बैशाख ०८, २०८१, शनिबार
               

भगवानलाई पनि चढाउँदिन आजकाल रातो गुलाफ

चेतन पाण्डे
फागुन ०५, २०७७

ADVERTISEMENT

मनाइएन ‘भ्यालेन्टाइन डे’ यसपालि पनि । जबदेखि तिम्रा आँखाहरू मप्रति कठोर हुन थाले, त्यही बेलादेखि नै मनाउन मन लाग्दैन ‘भ्यालेन्टाइन डे’ ।

भन्छन्, मनलाई प्रेमिल बनाउन भ्यालेन्टाइनको दिन कुनै साइत जुराउन पर्दैन रे । त्यो दिन घुँडा टेकेर समर्पणमा झुक्ने आँखाको भाका राता गुलाफ जस्तै चोखा हुन्छन् रे । मायाको भाव हुन्छ नै, प्यारो । प्रेम भगवानभन्दा व्यापक भइदिँदो रहेछ, त्यो दिन । आखिर रातो गुलाफको दिन हो त्यो । आखिर भगवान र प्रेमिका बाहेक अरूलाई समर्पण गर्न नमिल्ने रातो गुलाफको दिन ।

मलाई याद भएसम्म तिमी कमै मात्र राता लुगामा सजिन्थ्यौ । जब ऐनामा हेर्थ्यौ । आफैँ भित्र स्वर्गकी अप्सराको प्रतिबिम्ब देख्थ्यौ । अनि मुसुक्क मुस्कुराउँथ्यौ पनि । कतै म किन यति राम्री छु भन्ने घमन्ड पनि मनमा पलाउँदो नै हो । वास्तवमा ती राता वस्त्रमा तिमीलाई देख्दा म पनि त्यही कल्पना गर्थेँ, जे कुरा तिम्रो मनमा हुन्थे, त्यही नै । मैले निकै पटक सोधेको थिएँ, ‘तिमी किन अरु युवतीभन्दा कमै मात्र राता वस्त्र मन पराउँछौँ ?’

बस्, जवाफमा एउटा मुस्कान फर्कन्थ्यो । आँखामा पनि आफ्नै सुन्दरताको पातलो घमन्ड चढाएर । म पनि मुस्कुराइ दिन्थेँ । तिम्रा जवाफ नबुझे पनि बुझेँ झैँ गरेर । तिम्रा आँखाका भाका पढेर ।

स्वर्गकी अप्सरा झैँ । मैले केही पनि त बिर्सिएको छैन । तिम्रा ओठ मुनिका ती काला कोठी । तिम्रा कपालको रेसमी स्पर्श । तिम्रा भुतुक्कै पार्ने मुस्कान । अनि मायामा मेरा ओठ, गाला र कपालमा सलबलाउने तिम्रा औँलाको कोमलता । अनि कहाँ बिर्सिएको छु र तिम्रा ओठका मिठा रसिला स्वाद पनि ।

जिन्दगी आखिर के नै रहेछ, बालुवाका मसिना दाना मात्र । मुठ्ठीमा जति कस्न खोज्यो,साथ छाडेर भुइँमा झनै झर्ने मात्र । किन हो कुन्नि तिमी पनि समयसँगै त्यही बालुवा झैँ बनि दियौ । मैले मुटुमा कस्न खोजेँ तर, तिमी मभन्दा टाढा बग्दै गयौ । 

किन गयौ तिमी, मलाई छाडेर । आजसम्म बुझ्न सकेको छैन । फेरि पनि किन आइरहन्छौ सपनीमा । त्यो पनि बुझ्न सकेको छैन ।

०००

तिमीले त बिर्सिएकी छैनौँ होला ? हाम्रो पहिलो भेट । अनि पहिलो ‘भ्यालेन्टाइन’ ।

साँच्चै त्यो दिन पनि तिमी रातो पहिरन मै सजिएकी थियौ । स्वर्गकी अप्सरा झैँ । मैले केही पनि त बिर्सिएको छैन । तिम्रा ओठ मुनिका ती काला कोठी । तिम्रा कपालको रेसमी स्पर्श । तिम्रा भुतुक्कै पार्ने मुस्कान । अनि मायामा मेरा ओठ, गाला र कपालमा सलबलाउने तिम्रा औँलाको कोमलता । अनि कहाँ बिर्सिएको छु र तिम्रा ओठका मिठा रसिला स्वाद पनि ।

