फागुन १८, २०७७, मंगलबार
               

खुला सीमा र सम्भावित परिणाम

ADVERTISEMENT

भूगोलले बाँधिएका छिमेकी कहिल्यै फेर्न सकिँदैन । जे छ, जस्तो छ, उही हाम्रो छिमेकी हो, स्वीकार गर्नै पर्छ । तर, छिमेकी–छिमेकीबिच असल सम्बन्धले उनीहरूको विकास र समृद्धिमा व्यापक फड्को मार्न सक्छ ।

म जुन परिबेसमा जन्मिएँ, हुर्किएँ । पहिलो त मेरा लागि पहाड नै टाढा थियो, अझ हिमाल पारीको कल्पना त कहिल्यै गरिएन । मेरो रहन–सहन, पढाइ–लेखाइ सबैमा दक्षिणी छिमेकको प्रभाव रह्यो । मेरा परिवारका अधिकांशले भारतमै पढेका थिए । तर, मैले नेपालमै आफ्नो शिक्षा पुरा गरेँ ।  

पढाइ सकेपछि प्रहरी सेवामा झुकाव बढ्यो । सेवा सुरु गर्दा स्क्रिनिङ गर्ने बोर्डसमेत भारतबाटै आएको थाहा पाएँ । प्रहरीको प्रथम ब्याचको तालिम लिनसमेत भारत जानु परेको रहेछ । त्यसैले होला, प्रहरीभित्रका मूल्य मान्यताहरू र व्यवहार छिमेकबाटै प्रभावित भएका रहेछन् । आखिर जहाँबाट सुरुवाती संस्कार सिकियो, त्यसको छाप त पुरै सङ्गठनमा परिहाल्छ नि ।

मलाई सधैँ गर्व लाग्छ । प्रहरी सेवाको पहिलोदेखि अन्तिम दिनसम्म देश र जनताको सेवा नै मेरो कर्तव्य हो भन्ने भावनाबाट कहिल्यै विचलित हुन परेन । भइनँ पनि ।

जब पढे लेखेकाहरू प्रहरी सेवामा आउन थाले, तबदेखि तालिम–अध्ययन गर्ने दायरा पनि फराकिलो बन्दै गयो । इंग्ल्यान्ड, अमेरिका, जापानलगायत मुलुकसम्म नेपाल प्रहरीका अधिकृतहरूले अध्ययन गर्ने मौका पाए । मैले पनि इंग्ल्यान्डमा अध्ययन गर्ने मौका पाएँ । आखिर रियल पुलिसिङ ब्रिटेनबाट नै सुरु भएको हुँदा त्यो मोडलका बारेमा गहिरो जानकारी लिएँ । अनि प्रहरी सेवा मात्र नभएर जीवनको मार्गलाई पनि त्यही आधारमा अगाडि बढाएँ ।

मलाई सधैँ गर्व लाग्छ । प्रहरी सेवाको पहिलोदेखि अन्तिम दिनसम्म देश र जनताको सेवा नै मेरो कर्तव्य हो भन्ने भावनाबाट कहिल्यै विचलित हुन परेन । भइनँ पनि । त्यही अवधिमा मेरो देश र यहाँको शासन व्यवस्था कुन ढङ्गमा अगाडि बढाइएको छ । कता तिर डोर्‍याइएको छ । कुन ढङ्गमा अघि बढाउन खोजियो । अनि कति अवरोध सिर्जना गरिए भन्ने बुझेँ । सीमाका जिल्लामा कार्यरत रहँदा पनि धेरै अनुभव संगाल्न पाइयो । अध्ययन गर्न पाइयो । सीमाबासीका दुख र पिडासँग साक्षात्कार गर्ने मौका पाइयो । तर, त्यही नै पर्याप्त थिएन । थप अध्ययनको आवश्यकता त जहिले पनि रही रहन्छ नै ।

प्रहरी सेवामा रहँदा र पछि दिनमा पनि मैले मेरो देश किन सधैँ कमजोर बनी रह्यो । किन अस्थिर नै रही रह्यो भनेर जान्ने र बुझ्ने मौका कहिल्यै छाडिनँ । भारतका उच्च प्रहरी अधिकृतहरूसँग सम्पर्क हुन थालेपछि थाहा पाइयो । हाम्रो सम्बन्ध त शान्ति सुरक्षाका विषयमा मात्र सीमित हुँदैन रहेछ । त्योभन्दा बढी पनि हुँदो रहेछ । ‘पुलिस ब्रदरहुड’ अनुसार बिना सङ्कोच, बिना झिझक एक अर्कालाई सहयोग पनि गरी नै रहियो ।

प्रहरीको उच्च तहमा हुँदा एक पटक भारत भ्रमणमा गएको थिएँ । त्यहाँका विशिष्ट सुरक्षा अधिकारीहरूसँग छलफल गर्न । ५०–५१ साल तिरको कुरा हुनु पर्छ । त्यही बेला नेपाल र भारतको सुरक्षा अवस्थाका बारेमामा ब्रिफिङ हुँदै थियो । ब्रिफिङ कक्षमा एउटा स्लाइड नजानेरै होला, मेरा अगाडि प्रस्तुत भए । जसमा भारतको भौगोलिक अवस्था, सुरक्षा घेराबारे गरिएको म्यापिङ पो रहेछ । उनीहरूले हत्त न पत्त त्यो स्लाइड बन्द गरे । मैले बुझ्नु पर्ने जति कुरा बुझी हालेँ । अनि, दुख लाग्यो, त्यो नक्साका आधारमा उनीहरूले नेपालको भूगोललाई आफ्नै मानेका रहेछन् । त्यो समयमा मैले जे कुराको अध्ययन गरी रहेको थिएँ, त्यही कुरा यथार्थ बनेर मेरो आँखा अगाडि आइपुग्यो । मनमा रहेको धेरै शङ्का हटेका थिए ।

मेरो सोच राष्ट्रवादी रहेको थाहा पाएपछि कति इतिहासकारहरूले मलाई कतिपय डकुमेन्टहरू पनि उपलब्ध गराइ दिएका थिए । सरदार बल्लभ भाइ पटेलले नेहरुलाई नेपाललाई भारतमा विलय गराउनु पर्छ भन्ने आशयले लेखेका पत्र त अहिले पनि मसँग सुरक्षित छ । त्यो पत्र पढ्दा मनमा चिसो लागेको थियो । अनि भारतको सुरक्षा घेरामा नेपाल समेटिएको स्लाइड हेर्दा म जस्तो धारणा राख्ने व्यक्तिको हात खुट्टा हिउँमा जमे झैँ किन महसुस नहोला ? अहिले भारतमा सत्तासीन दल उनै पटेललाई आफ्नो आदर्श मान्छ । हाम्रा नेताहरुको राजनीतिक आचरण हेर्दा कहिल्यै विदेशीको दासतामा नपरेका हामी नदेखिँदो रूपमा विदेशीको दास त बनी सकेका छैनौँ ? मनमा यस्ता कुराहरूले घोची रहन्छन् ।

त्यसबेला नेपाल फर्किए लगत्तै तत्कालीन प्रधानमन्त्री र परराष्ट्र मन्त्रीलाई रिपोर्ट गरेँ । उहाँहरूले केही कदम चाले झैँ पनि देखिएको थियो । तर, नतिजा शून्य नै रह्यो । अनि म त्यसको मूल कारण के हुनसक्छ भन्ने जान्ने प्रयासमा लागेँ । अनि त्यो मेरो चासोको विषय बनी नै रह्यो । 

त्यो दिनदेखि मैले हाम्रो देशको शासन पद्धति र त्यसको नेतृत्व गर्नेहरूको पनि मूल्याङ्कन गर्न थालेँ । अनि किन यस्तो भइरहेको छ भनेर अध्ययन पनि गर्न थालेँ । मानिस न हुँ, कौतूहल त सधैँ जागी रहन्छ नै मनमा ।

