चैत १५, २०८०, बिहीबार
               

जुँगै नभएका किम र फेरि जुँगा कालो बन्न थालेका ओली त उस्तै उस्तै पो देखिए

चेतन पाण्डे
माघ २८, २०७७

ADVERTISEMENT

शुक्रवारको दिन । दरबारमार्ग र ठमेल क्षेत्र त्यसै पनि रङ्गिन बन्छ । गएको शुक्रवार त झनै रङ्गिन बन्यो । रातको सट्टा दिन मै । त्यो पनि लाल रङले ।

मौसमको मिजास पनि रङ्गिन नै थियो । सिरी री री... चिसो हावा बग्दै थियो । बेला बेला माघको चिसो गुथेर बर्सिने वर्षाले पनि माहौललाई थप तरङ्गित बनाउँदै थियो । मलाई, लाग्यो मौसमले वास्तव मै च्यालेञ्ज गरिरहेको छ । घाम झुल्किनु पर्ने दिउँसोको समयमा बढेको चिसो मौसमको बेवास्ता गर्दै नेकपाको सत्तासीन खेमाले शक्ति प्रदर्शन गर्दै थियो । राज्य शक्तिको आडमा, भरोसामा । त्यो पनि नारायणहिटी दरबारको मूल गेट अगाडि । शायद नेपालको इतिहास मै पहिलो पटक त्यो स्थानमा आमसभा गरिएको थियो होला । राजाले पनि नगरेको काम केपी ओली सरकारले गरेर देखाइ दियो । भन्छन् नि, बाँच्नु मात्र पर्छ के के देख्न पाइन्छ के के !

जे भए पनि आमसभालाई राज्य संयन्त्रको भरपुर सहयोग थियो । सडक बिचको डिभाइडर हटाउनेदेखि यातायात आवागमनलाई अस्तव्यस्त बनाउनेसम्म । मनमा लागिहाल्यो, के विपक्षीले त्यही ठाउँमा आमसभा गर्न चाहेको भए राज्य उदार बन्न सक्थ्यो होला ?

दरबारमार्ग र ठमेलमा शुक्रवार मनाउने सोचमा रहेका कतिलाई त आमसभा हुँदै गर्दा प्रचण्ड-नेपाल खेमालाई झैँ बेस्सरी रिस उठ्नु पनि स्वाभाविकै थियो । “खाइ न पाइ छालाको टोपी लाइ” भने झैँ । मान्छेको मुड के छ, बुझ्नु छैन । चाहना के छ थाहा छैन । भ्यालेन्टाइनको मौसम अनि त्यसमाथि शुक्रवारको दिन, ब्वाइफ्रेन्ड र गर्लफ्रेन्ड हातमा हात घुसारेर हिँड्ने सडक धेरै पछि राजनीतिको रङ्गमा पोतिएको थियो । मायाका कोमल भावमा हराउने शहर राजनीतिको रापले तातेको थियो ।

भ्रम पलाएको थियो, यो देशमा अब कहिल्यै विराेधका स्वर सुन्नु पर्दैन, मुर्दाबादका नारा लाग्दैन । भ्रम आखिर भ्रम नै हुँदो रहेछ । कहिल्यै नतोडिने ।

जे भए पनि आमसभालाई राज्य संयन्त्रको भरपुर सहयोग थियो । सडक बिचको डिभाइडर हटाउनेदेखि यातायात आवागमनलाई अस्तव्यस्त बनाउनेसम्म । मनमा लागिहाल्यो, के विपक्षीले त्यही ठाउँमा आमसभा गर्न चाहेको भए राज्य उदार बन्न सक्थ्यो होला ? अझ दरबारमार्गका हरेक खम्बामा झुन्डिएका प्रधानमन्त्री केपी शर्मा ओलीका तस्बिर देख्दा त किन हो किन मैले प्रत्यक्ष देख्न नपाएको उत्तर कोरिया पो आँखामा नाच्न थाल्यो । अनि त्यहाँको शासक र शासन व्यवस्था पनि ।

सुनेको थिएँ, तानासाहलाई चाकडी निकै मन पर्छ । लाग्थ्यो, हाम्रा प्रधानमन्त्री खरो छन्, चाकडी मन पराउँदैनन् । तानासाह बन्न सक्दैनन् । पछिल्ला केही महिनादेखि ओलीको ओठबाट निस्कने बोली र उनका आसेपासेका शब्दका जालझेल देख्दा पक्का भइयो उनी चाकडी र चाप्लुसीमा निकै रमाउँदा रहेछन् ।

