चैत १६, २०८०, शुक्रबार
               

भारत‍‌–चीन सीमा विवाद : दुवै देशद्वारा विवादित क्षेत्रबाट सेना फिर्ता

नेपाल फ्ल्यास
फागुन १०, २०७७

ADVERTISEMENT

एजेन्सी । भारत र चीनले दुई देशबीच विवादित हिमालय क्षेत्रको सीमाबाट सेना फिर्ता गर्ने कार्य पूरा गरेको भारत सरकारले जनाएको छ ।भारतीय रक्षा मन्त्रालयले प्रकाशित गरेको एउटा संयुक्त विज्ञप्तिमा पान्गोङ त्सो ताल क्षेत्रबाट सैनिकहरू फिर्ता हुने कार्य शनिवार सम्पन्न भएको उल्लेख गरिएको छ ।

गत जुन महिनामा उक्त क्षेत्रमा दुई देशका सैनिकहरूबीच भएको हिंसात्मक भिडन्तमा २४ सैनिकको मृत्यु भएको थियो । दुवै पक्षले लाइन अफ एक्चूअल कन्ट्रोल भनेर चिनिने सीमाको अन्य क्षेत्रमा पनि तनाव कम गर्न काम गर्ने बताएका छन् ।

फेब्रुअरी ११ तारिखमा चीन र भारतले उक्त ताल क्षेत्रबाट सेना फिर्ता गर्ने घोषणा गरेका थिए । शनिवार दुवै पक्षका कमान्डरहरूले उक्त कार्य कसरी भइरहेको छ भन्ने हेर्न भेटवार्ता गरेका थिए ।

आइतवार जारी वक्तव्यमा ‘अग्रपङ्क्तिमा रहेका सैनिकहरूलाई फिर्ता गर्नु एउटा महत्त्वपूर्ण कदम’ भएको जनाइएको छ । त्यस्तै यो ‘लाइन अफ एक्चूअल कन्ट्रोलको पश्चिमी क्षेत्रमा बाँकी रहेका समस्याहरू समाधानका लागि पनि राम्रो आधार बन्न सक्ने’ वक्तव्यमा उल्लेख छ ।

यो चरणमा प्रवेश गर्नका लागि कमान्डरहरूले नौ चरणका वार्ताहरू गरेका थिए ।वक्तव्यले सीमाको अर्को क्षेत्रमा तनाव रहेको स्वीकारेको छ र वार्ता जारी राख्ने आशा व्यक्त गरेको छ ।

उक्त क्षेत्रमा गत जुनमा भएको हिंसात्मक झडपमा २० जना भारतीय सैनिकको ज्यान गएको थियो । चीनले गत साता उक्त घटनामा आफ्ना चार सैनिकको पनि मृत्यु भएको स्वीकारेको थियो ।

सेना फिर्ता गर्ने निर्णय गर्नुअघि सीमावारि र सीमापारि दुई देशका सैनिकहरू तैनाथ थिए । त्यहाँ महिनौँदेखि तनाव कायम थियो र उक्त क्षेत्रमा दुवै देशले ठूलो सङ्ख्यामा सैनिक परिचालन गर्दा चिन्ता व्यक्त गरिएको थियो ।

किन विवाद ?

भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको छ । दुई देशबीच सन् १९६२ मा युद्ध भएको थियो। त्यसमा भारत नराम्ररी पराजित भएको थियो । चीनले आफ्नो ३८,००० वर्ग किलोमिटर क्षेत्र ओगटेको भारतको आरोप छ ।

सीमाबारे दुई पक्षले तीन दशकमा पटकपटक वार्ता गरेका भए पनि कुनै समाधान फेला पारेका थिएनन् । गत वर्ष मे महिनामा दुई देशका सेनाबीच सिक्किमको सीमामा हात हालाहाल भएको थियो । -  बिबिसि


कस्तो लाग्यो ?

यो पनि