जहानियाँ राणा शासनको अन्त्य गर्ने क्रममा भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले राजा त्रिभुवनसँग छलफल गर्दा बिपी कोइरालालाई किन डिस्ट्यान्समा राखेका रहेछन् भन्ने अध्ययन गर्न पाएँ । नेपालमा भएका हरेक परिवर्तनका क्रममा के कुराले बढी असर गर्दो भनेर अध्ययन गरेँ । त्यसमा चाहे उत्तरी होस् वा चाहे दक्षिणी, खुला सीमाको प्रभाव निकै हुँदो रहेछ भन्ने निष्कर्षमा पुगेँ ।

भन्नै पर्छ, मलाई अहिलेसम्म यो मुलुकमा कसैको अडानले प्रभावित पारेको छ भने त्यो जङ्गबहादुर राणाको अडानले हो । उनले तत्कालीन इस्ट इन्डिया कम्पनीसँग सीमा आयोगको गठन नगरीकन, सीमामा रेखा नकोरीकन सम्झौता नगर्ने अडान देखाए, त्यसको मनदेखि सम्मान गर्नै पर्छ ।

हाम्रा खुला सीमाको कहिल्यै नियमन हुँदैन वा गरिँदैन । त्यही विषयलाई बहाना बनाएर हाम्रा दुवै छिमेकीहरू आफ्नो सुरक्षा चासोको कुरा उठाउँछन् । हामीले उनीहरूलाई कहिल्यै विश्वस्त बनाउन सकेनौँ, हाम्रो भूमिबाट तिम्रो अहित हुँदैन भनेर । अवस्था यस्तो छ कि हाम्रा ठेकेदारलाई सीमा नियमन गर्ने जाँगर छैन । छिमेकी जङे पिलर उखेल्न पाउने लोभमा नियमन नहोस् भन्ने चाहन्छ ।

हाम्रा नेताहरूले नेपाल भनेको भूगोल पनि हो भनेर बिर्सिए । उनीहरूको ध्यान सधैँ सत्तामा मात्र गयो । अनि खुल्ला सीमाबाट राम्रा मात्र होइन नराम्रा संस्कार पनि भित्रिँदै गए । सीमानजिक बस्नेहरूलाई हामी पनि नेपाली हौ भनेर गर्व गर्ने अवसरबाट बंचित गरियो । उनीहरुको मनमा राष्ट्रियताको भावना भर्ने नेतृत्वको अभाव सधैँ खड्कियो । जहाँ ‘रोटी–बेटी’ सम्बन्ध, समान संस्कृति र संस्कारलाई आधार बनाएर सीमालाई खुला गरिन्छ, त्यहाँबाट संस्कारसँगै त्योभन्दा बढी कुसंस्कार भित्रिँदो रहेछ । भूगोलको माया नभएका नेताका कारण जनतामा पनि यो मेरो राष्ट्र हो भन्ने भावना कमजोर बन्दै जाँदो रहेछ । हाम्रा नेतृत्व वर्गहरूको कमजोरी भनौँ वा चाहना नभएको भनौँ, सीमा नजिक बस्ने जनतामा राष्ट्रिय भावनाको चेतना जगाउन कहिल्यै सकेनन् ।

भन्नै पर्छ, मलाई अहिलेसम्म यो मुलुकमा कसैको अडानले प्रभावित पारेको छ भने त्यो जङ्गबहादुर राणाको अडानले हो । उनले तत्कालीन इस्ट इन्डिया कम्पनीसँग सीमा आयोगको गठन नगरीकन, सीमामा रेखा नकोरीकन सम्झौता नगर्ने अडान देखाए, त्यसको मनदेखि सम्मान गर्नै पर्छ । हाम्रो सीमालाई माया गर्ने शासक कोही रहेछ भने त्यो जङ्गबहादुर नै रहेछन् । त्यसपछि कुनै शासकले सीमाको वास्ता गरेको मैले देखिन । आखिर अहिले नेपालको भूगोल त्यही जङे पिलरले त जोगाइ रहेको छ । सीमानजिक जन्मिएका हामी जस्तालाई नेपाली भएर बाँच्ने आधार प्रदान गरी रहेको छ ।