बिर्सिएको छैन मैले, पहिलो भ्यालेन्टाइनमा तिमीले दिएको उपहार, मेरो उपहारको बदलामा । मेरो जीवनको पहिलो चुम्बन । भुतुक्कै भएका थियौँ, तिमी र म । लाजले । त्यसपछिका दिनमा न तिमी नतै म । हामीले लाज मान्न जानेनौँ । आज पनि मनको अन्तर कन्तुरमा सजाएकै छु, तिम्रा ती मिठा चुम्बनहरू ।

वास्तव मै मैले कुनै पनि दिन सोचेको थिइन । हामी दुई कुनै दिन जमिन र आकाश झैँ बन्छौ भनेर । सदा एक अर्कालाई नियाली रहे पनि मिलन असम्भव हुने । पृथ्वी र चन्द्रमा झैँ । रात र दिन झैँ ।

हुन पनि आज लाग्छ । तिम्रा सपनाका अगाडि मेरा विपना फिका रहेछन् । तिम्रा कल्पनाको संसार अगाडि मेरो वास्तविकताको संसार साँघुरो रहेछ । तिम्रा घमन्डका अगाडि मेरा घमन्ड कमजोर रहेछन् । तिम्रा चाहनाका अगाडि म निरीह रहेछु भनेर । कसम खान सकिन मैले तिम्रा औँलाले छोएका हरेक चिज तिम्रो पाउमा राखिदिन्छु भनेर । सधैँ म तिम्रा सपनाको पखेँटा बनि दिन्छु भनेर । तर, कसम खाने समय आइसकेको थिएन, यस्तै सोच्थेँ । जुन दिन आवश्यक पर्छ, त्यो दिन संसारका सारा सुख तिम्रा पाउमा चढाइ दिन्छु भन्ने पनि विश्वास त थियो नै ।

तिमी भन्थ्यौँ, ‘लोग्ने मानिस भए पछि जे पनि गर्न सक्छु भन्नु पर्छ !’

म तिम्रा कुराको गहिराइमा पुग्न चाहन्न थिएँ । त्यस्ता कुरालाई बिट मार्न चाहन्थे । अनि भन्थेँ, ‘नसक्ने कुराको वाचा गर्नु पाप हो । छाड् अहिले यस्ता कुरा ।’

तिमी चाहन्थ्यौ, मनमा उम्रिएका चाहनाका जिन्दगी झैँ जिउन मैले झूटा सही तर, वाचा त गरोस् भन्ने । म चाहन्थे, झूटको कतै बास नहोस्, हाम्रो जिन्दगीमा । म ठट्यौली पारामा भन्थे, ‘मायाका अगाडि सबै कुरा फिका त हुने हुन् । किन चाहियो र’ नचाहिँदो रवाफ । रुखो पिठोलाई अमृत सम्झेर खाउँला, जिन्दगीको गाडी अगाडि बढाउँला । मलाई त तिम्रा ओठले सबै भोक प्यास मेटाउँछ । तिम्रा आँखाको भाकाभन्दा जीवन जिउन अरू के नै चाहिन्छ र ?’ 

तिमी गम्भीर बनि दिन्थ्यौ । अनि भन्थ्यौँ, ‘माया एकातिर हुन्छ तर, वास्तविकता अर्कै हुन्छ । अहिले जस्तो रहँदैन दिन । कल्पना र वास्तविक जिन्दगीको यात्रा फरक हुन्छ । आज तिम्रा मायामा टल्कने मेरा आँखाहरू कहिल्यै तिमी र मेरा भाग्यलाई धिक्कारेर बर्सिन नपरोस् ।’  

अहिले लाग्छ, वास्तवमा तिम्रा सोचहरू मभन्दा उन्नत थिए । उमेर उस्तै–उस्तै भए पनि । हो रहेछ, म फरक सोच्दो रहेछु । आज तिमीले चाहेको संसारमा बाँचेको त छु । तर, एक्लै । तिम्रा यादले दिएका घाउहरू कोट्याउँदै । रमाइलो लाग्छ, सम्झनाका घाउ कोट्याउन । आफैँलाई पिडा दिन ।

युवतीहरू चाँडै नै वयस्क बन्दा रहेछन्, जीवनका सोचको मामिलामा पुरुषभन्दा निकै छिटो । त्यही भएर होला आफैँलाई आफै अल्लारे लाग्ने उमेरमा तिम्रा गहिरा भावहरू बुझ्न नसकेको । तिम्रा सपनाका पखेँटा बन्न नसकेको । अब त चाहेर पनि बन्न नसक्ने बनियो । न तिमी, नत म नै ।

