बैशाख १३, २०८१, बिहीबार
               

'ठेस लागे ढुंगा पन्छाउने हो, प्रचण्डले त ढुंगा टिपेर आफ्नै टाउकोमा हान्दै हुनुहुन्छ'

नेपाल फ्ल्यास
फागुन ०१, २०७७

ADVERTISEMENT

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट सुदूरपश्चिमका राजनीतिक हस्ती हुन् । चार दशक लामो समय नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको राजनीतिक साथ र समर्थनको बाटो छोडेर उनी अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको सारथि बनेका छन् । के कारणले प्रचण्डलाई छोड्नु पर्‍यो ? ओली किन प्रिय भए ? मुलुक अब कुन बाटोबाट अघि बढ्छ ? यिनै विषयमा नेपाल फ्ल्यासका लागि अर्जुन खड्काले गरेको वार्ताको सम्पादित अंश :

नेकपाका अध्यक्ष प्रचण्डसँगको लामो समयको साथ छोड्नुभयो । यसमा व्यवहारिक कारण छ कि कि वैचारिक ?

यसको जवाफ जटिल पनि छ । यो प्रश्न सर्वाधिक उठेको र पेचिलो पनि छ मेरा लागि । कारण वैचारिक नै हो । प्रधान भनेको विचार नै हुन्छ । नेतृत्वमा वैचारिक विचलन आएपछि यस्तो गर्नुपर्दो रहेछ । यस्तो बेलामा सही र गलत विवेकसम्मत किसिमले छुट्याउनुपर्छ । हामीले जनताको जनवाद स्विकारेको हो । समाजवाद हाम्रो रणनीति हो । पुँजीवादलाई व्यवस्थित गर्दै समाजवादोन्मुख हुने नै हो । त्यसमा कुनै भिन्न मत छैन । संगठनात्मक सिद्धान्तमा भिन्न मत थियो भने भन्नुपर्ने थियो त्यो पनि छैन । फेरि लिखित र अलिखित सहमतिको कुरा पनि आयो । हामीसँग प्रचण्डले कुनै पनि विचार र मुद्दामा मतभेद भए छलफल र बहसबाटै टुङ्ग्याउने सहमति भएको छ भन्नुभएको थियो । पहिलो महाधिवेशन एकताको हुने भनिएको थियो । पहिलोमा चाहिँ सहमतिबाटै नीति र नेतृत्व टुङ्ग्याउने भनिएको थियो । जस्तो जनताको बहुदलीय जनवादको कुरा उठ्यो । २१औँ शताब्दीको विचार उठ्यो भने सहमतिबाटै टुङ्ग्याउने भनिएको थियो । विचार होस् वा नेतृत्व विचारबाटै टुंगो लगाउने सहमति भएको थियो । अहिले अपमानित गरे । मेरा कुरा सुनिएन । ह्युमिलेसन गरियो भन्ने पनि सुनियो । यो वैचारिक प्रश्न होइन । 

केपी ओली प्रधानमन्त्री भएपछि उहाँ राष्ट्रियताको पक्षमा दह्रो ढंगले उभिनुभयो । उहाँ लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषयमा दह्रोसँग उभिएको पाएँ ।

वैचारिक प्रश्न के हो भने एकता, संघर्ष र रूपान्तरणको विधि हो । तर, यहाँ एकता, संघर्ष र फुट भयो । फुटमा जानु हुँदैन भन्ने मेरो मत थियो । रूपान्तरणको सट्टा फुट भयो । मैले फुटमा जानु हुन्न भनेर भनेको हो । विधि र प्रक्रियामै जानुपर्छ भनेको थिएँ । त्यसैमा मतभेद भएको हो । 

राजनीति त जनताका लागि हो । देशका लागि हो । ओली र प्रचण्डबीच देश र जनताका सवालमा के फरक छ र ?

मैले फरक महसुस गरेँ । केपी ओली प्रधानमन्त्री भएपछि उहाँ राष्ट्रियताको पक्षमा दह्रो ढंगले उभिनुभयो । उहाँ लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषयमा दह्रोसँग उभिएको पाएँ । म त्यही क्षेत्रको मानिस हो । लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषयमा हामीले लामो समय सडकमा नारा लगायौँ । सायद माधव नेपाल प्रधानमन्त्री भएको बेला सीमामा हामीले संघर्षको कार्यक्रम पनि राखेका थियौँ । अध्यक्ष प्रचण्ड र म टनकपुरको ब्रादेवमा पुगेका थियौँ । हामीले कार्यक्रम गरेपछि पारिपट्टिबाट स्थानीय जनतालाई दुख दिने काम पनि भयो । मैले के भने भने हामी शान्ति प्रकियामा आइसक्यौँ । सत्तामा गइसक्यौँ । अहिले सदनमा छौँ ।  अब हामी सडकमा जाने होइन कि वार्तामै बस्नुपर्छ । डिप्लोमेटिक रूपमा राजनीतिक छलफलबाटै समस्याको समाधान गर्नुपर्छ । छलफलबाटै भारतसँगका समस्या हल गर्नु पर्छ भनेर मैले भनेँ । तर, उहाँ प्रधानमन्त्री भइसकेपछि यी विषयमा कहीँ कतै उच्चारणसमेत गर्नुभएन । 

तपाईँले नि ?

मैले बारम्बार ध्यानाकर्षण गराएँ । प्रधानमन्त्रीको भारत भ्रमणको बेलामा मैले भनेको छु । समय समयमा विभिन्न प्रधानमन्त्रीको भारत भ्रमणको बेलामा कुरा उठाएको छु । मैले नाकाको बारेमा र सीमाको बारेमा जहिले पनि भनेको छु । यतिसम्म कि मैले शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा पनि गौरीफन्टा नाका र सीमाका समस्या उठाउनुपर्छ भनेको थिएँ । 

पछिल्लो समयमा प्रधानमन्त्री ओलीले अध्ययन गराउनुभयो, प्रमाण जुटाउनुभयो र डिप्लोम्याटिक नोट पठाउनुभयो । र, नक्सा प्रकाशित भयो । कालापानीमा भारतीय गतिविधिविरुद्ध डिप्लोम्याटिक नोट गयो । नक्सा आइसकेपछि सदनमा एकमतले राष्ट्रिय एकता प्रदर्शित भयो । मैले दुई नेताबीच राष्ट्रियताको सवालमा निकै अन्तर देखेँ ।

सरकारको नीति तथा कार्यक्रममा पनि नेकपा सचिवालयमा प्रचण्ड र माधव नेपालहरूले भनेर थपिएको विषय हो नि ?

झुटको कुनै सिङ हुँदैन । यो दाबी सरासर गलत हो । सुदूरपश्चिममा सशस्त्र प्रहरीको तत्कालीन डिआइजी राजेश श्रेष्ठ हुनुहुन्थ्यो । उहाँ र मैले छलफल गरेर टिंकर, छाँगु र धुलीमा सशस्त्रको पोस्ट बनाउनुपर्छ भनेका थियौँ । प्रचण्ड प्रधानमन्त्री भएको बेला उहाँ धनगढी जानुभएको थियो । मैले साथी होटेलमा उहाँसँग बसेर कुराकानी गरेँ । त्यहाँ सुरक्षा पोस्ट बढाउनुपर्‍यो । फोर्स राख्नुपर्‍यो । सुविधा दिनुपर्‍यो भनेको थिएँ । तर, त्यसलाई उहाँले कहिल्यै वास्ता गर्नुभएन ।

स्वयं प्रधानमन्त्रीको पूर्वीय दर्शनमा अलि दखल देखिन्छ । त्यो दखलचाहिँ पूर्ण हो कि होइन भन्ने सवाल पनि होला । कुनै पनि ज्ञान पूर्ण त हुँदै हुँदैन ।

अहिले उहाँहरू सचिवालयले निर्देशन दिएको भनिरहनुभएको छ । हिजो पनि थियो नि सचिवालय । उहाँ प्रधानमन्त्री हुनुभएकै थियो । त्यतिखेर किन भएन ? किन सचिवालयले निर्देशन दिएन । प्रश्न त त्यहाँ आउँछ । यी सब बनावटी कुरा हुन् । 

प्रधानमन्त्री पूर्वीय दर्शन र हिन्दूत्वतर्फ बढी आकर्षित देखिनुभएको छ । अहिले प्रचण्ड र माधव नेपाल समूहबाट त्यसको सर्वाधिक विरोध भइरहेको छ । तपाईँहरूबीच धर्मनिरपेक्षको सवालमा मतभेद हो ?

८१ प्रतिशतभन्दा बढी नेपाली हिन्दू धर्ममा आस्था राख्छन् । हामीले संविधान बनाउँदा धर्मनिरपेक्ष राज्यको रूपमा लिएका छौँ । प्रधानमन्त्री पशुपतिनाथमा कुन सन्दर्भमा र किन जानुभयो, त्यो उहाँले नै जवाफ दिने कुरा हो । यसलाई धेरै ठूलो बनाउनुपर्छ जस्तो मलाई लाग्दैन । पूर्वीय दर्शनभित्र विज्ञान छैन भन्ने होइन । त्यसको अध्ययन हामीले कति गर्‍यौँ, कति गरेनौँ । स्वयं प्रधानमन्त्रीको पूर्वीय दर्शनमा अलि दखल देखिन्छ । त्यो दखलचाहिँ पूर्ण हो कि होइन भन्ने सवाल पनि होला । कुनै पनि ज्ञान पूर्ण त हुँदै हुँदैन । सँगसँगै पश्चिमा दर्शन र मार्क्सवादी दर्शनलाई पनि हाम्रा लिडरहरूले कसले कति अध्ययन गरे र कति गहिराइसँग गरेका छन् भन्ने सवाल पनि उठ्छ । अनि त्यसलाई नेपालको मौलिकता र सापेक्षतामा कसरी लागू गरियो भन्ने प्रश्न महत्त्वपूर्ण हुन्छ । 

पशुपतिमा पूजाआजा गरेको विषयमा उहाँहरूको भाषण मैले पनि सुनेँ । उहाँहरूले जे–जस्तो प्रकारको भाषाशैली प्रयोग गर्नुभएको छ, त्यो नेपाली संस्कारभित्र पर्छ कि पर्दैन ? त्यो स्तरका नेताहरूले जुन भाषाशैली प्रयोग गर्नुभयो त्यो पाच्य भएजस्तो मलाई लाग्दैन ।

हामीलाई जनताले बोलाउँछन् । उद्घाटन हुन्छ । शिलान्यास गरिन्छ । त्यहाँ जाँदा पण्डितले अक्षता हालिदिनुपर्‍यो भन्छन् । हामी त्यसै अनुसार गर्छौँ । त्यहाँ त जनभावना छ नि ! जनताको आस्था छ त्यसमा ।

हाम्रो संविधानमा धर्मनिरपेक्ष राष्ट्र भनिएको छ । अब त्यसबारे पुनर्विचार हुन लागेको अवस्था हो ?

त्यो विषयमा रिथिंकिङ हुन्छ कि हुँदैन, त्यो अलग विषय भयो । तर, बहस नै हुँदैन भन्ने त होइन नि । जनताको भावना हुन्छ । जनताले आफूलाई लागेको कुरा अभिव्यक्त गर्छ । त्यो गर्दैमा धर्मनिरपेक्ष राज्य हटाउनै लाग्यो भन्ने पनि हुँदैन । कुनै पनि चिज पूर्ण त हुँदैन नि ! भोलि संविधानकै बारेमा कैयौँ कुरा बढी होलान् । कतिपय छुटेका होलान् । संविधान अपरिवर्तनीय दस्ताबेज होइन । आवश्यकताअनुसार संशोधन होला । कतिपय बुँदा खारेज गर्नुपर्ला । यो क्रम विश्वका संविधानहरूमा हुँदै आएको पनि छ । हामीले पनि २०४७ सालको संविधान पूरै फाल्यौँ । त्यसपछि अन्तरिम संविधान बनायौँ । अन्तरिम संविधानका कतिपय राम्रा पक्षलाई लियौँ र केही कुरा छाड्यौँ । यसमा पनि मौलिक अधिकार हामीले धेरै राख्यौँ । तर, नागरिकले गर्ने कर्तव्यहरू त हामीले राखेका छैनौँ नि त । त्यो विषयको कमी अहिले सबैलाई महसुस भइरहेको होला । त्यसैले, बहसै हुनुहुन्न भन्नु गलत हो ।

प्रधानमन्त्री पशुपति गएकोमा विरोध गरिएको छ । हाम्रा अरू नेताले पनि कुनै काम वा आयोजनाको शिलान्यास वा उद्घाटन गर्दा पूजाआजा गरेको देखिन्छ नि ! कैयौँ नेताहरू पैसा राखेर, दाम राखेर ढोगेको पनि फोटोमा देखिन्छ । भैँसी पूजा भएको भन्ने पनि सुन्नमा आएको हो । हो वा होइन सत्य मलाई त थाहा छैन । 

हामीलाई जनताले बोलाउँछन् । उद्घाटन हुन्छ । शिलान्यास गरिन्छ । त्यहाँ जाँदा पण्डितले अक्षता हालिदिनुपर्‍यो भन्छन् । हामी त्यसै अनुसार गर्छौँ । त्यहाँ त जनभावना छ नि ! जनताको आस्था छ त्यसमा । आफू मान्ने नमान्ने आफूभित्रको कुरा हो । तर, हामी जनप्रतिनिधि भइसकेपछि, जनताको नेतृत्व गरिसकेपछि त्यहाँको जनताले भनेका कुरा मानेका छौँ । गरेका छौँ हामीले । त्यस्ता कुरालाई नकारात्मक रूपले प्रस्तुत गर्ने भए त सबैका प्रस्तुत गर्न सक्छौँ । एकअर्कामा नकारात्मक रूपमा प्रस्तुत हुन सक्छौँ । हामी त्यसरी जान हुन्न । हाम्रो वैचारिक मतभेद के हो । त्यो सभ्य र राजनीतिक भाषामा वैचारिक रूपमा आउनुपर्ने थियो । त्यस्तो भइरहेको छैन । विशेषगरी, वाम राजनीतिभित्र त एकदमै निकृष्ट शब्दहरूको प्रयोग भइरहेका छन् । 

म फेरि पनि अध्यक्ष कमरेड प्रचण्डलाई फेरि विनम्रतासाथ भन्न चाहन्छु- मानवीय संवेदना हेरेर बोल्नुस् । यसबाट तपाईँको कद बढेको छैन । बरु घटेको छ ।

तपाईँ स्वयंमाथि प्रचण्डबाट त्यस्ता शब्दमा आलोचना भएको छ नि ?

जसले जे संस्कार पायो, त्यही अभिव्यक्त गर्ने हो । मैले पारिवारिक संस्कार जे पाए त्यही अभिव्यक्त गर्छु । मेरो बुबाबाट पाएको संस्कार मैले देखाएको हुँ । म जुन स्कुलमा पढेँ, जस्तो शिक्षा लिएँ, मेरो जीवन र आचरणमा त्यही झल्कने हो । हाम्रो शिक्षा र संस्कारले के भन्छ भने जोसँग जे छ, उसले त्यही दिन्छ । प्रचण्डसँग जे थियो, धनगढीमा त्यही बोल्नुभयो । उहाँको सन्तान भयो भनेर कसैले केही भनेको छैन । केपी कमरेडले भन्नुभयो- प्रचण्डले परिवारलाई मात्र हेर्नुभयो । नातागोतालाई मात्रै हेर्नुभयो । हिजो जसलाई लडाउनुभयो  जनयुद्धका घाइते अपाङ्गता भएका व्यक्ति तथा शहीद परिवारलाई उहाँले बेवास्ता गर्नुभयो । हिजो मृत्यु वा मुक्ति भनिएको थियो । प्रचण्डले तिनीहरूलाई भुल्नुभयो भनेर केपीले भन्नुभएको हो । तर, प्रचण्डले जवाफमा 'के मेरा छोराछोरी हुनु मेरो दोष हो । के केपी ओलीका छोराछोरी नहुनु मेरो दोष हो ?' भनेर भन्नुभयो । त्यो अमानवीय भाषा बोल्नुभयो । त्यहाँ मानवीय पक्ष देखिएन । नि:सन्तान हुने लाखौँ लाख मानिस छन् विश्वमा । कसैको फिजिकल कारण होला । कसैको परिस्थितिले होला र कसैको सन्तानको इच्छा भएन होला । यी शब्द बोल्दा उहाँले ख्याल गर्नुपर्ने थियो । तर, उहाँसँग त्यो संस्कार भएन । त्यो संस्कृति भएन । उहाँभित्र जे थियो त्यही बोल्नुभएको छ । म फेरि पनि अध्यक्ष कमरेड प्रचण्डलाई फेरि विनम्रतासाथ भन्न चाहन्छु- मानवीय संवेदना हेरेर बोल्नुस् । यसबाट तपाईँको कद बढेको छैन । बरु घटेको छ ।

प्रतिनिधिसभा विघटनले परिवर्तनका एजेन्डा जोखिममा त परेका हुन् नि ?

अहिले जुन प्रतिगमन भनेर भनिँदै छ त्यो गलत हो । हाम्रो पार्टीभित्रबाट प्रतिपक्ष जन्मियो । दलभित्रबाट आफ्नै नेतृत्व र आफ्नै सरकारविरुद्ध अविश्वासको प्रस्ताव तयार गरेर जालझेल र षड्यन्त्र भइरहेको थियो । त्यसविरुद्ध अरू उपाय नभएपछि फेरि जनादेश लिन्छु भनेर प्रतिनिधिसभा विघटन गरिएको हो । जनताबीच जान्छु भन्नु कुन नराम्रो बाटो हो । उहाँहरूले पनि जनअदालतभन्दा ठूलो केही छैन भन्नुभएको छ । त्यसो भए जनादेश लिन्छु भनेको जनताकोमा जानकै लागि हो नि ! त्यसलाई प्रतिगमन देख्नु भनेको त आफूले गरेको ठीक भन्नु र अरूले गरेको चाहिँ बेठीक भन्नु हो ।

कमरेड प्रचण्डलाई प्रधानमन्त्री भएको र हामीले त्यही जालझेल गरेर सरकारविरुद्ध अविश्वासको प्रस्तावमा गएको भए उहाँसँग विकल्प के हुन्थ्यो । कि त राजीनामा वा प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जानुपर्ने थियो । ल त्यो दुई अवस्थामा फरक नै मानौँ । उहाँ किन पार्टी छोडेर जानुभयो त ? यहीँभित्र लडाइ गर्नुपर्थ्यो । म थाकेको छैन पनि भन्ने ? उहाँ थाकेर सडकमा जानुभएको हो । यहीँभित्र संघर्ष गरेर जानुपर्ने थियो । मार्क्सवादी कम्युनिस्टहरूको लेनिनवादी संगठन सिद्धान्तअनुसार एकता, संघर्ष र रूपान्तरणको विधिबाट जानुपर्ने थियो । जनवादी केन्द्रीयतालाई पक्रनुपर्ने थियो ।

प्रचण्डलाई हुर्काउने त उहाँ हो नि ? मोहन वैद्य किन उहाँसँग हुनुहुन्न ? किन निर्मल लामा हिजो हुनुहुन्नथ्यो ? प्रचण्डलाई हुर्काउने उहाँहरू पनि हो । 

आफूले गरेको ठीक, अरूले गरेको बेठीक भन्ने हुँदैन । प्रतिगमन साँच्चिकै भए त हामी त उहाँसँगै हुने थियौँ र हुन्छौँ पनि । तर, उहाँको नेचर के हो भने निर्माणभन्दा ध्वंश हो । उहाँले गणतन्त्र स्थापना र सामन्तवादको अन्त्यको लागि जनयुद्धको नेतृत्व गर्नुभयो । हामी फिल्डमा कार्यान्वयनमा लाग्यौँ । लड्यौँ । जनआन्दोलन र जनयुद्धलगायतबाट हिजोको सामन्तवादको अन्त्य भयो । गणतन्त्र स्थापित भयो । अब यो घर राम्रो बनाउने र साजसज्जा गर्ने बेलामा फेरि फुटमा रमाउनुभयो । भत्काउन रमाउनुभयो । यो उहाँको नेचरभित्र पर्छ । निर्माण होइन ध्वंश । उहाँले जे निर्माण गर्नुहुन्छ । फेरि भत्काइहाल्नुहुन्छ । उहाँले भन्ने पनि गर्नु हुन्छ – ‘म त एउटा बनाउँछु, अनि फेरि भत्काउँछु ।’

म पनि उहाँसँग ४० वर्ष सँगसँगै हिँडेको छु । सहयोद्धा नै हो । उहाँले हुर्काए, बढाए भन्नु भएको छ । हुर्काएको र बढाएकोमा म धन्यवाद नै दिन्छु । म केही नबुझेको थिए । फुटपाथबाट उहाँले उठाउनुभयो । पढाउनुभयो । राजनीतिमा ल्याउनुभयो । मन्त्री बनाउनुभयो । यसप्रति म आभार व्यक्त गर्दछु । तर, उहाँले जो जसलाई हुर्काउनुभयो । ती मानिस उहाँसँग छन् कि छैनन् ? जसले कमरेड प्रचण्डलाई हुर्काउनुभयो । उहाँहरूलाई चाहिँ कमरेड प्रचण्डले कति सम्मान गर्नुभयो । त्यो त उहाँले भन्नु भएको छैन नि ! मलाई पनि फलानोले हुर्काएको हो है । यो कारणले उहाँ मसँग हुनुहुन्न भन्नुपर्‍यो । मोहनविक्रम सिंह किन उहाँसँग हुनुहुन्न ? प्रचण्डलाई हुर्काउने त उहाँ हो नि ? मोहन वैद्य किन उहाँसँग हुनुहुन्न ? किन निर्मल लामा हिजो हुनुहुन्नथ्यो ? प्रचण्डलाई हुर्काउने उहाँहरू पनि हो । 

बाटोमा हिँड्दा ठेस लाग्दा आफूले हिँड्दा विचार पुर्‍याइन कि भनेर पनि सोच्नुपर्छ भन्न खोज्नुभएको हो ?

बाटोमा ठेस लाग्दा ढुंग पन्छाउने हो । आफू र अरूलाई पनि सुरक्षित बनाउने हो । अरूलाई बचाउन ढुंगा पन्छाउनु त स्वाभाविक नै हुन्छ । तर, उहाँले त ढुंगो उचालेर आफ्नै टाउकोमा हान्दै हुनुहुन्छ । यसबाट त प्रचण्ड आफैँ सिद्धिँदै हुनुहुन्छ । 

अब के होला ?

उहाँहरू बोलिरहनुभएको छ । अदालतको स्वतन्त्रताको कुरा गर्नुहुन्छ । स्वतन्त्र न्यायपालिकाको कुरा वकालत गर्नुहुन्छ । तर, न्यायपालिकाले हाम्रो पक्षमा फैसला गर्छ भन्दै हुनुहुन्छ । तर, पुनर्स्थापना भएन भने अदालतबाट थुतिन्छ । सडकमा ल्याइन्छ । जनअदालतभन्दा ठूलो केही छैन भन्नुहुन्छ । अनि कसरी न्यायालयलाई उहाँहरूले स्वतन्त्र छोड्नुहुन्न ? सडकबाट किन आतंकित बनाउनु हुन्छ न्यायाधीशहरूलाई ? अदालतप्रति विश्वास छ भन्ने एक शब्द बोल्नुहुन्न । न्यायाधीशहरूलाई विश्वास गर्नुपर्‍यो । आफ्नो पक्षमा फैसला आएमा मान्ने र विपक्षमा आयो भने मान्दिन भन्ने ? अनि हामीले सरकारले गरेको कदम वैधानिक छ, क्षेत्राधिकारभित्र छ भन्दा अदालतलाई दबाब दिइयो भनेर डङ्का पिट्ने ? निर्वाचन आयोगलाई दबाब दिइयो भन्दै हुनुहुन्छ । उहाँहरू आफैँ निर्वाचन आयोगलाई धम्क्याउँदै हुनुहुन्छ । यो दोहोरो चरित्र किन ? 

संविधानमा विघटनको अधिकार त देखिँदैन नि । अन्योल र अस्पष्ट भएर यस्तो विवाद आएको हो ?

कैयौँ चिज संविधानमा अपूर्ण हुन सक्छन् । पूर्ण संविधान केही पनि हुँदैन । कमीकमजोरी पनि भएको हुन सक्छ । त्यसको व्याख्या गर्ने क्षेत्राधिकार सर्वोच्च अदालतलाई हुन्छ । हरेक देशको अभ्यास यही हो । अनि नजिरहरू हुन्छन् । संसदीय व्यवस्थाका परम्परा हुन्छन् । विश्वका परम्परा पनि हेरिन्छ । ती सबै आधारमा सर्वोच्चले कुन व्याख्या गर्छ ? त्यो त हेर्नु पर्‍यो नि ! कुर्नु पर्‍यो नि ! मलाई विश्वास छ मुलुक निर्वाचनमा होमिने नै हो । अहिले अरू सोचेको छैन ।

पहिलो चरणको चुनावको मिति वैशाख १७ तोकिएको छ । समय त निकै कम छ नि । सार्ने हो ?