हाम्रो भूगोल कतै जोगिएको छ, कतै हरिएको छ । छिमेकी यस्ता छन् कि, उसको सुरक्षाको खातिर असल नियतले केही समय बस्नका लागि मात्र मागेको भूमि अब त आफ्नै भनेर दाबी गर्दा समेत हामीले त्यसलाई फिर्ता ल्याउन सकेका छैनौँ । खुला सीमा नहुँदो हो त पारिबाट त्यस्ता दाबी पनि आउन सक्दैन थियो होला नि । भन्न किन लाज मान्नु, हाम्रो नेतृत्वमा छताछुल्ल भरिएका कुसंस्कार र त्यसको परिणाम स्वरूप हामीले भोग्न बाध्य कुशासन पनि त्यही खुल्ला सीमाबाट भित्रिएको हो । खुला सीमाबाट हुने तस्करीबाट आर्जित कालो धनले हाम्रो राजनीति सिँचिएको छ । त्यस्ता कालो धनबाट सिंचित राजनीतिले असल शासनको जग बसाल्न सकेन । हामीले जे जति सिक्यौँ, सीमा पारिबाट सिक्यौँ । राम्रो, नराम्रो सबै ।

नेपाली जनता माझ राष्ट्रियता, सुशासनको चिन्तन किन हुँदैनन् ? नेतृत्वले युवाहरूलाई राष्ट्रप्रति किन आकर्षित गर्न सकिरहेका छैन भन्ने पिरलो सधैँ मनमा थियो र छ । खुला सीमालाई नियमन गर्न मात्र सकियो भने पनि नेपाल भित्रिने धेरै विकृतिलाई रोक्न सकिन्छ कि जस्तो लाग्न थालेको छ । छिमेकीले सिँधै हाम्रो भावनासँग खेल्न र किन्न सक्दैन थियो कि भन्ने लाग्छ । 

दक्षिणी सीमाको बासिन्दा भएको कारण पनि मैले छिमेकी प्रभावका बारेमा राम्रोसँग बुझ्ने मौका पाएको छु । हामीले जति सहयोग पाउँछौँ, त्यसको अधिकांश हिस्सा दक्षिणी छिमेकीबाट आउँछ । अर्को शब्दमा भन्नु पर्दा हामी दक्षिणी छिमेकीसँग आश्रित छौँ । उनीहरूले पनि हाम्रो कमजोरी राम्ररी बुझेका छन् । जसले गर्दा यो भूगोलमा खेल्न उनीहरूलाई सजिलो बनेको छ । राजनीतिक आचरण लिलाम गरिसकेका ठेकेदारहरूले नै हाम्रो भावनासँग खेल्ने मौका दिइरहेका छन् । नजानिँदो तरिकाले हाम्रो विवेक नै छिमेकीको दास बन्दै छ ।

हामीले के थाहा पाउनु पर्छ भने हरेक देश उसकै कै नागरिकका लागि प्यारो हुन्छ । हामीले पनि अरूलाई सहयोग गर्दा आफ्नो हित अनुरूप मात्र गर्छौँ । अनि अरूले हामीलाई बिना स्वार्थ सहयोग गर्छन् भनेर पत्याउन पनि सकिँदैन । भारत होस् वा चीन उनीहरूले पनि आफ्नो हित विपरीत हामीलाई सहयोग गरेका छैनन् । हरेक सहयोगको हिसाब राखेका छन् ।

सन् १९५० को सन्धिले हामीलाई हेर्दा खुकुलो र सजिलो बनाइदिएको छ । तर, त्यो खुकुलोपन हाम्रो फाइदाको लागि हो भन्ने मेरो ठम्याइमा कहिल्यै परेन । किनकि त्यही खुकुलोपनले पारी पट्टी दुवै देशको नागरिकता बनाउन सकिने, रासन कार्ड बनाउन सकिने, सम्पत्ति खरिद बिक्रीमा सुगमता भइरहेकाले हामी भारत तिर बढी झुकाव राख्ने भइरहेका छौँ । छिमेकीलाई माया गर्नु, झुकाव राख्नु गलत होइन । तर, आफ्नो देशभन्दा बढी छिमेकीको माया पनि गर्न त सकिँदैन नै । तर, त्यही खुला सीमाका कारण सीमावर्ती क्षेत्रका मानिसहरू छिमेकीप्रति बढी आश्रित हुनु राम्रो सङ्केत होइन । आफ्नो खेत बाँझो राखेर पारि पट्टी खेत जोत्न जानुलाई कसरी राम्रो मान्ने ? आफ्नो बस्तीमा महँगो मूल्य तिर्नुभन्दा पारि पट्टी सस्तोमा पाइन्छ भने हाम्रो रोजाइ स्वतः त्यता जान्छ नै । यस्ता मसिना देखिने कारणले हाम्रो अर्थतन्त्रमा कति ठुलो भ्वाङ पारेको छ भन्ने समय मै बुझ्नु पर्छ । खुला सीमा कै कारण तस्करी अत्यधिक हुने गरेको छ । यसले हाम्रो अर्थतन्त्रलाई नराम्रै धक्का दिइरहेको छ ।

हाम्रो मुलुकमा जति पनि राजनीतिक परिवर्तन भएका छन्, त्यसका लागि छिमेकी भूमि मै नेता–कार्यकर्ता तयार भएका छन् । आन्दोलनका आधार तयार भएका छन् । उदाहरणमा मात्र लिऊँ, बङ्गालको नक्सल आन्दोलनको प्रभाव नै थियो, झापा विद्रोह । जसलाई मलजल गर्न खुला सीमाले ठुलो सहयोग गरेको थियो । फेरि कुरा गरूँ सशस्त्र जनआन्दोलनको । खुला सीमा कै कारण हाम्रा सुरक्षा फौज जान नमिल्ने स्थानमा आश्रय लिएर नेपाली भूमिमा आक्रमण गर्ने योजना बनाइन्थ्यो । हामी मूकदर्शक बन्नु पर्थ्यो । त्यसपछिका राजनीतिक घटनाक्रमहरूलाई खुला सीमा भएकै कारण मलजल गर्न सकियो । चोरी, डकैती र अन्य जघन्य अपराधलाई पनि खुला सीमाले मलजल गरी नै रहेको छ । यता मात्र होइन, उताको समस्या पनि यही छ ।

केही हदसम्म छिमेकीको सहयोग लिनु पाप नहोला । तर, अतिले खत्ती गर्छ भन्ने उखान हाम्रो देशमा सही साबित हुँदै छ । हो, हामी त्यही सहयोगको आभारी बनेर गुण तिर्दा तिर्दै राजनीतिक संस्कारमा दरिद्र बनिसकेका छौँ । कुशासन, विकृति, विचलनले सीमा नाघिसकेको छ । जबसम्म हाम्रो सीमामा हामी गर्वसाथ उभिन सक्दैनौँ, तबसम्म न आफ्नो सुरक्षा गर्न सक्छौ न त छिमेकीलाई उसको सुरक्षाप्रति आश्वस्त पार्न सक्छौ । न त यो मुलुकमा सुशासन ल्याउन सक्छौँ । किनकि हाम्रो सुशासनको नारालाई नारामै सीमित बनाउन खुला सीमाको व्यापक योगदान छ भन्ने निष्कर्षमा म पुगेको छु । किनकि नेपालमा प्रजातन्त्रको अभ्यास हुँदै जाँदा नेपाली जनतालाई के कुराले प्रभावमा पार्न सकिन्छ भन्ने एउटा मान्यता बनाइयो । पारिपट्टी स्थापित मान्यता यहाँ लागू गरियो । नेपाली जनता गरिब छन्, यिनीहरूलाई ठुला–ठुला कुरा केही दिनु पर्दैन, स–साना लोभले नै चित्त बुझाउन सकिन्छ भन्ने मान्यता बसालियो । अभावमा मानिस विवेकशून्य बन्छ नै तर, जो नेतृत्व तहमा रहे, उनीहरू समेत यस्तै लोभमा फसे । त्यही विडम्बना भयो । अनि त कुशासनले त मौलाउने मौका पाइहाल्यो ।

