चैत १६, २०८०, शुक्रबार
               

संसद् विघटन गणतन्त्रको भावनाविरुद्ध हो : अध्यक्ष प्रचण्ड

नेपाल फ्ल्यास
माघ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् विघटन गणतन्त्र, संघीयता र समावेशिताको भावनाविरुद्ध भएको बताएका छन् ।

बुधबार पेरिसडाँडामा आयोजित आदिवासी जनजाति राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले पार्टीभित्र विवाद र बहस हुनु सामान्य भएको र उक्त बहसका कारण संसद् भङ्ग गरिनु अस्वाभाविक भएको बताए । 

उनले राम्रो र नराम्रो विचारको जहिल्यै बहस हुने गरेको र अहिले पार्टीभित्रको विवादका विषयले जनताको सार्वभौमसत्तामाथि नै आक्रमण गर्नेविरुद्ध उत्रिनुपर्ने बेला आएको बताए ।

उनले वर्तमान संविधान आफैँमा पूर्ण नभए पनि अधिकतम रुपले आदिवासी जनजाति तथा पछाडि परेका वर्ग समुदायको अधिकारलाई अधिकांशरुपमा संस्थागत गरेकाले संविधानको संरक्षणमा जुट्न आग्रह गरे ।

अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्दा सबै जाति वर्ग समुदायको भूमिका महत्वपूर्ण रहेकाले सबैले समानरुपमा अवसर प्राप्त गर्ने हक रहेको बताए ।

अहिले गणतन्त्र संकटमा परेको टिप्पणी गर्दै उनले गणतन्त्रको रक्षाका लागि सबै एक हुनुको विकल्प नरहेको पनि बताए । ‘पहिले सबै शक्ति र सार्वभौम अधिकार राजकीय संस्थामा निहित थियो, तर पहिलो पटक यो संविधानले सबैलाई समान अधिकार प्रदान गरेको छ, यसलाई सबै मिलेर जोगाउनुपर्छ’, उनले भने । 

सबै जाति समुदाय र वर्गको पहिलो पटक संविधानले अधिकार संस्थागत गरेकाले संविधानको संरक्षण गर्दै थप अधिकारका लागि अघि बढ्नुपर्ने उनले बताए । संविधानले नै निरन्तर परिमार्जन गर्ने व्यवस्था गरेकाले छुटेका थप अधिकार सम्बोधन गर्दै जान सकिने अध्यक्ष दाहालको विश्वास थियो ।

‘आफ्नै पार्टीको नेताले संविधान मिच्ने, त्यसको मूलमर्ममाथि प्रहार गरे, यो दुर्भाग्यको कुरा हो’, उनले भने, ‘अब जनताको अदालतमा गएर संवैधानिक निकायलाई सहजीकरण गर्नुपर्ने अवस्थामा आएको छ ।’ संविधानले नेपाली जनतामा सार्वभौमसत्ता निहित भए पनि गलत शैलीमा संसद् विघटन गरिएको उनले आरोप लगाए । 


कस्तो लाग्यो ?

यो पनि