होइन । त्यस्तो सोचेको छैन । निर्वाचन दुई चरणमा हुँदै छ । एकै चरणमा भएको भए कठिन हुने थियो । अहिले नेपालमै अत्याधुनिक छापाखानाहरू छन् । जसले एकै रातमा लाखौँ मतपत्र छाप्न सक्छन् । स्रोत साधन पनि छ । मतपत्र र कर्मचारी दुई घण्टामै मतदान केन्द्रमा पुर्‍याउन सकिन्छ । त्यसैले, अप्ठेरो हुन्छ जस्तो लाग्दैन ।

प्रतिनिधिसभा पुनर्स्थापना भएमा तपाईँहरूको बाटो के हुन्छ ?

मैले त्यो अवस्थाबारे सोचेको छैन । जुनसुकै अवस्थामा पनि प्रधानमन्त्री केपी ओली र हामी राजनीतिक आधारमा कमजोर छैनौँ । सुदूरपश्चिममै धनगढीमा हामीले कार्यक्रम गर्‍यौँ । त्यहाँ दुईदेखि अढाई लाखसम्म मानिस भेला भए । उहाँहरूले पश्चिमका सबै जिल्लाबाट मानिस भेला गर्दा पनि खासै उपस्थिति देखिएन । बाँके, बर्दिया र सुर्खेतदेखि पनि मानिस उहाँहरूले ओसार्नुभएको थियो । हामीले आह्वान गर्दा मात्रै कैलाली र कञ्चनपुरकै जनता उर्लिए । जनतालाई हामीप्रति विश्वास छ । त्यहाँका जनताले मलाई नेतृत्वको रूपमा मानेका छन् । सुदूरपश्चिमको मानिसहरुले उहाँहरूलाई रुचाएका र पचाएका छैनन् । देशैभर सांगठनिक रूपमा हाम्रो अवस्था सुदृढ छ । 

माओवादीभित्र तपाईँ जातीय राज्यको विपक्षमा उभिनुभएको थियो । किन पार्टीभित्र फरकमत राख्नु भएको थियो ?

२०५८ सालमा रोल्पामा संयुक्त क्रान्तिकारी जनपरिषद्को राष्ट्रिय भेला भएको थियो । त्यहाँ जातीय राज्यको कुरा आएको थियो । मैले उठेर भने यसले भोलि देशलाई समस्यामा पार्छ । अध्ययन नगरी यो मुद्दा लिनु हुन्न भनेर मैले आफ्नो धारणा राखेँ । नेपाल रुस होइन । हामी वर्गीय कि जातीय राजनीति गर्ने भनेर प्रश्न उठाए । हरेक जातीय उत्पीडनको अन्त्य त हामीले सिकेका र पढेका हाैंँ । मार्क्सवादले के भन्छ भने वर्गीय उत्पीडनसँग जातीय उत्पीडनको अन्त्य हुन्छ । मैले सैद्धान्तिक र वैचारिक कोणबाट बोलेको हो । पछि व्यवहारिक कोणबाट 'नोट अफ डिसेन्ट' पनि लेखेँ । २०६८ सालसम्म म अन्तरपार्टी संघर्षमा लागिरहेँ । मलाई लखेट्ने काम पनि भयो । जातीय विरोधी, थारु विरोधी र संघीयता विरोधी भन्ने आरोप पनि लागिरह्यो । तर, म निरन्तर संघर्ष गर्दै गए । आज सत्य प्रमाणित भएको छ । देश जातीय रूपले समस्यामा छ । धार्मिक होस् वा क्षेत्रीय होस् वा जातीय होस्, यस्ता साम्प्रदायिक भावनाले कुनै पनि मुलुकले प्रगति गरेको देखिँदैन । जातीय र साम्प्रदायिकता लाखौँ लाख मानिस मरेको देखेका छौँ । अफ्रिकन मुलुक हेरेका छौँ । युगोस्लाभिया विघटन नै भयो । रुसमा अहिले पनि त्यहाँ जातीय संघर्षहरू छन् । नेपालजस्तो मुलुक जहाँ अन्तरघुलित समाज छ । एकअर्काको भाषा संस्कृतिको सम्मान गरेको छ । अहिले त अन्तर्जातीय सम्बन्धहरू भइरहेका छन् । यस्तो मुलुकमा फेरि यो जात र त्यो जात भन्ने ? यो उत्पीडन र त्यो उत्पीडन भन्ने ? मार्क्सवादमा हामीले बुझेको के हो भने वर्गीय उत्पीडनको अन्त्य हुनासाथ सबै उत्पीडनको अन्त्य हुनेछ । र, मैले लिएको लाइन अहिले त्यो सत्य साबित भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि