बैशाख ०४, २०८१, मंगलबार
               

ओलीसँग तत्काल एकता सम्भव छैन : प्रचण्ड
'हिंसात्मक आन्दोलन गर्नुपर्छ भन्न खोजेको होइन'

नेपाल फ्ल्यास
माघ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपाको प्रचण्ड-माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शाकाहारी आन्दोलनले भएन भनेर आफूले हिंसात्मक संघर्ष गर्नुपर्छ भन्न नखोजेको स्पष्टीकरण दिएका छन् ।

आज (बुधबार) राजधानीमा आयोजित सम्पादकहरुसँगको छलफलमा प्रचण्डले भने, ‘मैले शाकाहारी शव्द भनेर हिंसात्मक भनेको होइन तर आवेगपूर्ण भन्न खोजेको हो ।’

आफूहरु निकट अनेरास्ववियूको भेलालाई यही माघ ४ गते काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले अब शाकाहारी आन्दोलनले मात्र पुग्ने नदेखिएको बताएका थिए ।

आफ्नो भनाइले कन्फ्युजन ल्याएको बताउँदै उनले भने, ‘त्यसले अलिकति कन्फ्युजन त ल्याएको छ तर आक्रोश, आवेग व्यक्त गर्न खोजेको हो ।’

जनताको बहुदलीय जनवाद (जबज) प्रधानमन्त्री केपी शर्मा ओलीले नै छाडेको प्रचण्डले बताए । आफूसँग पार्टी एकीकरणको सम्झौता हुँदा ओलीले जबज छाडेको प्रचण्डको भनाइ छ ।

ओलीसँग एकताको सम्भावना छैन

यसैबीच, अध्यक्ष प्रचण्डले अब प्रधानमन्त्री केपी शर्मा ओलीसँग एकताको कुनै सम्भावना नरहेको बताएका छन् ।

प्रचण्डले ओली यतिबेला आफ्नो गल्ती स्वीकार्ने पक्षमा नरहेकाले तत्काललाई एकताको कुनै सम्भावना नरहेको बताएका हुन् ।

‘राजनीतिक जीवन हो, ५/७ वर्षपछि के होला भन्न सकिन्न,’ अध्यक्ष प्रचण्डले भने, ‘तर तत्काललाई ओलीसँग एकताको कुनै सम्भावना छैन ।’

यहाँसम्म राजनीतिक परिस्थिति कसरी आइपुग्यो र अबको रणनीति के हुन्छ भन्ने विषयमा आफ्नो पार्टीले श्वेतपत्र नै जारी गर्ने तयारी गरिरहेको जानकारी पनि प्रचण्डले दिए ।

देश अप्ठ्यारोमा

यसैबीच, अध्यक्ष प्रचण्डले पछिल्लो परिघटनाले देश अप्ठ्यारोमा परेको बताए । प्रचण्डले देशलाई अप्ठ्यारो अवस्थाबाट मुक्त गर्न केपी ओलीको कदमविरुद्ध प्रतिवाद गर्नुपर्ने र त्यसका लागि जनतालाई एक ठाउँमा ल्याउन जरुरी रहेको बताए । 

अध्यक्ष प्रचण्डले आगामी दिनमा आफ्नो पार्टी लोकतान्त्रिक ढंगले चल्छ त भनेर गरिएका प्रश्नहरु सही भएको भन्दै जटिल र कठिन परिस्थितिमा उभिएका पार्टीहरुलाई आउने सुझाव औषधीका रुपमा ग्रहण गर्नुपर्ने बताए । 

उनले मुलुक संगीन र संवेदनशील मोडमा उभिएको चर्चा गर्दै जनतामा पैदा भएका पार्टीप्रतिको विश्वास र आस्था धर्मराएको आफूलाई बोध भएको पनि बताए ।

‘प्रणाली बसाउने कुरा महत्त्वपूर्ण हो । आफ्नो मान्छेको सट्टा योग्य मान्छेलाई छान्ने सिस्टम बसाउछौँ’, प्रचण्डको भनाइ छ । 

उनले आफूहरु चुनाव विरोधी नभएको दावी गर्दै समयमा हुने निर्वाचनका लागि तयार रहेको बताए । तर, अहिले आफूहरुको ध्यान अवरुद्ध संविधान र प्रजातन्त्रलाई जोगाउनेतर्फ केन्द्रीत रहको प्रचण्डले दावी गरे । 

माधवसँगको सम्वन्ध 

कार्यक्रममा अध्यक्ष प्रचण्डले माधव नेपालसँगको सम्बन्धमा कुनै समस्यै नरहेको प्रष्ट पार्दै केपी अ‍ोलीसँग पनि आफ्नो व्यक्तिगत रुपमा कुनै दुस्मनी नरहेको बताए ।

उनले भने, ‘प्रचण्ड माधवको सम्बन्ध स्मुथली चल्छ भन्ने कुरा विचार पद्दतिका कारण हो । विचारमा एकता भएकाले माधवजीहरुसँग धेरै परसम्म यात्रा गर्न सकिन्छ ।’ केपीसँग विचारमा विभेद भएकाले अहिलेको अवस्था आएको भन्दै प्रचण्डले ओली सत्तामा जान जे पनि स्वीकार्ने व्यक्ति भएको बताए । 

‘अवको बदलिएको परिस्थितिमा जनताको समाजवाद हुँदै समाजवादमा जाने, आलोपालो सरकार चलाउने विषय ओलीले स्वीकार गरेको हो । तर उनले त्यो कुरा व्यवहारमा लागू गर्न मानेनन्’ प्रचण्डको भनाइ छ । 

उनले स्थिति बिग्रेला भनेर सम्झौता गर्दै जाँदा परिस्थिति बिग्रिएकोमा आफूले आत्मालोचना गरेको पनि बताए । 

यो पनि