बैशाख १२, २०८१, बुधबार
               

माधवनारायण व्रतालुको कोरोना परीक्षण गरिने

रासस
माघ ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुस्थित शालीनदीमा गरिने माधवनारायण व्रतालुलाई कोरोनाको पीसीआर-एण्टीजेन परीक्षण गरेरमात्र सहभागी गराइने भएको छ ।

नेपालमा पनि कोरोनाको नयाँ रोगी भेटिएपछि व्रत लिन चाहनेलाई परीक्षण गराएर नेगेटिभ प्रतिवेदन आएमात्र सहभागी गराइने माधवनारायण व्रत तथा शालीनदी समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा निमोनियाको लक्षण छ कि छैन भनी एक्स-रे रिपोर्टसमेत साथमा हुनु अनिवार्य गरिएको जानकारी दिइयो ।

विश्वस्वास्थ्य सङ्गठनले सिफारिस गरेका विभिन्न रोगका बिरामीलाई व्रतमा सहभागी नगराइने समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले बताए । यस वर्ष माधवनारायण व्रत गर्न चाहनेलाई माघ १० गतेदेखि १२ गतेसम्म नाम दर्ता गर्न पनि समितिले आह्वान गरेको छ । १२ गतेसम्म नाम लेखाएकालाई १३ गते कोरोना परीक्षण गरेपछि मात्र व्रतमा सहभागी गराइने अध्यक्ष श्रेष्ठले बताए ।

सम्मेलनमा शङ्खरापुर नगरपालिकाका नगर प्रमुख सुवर्ण श्रेष्ठले स्वास्थ्य मापदण्ड पूरा गरेरमात्र व्रत बस्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुहुँदै मेला भर्न आउनेलाई पनि स्वास्थ्य सुरक्षाका विधि अपनाउन सचेत गराइनुपर्ने बताए । व्रतालुलाई क्वारेन्टाइनको स्वरुपमा राख्न नगरपालिकाले सहयोग गर्ने उनको प्रतिबद्धता छ ।

पशुपतिलगायत मठ मन्दिर एवं चलचित्र घरसमेत खुलेको अवस्थामा मेला बन्द गर्न नसकिए पनि स्वास्थ्य सुरक्षामा ध्यान दिएर दूरी कायम गरिनुपर्ने नगरपालिकाले जनाएको छ । नियमित चलेको संस्कृति संरक्षणका लागि भए पनि मेला र व्रत गर्न लागिएको नगर प्रमुख श्रेष्ठको भनाइ छ । मेलाका अवसरमा नगरपालिकाले बजार एवम् साँखु चल्ने सार्वजनिक यातायातको नियमित अनुगमन गर्ने भएको छ ।

समितिका पूर्वअध्यक्ष राजभाइ श्रेष्ठले विगत वर्षमा एक दिनमा पाँच लाखसम्म भक्तजन शालीनदी दर्शनमा आएकाले कोरोना सङ्क्रमण जारी रहेका बेला स्वास्थ्य सुरक्षामा ध्यान दिन सुझाव दिए । मानिसको भीडभाड हुने भएकाले बजार अनुगमनमा स्थानीय सरकारको ध्यान जानुपर्ने उनको भनाइ थियो ।

समितिका पूर्वअध्यक्ष एवम् साँखु बस कम्पनीका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले मेलाका अवसरमा सरकारले तोकेभन्दा बढी भाडा लिने सवारीलाई कारवाही गर्न कम्पनीका तर्फबाट पनि अनुगमन समूह परिचालन गरिने जानकारी दिए ।

विगत वर्षको मेलामा कम्पनीकै तर्फबाट करीब एक दर्जन सवारीलाई कारबाही गरिएको उनले बताए । समितिले व्रतालु स्नान गरिरहेका बेला मोबाइलबाट भिडियो खिची अतिरञ्जितरुपमा प्रस्तुत गर्ने गरिएकामा त्यसो गर्नेलाई कारवाहीको दायरमा ल्याइने जनाएको छ । यस वर्ष माघ १५ गतेदेखि शालीनदी मेला लाग्नेछ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि