बैशाख ०८, २०८१, शनिबार
               

कार्यालय सहयोगीको भरमा स्वास्थ्यचौकी

नेपाल फ्ल्यास
माघ ११, २०७७

ADVERTISEMENT

सिमकोट । हुम्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–६ मा रहेको बराइ स्वास्थ्यचौकी झण्डै दुई महिनादेखि स्वास्थ्यकर्मीविहीन बनेको छ । सात कर्मचारीको दरबन्दी रहेको बराइ स्वास्थ्यचौकीमा एक कार्यालय सहयोगीको भरमा कार्य सञ्चालन हुँदै आएको छ ।

गत मङ्सिर १५ गते यतादेखि कर्मचारी कोही नहुँदा कार्यालय सहयोगी मानबहादुर रोकायाको भरमा स्वास्थ्यचौकी सञ्चालन हुँदै आएको हो । एचए एक, अनमी दुई, अहेब दुई र कार्यालय सहयोगी एक गरेर सात जनाको दरबन्दी भए पनि स्वास्थ्यकर्मी कोही पनि नभएको यहाँका स्थानीयवासीले गुनासो गरेका छन् ।

कार्यालय सहयोगी रोकायाले सिटोमलबाहेक अन्य औषधि नचिनेका कारण सेवा लिन पुगेका बिरामीले दुई महिनादेखि रित्तो हात घर फिर्ता हुनुपरेको बताइएको छ ।

बराइगाउँका स्थानीयवासी बिरामी हुँदा सामान्य उपचारका लागि कोही साढे एक घण्टाको पैदल हिँडेर सर्केगाड स्वास्थ्यचौकीमा पुग्ने गरेका र कोही जिल्ला अस्पताल सिमकोट पुग्ने गरेको ६० वर्षीय स्थानीयवासी राना बुढाले गुनासो गरे । उनले भने, ‘म आँखाको बिरामी भएर स्वास्थ्यचौकी पुग्दा कोही नभेटेर रित्तै फिर्ता भएको छु, केही महिना अगाडि एक एचए सरुवा भएर गए ।’ दरबन्दीअनुसार पालिकाले कर्मचारी नपठाउँदा यो समस्या निम्तिएको उनको गुनासो छ ।

दुई जनाको दरबन्दी रहेको अहेव समायोजन भएदेखि गाउँपालिकाले पठाएको छैन । दुई करार अनमी कर्मचारी स्थानीयवासी भए पनि उनीहरु उपस्थित नहुने गरेको बताइएको छ । कार्यालय सहयोगी रोकायाले आफू एक्लै भएकाले काम गर्न गाह्रो भएको, सिटामोलबाहेक अन्य औषधि चिन्न नसकेकाले बिरामी आउँदा समस्या हुने गरेको बताए ।

गाउँमा यतिबेला बिरामीको चाप बढेको छ । वडा र गाउँपालिका मौन बस्नुका साथै यस क्षेत्रमा स्वास्थ्यको स्थिति डामाडोल बनेको छ ।

कामदारले ज्याला पाएनन् 

पुल निर्माणमा खटिएका कामदारले ज्याला नपाएको गुनासो गरेका छन् । विसं २०७६ भदौ २७ गतेबाट नियमित काममा खटिएका कामदारले हालसम्म पनि ज्याला नपाएको गुनासो गरेका हुन् ।

हुम्लाको सिमकोट गाउँपालिका–७ र नाम्खा गाउँपालिका–१ मा पर्ने हेप्काखोलाको पुल निर्माणका लागि जिल्ला बाहिरबाट आएका कामदारले डेढ वर्षदेखि काम गर्दा पनि ज्याला नपाएको गुनासो गरेका छन् ।

हिल्सा–सिमकोट सडकखण्डअन्तर्गतको हेप्काखोला पुल निर्माण गर्ने कार्य तीव्ररूपमा सञ्चालन भइरहेको भए पनि ठेकेदारको लापरवाहीका कारण हालसम्म काम गरेको करिब १९ लाख रुपैयाँ रकम नपाएको कामदारका टोली नेता खुशीराम थारूले गुनासो गरे ।

हेप्काखोलाको पुल निर्माण गर्ने क्रममा कामदारलाई पहिलोपटक पेस्कीस्वरुप रकम दिने भनिए पनि ठेकेदारको लापरवाहीका कारण हालसम्म पनि सो रकम नपाएपछि कामदारले यो ठाउँमा रहेका होटल तथा पसलेसँग ऋण गरेर जीविकोपार्जन गर्दै आएको उनले बताए ।

पुलमा काम गर्ने १२ कामदार कैलाली जिल्लाका नागरिक रहेका छन् । कामदारमध्येका नेता थारूले भने, ‘पटक–पटक ठेकेदार र हिल्सा–सिमकोट सडक योजना कार्यालयलाई हारगुहार गर्दासमेत कुनै सुनुवाइ भएन, हामी जिल्ला बाहिरका नागरिक भएका कारण हेपाहा प्रवृत्ति भएको छ ।’ उक्त निर्माणाधीन पुल २५ मिटर लम्बाइ, १४.३३ मिटर उचाइ र आठ मिटर चौडाइ रहेको छ ।

हुम्ला जिल्लामा आफ्नो भन्नु कोही पनि नभएकाले हालसम्म पनि कुनै ठाउँमा उजुरी गर्न नसकिएको उनले दुखेसो पोखे । ठेकेदारले कामदारलाई काम मात्रै गराउने तर ज्याला मजदुरीको आर्थिक रकम नदिने गरेको देखिन्छ ।


कस्तो लाग्यो ?

यो पनि