०००

न्युरोडको त्यो रेस्टुरेन्ट, अहिले त बन्द भइ सकेछ । हाम्रा मन झैँ । त्यहीँ नै त हो, हामीले पहिलो पटक प्रेमको स्वीकार गरेको । एकले अर्कालाई अँगालोमा बाँधेको । एउटाले अर्कालाई आँखामा डुबाउँदा डुबाउँदै मगाएको मम पनि सेलाएको । त्यो दिन मेरा आँखाले खिचेका तिम्रा तस्बिरहरू आज पनि मनका हार्ड डिस्कमा सेभ छन् । तिम्रा मुहारको चमक, तिम्रा काँपेका ओठले छरेका मुस्कान । अनि तिम्रा लजालु ती आँखाहरू । मायामा तिम्रा आँखाबाट झरेका आँसु मैले नै त पुछेको थिएँ । भुल्न सकेको छैन, आज पनि । कहिले काहीँ अनायासै मनका हार्ड डिस्कबाट रिकभर भएर मेरा आँखा अगाडि नाच्न थाल्छन्, तिम्रा त्यही तस्बिरहरू ।

भ्यालेन्टाइनका दिनमा तिमी रातोमा सजिन्थ्यौँ । भन्थ्यौ, ‘म तिम्रा लागि मात्र रातोमा सजिन्छु । नत्र मलाई रातो मन पर्दैन ।‘  

म भन्थेँ, ‘एक पटक मेरो आँखामा हेर त कति सुन्दर देखिएकी छौँ । मेरो आँखाको भाका त बुझेकी नै होला नि ?’

उसको एउटै जवाफ हुन्थ्यो, ‘म जति सुन्दर छु । जति बन्न सक्छु, तिम्रै लागि मात्र सक्छु । त्यसैले तिमीले मलाई सुन्दर देख्ने शृङ्गार अरूको लागि गर्न सक्दिन । मेरो सौन्दर्यको तारिफ तिमी बाहेक अर्कोले गर्न नपरोस् । मेरो रूप तिमी बाहेक अरूले हेर्न नसकोस् । मलाई तिमीले बाहेक अरूले चुम्न नसकोस् । त्यसैले रातो लुगा म तिम्रा लागि मात्र लगाउँछु ।’

अनि खित्का छाड्दै मेरो नाक समात्दै भन्थ्यौँ, ‘मलाई थाहा छ नि ! म कति राम्री छु भन्ने । तिम्रो आँखामा त जुनभन्दा पनि राम्री ! हैन त ?’

म बस्, मुसुक्क हाँसी दिन्थेँ, लाज मान्दै ।

अनि निराश हुँदै भन्थ्यौँ, ‘घरमा बिहेको कुरा चलाउन थालेका छन् । तिम्रा बारेमा भन्न सक्दिन । आखिर के गर्छौ भनूँ । के हो तिम्रो पेसा भनूँ । अल्लारे छ तर, असाध्यै माया गर्छ भन्न मिलेन ।’

मलाई थाहा छ । केही वर्ष, तिमीले मलाई तिम्रा मायाको सागरमा डुबाएकी थियौ । खुसीको सगरमा बहकाएकी थियौ । लाग्थ्यो, म तिमीलाई त्यति नै माया दिन सक्दिन जति तिमीले ममाथि खन्याउँथ्यौ । लाग्थ्यो, तिम्रा ती कोमल हातहरू, रेसमी कपाल, मृगनयनी नयन र ती उन्मुक्त हाँसो मेरा मात्र हुन् । बस् मेरा मात्र । अनि तिम्रो मनमा मेरो बाहेक कसैको राज चल्दैन ।

केही गुनासा, धेरै मायामा हामीले धेरै पटक एकसाथ जिउने–मर्ने कसम पनि खायौँ । मायाका सबै अन्धविश्वास भत्कायौँ । एक अर्का प्रति हाम्रो समर्पण अतुल्य लाग्थ्यो, मलाई । शायद तिमीलाई पनि । अनि तिमी चाहन्थ्यौ, म तत्काल तिम्रा बाउ–आमाको अगाडि लायक बनेर उभिउँ । मेरा बाउ–आमाको परिचय बिना । म जादुगर कहाँ थिए र’ । अनि म हिन्दी चलचित्रको नायक पनि होइन नि । एउटा फिल्म हरेको थिएँ । बीच मै ‘सु’ ले च्याप्यो । ‘सु’ गरेर फर्कँदासम्म त गरिब नायक भव्य धनी बनिसकेको रहेछ । ससुराभन्दा पनि लायक । म कहाँ त्यो रफ्तारमा आफ्नो परिचय बदल्न सक्थेँ र’ ।

