बैशाख ०८, २०८१, शनिबार
               

चितवनमा ६ महिनामा २१६ वटा दुर्घटना

नेपाल फ्ल्यास
माघ ०८, २०७७

ADVERTISEMENT

चितवन । जिल्लामा चालु आर्थिक वर्षको ६ महिनामा २१६ वटा दुर्घटना भएको छ । ती दुर्घटनामा परी ५८ जनाको मृत्यु भएको छ भने ३६१ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सबैभन्दा धेरै पूर्वपश्चिम लोकमार्गमा दुर्घटना भएका छन् ।

पूर्वपश्चिम लोकमार्गमा ७४ वटा दुर्घटना भएको र ती दुर्घटनामा २२ जनाको ज्यान गएको कार्यालयको तथ्यांकमा उल्लेख छ । यस्तै नारायणगढ–मुग्लिन सडक खण्डमा ३४ वटा दुर्घटनामा ६ जनाको मृत्यु र पृथ्वी राजमार्गमा भएका १२ दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।

भरतपुर नगर (रिङरोड) मा भएका ३७ दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने अन्य सडमा भएका ५८ दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षमा सबैभन्दा बढी दुर्घटना मङ्सिरमा भएका छन् ।

मङ्सिरमा मात्र ५२ दुर्घटना भएको कार्यालयले जनाएको छ । चालु आवको पुस मसान्तसम्म सवारी दुर्घटनामा परी मृत्यु हुने ५८ जनामध्ये पुरूष ४८, महिला छ, बालक एक र बालिका तीन जना रहेका छन् ।

६ महिनाको अवधिमा भएका २१६ वटा दुर्घटनामा ३३६ सवारीसाधन संलग्न भएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए । उनका अनुसार दुर्घटनामा पर्नेमा सबैभन्दा बढी १६३ वटा मोटरसाइकल रहेका छन् ।

जिल्लामा भएका दुर्घटनामा तीव्र गति मुख्य कारण रहेको उनको भनाइ छ । तीव्र गतिका कारण १६१ वटा दुर्घटना भएको छ । चालकको लापर्बाहीले ३८, ओभरटेकका कारण १०, मादक पदार्थ सेवन गरी सवारी चलाउँदा सात र यात्रुको गल्ती र यान्त्रिक खराबीका कारण एक–एक वटा दुर्घटना भएको उनको भनाइ छ ।

राजधानी प्रवेश र बाहिरिने मुख्य सडक यसै जिल्ला हुँदै जाने भएकाले सवारी दुर्घटना बढी भएका छन् । जिल्लाका अधिकांश भागमा सवारी साधन पुग्ने र सडकको अवस्था राम्रो नभएकाले पनि दुर्घटना बढेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि