिड-१९ को एन्टिबडीको व्यापकता पत्ता लयाउन कोरोना भाइरस विरुद्धको एन्टिबडी अत्याधुनिक सिएलआइए बेस्ड एन्टिबडी टेस्टमार्फत जाँच गरिएको थियो ।

सो अनुसन्धानले काठमाडौं उपत्यकाको कोभिड-१९ को एन्टिबडीको संयोजित व्यापकता औषत ४५ दशमलव ३ प्रतिशत रहेको पत्ता लागेको हो।

परिषद्का अनुसार यसको अर्थ २० अस्पतालका ८ सय जना स्वास्थ्यकर्मीमध्ये ४५ दशमलव ३ प्रतिशतमा कोरोना संक्रमण भइसकेको भन्ने बुझिन्छ।

अनुसन्धानका अनुसार सुँघ्ने शक्ति हराएको व्यक्तिमा सुँघ्ने शक्ति नहराएको व्यक्तिमा भन्दा कोभिड-१९ विरुद्धको एन्टिबडी देखिने सम्भावना १० दशमलव ३ गुण धेरै भएको समेत पाइएको छ।

अनुसन्धानले पिसिआर टेस्ट पोजेटिभ भएका ७६ दशमलव दई प्रतिशत व्यक्तिहरुमा मात्रै कोभिड-१९ विरुद्धको एन्टिबडी विकसित भएको पाइएको छ। पिसिआर नेगेटिभ भएका २५ दशमलव तीन प्रतिशत र पिसिआर नगरेको ३७ दशमलव चार प्रतिशत व्यक्तिहरुमा कोभिड-१९ को एन्टिबडी देखिएको छ।

सो अध्ययनका लागि पहिलो चरणको नमुना संकलनपश्चात् डिसेम्बर ३ देखि २५ सम्म २० वटा अस्पतालमा पुगी ८ सय जनाको रगतको नमुना तथा विवरण लिइएको थियो। उक्त सेरोलोजी टेस्टको प्रमाणीकरण त्रिवि शिक्षण अस्पतालको बायोकेमिस्ट्री विभागमा गरिएको थियो।

उक्त नमुनाको परीक्षणमा ३६ प्रतिशत नर्स, १८ प्रतिशत डाक्टर २२ प्रतिशत प्रशासनिक कर्मचारी, ७ प्रतिशत ल्याब र फर्मातर्फका कर्मचारी र १७ प्रतिशत अन्य अस्पतालका कर्मचारी थिए।

अध्ययनमा ६५ प्रतिशत महिला सहभागी थिए। यस्तै १८ देखि २९ वर्ष उमेरका ४६ प्रतिशत, ३० देखि ४० वर्ष उमेर समूहका ४४, ५५ देखि ५० उमेर समूहका ८ दशमलव २ प्रतिशत र ६० वर्षमाथिका शून्य दशमलव ९ प्रतिशत सहभागी थिए।


कस्तो लाग्यो ?

यो पनि