मेरो बिन्दास बानी तिम्रो र मेरो प्रेमको सुखद अन्त्यमा बाधा बने झैँ सोच्दो रहेछौ । तर, म तिमीलाई रानी बनाएर राख्छु भनेर भन्ने मौका पनि त दिइनौ नि !  

चाहिँन तिमीलाई भेट्न, दुलहीको पहिरनमा । किनकि तिमीले त्यो दिन लगाएको सारी मेरा लागि थिएन । तिम्रो सिउँदोमा सजिएको सिन्दूर पनि त मेरो थिएन । जे भए पनि अब फेरि मनमा पलाएको छैन । शायद रातै भएर सजिएकी थियौ होली । अप्सराभन्दा राम्री पनि देखिएकी थियौ होली ।

गुनासा बाँकी नै थिए र छन् पनि । तिमीले मलाई पूर्णरुपमा चिन्न सकेनौ । तिम्रा नाममा जति कसम खाएको थिएँ, ती सारा मेरा विश्वास थिए । तिमीलाई सदा सुखी राख्छु भन्ने विश्वास । तर, तिमीले मलाई ठट्टामा लिएकी रहेछौ । मेलै नठाँटी खाएका कसमहरूलाई समेत ।

आखिर तिम्रो नजरमा म माया गर्न हुने तर, जीवन बिताउन नहुने प्रेमीमा दरिएको रहेछु । अनि कसरी भनूँ म, तिमीले मलाई माया गरेकी थियौ भनेर । अहँ कदापि भन्न सक्दिन । बितेका दिनका कुराहरू त सब नाटक रहेछन् । तिम्रा र मेरा मन बहलाउने मात्र । तर, पनि कहिल्यै घृणा गरिन तिमीलाई मैले । नत्र विश्वासका साथ घर परिवारका अगाडि शिर उठाएर भन्ने थियौ, म बाहेक अरू कसैले तिमीलाई सुखी राख्न सक्दैन । हँसाउन सक्दैन । मायामा रुवाउन पनि सक्दैन । 

०००

तस्बिर त त्यो दिनको पनि मनमा लुकाएरै राखेको छु । जहाँ तिमीले आफ्नो बिहेको निम्तो मलाई दिएकी थियौ । हाम्रो प्रेमको सुरुवात जुन रेस्टुरेन्टको जुन टेबलबाट भएको थियो । अन्त्य पनि त्यही नै भयो । जसरी तिम्रा ओठ काँपिरहेका थिए, त्यो प्रेमको स्वीकारोक्तिको दिनभन्दा फरक थियो । तिम्रा आँखाहरू बगी रहेका थिए, बिलकुलै फरक ढङ्गमा । मलाई थाहा थियो, त्यस बेला पनि त्यहाँ मेरा लागि अथाह माया भरिएका थिए । तर, पत्तै पाउन सकिन, मायाका भेलमा घृणाको छाल कसरी निस्कँदो रहेछ भनेर । मानिसको दिमागी चाहनाले भिजेका परेला अनि रोएका मनलाई कसरी बेवास्ता गर्न सक्दो रहेछ । अनि दिमागी असमञ्जस र अविश्वासका अगाडि कसरी प्रेमले घुँडा टेक्दो रहेछ भनेर । अहँ त्यो पनि बुझ्न सकेको छैन आजसम्म ।

चाहिँन तिमीलाई भेट्न, दुलहीको पहिरनमा । किनकि तिमीले त्यो दिन लगाएको सारी मेरा लागि थिएन । तिम्रो सिउँदोमा सजिएको सिन्दूर पनि त मेरो थिएन । रातै भएर सजिएकी थियौ होली । अप्सराभन्दा राम्री पनि देखिएकी थियौ होली । त्यसैले आजकाल चढाउँदिन भगवानलाई पनि रातो गुलाफ । किनकि मेरा वियोगका आँसुले सिँचिएका छन् कि जस्तो लाग्छ, यो संसारका सारा रातो गुलाफ । 

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि