बैशाख ०८, २०८१, शनिबार
               

बार भन्छ : प्रधानमन्त्रीका अभिव्यक्ति दोहोरिए सशक्त विरोध गर्न बाध्य हुनेछौँ

नेपाल फ्ल्यास
माघ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानमन्त्रीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएको छ । केपी शर्मा ओलीले दिएका अभिव्यक्तिलाई लिएर खेद व्यक्त गर्दै बार एसोसिएसनले एक विज्ञप्तिमार्फत् सार्वजनिक रूपमा माफी माग्न माग गरेको हो ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिले कानुन व्यवसायीहरुको अपमान भएको छ ।’ बारले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीले वरिष्ठ अधिवक्ता भण्डारीप्रति लक्षित गरेर अपमानजनक अभिव्यक्ति दिएको बारको विज्ञप्तिमा उल्लेख छ । 

बारले प्रधानमन्त्री ओलीले माघ ९ गते आफूनिकट कर्मचारीको भेलामा प्रधानमन्त्रीले दिएको वाक्यांश ‘वकिलले कुरा फिटेका फिट्यै छन् । केही वकिलहरूले एक जना बाजे वकिललाई लिएर गएछन्, त्यहाँ तमासा हेर्न'लाई विज्ञप्तिमा उल्लेख गरी सो वाक्यांशलाई अपमानजन भनेको छ । यसका अलवा बारले सो अभिव्यक्ति संविधान, कानुन र सम्माननीय प्रधानमन्त्री स्वयंको पदीय मर्यादा, आचरण अनुकूल नरहेको उक्त विज्ञप्तिमा उल्लेख छ । 

‘उक्त अभिव्यक्ति हाम्रा वरिष्ठतम् वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीज्यू र समग्र कानुन व्यवसायी कै विरुद्ध मात्र नभएर अदालतकै मानहानी/अवहेलनाजन्य हो,' विज्ञप्तिमा उल्लेख छ, ‘प्रधानमन्त्रीज्यूको उक्त अमर्यादित, अपमानजनक र असहिष्णु अभिव्यक्तिप्रति नेपाल बार एसोसिएसन गम्भीर आपत्ति र खेद व्यक्त गर्छ। उक्त अभिव्यक्तिप्रति तत्काल सार्वजनिक रूपमा माफी माग्नसमेत सम्माननीय प्रधानमन्त्रीज्यूसँग जोडदार माग गर्छौँ । आइन्दा यस किसिमका अभिव्यक्तिहरू नदोहोर्‍याउन र दोहोर्‍याएमा नेपाल बार एसोसिएसनले सशक्त विरोधका कार्यक्रमहरू गर्न बाध्य हुने व्यहोरासमेत अवगत गराउँदछौँ ।’


कस्तो लाग्यो ?

यो पनि