त्यो शुक्रवार । आमसभा सञ्चालकले ओलीलाई राष्ट्र नायकको उपाधि दिए, राज नेताको उपाधि दिए । धेरैको बोल्ने अधिकार खोसिएको बेला उनले बोल्ने अधिकारको राम्रै प्रयोग गरे । हामीले मान्ने कि नमान्ने भन्ने अधिकार आफैँमा निहित छ नै । त्यसैले त्यसमा धेरै दिमाग खपाइएन । तिमीहरू नै मान्दै गर भनियो, बसियो ।

त्यो दिन जब नेपालका प्रधानमन्त्री मञ्चमा आए मलाई उनी उत्तर कोरियाली शासक किम जोङ उनको छाया हो कि झैँ लाग्यो । हाम्रा प्रधानमन्त्रीले लगाएका सन ग्लासको आकार किमले प्राय लगाउने सन ग्लाससँग निकै मेल खान्थ्यो । लाग्यो, कतै हाम्रा प्रधानमन्त्री ती उत्तर कोरियाली शासकसँग प्रभावित भइसकेका त हैनन् ? उनको मनमा पनि किम झैँ शक्तिशाली बन्ने रहर त पलाएको छैन ? पछिल्ला समय उनको काम र हरकत हेर्दा यो विचार गलत ठहर हुन नसक्ला कि भन्ने पनि लाग्यो । त्यसमाथि किम जोङ र हाम्रा प्रधानमन्त्रीका गालाका गोलाइमा समेत समानता देखिन थालिसकेछ । दुवैको मुस्कानमा एउटै भाव तैरिन्छ कि जस्तो पो लाग्यो, मलाई त । दुवै जना भर्खरै निकै ठुलो रोगबाट तङ्ग्रिएका छन् । अहिले मरिँदैन भन्ने विश्वास बढेको छ । बाँचेर फर्कँदा कति आत्मबल बढ्छ भन्ने राम्रो ज्ञान छ मसँग । किनकि मैले पनि मृत्युलाई नजिकबाट देखेको छु । त्यसमाथि नियमित सेवन गर्नु पर्ने केही औषधीले मानिसलाई कतिसम्म हान्ने गोरु झैँ बनाउँछ भन्ने पनि राम्रै अनुभव छ । किनकि बेला बेला म पनि निकै सन्की बन्छु नि । कहिले काहीँ बोली पनि छुच्चो बनि दिन्छ नै, हाम्रै प्रधानमन्त्रीको जस्तो । तर, जे भने पनि जुँगै नभएका किम र रोगबाट तंग्रिएर जुँगा कालो बन्न थालेका ओली त एउटै जस्तै पो देखिए बा ! राजनीतिक सोचमा, व्यवहारमा अनि विरोधिलाई लखेट्ने शैलीमा ।

त्यसमाथि चिसोले आँखाबाट आँसु झर्दा उर्लिएको जनसागर देखेर प्रधानमन्त्री भावुक बने भन्नेसम्म शब्द सामाजिक सञ्जालमा छर्न सक्ने चाकरीबाजको माझमा बस्नेलाई यो देशको सर्वशक्तिमान नेता बनूँ बनूँ झैँ किन नलाग्ला र ? अनि ‌ओलीले बुनेका समृद्धिका सपना झैँ सपना देख्न सक्ने नेता समेत यो मुलुकमा छैनन् । ‌ओली भनेका नेताका पनि नेता अर्थात् राज नेता हुन् भनेर ठोकुवा गर्ने चाकरीबाजको भीडको माझमा बस्दा बुढेसकालमा कालो बनेको कसको जुँगाले ताउ नखाला र ?  दिनदिनै झुटै सही प्रशंसाका खातको सिरानीमा निदाउने बानी पारिदिँदा आफूलाई झन् कति शक्तिशाली ठानी रहेका होलान् उनले ? अनि लाग्छ, अहिले ट्रेलर मात्र त चलिरहेको छ, सिनेमा सुरु हुन त बाँकी नै छ । सोच्दा पनि ओठ मुस्कुराउँछ मात्र । किनकि जङ्गबहादुरको उदय नै यस्ता कारणले हुने गर्छ ।

असल शासक विकासका नारा दिन्छन् अनि विकासका काम पनि गर्छन् । तानासाह विकासका नारा त दिन्छन् तर, काम गर्दैनन् । त्यही दिन हाम्रा प्रधानमन्त्रीले नारायणहिटी दरबार अगाडि बनाइएको विशाल मञ्चमा उभिएर आफूले गरेका विकासका कामको हिसाब किताब सुनाए । जसमा भारतमा अङ्ग्रेजले शासन गर्दा नै नेपाल भित्रिसकेको रेलमार्गको मात्र पुनर्निर्माण गरेर पनि रेलको इन्जिन गुडाउन नसकेको कुरालाई समेत नाक फुलाएर उपलब्धिमा गणना गरियो । आफैँले नेपालमा रेल सेवाको सुरुवात गरे झैँ भाषण पो ठोकियो । अनि सुनाइयो आफ्नै बन्दरगाह किनिएको कथा अनि फेरी एक पटक अल्झाए मुलुकका विभिन्न भागमा रेल चढेर घुमेको सपनामा । अनि पानी जहाजको किस्सा पनि । पछिल्लो चुनावी आमसभाको झझल्को दिने गरी । लाग्यो, अब केही महिना वा वर्ष यसरी नै बाँडिने छन्, आश्वासनका पुलिन्दा । आश्वासनका सिरानी च्यापेर फेरि एक पटक झुटा तर मिठा सपना हेर्ने कोसिस गर्ने छौँ, हामी । अनि फेरि सुरु हुने छन्, राजनीतिका बेसुरा राग । आखिर सुरु त भइसक्यो, विरोधको मौसम । ‌आरोप-प्रत्यारोप, सवाल-जवाफको मोसम । 

ए साँच्चै ! त्यो दिन हाम्रा प्रधानमन्त्रीको मुखारबिन्दबाट विकासका हिसाब किताब सुन्दा म त एक छिन अत्तालिएँ पनि । विकसित देशको बासिन्दा बनी पो सकेको रहेछु भन्ने भ्रम पनि पलायो एकै छिनलाई । व्यर्थमा सबैले अविकसित मुलुकका गरिब नागरिक भन्दा रहेछन् भन्ने पनि लाग्यो । कति चाँडै मेरो मन बदल्न सकेका । निकै बाठा रहेछन् ।

वास्तवमा हामी नेपालीले विकास र समृद्धि देख्न नपाएको केही सय वर्ष नै बितिसक्यो । हामीले देखेको भनेको सत्ताको खिचातानी मात्रै हो । राणा शासन होस् वा गणतन्त्र हरेक व्यवस्था शासक परिवर्तनमा मात्र अल्झिरह्यो ।

तर दुख लाग्यो उनको मुखबाट ननिस्किँदा, बैतडीकी भागीरथी भट्टको बलात्कारपछि हत्या गर्ने हत्यारालाई कारबाही गर्छु भन्ने प्रतिबद्धता । अनि फेरी पनि दुख लाग्यो उनले भन्न नसक्दा, यो देशका चेलीले कहिलेसम्म योनीलाई प्राण हर्ने अङ्ग मानेर असुरक्षित महसुस गरी रहनु पर्छ भनेर । शरीरको एकै भागमा रहेका पुरुषका अङ्गले किन सधैँ महिलाका प्राणलाई सं‌कटमा धकेली रहन्छ भनेर ? जवाफ दिनु सक्नु पर्थ्यो, नारायणहिटीबाट । तर, राज्य नै आत्मरतिमा रमाउँदा यस्ता जटिल प्रश्न पनि गौण बनी दिँदो रहेछ । नत्र शुक्रवारको त्यो चिसो मौसममा हाम्रा प्रधानमन्त्रीले भागीरथीहरू जस्तालाई न्याय दिलाउने कसम त खानु पर्थ्यो । फेरी अर्को निर्मला र भागीरथीले यो भूमिमा दर्दनाक मृत्यु वरण गर्नु पर्ने छैन भन्ने वाचा गर्न सक्नु पर्थ्यो । शायद उनका आसेपासेले भागीरथीको दर्दनाक मृत्युको खबर उनको कानसम्म नपुर्‍याएको पनि हुनसक्छ । सम्भावना निकै छ । किनकि चाकरीबाजहरुले यस्ता गम्भीर विषय सुनाउने दुस्साहस पनि कमै गर्दा हुन् ।

कसलाई आफ्नै प्रधानमन्त्रीको शैलीको विरोध गर्दा आनन्द आउला र ? अनि मलाई त आउँछ भन्नु । तर, उनको कार्य शैलीको मिहिन अध्ययन गर्ने कोही छ भने उसले हाम्रा प्रधानमन्त्रीमा मपाईँत्व र अहङ्कारले आकाश छोएको छैन भनेर झुटो बोल्न सक्दैन । अनि म बोलूँ कसरी ?