उता वीर नेपालीको परिचयलाई सङ्कुचन गरियो । नेपालीको बहादुरी र इमानदारीलाई संसारभर गर्वको विषय बनाउनुको सट्टा उनीहरूको बहादुरीलाई बेचियो । छिमेकीको सीमा रक्षामा खटाइयो । जबकि उनीहरूको वीरता हाम्रो आफ्नो सीमा सुरक्षामा लगाउन सक्नु पर्थ्यो । अनि दुवै छिमेकीलाई हाम्रो सीमाभित्र तिमीहरूको अहित हुँदै भनेर आश्वस्त गराउनु सक्नुपर्दथ्यो । तर, अहिले त्यही खुला सीमा देखाएर छिमेकीहरू आफू असुरक्षित रहेको दाबी गर्छन् । कुनै कालखण्डमा हामीले सीमा नियमन गरेका पनि थियौँ । तर, खै किन हो त्यसले निरन्तरता पाउन सकेन वा चाहनानै देखाइएन । अहिले पनि बिओपी स्थापना गरिएका छन् तर, खै त्यसले पनि कहिलेसम्म निरन्तरता पाउने हो, यसै भन्न सकिँदैन । अहिले त सीमा बन्द गरिएका छन् नि । चाहे त गर्न सकिँदो रहेछ नि । 

अर्कोतिर, मतदान गर्ने बेलामा स–साना लोभले नै परिणामलाई फरक पार्न थालियो । भोटलाई हर्ने र किन्ने प्रचलन पनि त्यही खुला सीमाकै देन न हो । हामी ब्यालेटमा खस्ने मतलाई डर, त्रास, धम्कीले कसरी आफ्नो बनाउन सकिन्छ भन्ने पनि सिक्यौँ । राजनीतिलाई फोहोरी बनाउने संस्कार पनि खुला सीमाबाट हावाझैँ बेगले भित्रियो ।

खुला सीमाबाट हामीले गैर कानुनी वस्तुको मात्र हैन, गलत आचरणको पनि तस्करी गरेका छौँ । जब कुनै छिमेकीले अर्को छिमेकीको शासन व्यवस्था मै खेलिरहन चाहन्छ भने उसले सही आचरण र संस्कार बोकेका नेताको नेतृत्वमा त्यो मुलुक सही मार्गमा हिँडोस् भन्ने कहिल्यै चाहँदैन ।

फेरि पनि भन्छु । छिमेकी परिवर्तन गर्न सकिँदैन । बरु हामी गरिब भएरै बाँच्न तयार छौँ । अविकसित राष्ट्र बनेर रहन तयार छौँ । तर छिमेकी असल छिमेकी भएर रही रहोस् । अनि कतैबाट हाम्रो सुशासन, विकासलाई प्रभाव पार्ने कार्य नहोस् । म त यतिसम्म धृष्टता गरेर भन्दै छु कि हाम्रा नेताहरूले हामीलाई राष्ट्रिय भावनाबाट टाढा राखेका छन् । विकासका हरेक कार्यमा अरूको मुख ताक्ने प्रवृत्तिको विकास भएको छ । चन्दा–दान बिना हामी केही गर्न सक्दैनौँ भन्ने भ्रममा पारिएको छ । हामीसँग क्षमता छैन भन्ने भ्रम छरिएको छ । नेता र जनताबिच असमानताको खाडल खनिएका छन् । उता जस्तो छ, यता त्यस्तै छ । तर, हामीले बुझ्नु पर्छ, खाडीका राष्ट्रहरूलाई समृद्ध बनाउने नेपाली हातहरूले आफ्नै मुलुक बनाउन सक्दैनन् भनेर कसरी विश्वास गर्ने ? विदेशमा क्षमता देखाउनेलाई स्वदेशमा अवसरबाट वञ्चित गरिएको छ । वीर नेपालीलाई बहादुर बन्न बाध्य पारिएको छ । हाम्रो समृद्ध इतिहासलाई खोक्रो पारिएको छ । 

खुला सीमाबाट हामीले गैरकानुनी वस्तुको मात्र हैन, गलत आचरणको पनि तस्करी गरेका छौँ । जब कुनै छिमेकीले अर्को छिमेकीको शासन व्यवस्थामै खेलिरहन चाहन्छ भने उसले सही आचरण र संस्कार बोकेका नेताको नेतृत्वमा त्यो मुलुक सही मार्गमा हिँडोस् भन्ने कहिल्यै चाहँदैन । छिमेकीका ठेकेदारलाई नै प्रयोग गरेर कुशासनको बीजारोपण गर्न सकिन्छ भने उसको जनता तारबारले घेरिएको सीमाभित्र रमाउन् भन्ने पनि चाहँदैन । सीमा नियमनको कमीका कारण गरिबीले ग्रस्त छिमेकी जनतालाई स–साना लोभमा फसाएर ठुलै स्वार्थ पूर्ति गर्न सकिन्छ भने कसले पो सीमालाई व्यवस्थित बनाउन चाहन्छ र ?

धेरै टाढा जानु पर्दैन, मेरै जिल्ला नवलपरासीको कुरा गरौँ । दशौँ वर्ष भइसक्यो हाम्रै भूमि सुस्तालाई नेपालसँग जोड्ने पुल निर्माण गर्न थालेको । ठेकेदारको लापरबाही हो कि, छिमेकीको हो कि वा हाम्रो नेतृत्वको सोचको उपज, नेपालीनै नेपालका लागि बिरानो बनेका छन् । त्यसैले मैले भनेको भूगोललाई हाम्रो नेतृत्व वर्गले कहिल्यै नेपाल मानेन, सत्ताबाहेक । उनीहरूको आँखा सिंहदरबारबाट सीमामा नजाने हो भने हामी सदाझैँ अस्थिरता, अभाव र अनागरिक नै भएर बाँच्नु पर्नेछ ।

धेरै टाढा जानु पर्दैन, कोरोना भाइरसकै उदाहरण लिऊँ न । खुला सीमा कै कारण हामी भयङ्कर महामारीमा फस्यौँ । यो सर्वस्वीकार्य विषय हो । हामीले रोगदेखि भोकसम्म खुला सीमाबाट आयात गरिरहेका छौँ । राम्रोभन्दा नराम्रो पक्ष बढी मात्रामा भित्राइरहेका छौँ ।

कुनै समयमा हामीले आफ्नै भूमिमा जान पनि विदेशी बाटोको प्रयोग गर्नु पर्थ्यो । महेन्द्र राजमार्गले हाम्रो भूगोललाई जोडेपछि हामी नेपालीको मन पनि जोडिएका छन् । नत्र आफ्नै देशमा हामी परदेशी थियौँ । हुलाकी मार्गले पनि सीमाका जनताको मन जोड्न सक्छ । उनीहरूको जीवनस्तर सहज बन्ने छ । तर, त्यसको निर्माणमा किन चासो कम भइरहेको छ भन्ने बुझ्न थालेको छु ।

इतिहास साक्षी बनेर उभिएको छ । एक पक्षले चाहँदा सीमा नियमन पनि हुन्छ, बन्द पनि हुन्छ । तर, हामीले चाहँदा किन हुन सक्दैन ? हामीले खुला सीमाबाट वस्तु मात्र होइन आचरणको पनि तस्करी गरिरहेका छौँ । अब ढिला भइसक्यो सीमा व्यवस्थित गर्न । छिमेकीलाई असल नियतका साथ असल छिमेकी बनेर बस र हामी पनि तिम्रा अहित हुन दिदैँनौ भनेर आश्वस्त पार्न । नत्र हामी कहिल्यै स्वाभिमानी बन्न सक्दैनौँ । न हाम्रो नेतृत्व स्वाभिमानी बन्न सक्छ, न त उनीहरूका संस्कार नै । हामीले भोलि पनि यही राजनीतिक कुसंस्कारलाई बोकेर हिँडी रहनु पर्नेछ, जसरी आज हिँडिरहेका छौँ । जसले हाम्रो भौगोलिक अवस्थितिलाई समेत असर नपार्ला भन्न सकिँदैन ।

पूर्व प्रहरी महानिरीक्षक प्रधान राप्रपाका केन्द्रीय सचिवालय प्रमुख हुन् ।

कस्तो लाग्यो ?

यो पनि