बुढापाकाले भन्थे, यो मुलुकलाई सतीले सरापेको छ । के भन्या होला ? जस्तो लाग्थ्यो । तर, आज मलाई पनि त्यस्तै लाग्न थालेको छ । वास्तवमा हामी नेपालीले विकास र समृद्धि देख्न नपाएको केही सय वर्ष नै बितिसक्यो । हामीले देखेको भनेको सत्ताको खिचातानी मात्रै हो । राणा शासन होस् वा गणतन्त्र हरेक व्यवस्था शासक परिवर्तनमा मात्र अल्झिरह्यो । अहिले पनि परिस्थिति फरक छैन । ओलीलाई जति गाली गरे पनि भोलि उनको कुर्सीमा उनीभन्दा इमानदार वा लायक व्यक्ति आसीन हुन सक्दैनन् । आजसम्म हामीले भोगेको नियति र दुर्भाग्य नै यही हो । हाम्रो देशमा शासक जन्माउने सक्ने बलिष्ठ शासन व्यवस्था छ । राजनीतिमा लागेका लाखौँ नेता कार्यकर्ता छन् । तर, दुखको कुरो देश चलाउन लायक एउटै पनि नेता जन्मन सकेका छैनन् । आखिर जान्नेले यस्तै माहौलमा नै मौकामा चौका हान्ने त हो । सर्वशक्तिमान बन्न ।

हुन त सिंगापुरका राष्ट्रपिता ली क्‌वान यु पनि तानासाह नै थिए । अनि मलेसियाका शासक महाथीर मोहम्मद पनि । तर, उनीहरू यति उदार तानासाह बनिदिए कि ती देशका जनताले वर्षौँसम्म उनीहरूलाई सम्झिरहने छन् । उनीहरूले बसालेको समृद्धिको जग यति बलियो छ कि ती मुलुकहरू अहिले संसारका लागि उदाहरण बनिसकेका छन् ।

झुटो नबोल्ने हो भने केपी शर्मा ओलीमा चाकडीको चाहना, आसेपासे पोस्ने बानी अनि मैँ मात्र हुँ अरू केही होइनन् भन्ने अति अहङ्कार नभरिएको भए एउटा लायक उदार तानासाह बन्ने सम्भावना थियो । तर, उनको रगतमा सत्ताको चास्नी यसरी घोलिएको छ कि पद जोगाउन जति पनि षडयन्त्र गर्न सक्दा रहेछन् । झूट बोल्न सक्दा रहेछन् । उनले राष्ट्रवादलाई समेत सत्ताको भर्‍याङ बनाएका रहेछन् भनेर सोच्दा समेत दिमाग खलबलिएर आउँछ ।

हुन त जङ्गली राज पनि अहिलेको नेपाल जस्तै हुन्छ । जङ्गलको राजा बन्न सिंहले वयस्क सिंहहरूलाई जसरी आफ्नो समूहबाट धपाउँछ, आज ओली पनि त्यही गर्दै छन् । पार्टीमा एक्लो नायक बन्न खोजिरहेका छन् । विकल्पविहीन । जब सारा नेता उनको जय जयकार गर्छन् भने दलभित्र उनको एक नम्बरको पदवी आजीवन कसैले हल्लाउन सक्दैन । तर, जनताले ब्यालेटमा उनलाई कति विश्वास गर्छन्, वास्तवमा त्यो उनको राजनीति भविष्य बन्ने छ । बिर्सिन नहुने कुरो पनि यही हो ।

विगतमा हामीले एक्लो राजनीति गर्ने धृष्टता गर्ने निकै नेता देख्यौँ । जसमा कतिपय हार खाएर माउ पार्टीमा फर्किसके भने कति जना नाम मात्रको पार्टी चलाएर बसिरहेका छन् । यथार्थ के हो भने कुनै पनि ब्यालेटले किम जोङ जन्माउन सक्दैन । किनकि ब्यालेट सधैँ जनताको अधीनस्थ रहन्छ । शासक जन्माउने र सिद्ध्याउने शक्ति जनतामा निहित हुन्छ । त्यसैले भविष्यमा जनताबाट मत पाउने अन्ध विश्वासमा वर्तमानलाई धोका दिनेहरू सधैँ पराजित कालो अनुहार लगाएर बस्नु पर्ने हुन्छ । जुँगाको रङ झैँ । अनेक उपाय लगाएर जम्मा गरेको भीड देखाएर कसैले आफ्नो शक्तिको आङ्कलन गर्छ भने उ विनाशको पथमा छ भन्ने बुझे हुन्छ ।

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि